१९ वर्षीया निखिता गौतम घरको छतबाट प्रदर्शन हेर्दै थिइन्, छातीमै लाग्यो गोली
काठमाडौंको गौशालास्थित आफू बस्ने घरको छतमा उभिएर बाहिर हेरिरहेकी थिइन्, १९ वर्षीया निखिता गौतम।
यो गत वर्ष भदौ २४ गतेको घटना हो।
सडकमा जेनजी आन्दोलन चर्किएको थियो। बाहिरको अवस्था तनावपूर्ण थियो।
तर घरभित्रै आफूलाई सुरक्षित ठानेर छतमा उभिएकी निखितामाथि एक्कासि गोली चल्यो।
छातीमै लागेको त्यो गोलीले निखिताको जीवन मात्र खोसेन, उनका आमाबुबाका सपना र परिवारको जीवनको लय नै सधैंका लागि बदलिदियो।
निखिताले ज्यान गुमाएको आज एक वर्ष पूरा भएको छ। तर आज पनि उनका आमाबुबाको मनमा छोरीको सम्झना धमिलो भएको छैन।
'नसम्झिने भन्ने त हुँदै हुँदैन। मनमुटुमै बसेकी छोरी हो। उसको अभाव पलपल झेलिरहेका छौं,' निखिताका बुबा लोकनाथ गौतम भन्छन्, 'अहिलेसम्म हाम्रो मुखबाट उसको नाम हटेको छैन। त्यतिखेरका यादहरूले बारम्बार सताइरहन्छन्।'
छोरीकै भविष्यका लागि काठमाडौं
निखिताका आमाबुबा अहिले काठमाडौंमा छैनन्। गौशालाको डेरा छाडेर उनीहरू चितवनको कालिका नगरपालिकास्थित आफ्नै स्थायी घर फर्किएका छन्।
आन्दोलन र त्यसपछिको उथलपुथलले उनीहरूलाई काठमाडौंमा अडिन दिएन।
मजदुरी गरेर परिवार पाल्दै आएका लोकनाथ र कल्पनाका दुई सन्तान थिए — एक छोरा र निखिता। छोराछोरीको पढाइका लागि नै उनीहरू काठमाडौं बसेका थिए।
छोरा केही वर्षअघि अध्ययनका लागि बिदेसिएपछि निखिता नै उनीहरूको सबभन्दा ठूलो सहारा बनेकी थिइन्।
छोरीलाई उच्च शिक्षा पढाउने र आफ्नो खुट्टामा उभिएको हेर्ने सपना दम्पतीले बुनेका थिए। निखिता पनि आमाबुबाको सपना पूरा गर्न मिहिनेत गरिरहेकी थिइन्।
गत वर्ष कक्षा १२ को परीक्षा सकेकी उनी स्नातक तहको अध्ययनको तयारीमा थिइन्।
कलेज छनोट गर्ने, आफ्नो भविष्यबारे सोच्ने र नयाँ जीवनको बाटो तय गर्ने उमेर थियो त्यो।
'विदेश जाने सोच पनि बनाएकी थिई। फेरि आमाबुबा एक्लै हुन्छन् भनेर स्नातक यहीँ पढ्ने भनेकी थिई,' लोकनाथ ती दिन सम्झिन्छन्, 'विदेश गए हामी एक्लै हुन्छौं भनेर डराएकी थिई। तर जेनजी आन्दोलनले उनलाई सधैंका लागि हामीबाट छुटायो।'
मजदुरी गरेर कमाएको पैसाले दम्पती छोरीको पढाइ धानिरहेका थिए। स्नातक सकेपछि थप अध्ययनका लागि विदेश पठाउने र त्यसपछि मात्र गाउँ फर्किने उनीहरूको योजना थियो।
ती सबै योजना एकै झट्कामा सकिएको उनी बताउँछन्।
कलेजमै छ मार्कसिट
निखिताले कक्षा १२ पास गरेको मार्कसिट अझै कलेजमै छ।
एक वर्ष बितिसक्दा पनि उनका आमाबुबाले त्यो मार्कसिट ल्याउन सकेका छैनन्।
काठमाडौं फर्केर छोरीले पढेको कलेज पुग्ने आँट पनि उनीहरूमा छैन। छोरी हिँडेका गल्ली र उनले देखेका ठाउँहरू फेरि टेक्नुपर्दा पीडा झन् बल्झिने उनीहरूलाई डर छ।
निखिताको अभावले सबभन्दा बढी उनकी आमा कल्पनालाई गालेको छ।
'आमाको अवस्था अझै ठिक छैन। एकोहोरो टोलाइरहन्छिन्। औषधि ल्याएर खुवाइरहनुपर्छ,' लोकनाथ भन्छन्, 'दिनभरि मोबाइल हेरेर बस्छिन्। फेसबुक र सोसल मिडियामा अरूले निखिताको फोटो हालेको देखिन्छ, त्यही हेरेर टोलाउँछिन्।'
निखिताको मोबाइल पनि आमासँगै छ।
त्यही मोबाइलमा उनी छोरीका पुराना फोटाहरू हेरिरहन्छिन्। गाउँघरमा निखिताकै उमेरका कोही हिँडेको देख्दा आफ्नै छोरी फर्किएजस्तो गरी हेर्छिन्।
'जहाँ पनि उसैलाई खोजेजस्तो गर्छिन्,' लोकनाथ भन्छन्।
कुनै चाडपर्व आउँदा, घरमा चहलपहल बढ्दा वा छिमेकमा निखिताकै उमेरका छोरीहरू देखिँदा गौतम परिवारको पीडा झन् बल्झिन्छ।
घरका कुनाकाप्चा र चाडपर्वका हरेक क्षणले उनीहरूलाई छोरीकै सम्झना दिलाउँछन्।
छोरीको अभाव र सम्झनामै रोएर एक वर्ष बितेको छ। समयसँगै पीडा कम होला भन्ने लागेको थियो। तर लोकनाथलाई लाग्छ — दैनिकी झन् मुस्किल बन्दै गएको छ।
एक वर्षपछि पनि उही प्रश्न
निखिताको परिवारको पीडा छोरी गुमाउनुमा मात्र सीमित छैन।
उनीहरूलाई अझै थाहा छैन — घरको छतमा उभिएकी निखितामाथि गोली कसले चलायो?
किन चलायो?
कहाँबाट चलायो?
यो प्रश्नको जबाफ नआएसम्म गौतम परिवारका लागि भदौ २४ गते बितेको घटना होइन, हरेक दिन दोहोरिइरहने एउटा घाउ बनेर रहनेछ।
आन्दोलन क्रममा ज्यान गुमाएकाहरूको परिवारप्रति यो सरकारले ठूलो प्रतिबद्धता जनाए पनि अहिलेसम्म न्यायको अनुभूति गर्न नसकेको लोकनाथ बताउँछन्।
उनका लागि राहत, सम्मान वा क्षतिपूर्तिभन्दा ठूलो कुरा दोषीको पहिचान र कारबाही हो।
'सहिद परिवारको मुख्य एजेन्डा र माग दोषीहरूलाई कारबाही भन्ने थियो। त्यसको अहिलेसम्म कुनै नामनिसान छैन,' उनी दुःखेसो गर्छन्, 'जसले गोली हान्यो, कहाँबाट हान्यो, कसले हान्यो — त्यो सबै छानबिन गरेर निष्पक्ष जानकारी पाउनुपर्ने हो नि! अहिलेसम्म गर्छौं, गर्छौं मात्रै भन्छन्। प्रक्रिया नै केही अघि बढेको छैन।'
उनको प्रश्न अझै उही छ।
'छतमा बसेकी छोरीलाई कसले गोली हान्यो? अनुसन्धान गरेर दोषीमाथि कारबाही भए मात्रै न्यायको अनुभूति हुन्छ,' उनले भने।
सरकारले सहिद परिवारलाई सम्मान र उनीहरूको जीवनस्तर सुधारका लागि आफ्नो दायित्व पूरा गर्नुपर्ने लोकनाथ बताउँछन्। तर आफ्नो परिवारका लागि त्योभन्दा ठूलो आवश्यकता न्याय भएको उनको भनाइ छ।
'मेरो खासै त्यत्रो ठूलो माग केही छैन। छोरी त फर्केर आउँदिनँ,' उनी भन्छन्, 'तर दोषीलाई कारबाही भइदिए मात्रै पनि हामीलाई अलिकति राहत मिल्थ्यो। यस विषयमा खै अहिले कोही बोलेका छैनन्। यही एउटा गुनासो छ।'
यो पनि पढ्नुहोस्: