राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलिय संयन्त्र खारेजीको माग गरेका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै आइतबार थापाले चुनाव सम्पन्न भई त्यसको परिणाम नआउँदासम्म सम्पूर्ण राजनीतिक दलको हैसियत एउटै हुने भएकाले चार दलीय राजनीतिक संयन्त्रलाई तत्काल खारेज हुनुपर्ने बताएका हुन्।
कार्यक्रममा थापाले मुलुकमा संविधानसभाको निर्वाचनको मिति चाँडो घोषणा गर्न माग गरेका छन्। उनले मुलुकको विद्यमान सङ्कटबाट निकास दिन निर्वाचनको विकल्प नरहेकाले भन्दै तत्काल मिति घोषणा गरी चुनाव सम्पन्न गर्नु देश र जनताको हितमा हुने बताएका हुन्।
विगतमा ठूला राजनीतिक दलको अकर्मण्यता, अदूरदर्शीता तथा आत्मसमर्पणवादी चिन्तनले गर्दा देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा परेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष राजाराम बर्तौलाले आसन्न स्ववियु निर्वाचनमा मुलुकभरबाट ४८ जिल्लाका ९३ वटा क्याम्पसमा विद्यार्थीले उम्मेदवारी दिने बताए।