भदौ २४ गते गोली लागेर ज्यान गुमाएका देवकुमारकी श्रीमती र छोरीको जीवन यसरी चल्दैछ
फराकिलो कोठामा दायाँतर्फ भान्सा छ, बायाँतर्फ खाट।
बीचको खाली भागमा सानो टेबल छ, जहाँ किताब र कापीहरू छरपष्ट छन्।
त्यही छरपष्ट किताब-कापीको बीचमा बसेर ९ वर्षीया सलोनी सुवेदी स्कुलको होमवर्क गरिरहेकी थिइन्। उनी ललितपुर जावलाखेलस्थित डिएभी स्कुलमा ४ कक्षा पढ्छिन्।
स्कुलबाट फर्किएपछि खाजा खाएर होमवर्क गर्नु उनको दैनिकी हो।
बुधबार साँझ ६ बजेतिर हामी पुग्दा होमवर्कमा व्यस्त सलोनीलाई नजिकबाट नियालिरहेकी थिइन् उनकी आमा — २९ वर्षीया पार्वती अधिकारी।
सलोनी बेलाबेला आफूले लेखेको कापी आमालाई देखाउँथिन्। पार्वती कापीमा सर्रर आँखा दौडाउँथिन् र 'ठिक छ' भन्ने जबाफ दिन्थिन्।
यी आमाछोरी ललितपुर सानेपाको यो कोठामा डेरा बस्न थालेको दुई महिना भयो। त्यसअघि उनीहरू आफन्तकहाँ बस्थे।
हामीले कोठाको भित्तामा दुईवटा तस्बिर झुन्ड्याएको देख्यौं। तस्बिरमा मुस्कुराइरहेका युवकलाई चिन्न हामीलाई कुनै गाह्रो भएन।
उनी हुन् — ३१ वर्षीय देवकुमार सुवेदी।
भदौ २४ गते जेनजी आन्दोलन क्रममा प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो। पार्वती उनै देवकुमारकी श्रीमती हुन्।


देवकुमारको फोटोमुनि भर्भराउँदो दियो र पानीको सानो भाँडा राखिएको थियो। आमाछोरी हरेक दिन बिहान-बेलुकी पालैपालो यो दियो बाल्छन् र फोटोमा पानी चढाउँछन्।
'बाबाको फोटोमा बत्ती बाल्ने बेला भयो,' होमवर्क गर्दागर्दै सलोनीले फ्याट्ट भनिन्।
दिन ढलेर रात पर्नै लागेको थियो। पार्वतीले छोरीको कुरामा सहमति जनाउँदै उनलाई हातमुख धोएर आउन भनिन्।
सलोनी जुरूक्क उठेर कोठाबाहिर निस्किइन्। अनि, दुई-तीन मिनेटमै हातमुख धोएर भित्र छिरिन्।
त्यसपछि पार्वतीले छोरीलाई आफ्ना श्रीमानको तस्बिरनजिकै बसेर बत्ती बाल्न र पानी चढाउन लगाइन्।
'बिहान छोरीले बत्ती बाल्छे, साँझ म बाल्छु,' पार्वतीले भनिन्, 'अहिले महिनावारी भएकोले दुई दिनदेखि छोरीले नै गरिरहेकी छे।'
पार्वतीलाई आफ्नी छोरी एकदमै बुझक्की र हिम्मतवाली लाग्छ।
उमेरले ९ वर्षकी भए पनि उनको व्यवहार परिपक्व देखिन्छ, किनकि उनलाई आफ्ना बुबाले यो संसार छाडिसकेको कुरा थाहा छ।
पार्वतीका अनुसार भदौ २४ गते गोली लागेपछि अस्पताल लगिएका देवकुमारलाई भोलिपल्ट मृत घोषित गरिएको थियो। आफन्तहरूले छोरी सानी छिन् भनेर पार्वतीलाई अस्पताल लैजान मानेका थिएनन्। तर उनी सानी छोरीलाई नै लिएर अस्पताल गइन्।
गोली लागेर छियाछिया भएको बुबाको शरीर सलोनीले पनि देखिन्।
'त्यति बेला सब जना रोइरहेका थिए। छोरीले भने एक थोपा आँसु झारिन। दागबत्ती दिँदा पनि चुपचाप थिई,' पार्वतीले सम्झिइन्, 'बुबाबिना एकछिन कोठामा बस्न नसक्ने छोरीले कसरी दागबत्ती दिइन्, मलाई सोच्दा पनि अचम्म लाग्छ।'
सलोनीलाई स्कुलबाट फर्किनेबित्तिकै बुबा नभई हुन्थेन। खेल्न वा बाहिर घुम्न जान मात्र होइन, राति पनि बुबा नभई उनी निदाउँदिन थिइन्। कहिलेकाहीँ देवकुमार ढिला घर आउँदा सलोनी कुरेरै बस्थिन्।
त्यस दिन भने उनलाई चुपचाप देखेर पार्वती मात्र होइन, सबै आफन्त छक्क परेका थिए।
सलोनीले त्यति बेला आफूलाई सम्हालेर राखेकी रहिछन्। जसै अन्त्येष्टि सकेर उनीहरू कोठामा फर्किए, सलोनी ढोकापछाडि बसेर एक्लै रोएको पार्वती बताउँछिन्।
एउटी सानी बालिकाले बुबाको निष्प्राण शरीर देख्दा कस्तो महसुस गरिन् होला र के सोचेर आफूलाई सम्हालिइन् होला भन्ने प्रश्नले पार्वतीको मन अझै भरंग हुन्छ।


अहिले पनि सलोनी अरूका अगाडि आँसु झार्दिनन्। यसको कारण सोध्दा उनले निर्दोष भावमा भनिन्, 'मान्छेहरूको अगाडि रूँदिनँ, रून मन लागे एक्लै रून्छु।'
उनी आमाको अगाडि पनि रून चाहँदिनन्। आफू रोए आमा र सानिमा सँगसँगै रून थाल्छन् भन्ने उनलाई लाग्छ।
पार्वती अफिसबाट ढिला फर्किँदा वा कहिलेकाहीँ गाली गर्दा उनी बुबाको तस्बिर छेउमा बसेर एक्लै रूने गर्छिन्।
सलोनी यसरी बुबाको तस्बिर अगाडि बसेर एक्लै रोइरहेको पार्वतीले धेरै पटक देखेकी छन्।
'कोठाभित्र छिर्नेबित्तिकै छोरीको आँखा हेरेरै म ऊ रोइरहेकी थिई भन्ने थाहा पाउँछु। तैपनि उसले केही जबाफ दिन्न,' पार्वती भन्छिन्, 'यति सानै उमेरमा यति धेरै बुझ्ने कसरी भई भन्ने लाग्छ!'
छोरीको यस्तै परिपक्व व्यवहारले नै पार्वतीलाई बाँच्ने र परिस्थितिसँग लड्ने ऊर्जा दिएको छ।
सलोनी पढाइमा पनि निकै मिहिनेती छिन्। उनले आफू 'नृत्य शिक्षक' बन्ने रहर पटक पटक आमाबुबालाई सुनाउँदै आएकी थिइन्। उनका बुबाले छोरीलाई उसको इच्छा अनुसारकै क्षेत्रमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए, जसमा पार्वतीको पनि सहमति थियो।
सलोनी उनीहरूका एक्ला सन्तान हुन्। दुःख-सुख गरेर भए पनि उनीहरूले छोरीलाई कुनै कुराको अभाव हुन दिएका थिएनन्। अब श्रीमान नरहे पनि छोरीको सपना पूरा गर्न कुनै कसर नछाड्नेमा पार्वती दृढ छिन्।
'छोरी जे बन्न चाहन्छे, त्यही बनाउँछु,' उनले भनिन्, 'श्रीमानले पनि त्यही भन्नुहुन्थ्यो— छोरी जे बन्न चाहन्छे, त्यही बनाउन सक्ने गरी कमाउन पाए हुन्थ्यो। अब उहाँको सपना म पूरा गर्नेछु।'
देवकुमार सडक विभाग ललितपुरमा काम गर्थे। अफिसले नै बस्नलाई सानो कोठा दिएको थियो। एक सन्तानसहित दम्पती त्यहीँ बस्थे।
उनीहरू तीन जनाको संसार राम्रोसँग चलिरहेको थियो।
भदौ २३ गते दिनभर देवकुमार आन्दोलनमा हिँडेका थिए। त्यस दिन १९ जनाको मृत्यु भएपछि दोस्रो दिन उनी चुपचाप बस्न सकेनन्। बिहानभरि आन्दोलनमा हिँडेर, घर फर्केर खाना खाईवरी फेरि आन्दोलनमै गएका थिए।
तर दोस्रोचोटि आन्दोलनमा गएपछि फर्किएर आएनन्।
२४ गते दिउँसो बल्खुमा प्रहरीको गोली लागेर उनले ज्यान गुमाए।

श्रीमानको मृत्युपछि पार्वती केही महिना बन्द कोठामै खुम्चिएर बसिन्। उनलाई आफ्नो संसारै रित्तिएजस्तो भयो। जीवनका सारा बाटा थुनिएजस्तो भयो। त्यो अवधिमा आफन्तहरूले आडभर दिए, सम्हालेर राखे।
उनी कोठामा बसेर जति रून्थिन्, छोरी पनि उनीसँगै रून्थिन्। यो देखेपछि उनी छोरीलाई खुसी राख्न लुकेर रून थालिन्। अहिले छोरीले त्यही सिकेकी छन्।
एकदिन उनलाई आफूभन्दा बढी छोरी दुःखी भइरहेको देख्दा एकदमै पीडा भयो। मन भतभती पोल्न थाल्यो।
त्यसै दिन श्रीमानले छोरीलाई गर्ने माया र ख्याल सम्झिँदै उनले सोचिन् — अब श्रीमान र छोरीले देखेका सपना म पूरा गर्छु!
'श्रीमानले जुन परिवर्तन र न्यायका लागि ज्यान गुमाउनुभयो, त्यो आदर्श म कहिल्यै मर्न दिने छैन। उहाँको सम्झना र छोरीको मुस्कान नै मेरो शक्ति हो,' उनले भनिन्, 'छोरीकै लागि भए पनि बाँच्नुपर्छ भन्ने लागेर हिम्मतका साथ अगाडि बढेकी छु।'
'छोरीको सपना साकार पार्नु नै अब मेरो जीवनको एक मात्र लक्ष्य हो,' उनले भनिन्।
छोरीको भविष्यका लागि विरहको मुर्छनाबाट ब्युँझिएकी पार्वती आफूलाई सम्हाल्दै नियमित दैनिकीमा फर्किएकी छन्। तर परिस्थिति अझै सामान्य भइसकेको छैन। दिनभर काममा व्यस्त भए पनि साँझ कोठामा छिर्नेबित्तिकै भित्तामा झुन्ड्याएको तस्बिरले उनको मन भारी बनाउँछ।
'विवाहपछि हामी कहिल्यै छुट्टिएर वा टाढा भएर बसेका थिएनौं। त्यसैले उहाँबिना एक दिन पनि कटाउन गाह्रो हुने रहेछ,' उनले भनिन्, 'सधैं सँगै भएको श्रीमान नहुँदा सम्हाल्न नसकिने रहेछ।'
सर्लाहीको लालबन्दी घर भएका देवकुमार र पार्वतीले २०७३ सालमा विवाह गरेका थिए। विवाहपछि दुःख गरेरै भए पनि उनीहरू साथमै थिए।
दम्पतीमा लोभलालच केही थिएन; छोरीलाई राम्रो शिक्षा दिने र उसले चाहेजस्तै बनाउने मात्र उनीहरूको सपना थियो।
बिस्तारै देवकुमारको तलबले दुई छाक टार्न सहज हुँदै गएको थियो। छोरी पनि हुर्किँदै थिइन्।
अब सबै कुरा ठिक हुँदैछ भन्ने पार्वतीलाई लागेको थियो, तर दुर्भाग्यवश त्यसो हुन सकेन।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सुरूआती दिनमा सरकारले कस्तो सुविधा दिने भन्ने तोकेको थिएन। त्यसैबीच चौधरी ग्रुपले ललितपुरका सहिद परिवारलाई जागिर दिने घोषणा गर्यो। छोरी पढाउनुपर्ने र बिहान-बेलुकीको छाक टार्ने जिम्मेवारी भएकाले पार्वतीले त्यो जागिर स्वीकार गरिन्। सामाजिक सुरक्षा कोषको रकम कट्टा गरेर त्यहाँबाट लगभग २० हजार रूपैयाँ आउँथ्यो।
यता छोरीलाई पनि गोल्यान ग्रुपले कक्षा १२ सम्म नि:शुल्क पढाइदिने प्रतिबद्धता जनायो। यसले उनलाई केही सहज त भयो, तर मनको भारी बिसाउने ठाउँ कतै भेटिनन्।
उनी बिहान छोरीलाई स्कुल पुर्याएर काममा जान्थिन्। आफन्तकहाँ बसेकाले छोरीको हेरचाह हुन्थ्यो। तर लामो समय आफन्तसँग बसिरहन उनलाई सहज लागेन।
उनी छोरी सुरक्षित हुने ठाउँको खोजीमा थिइन्। त्यतिकैमा उनकी दिदी बस्ने घरमै एउटा कोठा खाली भयो। उनी दुई महिनाअघि छोरीलाई लिएर त्यही कोठामा सरिन्।
डेरासँगै उनको काम पनि फेरियो। सरकारले नै सहिद परिवारलाई जागिर दिने निर्णय गरेपछि उनले सरकारी जागिरलाई नै निरन्तरता दिने निधो गरिन्।
उनी अहिले नेपाल विद्युत प्राधिकरण, ललितपुरको कार्यालयमा काम गर्छिन्।
दुई महिनाअघि प्राधिकरणमा जोडिएकी पार्वतीलाई अहिले विभिन्न फाँटमा हुने कामहरू सिकाइँदै छ। उनी पनि ध्यान दिएर काम सिकिरहेकी छन्।
माध्यमिक तहसम्म पढेकी पार्वतीले सिकाइमा कुनै कन्जुस्याइँ गरेकी छैनन्। बिहान १० नबज्दै कार्यालय पुग्छिन्, दिनभर काम सिक्छिन् र साँझ ५ बजे कार्यालयबाट हिँडेरै डेरा फर्किन्छिन्। उनलाई हिँडेर डेरा पुग्न करिब ४५ मिनेट लाग्छ।
'अफिसबाट फर्किने बेलासम्म छोरीको स्कुल छुटिसकेको हुन्छ, त्यसैले उसलाई दिदीको कोठामा बस्न भनेकी छु,' उनले भनिन्, 'जमाना खराब छ, त्यसैले छोरीलाई कोठामा एक्लै छाड्न डर लाग्छ।'
सलोनीले पनि आमाको भनाइ मानेकी छन्।
सरकारले दिएको विद्युत प्राधिकरणको जागिरबाट उनलाई मासिक करिब ३० हजार रूपैयाँ तलब आउँछ। त्यो रकमले रासनपानी, डेराभाडा, स्वास्थ्य खर्च र छोरीका आवश्यक सामग्री किन्न पुगिरहेको उनी बताउँछिन्।
साथै, सरकारले सहिद परिवारलाई मासिक ७ हजार रूपैयाँ भत्ता पनि दिँदै आएको छ।
'सरकारले कहिलेसम्म जागिर दिने हो, केही निश्चित छैन। त्यसैले दुई-चार पैसा बचत गर्ने प्रयास गरिरहेकी छु,' उनले भनिन्, 'भोलि छोरीलाई कुनै समस्या नहोस् भन्ने लाग्छ।'
अबको बाँकी जीवन छोरीलाई पढाएर असल मान्छे बनाउनमै खर्चिने उनको सोच छ। श्रीमान साथमा नभए पनि उनकै यादमा बाँकी जीवन बिताउने अठोट उनले लिएकी छन्।
एक पटक सिन्दुर पुछिएपछि फेरि त्यो अवस्था दोहोर्याउने उनको मन छैन।
'हिजो पनि उहाँकै थिएँ, आज पनि उहाँकै छु,' उनले भनिन्, 'भोलि पनि उहाँकै भएर मर्ने रहर छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***
यो पनि पढ्नुहोस्:





