११ अर्बको क्षतिबाट जर्याकजुरूक उठेर अब नयाँ शाखा विस्तारको तयारीमा भाटभटेनी सुपर मार्केट
पोहोरको भदौ २४ गते।
सायद झन्डै तीन करोड नेपालीले र नेपाललाई नजिकबाट नियाल्ने र बाँकी विश्वले कहिल्यै नबिर्सने दिन!
चर्को भदौरे घामले थोपरेको रापिएको गर्मीबीच काठमाडौंका आधुनिकदेखि ऐतिहासिक अनि सरकारीदेखि निजी भवन एकपछि अर्को गर्दै दनदनी बलिरहेको दिन!
दिन ढल्दै गर्दा धुँवैधुँवाले भरिएको काठमाडौंमाथिको आकाशमा नेपाली सेनाका हेलिकप्टरहरू तारन्तार उडिरहेको दिन!
देशका सबै मुख्य सहरका ऐतिहासिक तथा ठूलादेखि साना सरकारी तथा निजी भवनहरू दनदनी बलिरहेको दिन!
दिउँसो करिब २ बजेको एउटा दृश्य यस्तो थियो — साना सिसाका बोतलबाट बनाइएका पेट्रोल बम लगातार प्रहार गर्दै आगजनी, तोडफोड गर्दै नयाँ बानेश्वरको संसद भवनबाट सर्वोच्च अदालत, अनि सिंहदरबारबाट बालुवाटारतर्फ अघि बढिरहेको अत्यन्त क्रुद्ध तथा उदण्ड भीडले नेपाल प्रहरी मुख्यालयमा धावा बोल्न खोज्दै थियो।
पर्खालमा तैनाथ नेपाल प्रहरीले प्रहार गरेका सयौं अश्रु ग्यासदेखि कायल भएर तितरबितर हुन पुगेको भीडले सायद अर्को सजिलो निशाना भेट्टायो – अलि उत्तरतर्फ भाटभटेनी मन्दिर नजिकै रहेको भाटभटेनी सुपर मार्केट।
त्यो 'नेपालमै गरे जे पनि सम्भव हुन्छ' भन्ने गतिलो उदाहरणका रूपमा उभिएको देशकै सबभन्दा पहिलो भाटभटेनी सुपर मार्केट थियो।
त्यहाँ कार्यरत सुरक्षा गार्ड कमल अधिकारीका अनुसार दिउँसो अन्दाजी साढे २ बजे एउटा उदण्ड जत्थाले गेटमा तोडफोड गर्न खोज्यो र भित्र पसिहाल्यो।
'त्यसपछि सुरू भयो लुटपाट र आगजनी। हामी ६–७ जना गार्डको केही लागेन। सबै लुटेर भाग्न थाले। केही घन्टापछि, हेर्दाहेर्दै पूरै भवनबाट आगो दन्किन थाल्यो। धुँवाले आकाश ढाक्यो, हामीले ज्यान जोगाएर भाग्नुपर्ने स्थिति आयो,' उनले भने।
उनीहरू विवश भए। लाचार रहिरहे। ती खबर नजिकबाट नियालिरहेका भाटभटेनीका मालिक एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ आफ्ना व्यवस्थापक कर्मचारीमार्फत सरकार र प्रहरीसमक्ष सुरक्षाका लागि गुहार माग्दै थिए।
भीडको अगाडि सरकारी सुरक्षा संयन्त्र निरीह बन्न पुग्यो। आक्रोशित भीडबाट नेपालको पहिलो भाटभटेनी सुपर मार्केट जोगाउन सकेन।
ठिक त्यति नै बेला काठमाडौं उपत्यकाभित्र खुलेका करिब ६ वटा भाटभटेनीमा आपराधिक लुटपाट, तोडफोड र आगजनी जारी थिए।
चर्को घाम लागेको र फिटिक्कै पानी नपरेको त्यही दिन नेपालभर धनगढीदेखि विर्तामोडसम्म ठडिएका २८ मध्ये २१ भाटभटेनीका भवनको हालत उस्तैउस्तै हुन पुगेको थियो।
तीमध्ये १२ वटामा धेरै क्षति भयो भने २ वटा जलेर पूरै ध्वस्त भए।
'दिउँसो लुटपाट सकिएपछि साँझपख नक्साल र अन्यत्रका भाटभटेनी भवनमा आगजनी सुरू भयो,' भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले त्यो दिन सम्झिँदै भने।
त्यो भयंकर आगजनीमा करिब ११ अर्ब रूपैयाँ बराबरको सम्पत्ति क्षति भयो। जलिरहेका विभिन्न भवनभित्र गरी करिब १२ जना युवाले पनि मृत्युवरण गरे।
तर एक वर्षपछि भाटभटेनी खरानीबाट उठिसकेको छ। तीन वटा बाहेक उसका लगभग सबै शाखा भवनको पुनर्निर्माण सकिइसकेको छ।
सामान्य क्षति भएका केही भाटभटेनी त पोहोर दसैंदेखि नै खुलिसकेका थिए।
नक्सालको भाटभटेनी आउँदो असोज ५ गते, सोमबार खोल्ने तयारी जोडतोड साथ चलिरहेको छ। त्यसका लागि भदौ १० गते रूद्री र शान्ति स्वस्ति पूजा भएको थियो।
अझै चाखलाग्दो खबर त यस्तो छ — भाटभटेनीका भवनहरू जल्दै गर्दा आँसुका बलिन्द्रधारा बगाउँदै बाहिरिएका कलिला युवासहितका करिब १० हजार कर्मचारी कसैले पनि रोजगारी गुमाउनु परेन। उनीहरूले सञ्चालनमा रहेका अन्य भाटभटेनीमा काम पाए।
एक वर्षपछि उनीहरू सबै लगभग आफ्ना पुरानै कार्यथलोमा फर्किइसकेका छन्, वा फर्किने तयारी छन्— अनुहारमा मधुर मुस्कान र सन्तुष्टीको भाव झल्काउँदै।
भदौ २४ को लुटपाट र आगजनीलगत्तै भाटभटेनीका प्रमुख मीनबहादुर गुरूङ सञ्चार माध्यममा निकै विक्षिप्त र भावुक देखिएका थिए।
गहभरि आँसु लिएर बोल्दै गर्दा आफ्नो ४१ वर्षको परिश्रम र झन्डै ५० अर्ब रूपैयाँ लगानीमा ठूलो क्षति गरिएको भन्दै उनी निकै भक्कानिएका थिए।
तथापि उनले आफू गोर्खाली सैनिकको सन्तति भएकाले कहिल्यै हिम्मत नहार्ने बताए। क्षति गरिएका सबै भाटभटेनीका भवन एक, एक गरी नवनिर्माण गर्ने काममा खटिने बताए।
गत दसैंअघि उनले सेतोपाटीलाई छोटो प्रतिक्रिया दिँदै भनेका थिए– मन भारी छ, यसपालि दसैं भएन।
दैनिक १८ घन्टा खटिने मीनबहादुर र उनका कर्मचारीले सामान्य क्षति पुगेका भाटभटेनी तत्कालै सञ्चालनमा ल्याए। धेरै क्षति पुगेका भवन पुनर्निर्माणमा जुट्न थाले जुन क्रम अझै जारी छ।
फलस्वरूप हालैका महिनाहरूमा नक्साल, हेटौंडा र दमक बाहेक भाटभटेनीका अधिकांश ध्वस्त भवन उठिसकेका छन्। धेरै नै क्षति पुगेका कतिपयलाई प्रबलीकरण गर्दै सबल बनाउँदै फेरि सञ्चालनमा ल्याइएको हो।
त्यसैले त भाटभटेनीका प्रमुख मीनबहादुसँगै पुनर्निर्माण र पुनः सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेका प्रमुख सञ्चालन अधिकृत पानु पौडेल र अन्य व्यवस्थापकलाई भ्याइनभ्याइ छ।
यो साता मैले सम्पर्क गर्न खोज्दा अवस्था त्यस्तै थियो। बिहीबार दिउँसो बल्ल फोनमा फेला पार्दा पौडेल र अन्य कर्मचारी नयाँ भवनसहित असोज ५ गतेदेखि फेरि सञ्चालनमा आउन लागेको नक्सालको सबभन्दा पुरानो भाटभटेनीमा विभिन्न काममा अत्यन्त व्यस्त थिए।
नक्साल भाटभटेनी खुलेपछि उनीहरू हेटौंडा र दमकका भवन पुनर्निर्माणको काम सक्न व्यस्त रहनेछन्। आउने मंसिरसम्म ती खोलिसक्ने लक्ष्य छ।
यो आलेख तयार पार्ने क्रममा मैले मीनबहादुरसँग पनि कुराकानी गर्न खोजेको थिएँ। तर उनी केही समयअगाडि अस्वस्थ्य भएको र आराम गरिरहेको प्रमुख सञ्चालन अधिकृत पौडेल जानकारी दिए।
'सरलाई रगतमा हेमोग्लोबिन कम हुने समस्या देखिएको थियो। अहिले औषधि खाएर स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ,' उनले भने।
उनका अनुसार त्यसै कारण मीनबहादुर सामाजिक दुरी कायम गरिरहेका छन्। मिडिया लगायत अन्य व्यक्तिसँग कमै सम्पर्क गरिरहेका छन्। अरू बेला पुनर्निर्माणको काममा व्यस्त छन्।
'अब दुई, तीन महिनापछि उहाँलाई पूरै सन्चो हुन्छ अनि मिडियासँग बोल्नु हुन्छ होला सायद,' पौडेलले भने।
नक्साल भाटभटेनीमा रूद्री पूजाको बेला मीनबहादुर दुई, तीन घन्टाका लागि उपस्थित भएका थिए। स्वास्थ्य उपचार गरिरहे पनि उनको सक्रियता र आफ्नो व्यवसायको निरन्तर प्रगतिको चाह र दृढतामा पटक्कै कमी देखिँदैन।
'उहाँ बिहान साढे ५:३० बजेतिर नक्साल भाटभटेनी घुम्न आउनु हुन्छ र काममा भइरहेको प्रगतिको अनुगमन गर्नुहुन्छ,' उनले थपे।
भाटभटेनीले गरेको पुनर्संरचनाको कामलाई उदाहरण मान्ने हो भने यसको रफ्तार अब अझ तीव्र हुने देखिन्छ।
किनकी, ठिमीको भाटभटेनीले गत भदौ १ गतेदेखि चौबिसै घन्टा सेवा दिन थालिसकेको छ। सम्भवतः त्यस्तो सेवा सुरूआत गर्ने नेपालको पहिलो सुपर मार्केट बन्यो!
त्यही भाटभटेनीमा हालै नेपाल सरकारका शिक्षामन्त्री सस्मित पोखरेल पनि आफ्नो परिवारसहित रात्रिकालीन किनमेल गरिरहेको भिडिओ सामाजिक सञ्जालमा तपाईंहरूमध्ये केहीले हेरेकै हुनुपर्छ।
'राती खोलेपछि राम्रै भइरहेको छ ठिमीमा। ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक छ,' पौडेलले भने, 'हामीले नक्साल र पाटनढोका क्षेत्रका भाटभटेनी पनि चौबिसै घन्टा खोल्ने योजना बनाएका छौं।'
मंसिरसम्म २८ वटै भाटभटेनी सञ्चालनमा ल्याउने योजना छ। त्यस्तै भाटभटेनी विस्तारको नयाँ चरणमा पनि प्रवेश गर्दैछ। उसले थप चार वटा सुपर मार्केट भवनको काम अघि बढाइसकेको छ।
पौडेलका अनुसार चितवनको टाँडी र कास्कीको लेखनाथमा बन्दै गरेका भवन पूरा हुन लागिसकेका छन्। लगत्तै ललितपुरको भैंसेपाटी र सातदोबाटोमा नयाँ सुपर मार्केट बनाउने योजना अघि बढ्ने छ। ती पूरा भएपछि भाटभटेनीको संख्या ३२ पुग्नेछ।
भदौ २४ को विध्वंशमा भाटभटेनीले करिब ११ अर्ब रूपैयाँको घाटा सहे पनि त्यसको ठूलो हिस्सा बीमा कम्पनीहरूबाट पाउन थालिसकेको छ। तर पुनर्निर्माणमा लगानी बढेर करिब १५ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ।
सरकारलाई वर्षमा २ अर्ब रूपैयाँ कर बुझाउँदै आएको भाटभटेनीले हजारौं नेपाली युवालाई रोजगारी दिएको छ। लाखौं लाख सहरी नेपालीलाई एकै ठाउँमा धेरै थोक र सुपथ मूल्यमा किनमेल गर्ने सुविधा पनि दिएको छ।
त्यसको बीजारोपण मीनबहादुर र उनकी श्रीमती सावित्रीले २०४१ साल जेठ ४ गते अहिले भाटभटेनी भवन रहेकै नक्सालमा एउटा सानो पसलबाट गरेका थिए। त्यो किराना पसलबाट पहिलो दिन १३०० रूपैयाँको व्यापार भएको थियो।
२०६३ सालमा माओवादी सशस्त्र द्वन्द्व सकिएपछि लगातार विस्तार हुन थालेको भाटभटेनीका पसल भएका भवन अहिले नेपालकै सबभन्दा ठूलो सुपरमार्केटको सञ्जाल भइसकेको छ।
भदौ २४ को जस्तो दुःखद घटना नेपालमा 'अब उप्रान्त कहिल्यै नहोस्' भनेर प्रार्थना गरिरहेका मीनबहादुर र उनका कर्मचारीले आगामी दिनमा सरकारले सुरक्षा व्यवस्था अझै सबल र प्रभावकारी बनाउने आशा गरिरहेका छन्।
तर जाँदाजाँदै केही प्रश्नले धेरैलाई घोचिरहेको हुनसक्छ — के एक दिनमा त्यत्रो धेरै अकल्पनीय क्षति पुगेको भाटभटेनी सुपर मार्केटले न्याय पायो होला? भाटभटेनीका पसलमा भीडसँगै घुसपैठ गरेका लुटेराहरूलाई कानुनी कारबाही भयो होला?
प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, 'हेर्नुस् क्षतिपूर्ति त बीमामार्फत पाउने क्रममा छौं। बाँकी कुराको हामी चिन्ता गर्दैनौं। किनभने हामी त्यो दिन बिर्सिन चाहन्छौं। त्यसले हामीलाई घोच्छ, पोलिरहन्छ। त्यसैले हामी पछाडि फर्किन चाहँदैनौं। हामी अझै अगाडि बढ्न चाहन्छौं।'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal