१ अर्ब लगानीमा बनेको सरकारी आवास क्षेत्र ध्वस्त पारियो, अहिले पुनर्निर्माणमा हुँदैछ कति खर्च?
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवास पनि आगजनीको सिकार भएको थियो।
त्यति बेला २७ भवनमध्ये २६ वटामा क्षति पुगेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका धेरै मन्त्री आ–आफ्नै घरमा बसेका थिए।
एक जना मन्त्री बब्लु गुप्ता मात्र भैंसेपाटी क्वार्टरमा सरेका थिए। शिक्षामन्त्री महावीर पुन त उक्त कार्यकालभरि सिंहदरबारस्थित मन्त्रालय भवनमै बसे।
यतिखेर प्रधानमन्त्री बालेन शाहको सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री रहेका महावीर पुनले अहिले पनि मन्त्रालयको कोठालाई नै आफ्नो निवास बनाएका छन्।
जेनजी आन्दोलन बेला आगजनीबाट जोगिएको एउटै मात्र रक्षामन्त्रीको क्वार्टरमा अहिले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्साल बस्दै आएका छन्। मन्त्रिपरिषदका बाँकी सदस्यमध्ये ६ जना पुल्चोकको हरिहर भवनस्थित पुरानो मन्त्री क्वार्टरमा छन् भने बाँकी आ–आफ्नै घरमा बस्छन्।
भैंसेपाटीका क्षतिग्रस्त मन्त्री क्वार्टर भवनहरूको पुनर्निर्माण सम्पन्न भई सबै मन्त्री एकै कम्पाउन्डभित्र बस्ने दिन कहिले आउला?
भदौ २४ को त्यो त्रासदीबीच तोडफोड र आगजनी गरेर छिनभरमै स्वाहा पारिएको झन्डै १ अर्ब रूपैयाँ लगानीको भैंसेपाटी मन्त्री निवासलाई अझै कति समय लाग्ला पुरानै स्वरूपमा फर्कन?
जेनजी आन्दोलनको एक वर्षमा हामी आज खण्डहर बनेको मन्त्री निवासलाई फर्केर हेर्दैछौं।
सरकारी संरचना पुनर्निर्माणको जिम्मेवारी पाएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठ भैंसेपाटी मन्त्री निवास उच्च प्राथमिकताका साथ तीव्र गतिमा पुनर्निर्माण भइरहेको बताउँछन्।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठ। तस्बिरः मनोज सत्याल/सेतोपाटी।
सरकार बनेको झन्डै पाँच महिना बित्न लाग्दा पनि सबै मन्त्रीलाई सरकारी आवास प्रबन्ध गर्न नसकिएकाले जतिसक्दो छिटो सक्ने गरी पुनर्निर्माण तीव्र पारिएको उनको भनाइ छ।
अहिले मन्त्रीहरू कोही हरिहर भवन त कोही आ–आफ्नै घरमा बसिरहेकाले छुट्टाछुट्टै सुरक्षा प्रबन्ध गर्नुपरेको छ। मन्त्रीहरूको बसोबास फरक फरक ठाउँमा हुनु सुरक्षा व्यवस्थापनका हिसाबले जटिल हो। त्यसैले सबैलाई एकै ठाउँमा राख्न सुरक्षा दृष्टिले सहज मानिन्छ।
कसरी भइरहेको छ पुनर्निर्माण?
आन्दोलनमा धेरै क्षति पुगेका ११ वटा घर र कम क्षति पुगेका १६ वटा घरलाई छुट्टाछुट्टै ठेक्का लगाएर पुनर्निर्माण सुरू गरिएको कंठले बताएका छन्।
उनका अनुसार तीन चरणको योजना बनाएर मर्मत तथा पुनर्निर्माण अघि बढाइएको थियो।
पहिलो चरणमा संरचनागत मर्मत पर्छन्, जसका लागि ८ करोड ६० लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। त्यस्तै, दोस्रो चरणमा पुनर्निर्माणको काम पर्छन्, जसको बजेट साढे १५ करोड रूपैयाँ छ।
तेस्रो चरणमा आन्तरिक सजावटका काम गरिने छन्। यसका लागि झन्डै १८ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
यसरी पुनर्निर्माणलाई तीन चरणमा विभाजन गरी गत फागुनबाटै काम सुरू गरिएको थियो। पहिलो चरणको काम साउन मसान्तसम्म सक्ने लक्ष्य लिइएको थियो भने दोस्रो चरणको काम भदौ र तेस्रो चरणको काम असोजमा सक्ने भनिएको थियो।
तर पहिलो चरणको काम नै निर्धारित समयमा टुंगिएन। त्यसपछि भदौसम्म म्याद थपियो।
निर्माण सामग्री र कामदार अभावले पनि समयमा काम सक्न गाह्रो भएको सम्बन्धित अधिकारीहरूले बताउँदै आएका छन्।
पछिल्लो समय पुनर्निर्माणलाई तीव्रता दिन यी तीनै चरणका काम सँगसँगै भइरहेका छन्।
सबै घरको पुनर्निर्माण सकेर मात्र आन्तरिक सजावट गर्दा धेरै समय लाग्ने भएकाले पुनर्निर्माण र सजावट सँगसँगै अघि बढाइएको कंठले जानकारी दिए।
उनका अनुसार जुन जुन घरको पुनर्निर्माण सकिन्छ, त्यहाँ सजावटको काम सुरू गर्ने र सकिनासाथ मन्त्रीहरूको बसाइ सार्ने योजना अनुसार काम हुँदैछ।
'सबै आवास भवनहरूको पुनर्निर्माण असोज मसान्तसम्म सक्ने तयारी छ,' उनले भने।
क्षतिग्रस्त २६ भवनमध्ये अहिलेसम्म एउटाको पुनर्निर्माण सम्पन्न भई उपसभामुख रूबी ठाकुर सरिसकेको उनले जानकारी दिए। त्यस्तै, राष्ट्रियसभाका उपाध्यक्षलाई पनि केही दिनभित्रै मन्त्री आवास परिसरकै एउटा घरमा सार्ने तयारी भइरहेको उनले बताए।
कंठले भने अनुसार असोज मसान्तभित्रै पुनर्निर्माणका सबै काम सकियो भने सबै मन्त्रीले यसपालिको दसैं, तिहार र छठ भैंसेपाटीको एउटै कम्पाउन्डमा सँगसँगै मनाउन पाउने छन्।
-1773141393.jpg)
भैंसेपाटीमा ९६ रोपनी क्षेत्रफलमा २७ वटा आवासीय भवन बनेका थिए। तीमध्ये २४ वटा संघीय मन्त्रीका लागि छुट्याइएको थियो भने ३ वटा राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि निर्माण गरिएका थिए।
झन्डै १ अर्ब रूपैयाँ लगानी गरिएको भैंसेपाटी सरकारी आवासमा प्रत्येक घरको भुइँतलामा वेटिङ रूम र मिटिङ रूम थिए। त्यस्तै, सचिवालय र सर्भिस रूम पनि बनाइएका थिए।
पहिलो तलामा मन्त्रीको निवास थियो भने दोस्रो तलामा पाहुना कक्ष, योग कक्ष लगायत थिए। त्योभन्दा माथिल्लो तलामा भान्सा थियो।
मन्त्री क्वार्टर परिसरमै हेल्थ क्लब, स्विमिङ पुल लगायतका संरचना पनि निर्माणाधीन थिए। सार्वजनिक हल र हेलिप्याडको निर्माण पनि हुँदै थियो। यी काम पूरा नहुँदै यहाँका सबै संरचना आगो लगाएर ध्वस्त पारिएका थिए।
असोज महिनाभित्र भैंसेपाटी सरकारी आवासको पुनर्निर्माण सम्पन्न भई सबै संघीय मन्त्रीहरूलाई सारिसकेपछि पुल्चोक हरिहर भवनको आवास क्षेत्र न्यायाधीशहरूका लागि व्यवस्थापन गर्ने योजना छ।
तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
***
यो पनि पढ्नुहोस्: