सेतोपाटीसँग प्रश्न–उत्तर
सम्पादकीय नोट— युवाहरू सहित धेरै मानिसका मनमा राजनीति, अर्थतन्त्र, संविधान, कानुन लगायत विषयमा थुप्रै प्रश्न हुन्छन्। कतिपय प्रश्नको उत्तर सरल भए पनि सबैलाई थाहा हुँदैन। तपाईंका मनमा पनि यस्ता प्रश्न वा खुलदुली भए हामीलाई सरल र छोटा प्रश्न सोध्नुहोस्। हामी विज्ञहरूलाई सोधेर तपाईंका प्रश्न र तिनका उत्तर प्रकाशन गर्नेछौं। आफ्नो नाम र फोटो पनि प्रकाशन गर्न चाहनुहुन्छ भने यो इमेलमा setopatidebate@gmail.com पठाउनुहोस्।
***
प्रश्न: के १६ वर्ष पूरा गरेका जेन–जी पुस्तालाई नागरिकता देखाएर फागुन २१ गते हुने निर्वाचनमा मत हाल्ने व्यवस्था गर्न सकिन्छ?
उत्तर: फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। सरकारले निर्वाचनको घोषणा गरिसकेको छ। निर्वाचन आयोगले त्यसको तयारी सुरू गरेको छ।
प्रतिनिधि सभामा कति वर्ष उमेर पुगेका नेपालीले मत हाल्न पाउने भन्ने नेपालको संविधानमै स्पष्ट व्यवस्था छ।
संविधानको धारा ८४ (५) मा भनिएको छ — १८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ।
यसको अर्थ, संविधान अनुसार मतदान गर्न उनीहरू १८ वर्ष पुगेको हुनुपर्छ। संविधान सभाले संविधान बनाउँदा १६ वर्षमा मत दिन पाउने कि १८ वर्षमा भन्ने लामो छलफल भएको थियो। धेरै छलफलपछि अन्तिममा १८ वर्ष कायम भएको हो।
राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकका दुई तिहाइ सांसदले चाहे मात्र संविधान संशोधन गर्न सकिन्छ। नभए गर्न सकिँदैन। अहिले प्रतिनिधि सभा विघटन भइसकेको छ। त्यसैले निर्वाचन भएर नयाँ प्रतिनिधि सभा स्थापना हुनुअघि संविधान संशोधनको प्रस्ताव पनि सरकारले लैजाने ठाउँ छैन।
सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गर्न सक्छ। तर संविधान संशोधन गर्न सक्दैन।
त्यसैले आउने चुनावमा १६ वर्ष मात्र पुगेका जेन–जी पुस्ताले मतदान गर्न पाउने छैनन्। उनीहरूको नाम मतदाता नामावलीमा हुनुपर्छ र फागुन २० गते, अर्थात् निर्वाचन हुने एक दिनअघि १८ वर्ष पुगेको हुनुपर्छ।
***
यहाँ प्रस्तुत उत्तर विज्ञहरूसँग कुराकानी गरेर सेतोपाटी टिमले तयार पारेको हो। यसले सेतोपाटीको संस्थागत धारणाको प्रतिनिधित्व गर्दैन।