सहिद परिवार
भीमबहादुर पराजुलीलाई भदौ २४ गते बिहान छोरासँग एउटै टेबलमा बसेर खाना खाएको झलझली याद आइरहन्छ।
६६ वर्षीय उनी आज पनि छोरा कतैबाट टुप्लुक्क आइपुग्छन् कि भनेर बाटो हेरिरहन्छन्।
पसलमा बस्दा कसैले 'बा' भनेर बोलाए पनि छोराले नै बोलाए कि भनेर झस्किन्छन्।
भीमबहादुरका ४१ वर्षीय छोरा अनिश पराजुली भने अब कहिल्यै नआउने गरी अस्ताएका छन्।
अनिशलाई घरमा 'रमेश' भनेर बोलाइन्थ्यो। भदौ २४ गते जेनजी आन्दोलन क्रममा छोरालाई गोली लाग्यो भन्ने सुनेपछि भीमबहादुर सास फुल्ने गरी हस्याङफस्याङ गर्दै चक्रपथको मेट्रो अस्पताल पुगेका थिए।
अस्पताल त पुगे, तर छोराको बोली सुन्न पाएनन्।
'म अस्पताल पुग्दा छोराको मृत्यु भइसकेको थियो,' भीमबहादुरले भने, '२ बजे गोली लाग्यो भन्ने खबर आएको थियो, ३ बजे अस्पताल पुग्दा त डाक्टरहरूले मृत्यु भइसक्यो भन्नुभयो।'
भीमबहादुरको घर गोरखाको पालुङटार–३ हो। उनी छोरा अनिशलाई पसलको काममा सघाउन साउन अन्तिम साता मात्र काठमाडौं आएका थिए।
दसैंको मुखमा पसलमा भिडभाड हुने भएकाले श्रीमतीलाई गाउँमा एक्लै छाडेर आएको उनी बताउँछन्। अनिशको काठमाडौं तार्केश्वर नगरपालिका–१ मा किराना पसल छ। उनले त्यहीँ जग्गा भाडामा लिएर टहरा बनाएका थिए। उनका श्रीमती, १३ र तीन वर्षका छोरा छन्।
दोस्रो सन्तान सानै भएकाले श्रीमती रञ्जुले पसलमा समय दिन पाएकी थिइनन्। त्यही भएर भीमबहादुर सघाउन आएका थिए।
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो,' उनले भने।
अनिश भीमबहादुरलाई पसलमा राखेर सामान पुर्याउन ग्राहकको घर–घर पुग्थे। भदौ २३ गते भने उनी कतै गएनन्। दिनभरि आफ्नै काम गरेर बसे।
'त्यो दिन छोरा कतै गएन, जेनजी आन्दोलनमा युवाहरूलाई गोली हानिएको दृश्य मोबाइलमा हेर्दै बसेको थियो,' भीमबहादुरले भने, '२४ गते बिहानभरि काम गर्यो। पौने ११ बजेतिर बाबुछोरा सँगै बसेर खाना खायौं। त्यसपछि ४–५ जना साथीहरूसँग स्कुटीमा निस्कियो।'
भीमबहादुरले भनेका थिए, 'कर्फ्यु लागेको छ, किन जानू?'
अनिशले जबाफ दिए, 'हिजो त्यति धेरैलाई सरकारले गोली हान्यो, अब पनि हामी नबोलेर हुन्छ?'
यति भनेर आफ्नो स्कुटीमा भीमबहादुरका आँखाबाट टाढिएका अनिश त्यसपछि कहिल्यै नजिक परेनन्।
भीमबहादुरलाई 'स्क्रिन टच' स्मार्ट मोबाइल खासै चलाउन आउँदैन। बुहारी र जेठो नातिले अलि अलि स्क्रोल गर्न सिकाएका छन्। आफै भने फुर्सदमा कहिलेकाहीँ हेर्छन्।
भदौ २४ गते भने उनले बिहानदेखि मोबाइल हेर्न पाएका थिएनन्। एक्कासि २ बजेतिर उनलाई खबर आयो।
'अनिशलाई हातमा गोली लागेर अस्पताल लगिएको छ रे भन्ने खबर आयो, त्यसपछि खोजी सुरू भयो,' भीमबहादुरले भने, 'बुझ्दै जाँदा चक्रपथको मेट्रो अस्पताल लगिएको छ भन्ने थाहा भयो।'
उनले थपे, 'म खबर पाउनेबित्तिकै पठाओ चढेर ३ बजेतिर अस्पताल पुगेँ, तर त्यति बेलासम्म ऊ बितिसकेको थियो।'
अनिशको मृत्युले भीमबहादुरको बुढेसकालको सहारा ढलेको छ। हुर्किँदै गरेका छोराहरूका अभिभावक र श्रीमतीले जीवनसाथी गुमाएका छन्।
अनिश आफ्ना सन्तानको भविष्य सुन्दर बनाउन काठमाडौं आएका थिए। गाउँमै हुर्केबढेका उनी प्लस–टू पास गर्नेबित्तिकै बिहे गरेर बिदेसिएका थिए। करिब १० वर्ष साउदी अरबमा बसेर ५ वर्षअघि फर्किएका थिए। फर्किएपछि श्रीमती र एक जना छोरालाई लिएर काठमाडौं पसे।
काठमाडौंमा तीन सन्तानको गुजारा चल्ने जागिर कतै नपाएपछि आफ्नै व्यवसाय सुरू गरेको भीमबहादुर बताउँछन्।
'तार्केश्वरमा पसल राखेको चार वर्षजति भयो। विदेशबाट कमाएको पैसाले व्यवसाय सुरू गरेको हो। त्यसबाहेक केही बचत छैन,' उनले भने, 'बिस्तारै पसल र ग्राहक फराकिलो बनाउँदै लगेको थियो। अहिले उही रहेन।'
भदौ २४ गते अनिशको मृत्युपछि भीमबहादुर र बुहारी रञ्जुले पसल सम्हालिरहेका छन्। तर घर–घरमा सामान पुर्याउन नसक्दा पहिलेजस्तो व्यापार छैन।
'अरूका लागि एक जना व्यक्ति मात्र हो, तर हाम्रो घरको त मूल खम्बा नै ढल्यो,' उनले भने, 'घरको खम्बा ढलेपछि कस्तो हुन्छ हजुर आफै सोच्नुहोला।'
'आफू अघि लाग्ने बेला छोरा गएपछि के भन्नु!' उनले थपे।
भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले खासै परिवर्तन ल्याउन नसकेको उनको भनाइ छ। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका घाइते र मृतकका परिवारको समस्या समेटेर अगाडि बढ्ने आश्वासन दिए पनि सोचेजस्तो नभएको उनी बताउँछन्।
भीमबहादुरका अनुसार अहिले उनका दुई जना नातिलाई कक्षा १२ सम्म गोल्यान ग्रुपले पढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
'जहाँ सरकार अगाडि उभिनुपर्थ्यो, त्यहाँ एक व्यक्तिले साथ दिइरहनुभएको छ,' उनले भने, 'क्षतिपूर्तिबाहेक हामीले राज्यबाट अरू केही पाएका छैनौं।'
उनी बुहारीलाई जागिर, नातिहरूलाई नि:शुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था सरकारले गरिदिनुपर्ने माग गर्छन्।
***