उनी भन्छिन्– आज पनि युनिफर्ममा कोही देख्नेबित्तिकै श्रीमान नै आउनुभयो कि जस्तो लाग्छ!
जेनजी आन्दोलन क्रममा कोटेश्वर प्रहरी प्रभागमा तोडफोड र आगलागी हुँदा सहायक हवल्दार अमृत गुरूङले ज्यान गुमाएका थिए।
एक वर्षपछि उनको परिवार कुन अवस्थामा छ भनेर बुझ्दा उनकी ३० वर्षीया पत्नी कान्ति गुरूङ पोखरास्थित एक प्रहरी पेट्रोल पम्पमा काम गरिरहेकी भेटिइन्।
उनी ६ महिनादेखि त्यहाँ बिलहरूको हिसाबकिताब राख्ने जिम्मेवारी सम्हालिरहेकी छन्।
पेट्रोल पम्पमा काम गर्ने प्रहरीहरू सादा पोसाकमा हुने भएकाले उनलाई केही सहज त हुन्छ, तर नजिकै प्रहरी कार्यालयमा २४ सै घन्टा आउजाउ गरिरहने वर्दीवाला प्रहरी देख्दा मन भारी हुने उनी बताउँछिन्।
'आज पनि युनिफर्ममा कोही देख्नेबित्तिकै श्रीमान नै आउनुभयो कि जस्तो लाग्छ,' कान्तिले भनिन्।
कान्तिको घर कास्कीको रूपा गाउँपालिका–५ हो। उनका श्रीमान जागिरको सिलसिलामा कोटेश्वर प्रभागकै क्वार्टरमा बस्थे भने कान्ति गाउँमा ससुरा र छोराका साथमा थिइन्।
भौतिक रूपमा टाढा भए पनि उनीहरूबीच दिनहुँ फोनमा कुराकानी हुन्थ्यो।
उनीहरू फोनबाटै एकअर्काको दिनचर्या साटासाट गर्थे।
गत वर्ष भदौ २४ को बिहान १० बजेतिर पनि उनीहरूबीच फोनमा कुरा भएको थियो। तर त्यसपछि प्रहरी प्रभागमा भएको तोडफोड र आगलागीले त्यही संवादलाई उनीहरूको अन्तिम बनाइदियो।
श्रीमान गुमाएपछि कान्तिको जीवन एकाएक बदलियो। जीवनसाथीको साथ छुट्यो, डेढ वर्षका छोराले बुबाको माया गुमाए र ससुराले एक्ला छोरा।
श्रीमानको जागिरबाट दुई-चार पैसा बचत गर्ने र छोरा हुर्किएपछि पढाउन काठमाडौं जाने कान्तिको सपना पनि चकनाचुर भयो।
रंगीन जीवन एकाएक फिक्का भयो। सिन्दुर पखालियो, चुरा फुटाइयो। देख्नेहरूले बाहिरी रूप फेरिएको मात्र देखे, श्रीमान नहुँदा समाजले हेर्ने दृष्टिकोण र हेपाइ भने कसैले देखेनन्,' उनी भन्छिन्, 'श्रीमानबिना जीवन जिउन कति गाह्रो हुन्छ भन्ने कुरा मैले भोगिरहेकी छु। मानसिक रूपमा अझै सम्हालिन सकेकी छैन।'
उनले अगाडि भनिन्, 'महिनौं बितिसक्यो, तर झझल्को आउन छाडेको छैन। दिनभरि आफन्तहरूसँग कुराकानी गरेर मन भुलाउँछु, राति श्रीमानको तस्बिर हेरेर आँसु बगाउँछु।'

कान्तिले ६ महिनाअघि पोखराको प्रहरी पेट्रोल पम्पमा करारमा काम गर्ने अवसर पाएकी थिइन्। त्यसपछि छोरालाई राम्रो शिक्षा र उज्ज्वल भविष्य दिने सोचका साथ पोखरा झर्ने निर्णयमा पुगेको उनी बताउँछिन्।
'दिन कटाउन अलि सहज हुन्छ भनेरै काम गर्ने निर्णय गरेँ,' उनले भनिन्, 'काम पक्का भएपछि पोखरामा बस्न थालेकी हुँ।'
एक वर्षअघि अमृतसँग बिछोड हुँदा छोराको बोली भर्खर फुट्दै थियो। 'बा-बा' भन्दै गरेका छोराले बाको अनुहार राम्रोसँग चिन्नधरि पाएनन्। अहिले छोरा ३३ महिनाको भएको छ। कान्तिले डेरानजिकै मन्टेश्वरीमा भर्ना गरेकी छन्।
सरकारले दिएको क्षतिपूर्तिले छोरा हुर्काउन केही सहज भए पनि उनको भविष्यको चिन्ता लागिरहने कान्ति बताउँछिन्।
अहिले उनी बिहान खाना खुवाएर छोरालाई स्कुल पुर्याउँछिन् र १० बजे काममा जान्छिन्।
दिनभर काम गरेर साँझ ५ बजे डेरा फर्किन्छिन्। दिउँसो छोरालाई स्कुलबाट ल्याउने, खाजा खुवाउने र हेरचाह गर्ने काममा उनकी बहिनीले सहयोग गर्छिन्।
'सुरूआती दिनमा काम गर्न निकै मुस्किल हुन्थ्यो, घरि घरि श्रीमानको यादले सताइरहन्थ्यो,' उनले भनिन्, 'समयसँगै बिस्तारै कामको बानी पर्न थालेको छ। काममा व्यस्त हुँदा मन अलि हलुका भए पनि दुःख कहिल्यै कम नहुने रहेछ।'
श्रीमान साथमा नहुँदा घर-समाजको व्यवहार फेरिने र कसैले स-सानो कुरा गर्दा पनि हेपेर भनेजस्तो महसुस हुने उनको अनुभव छ।
'श्रीमानबिनाको जीवन कस्तो हुन्छ भनेर भनिरहनुपर्दैन, यो त भोग्नेलाई मात्र थाहा हुन्छ,' यति भनेपछि उनी थप बोल्नै सकिनन्। निकैबेर चुप बसिन्।
केही बेरको मौनतापछि उनले भनिन्, 'उहाँको बारेमा कुरा गर्नेबित्तिकै मन भारी हुन्छ। यी कुराहरू कोट्याउनै मन लाग्दैन, आँसु झर्छ।'
उनले आफ्नो विगतबारे थप नसोध्न भनेपछि हामीले उनलाई यो विषयमा अरू प्रश्न गरेनौं।
उनी अचेल बिदा र फुर्सदको बेला गाउँमा ससुरा भएकै ठाउँमा जान्छिन् र आफन्तहरूसँग भेटघाट गर्छिन्।
कामका दिनहरूमा भने ड्युटी सकिनेबित्तिकै कोठा फर्किएर छोरासँग समय बिताउँछिन्।
'अब मेरो बाँच्ने आधार नै छोरा हो। यो चोट समय अनुसार बिस्तारै कम होला कि भन्ने आशा छ, तर श्रीमान्को अभाव सधैं रहिरहनेछ,' उनले भनिन्।
***
यो पनि पढ्नुहोस्: