पोखरा सहरको कथा
यो बादल, यो वर्षा अनि भेलमा
पर्खी बसेँ हर परिवेशमा
— तिलक बम मल्ल (परिवेश ब्यान्ड)
हिउँद सकिएर बर्खा लागेपछि थलमा झरेको पानीको पहिलो थोपा कस्तो होला?
फेवातालको बीचमा झरेर गहिराइमा बिलाइजाला कि सराङकोट, काहुँकोट वा कालिकाकोटको कठोर चट्टानमा झरेर चूर चूर होला?
कुनै अमुक ताल र पोखरीमा अडिएला कि जमिनमा खसेर सुकिजाला?
रूखका पातमा परेर चिप्लिएला कि मानिसका अनुहारमा तप्प चुहिएर पसिनासँगै मिसिएला?
पानी पर्दा एउटा थोपा मात्र पर्दैन। पहिलो थोपालाई साथ दिन धेरै थोपाहरू पछि पछि कुद्छन्। नेपालको 'चेरापुञ्जी' भनिने पोखरामा त झन् थोपाहरूको बाढी नै उर्लिन्छ। भएभरका ताल आफै आकाशमा गएर बर्सिएजसरी बर्सिन थाल्छन्। नदीनाला आकाशमै गएर बगेजसरी बग्न थाल्छन्।
यस प्रकार बर्सिने वर्षाका थोपाले सडकमै भेल बग्छ। कति भेलले सडक नै काटिदिन्छ।
बर्खेभेल यति ठूलो र गहिरो हुन्छ, यहाँ कायाकिङजस्तो जलक्रिडा सडकमै गर्न सकिन्छ। लेकसाइडका अनिल थापाले सडकमै कायाकिङ गरेर संसारलाई देखाइसकेका छन्।
यसरी आकाशबाट सिंगो ताल र नदी बर्सिँदा पनि पोखराका सडक वा खुला ठाउँमा पानी जम्दैन। जसै पानी पर्न रोकिन्छ, सडकमा बगिरहेको भेल टक्क थामिन्छ। खुला ठाउँहरू सुख्खा हुन्छन्। आकाश सँगसँगै भुइँ पनि ओभाउँछ। निलो आकाशमुनि खुलेका दूधिला हिमालले मुग्ध बनाउँछ। भूपि शेरचनले आफ्नो कविता 'मैनबत्तीको शिखा' मा भनेजस्तो शुभ, शान्त र स्निग्ध बन्छ, झरीपछिको पोखरा!
यसको कारण पोखराको जमिनमा थुप्रिएका ढुंगा, गिटी र बालुवा हुन्, जसले भूसतहमा जम्मा भएको पानी सोसेर तल लैजान्छन्। अन्नपूर्ण चौथो हिमालबाट आएको हिमपहिरोले पोखरामा बिस्कुन सुकाएझैं चुनयुक्त ढुंगा, गिटी र बालुवा फिँजाएको छ, जसबारे हामीले यसै शृंखलाको पहिलो स्टोरीमा चर्चा गरिसकेका छौं।
हुन त पोखराको आबोहवा नै मोहनी लाउने छ। त्यसमाथि प्रकृतिप्रेमीहरू मोहित हुनुमा अर्को कारण पनि छ — यहाँ नेपालका अन्य ठाउँभन्दा धेरै पानी पर्छ।
अब प्रश्न उठ्छ — पोखरामा धेरै पानी पर्नुको कारण के?
मनसुनमा देखिएको पोखरा र अन्नपूर्ण हिमशृंखला। तस्बिर: रोहित गिरी
तातो र चिसो हावाको खेल नै 'मौसम' हो। तातो हावाले धेरै पानी बोक्छ, चिसो हावाले थोरै।
जसले जति पानी बोके पनि के भो! पोखरा छिरेपछि बर्सन करै लाग्छ। वर्षा नगराई त यहाँका हिमालले पनि के टेर्छन् र!
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका मौसमविद हिरा भट्टराई भौगोलिक अवस्थितिलाई नै पोखरामा धेरै पानी पर्नुको कारण मान्छन्।
उनका अनुसार उत्तरतर्फ अग्लिएको अन्नपूर्ण हिमशृंखलाले जलवाष्पयुक्त हावालाई उत्तर जानबाट रोक्छ। उत्तर–पश्चिममा उभिएको धवलागिरि शृंखलाले उत्तर–पश्चिमतिर बहने बाटो छेक्छ। हिमालको सेपमा बसेका पहाडले पनि हावाको बाटो छेक्ने नै भए। यतिले नपुगेर हिमाल र पहाडका तरेलीले पनि हावाको बाटो रोकेर अस्थिर बनाइदिन्छ।
'आकाशबाट पानी पर्न सबभन्दा पहिला जलवाष्पयुक्त हावा बहनुपर्छ। जलवाष्पको गुण नै हलुंगो भएर माथितिर बहने हुन्छ। यस्तो हावालाई कुनै चिजले रोकेर अनस्टेबल (अस्थिर) बनायो भने त्यो हावा बादलमा परिणत हुन्छ। अनि त्यही बादलले वर्षा गराउँछ,' भट्टराईले भने।
नेपालमा पानी पार्न मुख्यगरी दुई प्रकारका हावा बहन्छन् — पूर्वीय हावा र पश्चिमी हावा।
सबभन्दा धेरै पानी पार्ने पूर्वीय हावाले हो। यो हिन्द महासागरमा विकास भएर बंगालको खाडी हुँदै नेपाल भित्रिन्छ। बर्खा यामको गर्मीले हिन्द महासागर र बंगालको खाडीमा समुद्र तातेर अत्यधिक बाफ उड्छ। त्यही बाफ मिसिएको हावाको बहावलाई नै मनसुनी वा पूर्वीय हावा भनिन्छ।
यसरी विकास भएको मनसुनी हावा पूर्वबाट पश्चिम लाग्छ। यही क्रममा नेपाल भित्रिएपछि पूर्वी भेगमा पानी पार्दै पश्चिमतिर बहन्छ।
पश्चिमी हावा भने हिउँदमा युरोपभन्दा तल मेडिटेरेनियन सागरबाट विकास हुन्छ। यो हावा अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु–कश्मिर हुँदै नेपाल छिर्छ। यो मनसुनी हावाजति शक्तिशाली भने हुँदैन।
पोखराजस्तो पानी नै पानीको सहरमा आन्तरिक प्रणालीले पनि वर्षा गराइरहेको हुन्छ। यहाँका तालतलैया, खोलानाला र पोखरीबाट घामको तापले ठूलो परिमाणमा बाफ उडेर माथि जान्छ। त्यो बाफयुक्त हावालाई वरिपरि अग्लिएका हिमाल र पहाडका सेपले बाहिर निस्कन दिँदैन। जलवाष्पयुक्त हावा चिसो हुन्छ। त्यही चिसो हावा बादलमा परिणत भएपछि पानी पर्छ।
पोखरामा वर्षा गराउने आन्तरिक प्रणाली पूर्वीय र पश्चिमी हावाजस्तो दिगो हुँदैन। क्षणभरमा बर्सिएर सकिन्छ।
'जलवाष्पयुक्त हावा भए पनि त्यसलाई कुनै चिजले रोकेन भने बहेर जान्छ। बादल बनेर बर्सिने सम्भावना हुँदैन। पोखरा छिरेको जलवाष्पयुक्त हावा फुत्केर अन्यत्र जान हिमाल र पहाडको चुनौती पार गर्नुपर्छ,' मौसमविद भट्टराईले भने, 'बरू पोखरामै बादल बनेर दर्किन सजिलो हुन्छ।'
पूर्वीय र पश्चिमी हावाका आ–आफ्नै विशेषता छन्।
भट्टराईका अनुसार पूर्वबाट आउने मनसुनी हावा तल्लो भागबाट बहन्छ भने पश्चिमी हावा माथिल्लो भागबाट। तल्लो भागबाट आउने भएकाले मनसुनी अर्थात् पूर्वीय हावाले हिमाली भेगभन्दा तल धेरै पानी पार्छ।
त्यस्तै, माथिबाट आउने पश्चिमी हावाले पहाडमा वर्षा मात्र ल्याउँदैन, हिमाली भेगमा हिमपात पनि गराउँछ। हिमालमा थुप्रिएका तिनै हिउँ समयक्रममा पग्लिन्छ र हिमनदी भएर बग्छ। यसले पहाडको मूल दिगो बनाउँछ; तल्लो तटीय क्षेत्र रसिलो पार्छ।
करोडौं वर्षअघि समुद्रबाट उठेको पहाडलाई हिमाल बनाउन पहिलो पटक परेको हिउँ अहिले पनि बरफ बनेर जमेको होला कि समुद्र भेट्न पुगिसक्यो होला!
वर्षाले डुबानमा परेको पोखराको सुइखेत। तस्बिर: भुवन अधिकारी
यी त भयो पोखरामा बढी पानी पर्नुका मौसमी कारण। यहाँ अर्को प्रश्न उठ्छ — जलवाष्पयुक्त हावालाई उत्तरतिर बगेर जानबाट रोक्ने हिमाल र पहाडले पोखरामा बढी पानी पार्न मद्दत गरेका हुन् भने त्यस्ता हिमाल र पहाड त अन्यत्र पनि छन्; अन्यत्रका हिमाल र पहाडका फेदमा किन पोखराजति पानी पर्दैन?
हामीले यही प्रश्न जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मणिरत्न शाक्यलाई सोधेका थियौं।
उनका अनुसार पूर्वबाट पानी पार्दै पश्चिमतिर आउने मनसुनी हावा पोखराको आकाशमा धेरै बेर रोकिन्छ। यसरी मनसुनी हावा रोकिनुमा पनि कारण छ।
'पोखरा उपत्यकाको जस्तो अवस्थिति अन्यत्र छैन। पोखरालाई जसरी हिमाल र पहाडले घेरा हालेको छ, त्यसरी नै घेरा हालेर अन्यत्रका हिमाल र पहाड उभिएका छैनन्,' उनले भने, 'पोखरालाई उत्तरमा अन्नपूर्ण शृंखला र उत्तर–पश्चिममा धवलागिरि शृंखलाले छेकेको छ।
आठ हजार मिटरभन्दा अग्ला यी हिमालका सेपमा पहाडहरू छन्। यी हिमाल र पहाडले पूर्वबाट पश्चिम लागेको जलवाष्पयुक्त मनसुनी हावालाई पोखरा उपत्यकामाथि रोकेर राख्छन्। यही कारणले पोखरामा मनसुनी हावा धेरै समय अडिन्छ र सर्वाधिक वर्षा हुन्छ।'
आकाशको बाटो भएर आउने जलवाष्पयुक्त हावालाई शाक्य 'आकाशमा बहने खोला' भनेर अर्थ्याउँछन्।
'हामीले जमिनमा मात्र खोला बगेको देखेका छौं, तर आकाशमा पनि त्यसरी नै खोला बग्छ,' जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयमा आठ वर्ष प्रमुख भएर बिताएका शाक्यले अगाडि भने, 'समुद्रबाट आकाशको बाटो हुँदै बग्ने खोला पहाडमा ठोक्किएर फेरि जमिनकै खोलामा मिसिन्छ। यो निरन्तर चलिरहने मौसमी प्रक्रिया हो।'
उनका अनुसार पोखराका भदौरे र लुम्ले सबभन्दा धेरै पानी पर्ने क्षेत्रमा पर्छन्। यी ठाउँ आफैमा पहाड त भइहाले, त्यसमाथि हिमालको सेपमा पर्नु अर्को सञ्जोग हो जसले यहाँ बढी पानी पार्छ।
यति मात्र होइन, पोखरामा बढी पानी पर्नुको अर्को कारण पनि छ।
पोखरा मनसुनी हावा बहने हिमाल तलको भूभाग हो। यसलाई 'विन्डवार्ड साइट' भनिन्छ। त्यस्तै, हिमालपारि मुस्ताङलाई 'लिवार्ड साइट' वा 'रेन स्याडो जोन' भनिन्छ। विन्डवार्ड साइट वर्षाकै लागि बनेको हुन्छ भने हिमाल नाघेर गएका छिटपुट वर्षा मात्र लिवार्ड साइटमा पर्छन्।
मौसमी प्रणालीमा अर्को अदभूत घटना हुन्छ — चट्याङ र मेघगर्जन।
वायुमण्डल अस्थिर भएर आकाशमा कालो बादल बन्छ। यस्तो कालो बादलमा जमिनको सतहबाट माथि माथि उडेको तातो हावा ठोक्किन पुग्छ। यसबाट हुने घर्षणले बिजुली चम्किन्छ, अनि चट्याङ पर्छ।
चट्याङ पर्दा निस्केको बिजुली निकै शक्तिशाली हुन्छ। यसले ठूलो मात्रामा ताप पैदा गर्छ र घघडान आवाज निकाल्छ। यही आवाजलाई मेघगर्जन भनिन्छ। नेपालमा धेरै चट्याङ पर्ने ठाउँमध्ये पोखरा पनि एक हो।
मौसमविद शाक्यका अनुसार चट्याङ पर्दा उत्पन्न बिजुली तीव्र गतिमा पृथ्वीको सतहतर्फ प्रवाह हुन्छ। चट्याङले ३० हजार एम्पियरसम्म बिजुली उत्पन्न गर्छ। यसको तापक्रम ३० हजार डिग्री सेल्सियसभन्दा बढी हुन्छ। यति शक्तिशाली चट्याङ मान्छेमाथि पर्यो भने ऊ बाँच्ने सम्भावना हुँदैन। चट्याङमा परेर बर्सेनि धेरैले ज्यान गुमाउँछन्। मान्छे मात्र होइन, चट्याङ परेको रूख पनि बाँच्दैन। सुकेर मर्छ।
मौसमी प्रणाली विकास गर्न सूर्यको ताप र समुद्रको पानी मात्र भएर पुग्दैन। यसलाई चलायमान बनाउन पृथ्वी घुमेकै दिशाबाट फन्को मारिरहेको हावाको ठूलो मुस्लोको भूमिका पनि उत्तिकै छ।
यो मुस्लो तीव्र गतिमा पश्चिमबाट पूर्व बहिरहेको हुन्छ। वायुमण्डलभन्दा माथिबाट बहने हावाको मुस्लोलाई मौसमविदहरू 'जेट स्ट्रिम' भन्छन्। यो नामकरण सन् १९३९ मा जर्मन मौसमविद हेनरिक सेलकोपले गरेका हुन्। दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा आणविक बम हान्न पठाएको जेट विमानका चालकले यस्तो हावाबारे थाहा पाएका थिए।
भूमध्यरेखालाई आधार मानेर पृथ्वीलाई दुई ध्रुवमा बाँडिएको छ। एउटा ध्रुवमा तीनवटासम्म जेट स्ट्रिम हुन्छन्। वायुमण्डलको माथिल्लो भागमा प्रतिघन्टा १२० देखि ४०० किलोमिटर गतिमा जेट स्ट्रिम बहन्छ। मौसमअनुसार यिनीहरूको गति र ठाउँ फरक फरक भइरहन्छ। यसको बहाव सर्पाकार हुन्छ।
यो हावाको मुस्लो चिसोमा भूमध्यरेखातिर सर्दै आउँछ भने गर्मीमा दुई ध्रुवतिर फर्किन्छ। गर्मीमा जब हावाको मुस्लो दक्षिण गोलार्द्धतिर जान्छ, तब जेट स्ट्रिमको तल्लो तहमा नयाँ जेट स्ट्रिम बन्छ। यो घटना भूमध्यरेखा आसपास रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ। यसले नै मनसुनी हावालाई भारतको दिल्ली, नेपाल हुँदै पाकिस्तानतर्फ लैजान मद्दत गर्छ।
'जेट स्ट्रिमले मौसमी प्रणाली विकास गर्न सघाउँछ,' शाक्यले भने, 'त्यसैको अनुगमनबाट हामीलाई मौसमी प्रणालीबारे थाहा हुने हो।'
पोखराको फेवाताल। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
मौसमी प्रणालीले पानी मात्र पार्दैन, धर्ती रसिलो पनि बनाउँछ। यसको फाइदा मानिसले भन्दा बोटबिरूवाले उठाएका छन्। यस मानेमा पोखरा भाग्यमानी छ। पृथ्वीमा उम्रिने वनस्पतिमध्ये त्यस्ता कमै होलान्, जुन पोखरामा हुर्किन सक्दैनन्। वर्षाले पोखरालाई जैविक विविधताको खानी बनाएको छ। सुनाखरीको सहर बनेको छ, पोखरा।
वनस्पति वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले आफ्नो खोजयात्रा पोखराबाटै सुरू गरेका थिए। वनस्पतिहरू अध्ययन गर्न उनी नेपालका अनेक भूभाग धाए पनि पोखरालाई नै केन्द्र बनाए। पोखरा आएर कहिले पूर्व लागे, कहिले पश्चिम। यहाँबाट पटक पटक लामो पैदल यात्रा गरेर नेपालमा पाइने वनस्पतिहरू संकलन गरे। तिनको अध्ययन र अनुसन्धान गरे। अभिलेख पनि राखे।
'पोखरा नेपालका पूर्व र पश्चिममा पाइने वनस्पतिहरूको संगम स्थल हो,' उनले भने, 'जसरी नेपालमा पानी पार्ने पूर्वीय र पश्चिमी हावाको भेट पोखरामा हुन्छ, त्यसरी नै पूर्वी र पश्चिमी क्षेत्रमा पाइने सबैजसो वनस्पति पोखरामा पाइन्छन्।'
'मैले आफ्नो अध्ययन क्रममा पोखरा आउँदा वनस्पतिको खानी नै भेट्टाएँ। यहाँ मैले पूर्वतिर पाइने वनस्पति पनि फेला पारेँ, पश्चिमतिरका बोटबिरूवा पनि फेला पारेँ,' उनले अगाडि भने, 'अन्त कतै नपाइएका वनस्पति पनि पोखरामै भेटेँ।'
पोखरालाई यसरी जैविक विविधताको खानी बनाउनुमा सर्वाधिक वर्षा नै मुख्य कारक रहेको श्रेष्ठको भनाइ छ।
उनका अनुसार वनस्पतिको विविधता जमिनको उचाइले निर्धारण गर्छ। पोखरा यस्तो विशिष्ट ठाउँ हो, जहाँ समुद्री सतहबाट ४ सय मिटरदेखि ८ हजार ४१ मिटर उचाइको अन्नपूर्णसम्म छ। यही मौसमी विविधताले हिमाल, पहाड र तराई सबै ठाउँका बोटबिरूवा हुर्किने वातावरण पोखरालाई दिएको छ।
'हावाजस्तै कुनै वनस्पति पूर्वबाट पश्चिम लागेका छन् भने कुनै पश्चिमबाट पूर्व फैलिएका छन्। पूर्व र पश्चिमका वनस्पतिको 'मिटिङ प्लेस' वा 'डिभाइडिङ प्लेस' का रूपमा पोखरालाई हेरिन्छ,' वनस्पति वैज्ञानिक श्रेष्ठले भने।
उनी वनस्पति अध्ययन गर्न सन् १९६३ मा पहिलो पटक काठमाडौंबाट पोखरा आउँदा बैदाममा पाल टाँगेर बसेका थिए। उनीसँग ६ जनाको टिम थियो। त्यति बेला पोखरा साना साना गाउँहरूमा छरिएको थिए। घरहरू झुरूप्प थिए। फेवातालमा एकाध काठ खोपेर बनाइएका डुंगा चल्थे। फेवाताल आसपास घाँसे मैदान थियो। चउरमा पशुपन्छी निस्फिक्री चरिरहेका हुन्थे।
'त्यति बेला फेवाताल आसपास मैले जति चरा देखेँ, त्यति त काठमाडौंमा पनि देखेको थिइनँ,' उनले भने, 'यसको कारण पोखराको मौसम, ताल वरिपरिको सिमसार र जंगल हो। यी चार थोकले सधैं चरा आकर्षित गर्छन्।'
चरा देखेरै अचम्म मानेका श्रेष्ठ पोखरामा बोटबिरूवा र वनस्पतिको नमूना संकलन गर्दा त तीनछक नै खाए। किताबमा जुन ठाउँमा जुन बिरूवा पाइन्छ भनेर पढेका थिए, ती सबै पोखरामै थिए। तराई वा फाँटमा हुनुपर्ने सालका बोट पोखराका पहाडमा देखे। उच्च पहाडी भेगमा पाइने सल्ला र फाँटमा पाइने साल एउटै जंगलले अंगालेको भेटे। सिमलचौरमा अग्ला अग्ला सिमलका बोट देखे। सिमलका टुप्पामा ठुल्ठूला गिद्धका गुँड पनि थिए।
पोखरामा वनस्पतिहरूको नमूना संकलन गरेर श्रेष्ठको समूह पहाडतिर उकालो लाग्यो। उनीहरूले विश्वमा कहीँ नपाइने किसुर प्रजातिको गुलाबी गुराँस यहीँका जंगलमा भेटे। नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरसँग आँखा जुधाउन पाए।
श्रेष्ठले त्यति बेला देखेको नारेश्वरको बोट विन्ध्यावासिनीमा अहिले पनि जीवित छ। यसलाई उनले संकलन गरेर नेपालमा पाइने बोटबिरूवाको अभिलेखमा सूचीकृत गरेका छन्। नारेश्वर पहिलो पटक पोखरामै देखेको उनी बताउँछन्।
यति मात्र होइन, पोखराका जंगल चहार्दा उनले देखेको उन्यू मलेसिया, आसाम र बर्मातिर प्रशस्त पाइन्छ। पोखरामा पनि भेटिनुलाई उनी 'गजबको कुरा' भन्छन्। पोखरा मुख्यालय रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र मात्र १ हजार २२६ प्रजातिका फूल फुल्ने बिरूवा रेकर्ड भएका छन्।
त्यस्तै, १०५ प्रजातिका स्तनधारी जनावर, ५१८ प्रजातिका चरा, ४० प्रजातिका सरीसृप र २३ थरी उभयचर प्राणीले यो क्षेत्रलाई घर बनाएर बसेका छन्। सानो क्षेत्रफलमा सघन विविधता छ पोखरामा।
'संसारमा कहीँ नभएका बिरूवा पोखरामा छन्। ती मानिसले बाहिरबाट ल्याएका होइनन्, प्राकृतिक रूपमै उम्रिएका हुन्। यसलाई हामी 'जियोग्राफिकल डिष्ट्रिब्युसन' भन्छौं,' श्रेष्ठले भने।
उनका अनुसार पोखराको यस्तो विविधतामा 'क्लाइमेट क्रस' र 'इकोलोजिकल क्रस' ले भूमिका खेलेको छ। 'बायोलोजिकल क्रस' त स्वाभाविक भइहाल्यो।
र, यस पछाडिको एउटा मुख्य कारण यहाँको अत्यधिक वर्षा नै हो।
वर्षाको रोमाञ्चकता र प्रकृतिको विविधता जोगाइराख्न पोखरालाई हिमालजत्रै चुनौती छ। प्रकृतिमाथि मानिसले गरेको दुर्व्यवहार र जलवायु परिवर्तनको असर पोखरामा देखिन थालेका छन्। पश्चिमी हावाले पार्नुपर्ने पानी कम हुँदै गएको छ। कहिले लामो समय पानी नपर्दा महिनौं खडेरी पर्छ।
त्यस्तै, पूर्वी हावाले मनसुनभरि पार्नुपर्ने पानी एकैदिनमा ओइराउन थालेको छ। यसले बाढी र पहिरोका घटना बढेका छन्।
वर्षाका अतिरिक्त गर्मी पनि बढेको छ। डढेलो फैलिएको छ। जैविक विविधतामा ह्रास आएको छ। मौसमका स्वरूपमा पनि परिवर्तन आएका छन्।
'अहिले मरूभूमि भएका कतिपय ठाउँ उहिले हरियालीयुक्त थिए। त्यहाँ मानिसको बसोबास हुन्थ्यो। खेतीयोग्य जमिन थिए। कालान्तरमा ती मरूभूमिकरण भए र मान्छे बस्न सक्ने अवस्था रहेन,' मौसमविद मणिरत्न शाक्यले भने, 'जलवायु परिवर्तनले निकट भविष्यमा हाम्रा कतिपय ठाउँ मान्छे बस्न अनुपयुक्त हुन सक्छन्।'
पोखराको काहुँकोटबाट देखिएको अन्नपूर्ण हिमशृंखला र सफा आकाश। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
जलवायु परिवर्तनले पोखराको मौसमी वर्षामा कस्तो असर परेको छ भनेर पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मीले उदाहरणसहित हामीलाई बताए।
उनका अनुसार अचेल हिउँदमा महिनौंको खडेरीले पोखराको आकाश धुम्म हुन्छ। जंगलभरि लागेको डढेलोले आकाश छोप्छ। भारत र पाकिस्तानबाट धुवाँका कण उडेर पोखरा आइपुग्छन्। आकाशमा जमेका धुवाँ र तुवाँलोले जूनतारा देखिँदैन। घाम पनि आगोको गोलाजस्तो रातो देखिन्छ। यी धुवाँ र तुवाँलो पखाल्न समयमा हुनुपर्ने वर्षा बर्सिन छाडेको छ।
'प्रदूषणले आकाश छोपिँदा पोखरा विमानस्थल अवरूद्ध हुने घटना बढेका छन्,' उनले भने, 'सिजनमा पर्यटक आउन पाइरहेका छैनन्। हिमाल हेर्न पोखरा आएकाहरू निराश फर्किनुपर्ने अवस्था छ।'
वैशाख पहिलो साता मात्र पोखरा घुम्न आएका चार जना जापानी पर्यटक हिमाल खुल्ला कि भनेर कुरीबसे। बसाइ लम्बियो। हिमाल भने प्रदूषणले ढाकिरह्यो। आखिरमा उनीहरू निराश फर्किएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।
'फागुन, चैत र वैशाख हाम्रो पर्यटन सिजन हो। यही सिजनमा धुवाँ र तुवाँलोले हिमाल त के, नजिकका पहाड पनि देखिँदैनन्,' उनले भने।
पोखराको हावामा फैलिएको धुवाँधुलोका कणबारे विद्यावारिधि गरेका प्राध्यापक रेग्मीका अनुसार पोखराको आकाश छोप्ने प्रदूषणका तीन स्रोत छन् —
पहिलो, आन्तरिक स्रोत। यो पोखराभित्रै उत्पन्न हुन्छ। यसमा सबै खालका आगलागी, जंगलको डढेलो र इन्धनबाट चल्ने सवारीले निकाल्ने धुवाँ पर्छन्। यी धुवाँका कण निकै हलुका हुने भएकाले लामो समय हावामै तैरिएर बस्छन्। वर्षा वा ठूलो हावाहुरी नआएसम्म कतै जाँदैनन्।
दोस्रो, मौसमी प्रणालीमा बहने हावाले पनि धुवाँका कण ल्याउन सक्छन्। त्यस्ता कण तातो र हलुका हुने भएकाले माथि माथि उड्ने स्वभाव हुन्छ। प्रि–मनसुनमा यताउता चल्ने हावाले पनि धुवाँका कण ल्याउन सक्छन्।
तेस्रो, अन्तरदेशीय प्रदूषण। यसमा भारतको उत्तरी भूभाग, बंगलादेशका केही भाग, पाकिस्तान र अफगानिस्तानदेखि पोखरासम्म आइपुग्ने धुवाँका कण पर्छन्। ती ठाउँको अव्यवस्थित घना बस्ती, औद्योगिकीकरण, खेतबारी र जंगलमा लाग्ने आगोबाट निस्केको धुवाँ पोखरासम्म आइपुग्ने रेग्मीको निष्कर्ष छ।
यसरी भारत, बंगलादेश, पाकिस्तान र अफगानिस्तानदेखि आएका धुवाँका कण पोखराको वायुमण्डलबाट हटाउन सजिलो छैन। यसका लागि कि निरन्तर वर्षा हुनुपर्यो, कि ठूलो हावाहुरी चल्नुपर्यो। नियमित वर्षा नहुने र तुवाँलो हटाउन सक्ने गरी हुरीबतास पनि नचल्ने अवस्थामा प्रदूषणको घनत्व बढ्दै जाने रेग्मी बताउँछन्।
यस्ता घटनाले वनस्पतिलाई पनि असर पारिरहेको वनस्पति वैज्ञानिक श्रेष्ठको भनाइ छ।
उनका अनुसार संवेदनशील पहाडमा जथाभाबी चलाइएका डोजरले सबभन्दा पहिले लोपोन्मुख प्रजातिका वनस्पति मास्छन्। पारिस्थितिक प्रणालीबाट एउटा जीव वा एउटा वनस्पति लोप भयो भने त्यसको असर अरूमा पनि फैलिँदै जान्छ।
यसका अरू पनि असर छन्। जताबाट आए पनि हावामा मिसिएका धुवाँका कण माथि माथि जाँदा हिमालसम्म पुग्छन्। धुवाँमा रहेका कार्बनका कण हिउँमा गएर टाँसिन सक्छन्। कार्बनले सूर्यको प्रकाश सोसेर हिउँ पगाल्छ। यसले पानीको स्रोत सुकाउन भूमिका खेलिरहेको हुन्छ। किरा, फट्याङ्ग्रा, चराचुरूंगीका बासस्थान भष्म हुन्छन्। वनस्पति जलेर खरानी बन्छन्। खेतीपातीमा असर त पर्छ नै, वातावरणीय चक्र पनि बिग्रँदै जान्छ।
भविष्यमा यस्ता बहुआयामिक असरको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ पोखराले।
पछिल्लो समय पोखराबाट हिमाल देखिने दिनहरू छोट्टिँदै गएका छन्। प्रदूषणले ढाकिने दिन बढिरहेका छन्। पानी पर्न कम हुँदै गएको छ। परेका बेला अतिवृष्टि हुन थालेको छ। यी सबै जलवायु परिवर्तनकै असर हुन् भन्ने मौसमविद शाक्यको भनाइ छ।
'पूर्वीय होस् या पश्चिमी वायु, जलवाष्प लिएर आयो भने मात्र पानी पर्ने हो, प्रदूषण बोकेर आउने हावाले पानी पार्दैन,' उनले भने, 'यस अर्थमा पोखराका आगामी दिन चुनौतीपूर्ण हुन सक्छन्।'
***
(पहिलो पटक २०८१ जेठ २९ मा प्रकाशित स्टोरी)