पोखरा सहरको कथा: अध्याय १
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ
— प्रेमप्रकाश मल्ल (गीतकार/गायक)
यो त्यति बेलाको कुरा हो, जब माछापुच्छ्रेले फेवातालमा पौडी खेल्न पाएकै थिएन।
अन्नपूर्णले अनुहार हेर्ने बेगनास ऐना बनेकै थिएन।
सेती नदी खुल्लमखुल्ला बहन्थिन्, अहिलेजस्तो गल्छीमा लुकीछिपी गर्नै पर्थेन।
उत्तरतर्फ लहरै हिमाल हाँसेकै थिए, पहाड यथास्थानमा उभिएकै थिए।
खोलानाला अलग बाटो बहन्थे।
पोखराको जुन धरातल छ, त्यो अहिलेभन्दा दुई सय मिटरसम्म तल थियो।
यो आजभन्दा झन्डै साढे आठ सय वर्षअघिको अवस्था हो।
अनि आयो महाप्रलय — सन् ११९० को महाप्रलय!
त्यो प्रलय यति भयंकर थियो, त्यसले पृथ्वीबाट एउटा ८ हजार मिटर अग्लो हिमालको चुचुरो नै हरायो। चुचुरो भाँचिएर पोखराभरि छरपष्ट छरियो।
हामीले 'अटल' भनेर व्याख्या गर्ने हिमचुचुराहरू पनि सधैं उसैगरी उभिन नसक्दा रहेछन्!
महाप्रलयले भाँचेको त्यो हिमाल थियो अन्नपूर्ण चौथो, जुन त्यति बेला ८ हजार २५ मिटर अग्लो थियो। पाँच सय मिटर हिस्सा भाँचिएपछि अहिले ७ हजार ५ सय २५ मिटरमा डल्लिएको छ।
जसै हिमाल भाँचियो; त्यहाँबाट बग्न थालेको चुनढुंगा, गिटी, बालुवा र माटोको घोल पोखरा हुँदै तनहुँको भिमादसम्म फैलियो।
यसले फेवा, बेगनास लगायत तालतलैया जन्मिए। पोखराका नदीनाला थुनिए र ती नदीनालाले समयक्रममा पुरानो बाटो भुलेर नयाँ बाटो पहिल्याए। पानी न हो, कति दिन पो एकठाउँ थुन्न सकिएला र!
त्यसपछि नै हो, माछापुच्छ्रेले फेवातालमा पौडी खेल्न पाएको। अन्नपूर्णले बेगनासमा ऐना हेरेको।
त्यसपछि नै हो, खुल्लमखुल्ला बहने सेती नदीले गल्छीमा लुकीछिपी गर्नुपरेको।
त्यसपछि नै त हो, दिपाङ तालमा चराहरू 'हनिमुन' मनाउन आएको।
यसरी बनेका तालतलैयामध्ये अहिले केही मरिसके। केही मर्ने र मारिने क्रममा छन्, जसको हिसाब पछि छुट्टै गरौंला।
अहिलेलाई हामी सन् ११९० को त्यही महाप्रलयको कुरा गरौं, जसले पोखरा उपत्यकालाई आजको स्वरूप दियो।
काहुँकोटबाट देखिएको अन्नपूर्ण शृंखला। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखरा हेर्दा जति रोमाञ्चक छ, यसको उत्पत्ति कथा पनि कम्ता रोमाञ्चक छैन।
विश्वप्रसिद्ध विज्ञान जर्नल 'द नेचर' को सन् २०२३ जुलाई ५ को अंकमा भूगर्भ वैज्ञानिकहरूले एउटा शोधपत्र प्रकाशित गरेका छन्, जसले अन्नपूर्ण चौथो हिमाल भाँचिएर बगेको चुनयुक्त ढुंगा, गिटी, बालुवा र माटोको घोलले नै तत्कालीन पोखरा पुरेर आजको अवस्थामा ल्याइपुर्याएको निष्कर्ष निकालेको छ।
एघार जना फ्रान्सेली र एक नेपाली गरी १२ जना भूगर्भ वैज्ञानिकको उक्त शोधमा त्यस्तै प्रकारको महाप्रलय फेरि आउन सक्ने चेतावनी दिइएको छ।
मानव बस्ती बस्नुअघिको त्यति ठूलो हिमपहिरो फेरि आउने हो भने पोखराको स्वरूप फेरि पनि बदलिएला!
नदीनालाले फेरि आफ्नो बाटो फेर्लान्! पोखराको परिचय बनेका तालतलैया के होलान् के!
नेचर जर्नलमा प्रकाशित उक्त शोधपत्रका एक लेखक तथा अनुसन्धानकर्ता हुन्, त्रिभुवन विश्वविद्यालय भूगर्भ विभाग प्रमुख डा. अनन्तप्रसाद गजुरेल। उनले त्यो महाप्रलयको घटना हामीसँग साझा गरेका छन्।
पोखरा र आसपासका डाँडाबाट अन्नपूर्ण हिमशृंखला हेर्दा माछापुच्छ्रे पछाडिको भाग खाली देखिन्छ। अन्नपूर्ण तेस्रो हिमाल अन्नपूर्ण प्रथमको नजिक छ भने अन्नपूर्ण चौथो हिमाल दोस्रोको नजिक छ।
अन्नपूर्ण तेस्रो र चौथोको बीचमा ठूलो खाली ठाउँ छ। सँगसँगै, अन्नपूर्ण चौथोको पूर्वी मोहोडामा एकदमै ठूलो भिर छ।
'यो भिर र खाली ठाउँ त्यसै बनेका होइनन्, सन् ११९० को महाप्रलयले बनाएका हुन्,' भूगर्भ वैज्ञानिक गजुरेल भन्छन्, 'त्यति बेला हिमाल भाँचिएर खसेको प्रमाण अन्नपूर्ण चौथो अगाडि थुप्रिएर बसेको छ। अन्नपूर्ण चौथोको पूर्वी मोहोडामा रहेको ठूलो भिरले पनि हिमपहिरो खसेको संकेत गर्छ। माछापुच्छ्रे पछाडि रहेको थुप्रो अन्नपूर्ण चौथोबाटै खसेको हो।'
यति मात्र होइन, हिमाल भाँचिएर पहिरो गएको ठाउँ अहिले पनि आलै छ। पहिरो खसेर पोखरासम्म आइपुग्न नसकेका ग्राभेल त्यहीँ थुप्रिएर बसेका छन्।
डा. गजुरेलका अनुसार अन्नपूर्ण हिमालको पाँच सय मिटर भाग भाँचिएर तीन हजार मिटर तल खसेको थियो।
जुन गति र शक्तिका साथ त्यो तल खस्यो, त्यति नै शक्तिका साथ ग्राभेल र पानी बग्न थाल्यो। बग्दै बग्दै त्यति बेलाको पोखरालाई खर्लप्पै पुर्यो।
र, पोखराको धरातल दुई सय मिटरसम्म माथि उठ्यो। यसरी जमेको हिमपहिरोको अवशेषलाई भूगर्भविद हर्क गुरूङले 'पोखरा ग्राभेल' नाम दिएका छन्।
पोखरा उत्पत्तिबारे बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने, पछिल्लो साढे आठ सयदेखि १५ हजार वर्षका बीचमा अन्नपूर्ण हिमशृंखलामा यस्ता तीनवटा ठूला घटना भइसकेका छन्। एकै प्रकृतिका तीन घटनामा उर्लिएको हिमपहिरोले नै पटक पटक पोखराको स्वरूप बदल्न भूमिका खेलेको भूगर्भविद बताउँछन्।
हामीले पोखराको उत्पत्ति कथा उधिन्ने क्रममा पृथ्वीनारायण क्याम्पसको भूगर्भ विभागका पूर्वप्रमुख कृष्ण केसीसँग लामो कुराकानी गरेका थियौं। उनले पोखराको वास्तविक स्वरूपदेखि हिमपहिरो झर्नुको कारण र हिमपहिरोको प्रकृतिबारे विस्तारमा वर्णन गरे।
अन्नपूर्ण हिमशृंखलाबाट विभिन्न समयकालमा ठुल्ठूला हिमपहिरो खस्नुको मुख्य कारण महाभूकम्प भएको उनी बताउँछन्।
सुरूमा कुरा गरौं — हिमपहिरो खस्नुअघि पोखराको स्वरूप कस्तो थियो?
प्राध्यापक केसीका अनुसार पोखराको वास्तविक स्वरूप अहिले पनि यहाँको माटोमा देख्न सकिन्छ।
यसका लागि विजयपुर खोला किनारको उदाहरण दिँदै उनले भने, 'त्यहाँ जुन प्रकृतिको रातो माटो छ, त्यही प्रकृतिको माटो लेखनाथको कन्दनीडाँडामा पनि पाइन्छ। त्यही रातो माटो नै पोखराको वास्तविक धरातल हो।'
त्यसमाथि अन्नपूर्ण हिमशृंखलाबाट तीन चरणमा बगेर आएको ढुंगा, गिटी, बालुवा, चुन लगायतका ग्राभेल थुप्रिँदै आजको धरातल निर्माण भएको उनी बताउँछन्।
यो ग्राभेल पोखरा उपत्यकाको उपल्लो भागमा करिब दुई सय मिटर र तल्लो भागमा ६० मिटर गहिराइसम्म थुप्रिएको छ।
अब प्रश्न उठ्छ — पोखराको स्वरूप नै बदल्ने गरी हिमपहिरो झर्नुको कारण के?
कारण हो, विभिन्न समयकालमा आएका महाभूकम्प।
महाभूकम्पले हिमाली भेगमा ल्याएको हलचलकै कारण अन्नपूर्ण चौथो, अन्नपूर्ण तेस्रो र माछापुच्छ्रेबीच सेती नदीको मुहानबाट तीनचोटि हिमपहिरो उर्लिएको भौगर्भिक अध्ययनले देखाएको छ।
पहिलो हिमपहिरो आजभन्दा १२ हजारदेखि १५ हजार वर्षअगाडि आएको अनुमान गरिन्छ। यसलाई पोखरा उत्पत्तिको पहिलो चरण भनिन्छ। भूगर्भविदहरूले यो घटनालाई 'तल्लाकोट फमर्सेन' नाम दिएका छन्।
'तल्लाकोट फर्मेसनले उत्तर-पश्चिम पोखराको पुरनचौरदेखि चुरूंगा र तल्लाकोट क्षेत्र ग्राभेलले पुरेको थियो,' प्राध्यापक केसीले भने, 'यसको प्रभाव घाचोकबाट सुरू भएर बाटुलेचौर, भलामको समथर क्षेत्र, द्विप, लामाचौर, नदीपुर, गैह्रापाटन, महेन्द्रपुल, छोरेपाटन, पार्दी हुँदै फुस्रे खोलासम्म फैलिएको थियो।'
त्यो हिमपहिरो सेती नदीको पूर्वतर्फ बेगनास तालसम्मै पुगेको अनुमान गरिन्छ। सेती नदीको पश्चिममा भने खासै प्रभाव परेन।
यस्तै घटना आजभन्दा ७ हजारदेखि १२ हजार वर्ष अगाडि भयो, जसलाई पोखरा उत्पत्तिको दोस्रो चरण मानिन्छ।
त्यति बेला महाभूकम्पका कारण सेतीको मुहान क्षेत्रमै हिमाल भासिएर ठूलो हिमपहिरो खसेको भूगर्भविद बताउँछन्। उनीहरूले यो घटनालाई 'घाचोक फर्मेसन' नाम दिएका छन्।
घाचोक फर्मेसनबाट पुरिएको पोखराको भूभाग चिरा पर्नुका साथै ओढारहरू बनेका छन्। पोखरामा रहेका विभिन्न गुफा घाचोक फर्मेसनकै उपज हुन्।
'त्यति बेला अन्नपूर्ण हिमालबाट बगेर आएको ग्राभेलमा मिसिएको चुनपानीले अहिले पनि पोखराका विभिन्न ठाउँमा भ्वाङ पर्ने समस्या देखिन्छन्,' केसीले भने।
'घाचोक फर्मेसनको सबभन्दा बढी प्रभाव चोरसाँघुदेखि ढुंगेसाँघुसम्म सेती नदीको देब्रेतिर तीन सय मिटर क्षेत्रमा देखिन्छ,' उनले अगाडि भने, 'पाताले छाँगो (डेभिज फल), गुप्तेश्वर गुफा र त्यस वरपरका क्षेत्रमा पनि प्रभाव छ। नदीपुरदेखि फुस्रे खोलासम्मको भूभाग त्यही बेला पुरिएका थिए।'
अन्नपूर्ण चौथोबाट आएको हिमपहिरोले बनाएको सेती गल्छी। तस्बिर स्रोत: सुनील उलक
घाचोक फर्मेसनपछि आउँछ, हामीले सुरूमा चर्चा गरेको घटना।
पहिले यो घटना ७ सयदेखि १२ सय वर्षका बीचमा भएको अनुमान गरिएको थियो। पछिल्लो भौगर्भिक अनुसन्धानले सन् ११९० मा अन्नपूर्ण चौथो हिमालबाट ठूलो हिमपहिरो खसेको किटान गरेको छ।
फ्रान्सेली र नेपाली वैज्ञानिक टोलीको अनुसन्धानले त्यस वर्ष अन्नपूर्ण चौथो हिमाल भाँचिएर पोखरामा हिमपहिरो खसेको उल्लेख गरेको छ। महाभूकम्पबारे भने उनीहरू मौन छन्।
नेपालमा गएका ऐतिहासिक भुइँचालोको विवरण हेर्ने हो भने ठ्याक्कै त्यही समयमा नभए पनि त्यसकै आसपास ठुल्ठूलो भुइँचालो गएको देखिन्छ।
इतिहासकार महेशराज पन्तले नेपालको ऐतिहासिक भुइँचालोसम्बन्धी एउटा लेख प्रकाशन गरेका थिए। उक्त लेखमा उनले सन् १२२३ र १२५५ मा गएका दुई ठूला भुइँचालाबारे उल्लेख गरेका छन्। तीमध्ये १२२३ को भुइँचालोले के-कति क्षति पुर्यायो भन्ने ऐतिहासिक अभिलेखमा भेटिँदैन। तर १२५५ को विस्तृत वर्णन पाइन्छ। त्यति बेला काठमाडौं उपत्यकाको एकतिहाइ जनसंख्याले ज्यान गुमाएको थियो। राजा अभय मल्लको मृत्यु त्यही बेला भएको इतिहास छ।
यी दुई भुइँचालामध्ये कुनै एउटा वा दुवैले अन्नपूर्ण चौथोको शिखर भाँचिएर पोखरा पुरिएको हुनसक्छ।
त्यसको करिब ९० वर्षपछि सन् १३४४ मा राजा अरी मल्लको मृत्यु हुने गरी अर्को भुइँचालो गएको पन्तको लेखमा छ। त्यति बेला पोखरा र काठमाडौंबीचको भागमा रहेको धाँजा चलायमान भएको थियो। यसले पनि पोखराको सतह पुरिने गरी हिमपहिरो खसाल्न भूमिका खेलेको हुनसक्छ।
वा, यो पनि हुनसक्छ — सन् ११९० मा सुरू हिमपहिरोले १२२३, १२५५ हुँदै १३४४ को भुइँचालोमा समेत निरन्तरता पाएको र त्यसले नै पोखरालाई आजको स्वरूपमा ल्याएको हो कि!
अन्नपूर्ण चौथो हिमाल भाँचिएर पोखरा पुरिएको यो घटनालाई पोखरा उत्पत्तिको तेस्रो चरण मानिन्छ। भूगर्भविदले यसलाई 'पोखरा फर्मेसन' भनेका छन्।
'पोखरा फर्मेसनको प्रभाव सेती नदीको पूर्वतर्फ फूलबारी, रामघाट, रामबजार, ढुंगेसाँघु, बाँझापाटन, कुँडहर, मझेरीपाटन हुँदै बेगनास र रूपातालसम्म देखिएको छ,' प्राध्यापक केसीले भने, 'त्यति बेला खसेको ग्राभेल तनहुँको कोत्रेसम्म पुगेको थियो।'
यहाँ प्रश्न उठ्छ — विभिन्न समयकालमा गएका महाभूकम्पले पोखरा वरिपरिका डाँडाकाँडालाई के असर पार्यो होला?
हाम्रो यो प्रश्नमा गजुरेलले भने, 'पोखरामा हिमपहिरो आउनुअघि साना-साना डाँडाहरू धेरै थिए। ती डाँडाका थुम्का चट्टानले जोडिएका थिए। सन् ११९० को हिमपहिरोले ती चट्टान र साना डाँडाहरू पुरिदियो र पोखरालाई मैदान बनायो।'
'सराङकोट, काहुँकोट, विन्ध्यवासिनी, भद्रकाली, छिनेडाँडा लगायतका टाकुरा पनि पहिल्यै बनिसकेका थिए,' उनले अगाडि भने, 'हिमपहिरोले डुबाउन नसकेका यी डाँडाहरू अहिले पनि अस्तित्वमा छन्।'
पोखरा निर्माण क्रममा भएका यस्ता भौगोलिक हलचलले सेती नदी र अन्य सहायक नदीनालाले नयाँ बाटो बनाएको भौगर्भिक अध्ययनले देखाएको छ।
उदाहरणका लागि — पोखरा फर्मेसन सुरू हुनुभन्दा अगाडि सेती नदी पोखराको नारायणस्थानबाट पूर्व बग्थ्यो। पोखरा फर्मेसनले सेतीमा यति ठूलो बाढी ल्यायो, त्यसले नारायणस्थानबाट पूर्वतर्फ जाने बाटो नै बन्द गरिदियो। सेतीले नयाँ बाटो बनायो, जुन आजपर्यन्त कायम छ।
'पोखरा फर्मेसनले बन्द गरेको बाटो खोल्नभन्दा सेतीलाई घाचोक फर्मेसनको पुरानो ग्राभेल भत्काएर अघि बढ्न सजिलो भयो,' केसीले भने, 'सेती गल्छी यसको प्रमाण हो।'
यसरी आँगनमा बिस्कुन सुकाएजसरी अन्नपूर्ण हिमालले पोखरा उपत्यकामा ग्राभेल बिच्छ्याइदिँदा केही ठाउँमा पाँगो माटो पनि भरिदिएको छ। यस्तो माटोको तह एकदेखि सात मिटर बाक्लो छ। पोखरा उपत्यकामा रहेका कुँडहर, आर्वा, अर्घौ, सिसुवा, बिरूवा, खुदी, फेवा लगायतका खेतीयोग्य फाँटहरू यसका उदाहरण हुन्।
माथि उल्लिखित तीन चरणका हिमपहिरोमध्ये पोखरा फर्मेसनबाट बनेको भूभाग बलियो छ भने तल्लाकोट र घाचोक फर्मेसनबाट बनेको जमिन कमजोर छ।
यसको पछाडि पनि वैज्ञानिक कारण छ।
तल्लाकोट र घाचोक फर्मेसनबाट बनेको भूभागमा फिँजिएको ग्राभेल पोखरा फर्मेसनभन्दा सयौं वर्ष पुरानो हो। जति पुरानो हुँदै गयो, त्यसमा मिसिएका चुनढुंगा, गिटी, बालुवा लगायतको घोल खिएर मक्किँदै गएको छ।
सँगसँगै, बर्खा वा घरबाट निस्कने पानीले भूसतहमुनिको चुनलाई क्रमिक रूपमा पगाल्दै लगेको छ। यसले सतहमुनि भ्वाङ पर्ने क्रम बढेको केसी बताउँछन्।
तल्लाकोट र घाचोक फर्मेसनको तुलनामा सबभन्दा कान्छो पोखरा फर्मेसनबाट बनेको भूभाग भने त्यति धेरै मक्किसकेको छैन।
भन्नुको मतलब, आजभन्दा साढे आठ सय वर्षअघिको हिमपहिरोबाट पोखराको सतहमा जुन ग्राभेल थुप्रिएको थियो, त्यो अझै पनि जमेर बसेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वतर्फ विजयपुर खोलामा गएको पहिरो। यो पहिरो गएको भूभाग अन्नपूर्ण हिमशृंखलाबाट आएको हिमपहिरोले पुरिएको थियो। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पोखरा उत्पत्तिको कथापछि अब हामी त्योभन्दा हजारौं वर्षअगाडिको समयमा फर्कौं।
अहिले पोखरा भन्नेबित्तिकै धेरैजसोको मनमा माछापुच्छ्रे हिमाल नै नाच्छ। माछापुच्छ्रे हेर्दै बायाँतर्फ आँखा घुमाउने हो भने ८ हजार ४१ मिटर उचाइको अन्नपूर्ण प्रथम हुँदै ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी देखिन्छ। त्यस्तै, दायाँतर्फ आँखा घुमाए अन्नपूर्ण शृंखलाका अन्य हिमालसँगै ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु देखिन्छ।
पोखराबाट हिमालसम्मको हवाई दुरी जम्मा १५ किलोमिटर छ। एउटा सुविधासम्पन्न सहरबाट केही मिनेटको हवाई यात्रा गरेर हिउँ छुन सकिन्छ। हिँडेरै जाने हो भने पनि दुई-चार दिनमै हिमालको फेदीसम्म पुगिन्छ।
सहरबाट यति नजिकै अद्भुत हिमशृंखला देखिने अर्को कुनै ठाउँ संसारमै नभएको स्विस भूगर्भविद टोनी हागनले आफ्नो किताबमा लेखेका छन्।
'उष्णप्रदेशीय निम्न भूमिबाट ८ हजार मिटरको पर्वत श्रृंखला बिना कुनै अवरोध देखिने ठाउँ पोखराबाहेक संसारमा अन्यत्र कतै छैन,' उनी लेख्छन्।
पोखरा सहरलाई यति सुन्दर बनाउन हिमाली शृंखलाको जति ठूलो योगदान छ, ती हिमाल बनाउन भूमिका खेलेको भौगर्भिक हलचलको पनि उत्तिकै ठूलो हात छ।
प्रकृतिले ल्याएको भौगर्भिक हलचलले नै सबभन्दा पहिला हिमाल बनायो। त्यसपछि महाभारत पर्वत श्रृंखला बन्यो, चुरे पहाड बन्यो।
हिमाल बनेपछि हिउँ पर्न थाल्यो। नदीनाला जन्मिए। पहाड र फाँटहरूमा रूखबिरूवा उम्रन थाले।
यी सब हुनुअघि अहिले पोखरा सहर भएको ठाउँमा के थियो त?
भूगर्भविदहरूका अनुसार हिमशृंखला उत्पत्ति हुनुअघि यो भूगोलमा 'टेथिस' भन्ने सागर थियो। जब दक्षिणबाट सर्दै आएको इन्डियन प्लेट र उत्तरतर्फ रहेको युरेसियन प्लेटबीच घर्षण सुरू भयो, तब टेथिस सागर विलिन भयो।
दुई प्लेटको घर्षणले टेथिस सागरको पिँध माथि उठ्न थाल्यो र यसबाट मनोरम हिमशृंखलाहरूको जन्म भयो।
सगरमाथादेखि अन्नपूर्ण हिमश्रृंखलाको उत्पत्ति इन्डियन र युरेसियन प्लेटको घर्षणबाटै भएको हो। यी सबै हिमाल टेथिस सागरको पिँध माथि उठेर बनेका हुन्। सगरमाथाको चुचुरोमा पाइने चुनढुंगा होस्, या कालीगण्डकी नदीमा पाइने शालिग्राम; सबै टेथिस सागरकै अवशेष हुन्।
अन्नपूर्ण तेस्रो र चौथो हिमालको बीचबाट बग्ने सेती नदी त अहिले पनि चुन मिसिएर सेतै देखिन्छ। हिमालको उत्पत्ति क्रममा टेथिस सागरको पिँधमा रहेको चुनयुक्त ग्राभेल घोलिएर पानीको सतहमा आएकाले यस्तो भएको प्राध्यापक केसी बताउँछन्।
टेथिस सागरबाट उठेका चट्टान अग्लिँदै गएपछि बिस्तारै चिसोले ती भूभागमा हिउँ पर्ने क्रम सुरू भयो। पाँच हजार मिटरमाथि अनवरत हिउँ थुप्रिन थालेपछि हिमालहरू बने। जब सूर्यको रापतापले हिमालको हिउँ पग्लियो, त्यसबाट थुप्रै नदीनाला बग्न थाले। सेती, मर्दी, विजयपुर लगायतका खोलानाला त्यसै क्रममा जन्मिएका हुन्।
पछि हिमालभन्दा दक्षिणतर्फ महाभारत पर्वत शृंखला उठ्ने क्रम सुरू भयो। त्यसले पहिलेको समथर भूभागलाई वरिपरि डाँडाकाँडाले घेरेर उपत्यकाको रूप दियो। पोखरा त्यसरी नै बनेको उपत्यका हो।
उपत्यका बनेपछि यो भूभाग हुँदै बग्ने सेती लगायतका खोलानालाको बाटो छेकियो र सिंगो उपत्यका विशाल तालमा परिणत हुन पुग्यो।
'हामी काठमाडौं उपत्यका पहिले ताल थियो भन्छौं। पोखरा पनि त्यस्तै ताल थियो,' प्राध्यापक केसीले भने, 'पोखराको ताल काठमाडौंको जस्तो लामो समय रहेन।'
जसरी काठमाडौंलाई ताल बनाउन महाभारत पर्वतमालाले बागमती नदी थुनेको थियो, त्यसरी नै पोखरालाई ताल बनाउन सेती नदी थुनिएको थियो। तनहुँको भिमादमा अग्लिएको महाभारत पर्वतमालाले सेती नदी थुनेको मानिन्छ।
काठमाडौं ताल सुक्नुका पछाडि मञ्जुश्रीले चोभारको डाँडा काटेको किम्बदन्ती भएजस्तै पोखरा ताल सुक्नुका पछाडि पनि किम्बदन्ती छ।
महाभारतका पाँच पाण्डवमध्ये सबभन्दा बलशाली भीमसेनले भिमादको डाँडा काटेर पोखरा उपत्यकामा जमेको पानी बगाएको स्थानीय विश्वास गर्छन्। भीमसेनले डाँडा काटेर नदी खोलेकाले नै यो ठाउँलाई भिमाद भनिएको भनाइ छ।
भूगर्भविदहरू भने सेतीको बहावले भिमादको पहाड काट्दै अन्तत: आफ्नो बाटो खोलेको मान्छन्। यसैको परिणामस्वरूप पोखरा उपत्यकामा जमेको पानी सुकेको उनीहरू बताउँछन्।
'भिमादमुनिका ढुंगा, माटो लगायत भौगर्भिक वस्तुहरू अध्ययन गरेर सेती नदी कति समयसम्म पोखरा उपत्यकामा थुनियो र कहिलेबाट पानी सुक्न थाल्यो भनेर पत्ता लगाउन सकिन्छ,' प्राध्यापक केसीले भने।
यति चाहिँ उनी ठोकुवासाथ भन्छन्, 'सेतीको जलप्रवाह बागमतीको भन्दा धेरै तेजिलो र धारिलो छ। बागमतीमा भन्दा सेतीमा पानीको परिमाण पनि धेरै छ। सेतीको तीव्र प्रवाह र आयतनले नै भिमादको बाँध काट्न सम्भव भएको हो।'
यसरी बाँध काटिएपछि जब पोखराको पानी सुक्दै गयो, तब यहाँ समथर फाँटहरू बने।
र, तिनै फाँटमाथि १५ हजार वर्षयता अन्नपूर्ण हिमशृंखलाबाट खसेका विशाल हिमपहिरोहरूले पोखराको भौगोलिक स्वरूप परिवर्तन हुँदै आयो।
पोखरा उत्पत्तिमाथि अध्ययन गरेका प्राध्यापक केसी अन्नपूर्णबाट हिमपहिरो खस्ने जोखिम अझै कायम रहेको बताउँछन्। त्यस्तो घटना दोहोरियो भने पोखरा सहरको सतहमाथि हिमपहिरोले ल्याउने ग्राभेल फेरि थुप्रिन सक्ने र पोखराको भौगोलिक स्वरूप फेरि बदलिन सक्ने उनको भनाइ छ।
'पोखरा एकदमै संवेदनशील उपत्यका हो,' उनले भने, 'हिमाली क्षेत्रको हलचल र महाभूकम्पको निरन्तरताले भविष्यमा त्यस्तो घटना नहोला भन्न सकिन्न।'
भूगर्भविदहरूले औंल्याएको हिमपहिरोको जोखिमलाई २०६९ वैशाख २३ को घटनाले पुष्टि गरिसकेको छ।
त्यो दिन मौसम सफा थियो। हिमाल प्रस्ट खुलेका थिए। पोखरामा घाम चर्किँदै थियो। बिहान ९ बजेतिर अन्नपूर्ण चौथो हिमालको बीचबाट अचानक उर्लिएको हिमपहिरोले सेती नदीमा विशाल बाढीको रूप लियो। कास्कीको भुर्जुङ खोलामा आएको बाढीले खारापानी बजार नै बगायो। नदी आसपासका गाउँ र घर जम्मै डुबे। बाढीमा परेर ७० जनाको ज्यान गयो। बेपत्ता भएकाहरू अझै भेटिएका छैनन्।
त्यति बेला अन्नपूर्ण हिमालको ७ हजार मिटर माथिबाट हिमपहिरो झरेर एउटा सानो टाकुरामा ठोक्किएको र त्यो टाकुरासमेत तल खसेको प्राध्यापक केसी बताउँछन्।
अन्नपूर्ण शृंखलाले ल्याउने यस्तै जोखिम हेरेर भूगर्भविदहरूले पोखराको भूउपयोग नीति कडाइसाथ लागू गर्न सुझाव दिँदै आएका छन्।
खानी तथा भूगर्भ विभाग र जिओ-साइन्स इन्स्टिच्युट अफ जर्मनीले २०५५ सालमा पोखरा उपत्यकाको इञ्जिनियरिङ, वातावरण तथा भौगर्भिक नक्सा बनाएको थियो। नेपाली र जर्मन भूगर्भविदहरूले तीन वर्ष लगाएर बनाएको उक्त नक्सामा पोखराको उच्च, मध्यम र कम जोखिमपूर्ण क्षेत्र पहिचान गरिएको छ। प्राध्यापक केसी पनि उक्त अध्ययनमा संलग्न थिए।
अध्ययन प्रतिवेदनले जुन जुन ठाउँलाई 'उच्च जोखिम' को वर्गमा राखेको छ, त्यही त्यही ठाउँमा अहिले भ्वाङ परिरहेका छन्।
पोखरामा भवन लगायत ठूला पूर्वाधार निर्माण गर्नुअघि जमिनको अध्ययन गर्न प्रतिवेनले सुझाएको छ। सरकारले उक्त अध्ययन बेवास्ता गर्दा बर्सेनि बाढी, पहिरो, डुबान र जमिनमा भ्वाङ पर्ने समस्या बढ्दो छ।
भौगोलिक संवेदनशीलता ख्याल नगरी निर्माण गरिएका संरचनाले पोखरामा जोखिम बढाएको प्राध्यापक केसी बताउँछन्।
'पोखरा सहरको कथा' शृंखलाअन्तर्गत आगामी अध्यायहरूमा हामी यहाँका तालतलैया र गुफाको उत्पत्तिसँग जोडिएका वैज्ञानिक अध्ययन र प्रचलित किम्बदन्तीबारे चर्चा गर्नेछौं। पोखराको जैविक विविधता र विभिन्न जातजातिको प्रवेशको इतिहास पनि बताउनेछौं।
त्यस्तै, यो सहरको राजनीति र आर्थिक गतिविधिका विभिन्न पक्षसँग जोडिएका स्टोरी हामी प्रकाशन गर्नेछौं।
***
अध्याय २- कता गए पोखरामा डाँडैभरि बनाइएका पोखरी?
अध्याय ३- यसरी बनेको थियो फेवाताल
अध्याय ४- जहाँ मनसुनी बादलले अन्यत्रभन्दा धेरै पानी पार्छ