भदौ २४ गते छातीमा गोली लागेर ढलेका दिपेशको सम्झना आज पनि सिन्धुलीको त्यही चुहिने छानोमा जीवित छ
'म आन्दोलनमा आएको छु, हजुरलाई साँझ ६ बजेतिर फोन गर्छु, चिन्ता नलिनू!'
गत वर्ष भदौ २४ गते दिउँसो करिब १ बजेतिर १९ वर्षीय दिपेश सुनुवारले आमा भीममायासँग फोनमा बोलेका अन्तिम शब्द यिनै थिए।
त्यसपछि हतार हतार फोन काटेका दिपेशले साँझ ६ बजे फोन गरेनन्।
छोराको फोन नआएपछि भीममायाले आफै साँझ साढे ६ बजेतिर फोन गरिन्।
फोन त उठ्यो, तर उताबाट अपरिचित आवाज आयो, 'यो फोन त मैले बाटोमा भेटेको हो।'
त्यसपछि भीममाया घरमा बसिरहन सकिनन्।
छोरा कहाँ गयो भन्ने चिन्ताले उनलाई छटपटी हुन थाल्यो।
सिन्धुलीको तीनपाटन गाउँपालिका–६ की उनी तत्काल काठमाडौं आउन चाहन्थिन्। तर त्यस बेला सवारी साधन सहज रूपमा चलिरहेका थिएनन्।
त्यसैले उनले काठमाडौंमा रहेका आफन्त र चिनेजानेकालाई फोन गरिन्। छोरालाई खोजिदिन आग्रह गरिन्।
तर कतैबाट दिपेशको खबर आएन।
गाउँमा त्यसै बसिरहन पनि भीममायालाई सम्भव भएन।
तेस्रो दिन स्थानीय जनप्रतिनिधिको सहयोगमा उनी श्रीमानसहित काठमाडौं आइपुगिन्।
त्यसपछि सुरू भयो — हराइरहेको छोराको खोजी।
परिवारले दिपेशका साथीहरूसँग सोधपुछ गर्यो। प्रहरीको सहयोग माग्यो। भीममाया दिनभर काठमाडौंका विभिन्न ठाउँ डुलिरहन्थिन्। साँझ निराश हुँदै आफन्तकोमा फर्कन्थिन्।
छोरा भेटिने आशामा बितेका ती पाँच दिन भीममायाका लागि जीवनकै सबभन्दा कहालीलाग्दा दिन बने।
भदौ २९ गते उनी काठमाडौंका अस्पताल चहार्दै मनमोहन कार्डियो अस्पतालको शवगृह पुगिन्।
त्यहीँ उनले आफ्ना छोरा भेटिन्।
तर जीवित होइन।
छातीमा गोली लागेर ज्यान गुमाएका दिपेशको शव त्यहाँ थियो। कालो भइसकेको छोराको शव देखेपछि भीममाया अस्पतालमै बेहोस भइन्।
त्यसपछि उनका आँखा अहिलेसम्म ओभाएका छैनन्।
एक वर्षअघि हराएको छोरा खोज्दै काठमाडौं आएकी भीममाया अहिले फेरि काठमाडौं आइपुगेकी छन्।
यसपटक भने उनी छोरा खोज्न होइन, छोराको सम्झनामा बनाइएको स्मृति पार्क उद्घाटनमा आएकी हुन्। सहिद छोराको तस्बिरमा माला चढाउन आएकी हुन्।
उनी छोरा बितेको वर्षदिन पुगेकै दिन अर्थात् २०८३ भदौ २४ गते मंगलबार स्मृति पार्क उद्घाटन कार्यक्रममा सहभागी भइन्। सरकारले सहिद घोषणा गरेका ४५ जनाको तस्बिर त्यहाँ राखिएको थियो। तर सहिदहरूको तस्बिरमा अनुहार नमिलेको गुनासो आएपछि कार्यक्रम तत्कालका लागि स्थगित भयो।
'गृहमन्त्री सुधन गुरूङ पनि आउनुभएको थियो। सहिदहरूको अनुहार नमिलेको गुनासो आएपछि आजको कार्यक्रम स्थगित भयो,' भीममायाले भनिन्, 'मैले त छोराको अनुहार राम्रोसँग हेर्नै सकिनँ।'
छोराको तस्बिर कस्तो बनाइएको छ भनेर हेर्ने मन हुँदाहुँदै पनि हेर्न नसकेको उनी बताउँछिन्।
एक वर्ष बितिसक्दा पनि उनको मनको घाउ उस्तै छ। फरक यति मात्रै हो — अघिल्लो वर्ष उनी आत्तिँदै छोरा खोज्न काठमाडौं आएकी थिइन्। यसपालि भने ललितपुरको सातदोबाटोमा बनाइएको सहिद शालिकको उद्घाटन हुने र सम्झना गरिने भनेपछि आएकी हुन्।
'शालिक उद्घाटन हुन्छ भनेर बोलाउनुभएको थियो, तर क्यान्सिल भयो,' भीममायाले भनिन्, 'भोलिसम्ममा त फेरि घर फर्किनुपर्छ।'
दुई वर्षअघि दिपेशको काठमाडौं आउनुको सपना पनि ठूलो थिएन।
सिन्धुलीमा उनीहरूको कच्ची घर छ। बर्खा लागेपछि छानाबाट पानी चुहिन्छ। त्यही चुहिने छानो टाल्न र आमाबुबालाई पक्की घर बनाएर राख्न दिपेश एसइई पास गर्नासाथ काठमाडौं आएका थिए।
उनी ललितपुर महानगरपालिकाको फोहोर उठाउने गाडीमा काम गर्थे। कमाएको केही पैसा गाउँमा आमालाई पठाउँथे।
'पढ्नुभन्दा अहिले पैसा कमाउनु ठूलो कुरा हो। म घर बनाउँछु आमा भन्थ्यो,' भीममायाले छोराका पुराना कुरा सम्झिँदै भनिन्, 'आफै दुःख गरेर घरव्यवहार चलाउन खोज्ने मेरो सोझो छोरा कसरी त्यहाँ पुग्यो, कसरी गोली लाग्यो, अझै पत्तो छैन।'
उनीसँग बाँकी छ त छोराका केही तस्बिर, पुराना सम्झना र त्यो अन्तिम फोन कल —
'म आन्दोलनमा आएको छु, हजुरलाई साँझ ६ बजेतिर फोन गर्छु, चिन्ता नलिनू।'
त्यसपछि उनको फोन कहिल्यै आएन।
यसपटक काठमाडौं आउँदा भीममायाको अर्को इच्छा पनि थियो।
गृहमन्त्री सुधन गुरूङ लगायत नेताहरूलाई भेटेर छोराहरूले उठाएका माग र सहिद परिवारका समस्याबारे कुरा गर्ने। तर कार्यक्रमस्थल र वरपरको भीडभाडका कारण उनले कसैलाई पनि भेट्न र आफ्ना कुरा राख्न पाइनन्।
उनको माग भने धेरै ठूलो छैन।
'हाम्रो त एउटै माग हो — मेरा बाबुहरूले जे माग राखेर हिँडेका थिए, ती मागहरू सरकारले पूरा गरिदेओस्,' उनी भन्छिन्, 'छोरा त फिर्ता आउँदैन, तर कम्तिमा उनीहरूले ज्यान दिएको औचित्य त पूरा होस्।'
एक वर्षअघि भदौ २४ गते काठमाडौंको बानेश्वरमा छातीमा गोली लागेर ढलेका दिपेशको सम्झना आज पनि सिन्धुलीको त्यही चुहिने छानोमा जीवित छ।
त्यो घरको छानो अझै चुहिन्छ।
भीममायाको आँखाबाट चुहिएको आँसु पनि रोकिएको छैन।
उनलाई लाग्छ — आन्दोलन सकियो, सरकार फेरियो। तर छोरा गुमाउने आमाहरूको काख अझै रित्तै छ।
र, उनीहरूको आँखा अझै ओभाएका छैनन्।
यो पनि: