भारतसँग सिमाना जोडिएको मोरङको बुधनगरदेखि विराटनगरको छिमेकी गाविस कटहरीसम्म रेलको ट्र्याक खोल्ने कार्य सकिएको छ।
जग्गाको मुआब्जा वितरण भई रेलको ट्र्याक खोल्ने काम सम्पन्न भएपछि अब भारतको विहार राज्यको बथनाहा स्टेसनबाट मोरङको कटहरीसम्म रेल सेवा सञ्चालन हुनेछ।
रेल मार्गका लागि ट्र्याक खोल्ने कार्य सकिएकाले केही दिनभित्रै इलेक्ट्रोनिक ब्रोडगेज रेल्वे लाइन विस्तारको कार्य सुरु हुने विराटनगरस्थित रेल्वे तथा मेट्रो विकास आयोजनाले जनाएको छ।
नेपाल र भारतको औद्योगिक व्यापार विस्तारका लागि भारतले बथनाहादेखि मोरङको कटहरी–३ सम्म १८.१ किलोमिटर रेलमार्ग निर्माण गरिदिन थालेको हो। नेपालतर्फ १३.१ किलोमिटर रेलमार्ग भारतको सहयोगमा निर्माण हुनेछ।
मोरङको कटहरी–३ मा एक हजार ५०० मिटर लम्बाइ र १५० मिटर चौडाइको रेल स्टेसनसमेत निर्माण हुनेछ। जसमा रेल्वे प्लेटफर्म, यात्रु प्रतीक्षालय, कार्यालय भवनलगायत हुनेछन्।
रेलमार्गको निर्माण भारतको कलकत्तास्थित तातिया एन्ड तातिया कन्ट्रक्सनले गरिरहेको छ। कम्पनीले दुई वर्षमा रेलमार्ग निर्माण सकेपछि रेल सेवा सञ्चालन हुनेछ।
जम्मा २३८ करोड भारतीय रुपैयाँको लागतमा निर्माण हुन थालेको उक्त परियोजना सम्पन्न भएपछि पूर्वमा औद्योगिक र व्यापारिक वस्तु आयात–निर्यात गर्न सहज हुने आशा गरिएको छ। रासस