संविधानसभाको निर्वाचन र यससँगसम्बन्धित विभिन्न माग राख्दै आमरण अनसन बसेपछि स्वास्थ्य अवस्था गम्भिर भएर अस्पताल भर्ना भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न भारतीय राजदुत जयन्त प्रसाद वीर अस्पताल पु्गेका छन्।
शनिवार विहान अस्पताल पुगेका राजदुत प्रसादले अध्यक्ष महतोको पछिल्लो स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए। भेटमा उनले अध्यक्ष महतोको स्वास्थ्यस्थितीमा सुधार आउने अपेक्षा गर्दै आमरण असन जतिसक्दो चाँडो सकिनेमा आफू विश्वस्त भएको बताए। प्रत्युत्तरमा अध्यक्ष महतोले संविधानसभाको निर्वाचन मिति घोषणा गर्न सरकार पन्छिन खोजेकाले आफूहरुले यस्तो कदम चाल्नुपरेको जानकारी राजदुत प्रसादलाई गराएको महतोका प्रेस सल्लाहकार निमेष कर्णले जानकारी दिए। राजदुत प्रसादसँगै भारतीय दुतावासका उपप्रमुख जयदिप मजुनदार पनि अस्पताल पुगेका थिए।
अस्पतालमा उपचाररत अध्यक्ष महतोले निर्वाचनको मिति घोषण, निर्वाचन क्षेत्र पूननिर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशश्त्र समुहलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउने, नेपाल–भारत सीमामा भारतीय रुपैयाँ सटही काउन्टर स्थापना, मल, खाद्यका लागि राहत, सरकार, संवैधानिक निकाय र अदालत लगायतका स्थानमा समानुपातिक समावेशी नियुक्ति लगायत १० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने समेत बताए।
यसैबिच, अध्यक्ष महतोको स्वास्थ्य स्थितिबारे जानकारी लिन गृहमन्त्री माधव घिमिरे र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक पनि आज विहान अस्पताल पुगेका थिए। भेटमा उनीहरुले सद्भावनाले उठाएका मागप्रति सरकार गम्भीर रहेको दोहार्याएका थिए।
तीन दिनदेखिको आमरण अनसनका कारण स्वास्थ्य स्थिति गम्भीर देखिएपछि शुक्रबार प्रहरीले जबर्जस्ती अध्यक्ष महतोलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। उच्च रक्तचाप र मधुमेह रोगका विरामी महतोको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।