उनी भन्छिन्– आँसु झार्दै भए पनि म जेनजी सहिद र घाइतेहरूका पक्षमा प्रश्न गरिरहनेछु
काभ्रेको पनौती पुर्ख्यौली घर भएकी रचना खतिवडाको काठमाडौं टेकुमा पनि आफ्नै घर छ।
उनी १० वर्षदेखि पुर्ख्यौली घर छाडेर श्रीमान र छोराछोरीसहित टेकुमा बस्दै आएकी थिइन्। पछिल्लो एक वर्षदेखि भने सकभर टेकुको घर जान चाहँदिनन्। राति ढिलै भए पनि भ्याएसम्म पनौती नै पुग्छिन्।
'पनौतीमा सासू-ससुरा र अरू आफन्त हुनुहुन्छ,' ४७ वर्षीया रचनाले भनिन्, 'कहिलेकाहीँ भ्याउँदै भ्याइएन भने टेकुमै बास बस्नुपर्छ। त्यस्तो बेला पहिले श्रीमानलाई घर पठाउँछु, अनि मात्र म जान्छु। आफू एक्लै त टेकुको घर पसेकै छैन।'
'पस्न पनि सक्दिनँ,' उनले भनिन्।
जुन घरमा १० वर्ष बसेर छोराछोरी हुर्काइन्, आज त्यही घरबाट रचनाको मन भरंग हुनुका पछाडि खास कारण छ — टेकुको घर प्रवेश गर्नासाथ पाइलैपिच्छे छोरा रसिकको यादले उनको हृदय फड्फडाउन थाल्छ!
घरका भित्तामा झुन्ड्याइएका तस्बिर मात्र होइन, कोठाचोटादेखि बार्दली–बुइगलमा समेत छोराको मुसुक्क मुस्कानले रचनाको मनमा चसक्क चस्का पस्छ।
हरेक दिन कलेजबाट फर्किँदा 'ममी म आएँ' भन्दै हुर्हुरिएर कोठाभित्र छिर्ने र न्यानो अँगालोमा कस्ने रसिकको यादले उनलाई डस्न आउँछ।
उनी यो घरभित्र बहने हावाको हरेक कणमा पनि रसिकको मन्द बास्ना महसुस गर्छिन्।
सम्झनाको तिर्सना यति भयंकर हुन्छ, कसैलाई त्यसको प्यासले तड्पायो भने आँसुको झरीमा भिजाउँदै मरूभूमिको काकाकूलमा पुर्याउँछ!
टेकुको घरमा छिर्दा रचनालाई पनि मरूभूमिको काकाकूलमा पुगेझैं भान हुन्छ।
'रसिक नभएपछि मलाई अचेल यो घर, घरजस्तै लाग्दैन,' रचना भन्छिन्, 'कुनै दिन यहाँ आएँ भने घरि घरि त्यही क्षण याद आउँछ, जब ऊ हतारिँदै आन्दोलनमा जान घरबाट निस्केको थियो।'

त्यो २०८२ भदौ २३ गतेको दिन थियो।
बिहान साढे ८ बजेको थियो। रचना भान्सामा खाना पकाउँदै थिइन्। उनका २२ वर्षीय छोरा रसिक खतिवडा अनलाइनमा कुनै लुगा मनपर्यो भनेर देखाउँदै थिए।
त्यही बेला रसिकको मोबाइल बज्यो। उनी कौसीमा निस्किएर गफ गर्न थाले।
रचनाले कसको फोन भनेर सोधिन्।
रसिकले 'साथीको फोन' भने र नुहाउन गए।
'दारी काटी वरी चिटिक्क परेर निस्कियो र तपाईंको सनस्क्रिन लगाउँछु भन्दै तल गयो,' रचनाले त्यो दिन सम्झिँदै भनिन्।
उनीहरू घरमा प्रायः आमाछोरा मात्र हुन्थे। रचनाका श्रीमान कामको सिलसिलामा धादिङ बस्थे। छोरी अस्ट्रेलियामा छिन्। त्यसैले गफ गर्ने साथी भने पनि, जे भने पनि छोरा नै उनका लागि सबथोक थियो।
त्यस दिन रसिकलाई घरबाट निस्कन हतारिएको देखेर रचनाले 'किन हतार गरेको' भनेर सोधेकी पनि थिइन्।
रसिकले जेनजी आन्दोलनमा जान लागेको भनेका थिए।
'साथीहरू सबै जान्छन्, म पनि एकछिन पुगेर आउँछु, यो आन्दोलन हाम्रै लागि हो आमा भनेको थियो,' रचनाले सुनाइन्, 'हामी विदेश जानु नपरोस् भनेर यो आन्दोलन भएको हो, त्यसैले हामी जानुपर्छ भन्यो।'
'विदेश जान नपरोस् भनेर आन्दोलनमा गएको छोरा फर्केरै आएन,' रचना यति भनेर भावुक भइन्।
जेनजी आन्दोलन क्रममा नयाँबानेश्वरमा प्रहरीको गोली लागेर सहिद भएका एक्ला छोरालाई सम्झँदा आज पनि रचनाको मन स्याइँय्य हुन्छ।
'छोराको कुरा चल्यो कि म आँसु थाम्नै सक्दिनँ,' जेनजी आन्दोलनको एक वर्षमा हामीसँग कुरा गर्दै रचनाले भनिन्, 'धेरैले सहानुभूतिका लागि आँसु झार्छ भनेर बात् पनि लगाए। तर मनमा चोट नपरी यसै आँसु त कसको पो झर्ला र!'
'अरूका लागि ऊ एउटा आम युवा मात्र थियो। तर मेरो त बाँच्ने सहारा नै उही थियो। जसलाई फूलसरी हुर्काउँदै आधा जीवन बिताएँ, त्यही फूल चटक्क चुँडिएर हावामा बिलिन हुँदा कसको पो मन रूँदैन!' रचनाले भनिन्।
छोरी अस्ट्रेलिया पढ्न गएपछि रचनाले छोरालाई पनि त्यहीँ पठाउन खोजेकी थिइन्। तर रसिक कसैगरी मानेनन्।
विदेश जाने कुरा झिक्यो कि उनी भन्थे, 'मामु, तपाईं घरमा एक्लै हुनुहुन्छ। दिदी पनि छैन। बुबा पनि कामका लागि बाहिर गइरहनुहुन्छ। त्यसैले तपाईंलाई एक्लै छाडेर म कतै जान्नँ। जे गरे पनि यहीँ गर्छु।'
उनी आमाका लागि काठमाडौं बसेका मात्र थिएनन्, दिनरात आमाको ख्याल पनि राख्थे।
आमालाई एक्लै घरमा बोर नहोस् भनेर फुर्सद हुनासाथ एक पल ढिला नगरी घर फर्कन्थे। आमासँग बेस्कन बात् मारेर बस्थे। बिहान–बेलुकी चिया पकाएर खुवाउँथे। मोबाइलमा रमाइला रमाइला भिडिओ खिचेर टिकटकमा अपलोड गरिदिन्थे। घरका हरेक साना–ठूला काममा आमाको हात बाँड्थे।
उनी रचनालाई छोराभन्दा बढ्ता अभिभावकझैं हेरचाह गर्थे।
रसिक पनि उनका लागि छोरा होइन, सुखदु:ख बाँड्ने साथी बनेका थिए।
'घरको ढोका छिर्नेबित्तिकै उही हिँडेको, हाँसेको, बोलेको र 'ममी' भनेर बोलाएको आवाज कानमा गुञ्जिरहन्छ,' उनले भनिन्, 'छोरा नभएदेखि टेकुको घरमा एक्लै बस्नै सक्दिनँ। त्यसैले श्रीमान अफिसबाट नफर्किएसम्म घर पनि जान्नँ। साथीभाइ वा जेनजी भाइबहिनीहरूसँग गफगाफ गरेर बिताउँछु।'
उनका अनुसार रसिकको मृत्यु भएको ६ महिना नपुग्दै ९८ वर्षीया बुढीसासूको निधनले परिवारमा अर्को शोक थपेको थियो।
'अझै केही समय बाँच्नु हुन्थ्यो होला, तर पनातिको वियोगले उहाँलाई धेरै गाह्रो पार्यो,' उनले भनिन्।
परम्परा अनुसार ठूलो मान्छेको किरिया नसकिई सानोको श्राद्ध गर्न नमिल्ने रहेछ। त्यसैले यसपालि भदौ २३ गते हुनुपर्ने रसिकको बरखी ६ महिना पछाडि धकेलिएर फागुनमा पुगेको छ।
जेनजी आन्दोलनको एक वर्षमा छोराको साथ नभए पनि रचनाले आफ्नो जीवन छोराको सपनाप्रति समर्पित गरेकी छन्।
कहिल्यै ठूलो स्वरले नबोलेकी र घर–भान्छाको घेरामा सीमित रहेकी उनी साधारण गृहिणी आमाबाट जेनजी सहिदकी परिपक्व र विद्रोही महिलामा रूपान्तरण भएकी छन्। छोराको शव अन्त्येष्टि गरेदेखि नै उनी आफ्ना छोराजस्तै सहादत प्राप्त गरेका र घाइते युवाहरूको न्यायका लागि सडकका चौबाटोहरूमा चिच्याउन थालेकी हुन्।
त्यसै क्रममा आन्दोलनका मृतक परिवारले जेनजी सहिद परिवार संघर्ष समिति गठन गर्यो। रचना त्यसैमा संगठित भएर लागिन्।
छोराको मृत्युले हृदय छियाछिया भएकी तिनै आमाको साहस, त्याग र सामाजिक उत्तरदायित्वलाई कदर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको छ।
'सडकमा चिच्याउँदा र रूँदा राज्यका बन्द कानहरूले सुनेनन्, तर मेरो छोरा र अन्य युवाहरूको बलिदानले मलाई नीति निर्माणको माथिल्लो तहसम्म पुर्यायो,' उनले भनिन्, 'मेरो छोरा मात्र होइन, सम्पूर्ण जेनजी पुस्ता भ्रष्टाचारको अन्त्य र सुशासन चाहन्थ्यो। म अहिले त्यही बाटोमा छु।'
रचना जेनजी आन्दोलनपछि बनेको पहिलो संसदमा जेनजी सहिद र घाइतेहरूका प्रतिनिधि मात्र होइन, उनीहरूको पक्षमा बोल्ने आवाज बनेकी छन्। तर छोरा गुमेको घाउ बोकेर संसदको रोस्ट्रममा उभिनु र अन्य सांसदहरूझैं सामान्य ढंगले बोल्नु उनका लागि सहज छैन।
यो असहजताबीच पनि सहकर्मी सांसदहरूको साथ र माया, र जेनजी भाइबहिनीहरूको प्रेरणाले दैनिक जीवनदेखि संसदीय जीवनमा समेत अघि बढ्ने ऊर्जा दिएको उनी बताउँछिन्।
'केही मानिसले सहिद छोराका नाममा सांसद बनेको भनेर कठोर आलोचना गर्छन्, बचन लगाउँछन्। तर मलाई विश्वास छ— एक करोडले गाली गरे पनि दुई करोड नेपालीको अगाध माया र सहानुभूति मसँग छ,' रचनाले भावुक हुँदै भनिन्, 'संसद छिर्दा सबै राजनीतिक दलका सांसदहरूले देखाउने सद्भाव, सम्मान र मायाले धेरै ठूलो सान्त्वना र राहत दिने गरेको छ।'
उनी अहिले संसदीय समितिहरूमा घाइते युवाहरूको नि:शुल्क र गुणस्तरीय उपचार, सहिद परिवारलाई उचित राहत र सम्मान तथा आन्दोलन क्रममा नियन्त्रणमा लिइएका वा जेल पारिएका निर्दोष युवाहरूको अविलम्ब रिहाइका लागि लडिरहेकी छन्।
'जसका लागि मेरो आधा जिन्दगी बित्यो, उही आज मसँग छैन। तर उसले यो देशका लागि देखेको सपना पूरा नभएसम्म मेरो आवाज रोकिने छैन। आँसु झार्दै भए पनि म जेनजी सहिद र घाइतेहरूका पक्षमा प्रश्न गरिरहनेछु,' रचना दृढ सुनिन्छिन्।
उनको यो दृढता पछाडिको कारण एउटै छ —
उनी आफूलाई संसदमा प्रतिनिधित्व गर्ने एक सहिदकी आमा मात्र ठान्दिनन्, बरू सारा सहिदको आवाज ठान्छिन्।
***
यो पनि पढ्नुहोस्:
'२ बजे आउने बाचा गरेर हिँडेको थियो, भोलिपल्ट शवगृहमा भेटियो'