पोहोर साल भदौ २४ गते भिडले आक्रमण गरेर लुटपाट मच्चिएपछि दनदनी दन्किएको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट नवनिर्माणपछि केही महिनाअघि मात्र सञ्चालनमा आयो।
आक्रमण लगत्तै केही शाखा खुले पनि कैयौं अझै नवनिर्माणको चरणमा छन्।
हालैको एक बिहान म त्यहाँ भित्र पस्ने बित्तिकै भाटभटेनी संस्थापक मीनबहादुर गुरूङले आकाशतिर हेरेर प्रार्थना गरिरहेको तस्बिरले पोहोर भदौ २४ गतेको त्यो कहालीलाग्दो दिन भाटभटेनीका भवन र राजधानीका अन्य धरोहर जलाइएका भयंकर दृश्य फेरि आँखामा झलझली आउन थाले।
गेटबाट प्रवेश गर्ने सबैले देख्ने गरी फेरि चम्काइएको भवनको भित्तामा राखिएको तस्बिरमा लेखिएको छ — हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्!!!
मीनबहादुर र धेरै नेपालीले फेरि कहिल्यै नदोहोरियोस् भनी कामना गरेको त्यस दिन भाटभटेनीका देशभरका २८ मध्ये २० भवनमा क्रुर आक्रमण लुटपाट र आगजनी गरियो। हेर्दा हेर्दै आधुनिक, चहकिला सिसाका झ्यालसहित देशका प्रमुख सहरका शानझैं देखिने गरी उभिएका भाटभटेनीका अधिकांश भवन धुवाँको मुस्लोले छोपिन पुगे।
नक्सालमा रहेको नेपालकै पहिलो भाटभटेनीको भवन र केही पर रहेको त्यसको गोदाम भवन पूरै ध्वस्त भए।
तीमध्ये केहीमा सामान्य क्षति भए पनि महाराजगञ्ज, बौद्ध र नक्सालसहित १२ वटा पूर्ण रूपमा क्षतिग्रस्त भए।
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका शब्दमा भन्नुपर्दा त्यसदिन '१२ वटा भाटभटेनी पूरै खरानी' भए।
भवन मात्रै खरानी भएनन्, बौद्ध (चुच्चेपाटी) भाटभटेनीको भवनबाट एक हप्तासम्म धुवाँ आइरह्यो। कोटेश्वर, विराटनगर र धरानका भाटभटेनी भवनमा १२ जनाभन्दा बढी युवा जले र सधैंका लागि बिदा भए।
नयाँ चमकसँगै नयाँ आशा
भदौ २४ को आक्रमणबाट क्षतिग्रस्त महाराजगञ्ज भाटभटेनीको नवनिर्मित भवनमा रहेको तस्बिरमा संस्थापक मीनबहादुर गुरूङले गरेको कामना। तस्बिर: सुरेन्द्र फुयाल
भदौ २४ को दस महिनापछि समयसँगै परिदृश्य बदलिएको छ। सामान्य क्षति भएका मात्र होइन, पूरै ध्वस्त बनाइएका भाटभटेनी भवनहरु समेत एकपछि अर्को गर्दै उठ्दैछन्। र, नवनिर्माणपछि भाटभटेनी भटाभट खुल्दैछन्। नयाँ चमक र नयाँ आशासहित ग्राहक डाक्दैछन्।
हिजोआज तपाईं यदि चावहिल–साँखु सडकतिर हिँड्नु वा गुड्नुभएको छ भने बौद्ध (चुच्चेपाटी) स्थित भाटभटेनीको भवनमा मानिसहरू विभिन्न उपकरणसहित दिनरात काममा खटिएको देख्न सक्नुहुन्छ।
मैले केही दिनदेखि हेर्दा हेर्दै त्यो भाटभटेनी भवनको नयाँ निर्माण लगभग पूरा हुन लागिसकेको छ।
नहोस् पनि किन?
बौद्ध भाटभटेनी आगामी असार ८ गतेदेखि फेरि सञ्चालनमा आउँदैछ।
प्रमुख कार्यकारी पानु पौडेलको भनाइमा आउने केही दिनपछि बौद्धको भाटभटेनी खुल्दैछ। असारको अन्त्यसम्म विराटनगरको भाटभटेनी खुल्दैछ। लगत्तै बिर्तामोड, दमक, धरान र हेटौंडाका भाटभटेनी क्रमश: खुल्दैछन्।
भाटभटेनीको यस्तो रफ्तारलाई धेरै उद्यमीहरूले उदाहरणीय र देखासिकी गर्नुपर्ने खालको ठानेका छन्।
तर त्यो रफ्तार देखिएको भन्दा पनि सायद अझै छिटो गतिको रहेछ।
'खोल्नुअघि हामीले ज्योतिषीलाई देखाएर शुभ साइत हेरेकाले केही ढिला भयो,' पानु पौडेले भने, 'अधिक मास परेको जेठमा साइत भएन। नत्र हामी साउनसम्ममा सबै खोल्ने तयारीमा थियौं।'
उनका अनुसार भदौ २४ को भयानक आक्रमणपछि पूर्ण ध्वस्त भएको नक्सालको भाटभटेनीको नयाँ भवन तयार हुँदैछ। र, त्यो पनि दसैंअघि नै खोल्ने तयारी छ। त्यसपछि दमकको खोल्ने तयारी छ।
विध्वंशपछिको पुनर्निर्माण
चुच्चेपाटी बौद्धमा रहेको भाटभटेनी सुपर मार्केटको मर्मत सम्हार र प्रवलीकरणपछि रंगरोगन र बत्ती जडानको काम तीव्र गतिमा भइरहेको छ। यो सुपर मार्केट असार ८ गतेदेखि फेरि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। तस्बिर: सुरेन्द्र फुयाल
खोटाङको दुर्गम गाउँबाट काठमाडौं आएका मीनबहादुर गुरूङले नक्सालमा भाटभटेनी मन्दिर नजिकै २०४१ जेठ ४ गते एउटा किराना पसल खोलेका थिए। श्रीमती सावित्रीका निम्ति खोलिदिएको त्यो पसल नै करिब १० वर्षपछि पहिलो भाटभटेनी सुपर मार्केट बनेको थियो।
अहिले नेपालभर विस्तार भएको भाटभटेनीका २८ भवन निर्माण हुन कम्तीमा ४१ वर्ष लागेको थियो। कम्तीमा ५० अर्ब रूपैयाँ लगानी भइसकेको भाटभटेनीमा दैनिक अर्बौं रूपैयाँको व्यापार हुन्थ्यो, हुन्छ। अनि करिब १० हजार नेपाली युवाले रोजगारी पाएकामा मीनबहादुर गर्व गर्छन्।
विध्वंशपछि पनि तीमध्ये कसैले रोजगारी नगुमाएको भाटभटेनीको भनाइ छ।
भदौ २४ गतेको विध्वंस क्रममा भाटभटेनीले करिब ११ अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति भएको हिसाब निकालेको थियो। आक्रमण लुटपाट र आगजनी पछि सेतोपाटीसँग छोटो कुरा गर्दै मीनबहादुरले आफ्नो मन भारी भएको र दसैं नमनाउने बताएका थिए।
नक्सालको ध्वस्त भवन अगाडि उभिएर मिडियासँग कुरा गर्दै उनले आफू गोर्खाली सेनाको सन्तति भएको र कहिले हिम्मत नहार्ने बताउँदै नेपालको भविष्य निकै सुन्दर रहेको बताएका थिए।
क्षतिपछि उनीसँगै भाटभटेनीका सबै कर्मचारी सफाइ र नवनिर्माणमा जुटिसकेका थिए। त्यसो गर्दै उनीहरुले लडेपछि धूलो टकटक्याउँदै उठ्न, वा आवश्यक परे मलमपट्टि गर्दै, फेरि काममा फर्किन प्रेरणा दिएका थिए।
भदौ २४ को विध्वंशको केही सातापछि नै सामान्य क्षति भएका भाटभटेनी खुलिसकेका थिए।
नवनिर्माणमा देखिएको भाटभटेनीको उदाहरणीय मानिएको रफ्तारबारे कुरा गर्न मीनबहादुरलाई पटक पटक फोन र सन्देश पठाए पनि उनीसँग कुरा हुन पाएन। प्रमुख कार्यकारी पानु पौडेललाई फोन गर्दा उनी बौद्ध भाटभटेनी मर्मतमा खटिएका थिए।
उनका अनुसार सबै भवनको पुनर्निर्माणमा ११ अर्ब रूपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान छ।
उनले भने, 'नक्साल र गोदाम भवनको नवनिर्माण गर्नुपरे पनि बाँकी १० वटालाई भत्काउनु परेन। तिनलाई रेट्रोफिटिङ (प्रवलीकरण) गरेर नयाँ जस्तै बनाइएको छ।'
भदौ २४ जस्तो नेपालमा फेरि कहिल्यै नहोस् भन्ने भाटभटेनीको प्रार्थनासँग सम्भवत: सबै नेपाली सहमत हुन सक्छन्।
भाटभटेनी जस्तै सबै नेपाली सहमत हुनसक्ने अर्को विषय चाहिँ सुरक्षा व्यवस्था, बन्दोबस्ती र पूर्वतयारी तथा रणनीतिसँग जोडिएको हुन सक्छ।
नवनिर्माण र पुनः सञ्चालनअघि धेरै कुरालाई ध्यान दिइएको बताउँदै पानु पौडेलले भने, 'हो हामीले सुरक्षा र बीमालाई अझै सवल बनाउने कोसिस गरेका छौं। तर त्यस दिनको जस्तो उदण्ड र उग्र भिडसँग हाम्रा केही सुरक्षा गार्डको केही लाग्दैन। त्यसको प्रमुख जिम्मेवारी त सरकारको हो नि। हामीलाई आशा छ नयाँ सरकारले हाम्रो र अन्य उद्योगधन्दाको सुरक्षा गर्छ।'
त्यसो गर्न सरकारमाथि नैतिक दबाब र जिम्मेवारी दिने अर्को कारण यो पनि हुनु पर्छ — भाटभटेनीजस्ता उद्योगधन्दाले सरकारलाई करका रूपमा बुझाउने धनराशी।
उदाहरणका लागि, पानु पौडेलको भनाइमा — भाटभटेनीले मात्रै सरकारलाई पछिल्ला वर्षमा करिब २ अर्ब रूपैयाँ जति कर बुझाउँछ।
***
यो पनि पढ्नुहोस्- 'मन भारी' भएका मीनबहादुर गुरूङको खल्लो दसैं!
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal