असारको महिना मुसलधारे पानी परिरहेको थियो।
राति ९ बजे थापाथलीबाट साइरन बजाउँदै आएको एम्बुलेन्स प्रसूति गृह पुग्यो। सुरक्षा गार्डले झटपट गेट खोले।
एम्बुलेन्स अस्पताल प्रवेश गर्यो र इमरजेन्सी भवनअगाडि रोकियो।
साइरनको आवाज सुनेर केही नर्स र सुरक्षाकर्मी बाहिर निस्किए र स्ट्रेचर ल्याए। एम्बुलेन्स चालकले हतार हतार बाहिर निस्केर पछाडिको ढोका खोलिदिए।
नर्स र सुरक्षा गार्डहरूले एक महिलालाई एम्बुलेन्सबाट बाहिर ओराले र स्ट्रेचरमा सुताए। अनि महिलासँगै आएका उनका श्रीमानलाई सोधे, 'के भएको?'
'दुई महिना बाँकी थियो, एक्कासि ब्यथा लाग्यो,' महिलाका श्रीमान मदनले आत्तिँदै भने, 'गाउँमा हुँदैन भनेर यहाँ ल्याएको। मेरी श्रीमतीलाई बचाइदिनुस्।'
स्ट्रेचरमा छट्पटाइरहेकी महिलालाई उनीहरूले भित्र छिराए र मदनलाई केही समय बाहिरै बस्न भने।
झन्डै २० मिनेटपछि हातमा केही कागजपत्र लिएर एक जना डाक्टर बाहिर निस्किइन्। मदन बेचैनीमा यताउता हिँड्दै थिए। डाक्टरले उनलाई बोलाएर श्रीमतीको अवस्थाबारे बेलीबिस्तार लगाइन्।
'तपाईंकी श्रीमतीलाई तत्कालै सुत्केरी गराउनुपर्छ। होइन भने जे पनि हुन सक्छ,' उनले भनिन्, 'हामीले नर्मल डेलिभरी गराउन औषधि दिएका छौं। त्यसले काम गरेन भने अपरेसन गर्नुपर्छ।'
मदनले सहमति भावमा टाउको हल्लाए।
डाक्टरले कागज देखाउँदै भनिन्, 'यसमा साइन गरिदिनुस्। तपाईंकी श्रीमतीको अवस्था क्रिटिकल छ। आवश्यक उपचारका लागि तपाईं सहमत हुनुहुन्छ भन्ने यसमा लेखिएको छ।'
उनले केही नसोधी चुपचाप साइन गरे।
त्यसपछि डाक्टर भित्र छिरिन्। इमरजेन्सी कक्षको ढोका बन्द भयो। धेरै बेरसम्म भित्रबाट केही जबाफ आएन।
एक घन्टापछि तिनै डाक्टर बाहिर आइन् र भनिन्, 'तपाईंकी श्रीमतीले छोरी जन्माइन्। आमा ठिक छिन्, तर बच्चाको अवस्था अत्यन्तै गम्भीर छ। भेन्टिलेटरमा राखिएको छ। माथिल्लो तलाबाट बोलाएपछि भेट्न जानुहोला।'
मदनले मध्यरात छोरी भेट्न पाए। श्रीमतीलाई त भोलिपल्ट मात्र भेट्न दिइयो।
हामीले त्यस्तो स्थिति कसरी आयो भनेर मदनलाई सोधेका थियौं।
जबाफमा उनले भने, 'म जुन अफिसमा काम गर्थेँ, त्यो अफिस बन्द भएपछि मैले उनलाई काठमाडौंबाट गाउँ लगेँ। गाउँ लैजानुअघि महिना महिनामा जाँच गराउँदा आमा र बच्चा दुवैको अवस्था ठिक छ भनेर डाक्टरले भनेका थिए। गाउँ लगेपछि पनि राम्रै थियो। मैले र घरपरिवारले राम्रै ख्याल राखेका थियौं। तर अस्पताल ल्याउनुभन्दा एक साताअघिदेखि उनलाई टाउको धेरै दुख्ने र गोडा बढी सुन्निन थाल्यो।'
'त्यो बेला निकै झरी परिरहेको थियो। हामीले चिसो लागेर त्यस्तो भयो होला भन्ठान्यौं र झोलिलो पदार्थ प्रशस्त खुवाउन थाल्यौं। तर त्यो साँझ एक्कासि उनले वाकवाक गरिन् र असिनपसिन भइन्,' मदनले अगाडि भने, 'हामीले गाउँकै स्वास्थ्य चौकी लग्यौं। उनको ब्लड प्रेसर निकै बढेको रहेछ। त्यहाँबाट तत्काल जिल्ला अस्पताल लैजान भनियो। जिल्ला अस्पतालले पनि यहाँ हुँदैन, काठमाडौं लैजानू भन्यो। त्यसपछि हामीले रातारात काठमाडौं ल्यायौं।'
उनका अनुसार अवस्था नाजुक भएकाले श्रीमतीको 'प्रिम्याचुअर डेलिभरी' गराइएको थियो। समय नपुगी जन्माइएकाले बच्चाको तौल डेढ किलो मात्र थियो। सास फेर्न गाह्रो भएको थियो। आमाको अवस्था भने सामान्य थियो। भेन्टिलेटरमा राखिएको बच्चालाई दूध खुवाउन उनी बिहान, दिउँसो र बेलुका 'एनआइसियू वार्ड' मा जान्थिन्।
भेन्टिलेटरमा राखिएको एक महिनापछि छोरीको मृत्यु भयो।
डाक्टरले मदन र उनकी श्रीमतीलाई चार-पाँच वर्ष अर्को सन्तान नजन्माउन सल्लाह दिए।
गर्भावस्थामा खुट्टा सुन्निनु सामान्य भए पनि लामो समय सुन्निइराख्यो भने खतरा हुने परोपकार प्रसूति गृहका निर्देशक एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन्।
'रक्तचाप बढ्यो भने त अझै डराउनुपर्छ,' उनले भने, 'गर्भावस्थामा रक्तचाप घट्छ। त्यसैले थोरै मात्र बढ्यो भने पनि तत्काल अस्पताल पुर्याइहाल्नुपर्छ। धेरै बढेको छ भने सुत्केरी गराइहाल्नुपर्ने अवस्था आउँछ।'
यिनै कारणले गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने उनको भनाइ छ।
'उहाँको पनि नियमित जाँच भएको भए त्यति गम्भीर अवस्था आउँदैनथ्यो होला,' उनले भने, 'समस्याहरू समयमै पत्ता लाग्थ्यो र समाधान गर्न सकिन्थ्यो।'
'बिरामीले गर्ने गल्तीहरू' को यो शृंखलामा हामीले यसपालि गर्भवतीले ९ महिना अवधिमा के-कस्ता गल्ती गर्छन् र त्यसले आमा र बच्चाको स्वास्थ्यमा के-कस्ता जटिलता ल्याउँछन् भनेर उनै डा. अधिकारीसँग कुराकानी गरेका छौं।
सर्वप्रथम गर्भवतीले कति-कति समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ र त्यसमा के-के जाँच गरिन्छ भन्ने चर्चा गरौं।
डा. अधिकारीका अनुसार गर्भावस्थाको ९ महिना अवधिमा कम्तिमा आठपटक स्वास्थ्य जाँच गर्नुपर्छ — पहिलो तीन महिनामा, त्यसपछि १६ साता, २० देखि २२ साता, २६ देखि २८ साता, ३० देखि ३२ साता, ३५ साता र त्यसपछि सातैपिच्छे।
यसबीच के-के परीक्षण गरिन्छ त?
तेस्रो महिनामा भ्रूण ठिक ठाउँमा बसेको छ कि छैन भनेर हेरिन्छ। कहिलेकाहीँ बच्चा पाठेघरको नलीमा बस्ने डर हुन्छ। त्यसपछि १६औं साता अर्थात् चौथो महिनामा बच्चाको 'डाउन सिन्ड्रम' (सुस्त मनस्थिति) छ कि छैन परीक्षण गरिन्छ।
पाचौं महिनामा २० देखि २२ साताबीच भिडिओ एक्सरेबाट बच्चाका सबै अंग ठिकसँग विकास भएका छन् कि छैनन् हेरिन्छ, डा. अधिकारीले भने, 'यो निकै महत्त्वपूर्ण परीक्षण हो। यस क्रममा नाक, मुखदेखि हातखुट्टाका औंला र हड्डीहरू विकास भएका छन् कि छैनन्, हड्डी कतिवटा छन्, छोटो छ कि लामो छ, टाउको छोटो छ कि लामो छ लगायत सबै अंग जाँच गरिन्छ। यसले बच्चाको मस्तिष्कबाहेक अन्य अंगहरूको अवस्था थाहा हुन्छ।'
त्यसपछि २६ देखि २८ साताबीच बच्चाको मुटु जाँचिन्छ। कतिपय अवस्थामा आमाको गर्भमै छँदा बच्चालाई मुटुरोग देखिन सक्छ। आमालाई मुटुरोग छ भने बच्चामा पनि हुने सम्भावना रहन्छ। त्यही बेला आमाको सुगर परीक्षण गर्नुपर्छ। सुगर नभएका महिलालाई पनि गर्भवती अवस्थामा सुगर हुन सक्छ।
२८ सातापछि बच्चाको वृद्धि-विकास हेरिन्छ। आमाको गर्भमा हुँदा बच्चा साताको ३५ देखि ५० ग्रामका दरले बढ्दै जानुपर्छ।
यसै क्रममा बच्चा जन्मिने मितिभन्दा तीन साताअघि परीक्षण गरेपछि गर्भवतीलाई सातैपिच्छे बोलाइने उनी बताउँछन्।
'गर्भवतीहरूको दैनिकी, पारिवारिक स्थिति र जीवनशैलीको सामान्य उतारचढावले पनि आमा र बच्चामा असामान्य असर पर्न सक्छ,' उनले भने।
अब हामी ९ महिनाको गर्भावस्थामा हुने गल्तीहरू र त्यसले पार्ने असरबारे चर्चा गरौं —

पहिलो गल्ती
मेडिकल अनुसन्धानहरूले सन्तान जन्माउने योजना बनाएका दम्पतीले तीन महिनाअघि नै तयारी गर्नुपर्छ भन्छन्। त्यस्तो योजना गरेपछि श्रीमान-श्रीमतीले आफ्नो तयारीबारे डाक्टरसँग सल्लाह लिनुपर्छ।
तीन महिनाअघि नै तयारी किन त?
'दैनिक भागदौड र व्यस्तताका कारण मानिसको शारीरिक र मानसिक स्वास्थ्य थोरै भए पनि बिग्रिएको हुनसक्छ। सन्तान जन्माउन आमाबाबु नै शारीरिक र मानसिक रूपले स्वस्थ हुनुपर्छ,' डा. श्रीप्रसाद अधिकारीले भने, 'खराब लत छ भने त्यसलाई हटाएर बच्चाका लागि अनुकूल वातावरण तयार पार्नुपर्छ। महिलाले स्वस्थ खानेकुरा खाने, फोलिक एसिडयुक्त ट्याबलेट खाने, त्यो सम्भव नभए हरियो तरकारी लगायत स्वस्थ खानेकुरा खाएर गर्भवती हुने तयारी गर्नुपर्छ।'
'हामीकहाँ आफू गर्भवती भएँ भनेर सरप्राइज दिने ट्रेन्ड छ; त्यो गलत हो। सन्तान जन्माउने विषय अत्यन्त संवेदनशील भएकाले श्रीमान र श्रीमती दुवैलाई अगाडि नै थाहा हुनुपर्छ। त्यसको निम्ति योजना बनाउनुपर्छ र त्यसैअनुसार तयारी गर्नुपर्छ।'
'मैले आफ्नो १४ वर्षको अनुभवमा तीन महिनाअघि नै सल्लाह गरेर सन्तान जन्माउने योजना बनाएका दम्पती कमै भेटेको छु,' उनले भने, 'यो पहिलो गल्ती हो।'
दोस्रो गल्ती
डा. अधिकारीका अनुसार अहिले पनि धेरै महिलालाई महिनावारी रोकिएपछि मात्र आफू गर्भवती भएँ भन्ने थाहा हुन्छ; यो दोस्रो गल्ती हो।
महिनावारी रोकिनुअघि नै भ्रूण बनिसकेको हुन्छ। यसबीच महिलाले आफू गर्भवती छु भन्ने थाहा नपाएर विभिन्न औषधि खाइदिन्छन्, जसले भ्रूणलाई असर गर्छ। यसरी अन्जानमा औषधि खाँदा भ्रूणमा असर परेका थुप्रै बिरामी आफूले भेटेको उनले बताए।
'पहिलोपटक गर्भवती हुँदा यस्तो गल्ती बढी हुन्छ,' उनले भने, 'टाउको दुख्यो भने औषधि पसलमा जाने र जे पायो त्यही औषधि खाइदिने गर्छन्। सिटामोलसम्म त ठिकै छ, तर कहिलेकाहीँ औषधि पसलेले फ्लेक्जनजस्तो कडा औषधि दिन्छ। त्यसको सेवनले गर्भको बच्चालाई असर गर्छ।'
गर्भावस्थामा सिटामोल खान पनि डाक्टरको सल्लाह लिनुपर्छ। फ्लेक्जनजस्तो कडा औषधि त गर्भवतीलाई कुनै पनि डाक्टरले सुझाउँदैन, उनले भने, 'यसले बच्चा खेर जाने डर हुन्छ। अरू विभिन्न औषधि पनि डाक्टरको सल्लाहबिना खाँदा बच्चाका साना साना कोषको विकासमा असर पर्न सक्छ। बच्चा जन्मँदा कुनै अंग राम्ररी विकास नहुने सम्भावना बढ्छ।'
'त्यसैले सामान्य रूघाखोकी वा ज्वरो आएको छ भने पनि अरू बेलाभन्दा फरक तरिकाले हेर्नुपर्छ र फरक तरिकाले उपचार गराउनुपर्छ,' उनले अगाडि भने, 'डाक्टरसँग राम्ररी परामर्श लियो भने आमा र बच्चा दुवैलाई फाइदा हुन्छ। तर जसलाई आफू गर्भवती भएको थाहै छैन, ऊ यसमा सतर्क हुन सक्दैन। उसबाट अन्जानमै यो गल्ती हुन जान्छ।'
तीन महिनाअघि नै सन्तान जन्माउने योजना बनाएका दम्पतीबाट यस्तो गल्ती नहुने उनले बताए।

तेस्रो गल्ती
गर्भवती भइसकेपछि खानपानमा ध्यान नदिनु तेस्रो गल्ती हो।
आमासँगै भ्रूणको वृद्धि-विकासका लागि प्रोटिनयुक्त खानेकुरा र फोलिक एसिड धेरै चाहिन्छ। हरियो तरकारी, फलफूल, दाल, गेडागुडी, माछामासुमा आवश्यक पोषक तत्त्व हुन्छ। सामान्य अवस्थामा भन्दा गर्भवती अवस्थामा यस्ता खानेकुरा बढी खानुपर्छ।
गर्भ बसेको थाहा पाइसकेपछि महिलाहरूले पिरो, अमिलो, धूमपान, मद्यपान लगायतबाट टाढै रहनुपर्ने डा. अधिकारी बताउँछन्। जंक फुड खाने बानी छ भने त्यो पनि पूर्ण रूपमा हटाउनुपर्छ। गर्भवतीले कोल्ड ड्रिंक्स पिउनु पनि हानिकारक हुन्छ।
'यस्ता जंक फुडमा विभिन्न केमिकल प्रिजरभेटिभका रूपमा प्रयोग गरिएका हुन्छन्,' उनले भने, 'भ्रूण यति सूक्ष्म र संवेदनशील हुन्छ, स-साना केमिकलले पनि त्यसलाई नराम्रो असर पार्छ।'
अहिलेको पुस्तामा कफी खाने ट्रेन्ड छ। कसैलाई कफीको लत छ भने उसले गर्भवती भएपछि कफीको मात्रा कम गर्नुपर्ने डा. अधिकारी बताउँछन्।
'धेरै कफी पिउनु बच्चाका लागि हानिकारक हुन सक्छ। दिनमा एकदेखि दुई कपसम्म खाँदा केही हुन्न। त्योभन्दा बढी खाँदा निद्रा नलाग्ने, एन्जाइटी बढ्ने, डर लाग्ने, मुटु धेरै ढुकढुक हुने, शरीर काम्ने हुनसक्छ। आमालाई राम्ररी निद्रा परेन भने बच्चालाई पनि असर गर्छ,' उनले भने, 'यसबाट बच्चाको मुटुको ढुकढुकी बढेर वृद्धि-विकासमा असर गर्ने हुन्छ।'
गर्भवतीहरूले गालेका अचार पनि खानै नहुने उनी बताउँछन्। यस्तो अचारले पनि भ्रूणलाई असर गर्छ।
'गर्भ रहेका बेला पिरो र अमिलोयुक्त खानेकुरा खान मन लाग्ने हुन्छ। तर पिरो, अमिलो धेरै खायो भने पनि बच्चालाई असर गर्छ। मसालेदार र नुन बढी भएका खानेकुरा र बढी चिनी भएका खानेकुरा पनि खानुहुँदैन,' उनले भने।
सरसफाइमा ध्यान नदिनु पनि गर्भवतीबाट हुने गल्ती हो। गर्भ रहेपछि बेला बेला कपडा फेर्ने, योनी सफा गर्ने गर्नुपर्छ। यसविपरीत गाउँघरतिर धेरै दिनसम्म एउटै कपडा लगाइराख्ने र काम गरिसकेपछि कपडा नफेर्ने चलन हुन्छ। यसले योनी र पाठेघरमा संक्रमण भएर बच्चालाई असर गर्ने उनी बताउँछन्।
चौथो गल्ती
रोग लुकाउनु गर्भवतीहरूको चौथो गल्ती हो।
डा. अधिकारीका अनुसार मुटुरोग भएका महिला गर्भवती हुन मिल्दैन। उनीहरूले रगत पातलो बनाउने औषधि खाइरहेका हुन्छन्। त्यस्तो अवस्थामा गर्भवती हुनु भनेको मृत्युलाई निम्ता दिनु समान रहेको उनको भनाइ छ।
'मुटु अपरेसन गरेका र रगत पातलो हुने औषधि खाइरहेका महिलालाई डाक्टरले गर्भवती नहुनू भन्ने सल्लाह दिएको हुन्छ। तर कतिपयले सल्लाह मान्दैनन्,' उनले भने, 'त्यस्ता महिला डाक्टरको डरले समयमा स्वास्थ्य परीक्षण गर्न पनि आउँदैनन्। एकैचोटि पाँच-छ महिनापछि आउँछन्, जति बेला धेरै ढिलो भइसकेको हुन्छ। त्यस्ता महिलालाई डेलिभरी गराउनै खतरा हुन्छ।'
त्यस्तो किन त?
हाम्रो यो प्रश्नमा डा. अधिकारीले भने, 'मुटुरोग भएका बिरामीको मुटुले सामान्य अवस्थामा भन्दा कम रगत पम्प गर्छ। त्यसमाथि बच्चालाई पनि रगत दिनु परेपछि मुटुमा भार बढ्छ। भार बढेपछि मुटु थाकेर फेलियर हुन्छ। यस्तो समस्या भएका महिला गर्भवती भएको अवस्थामा मृत्युको सम्भावना ५० प्रतिशत हुन्छ। त्यो भनेको दुईमध्ये एक जनाको मृत्यु हुनु हो।'
यति मात्र होइन, मुटुरोग लाग्दा शरीरमा अक्सिजन कम हुने भएकाले त्यस्ता महिलाबाट जन्मेको बच्चामा अक्सिजनको मात्रा कम हुन्छ। यसले बच्चाको वृद्धि-विकासमा असर पार्छ। दमको रोग भएका महिला गर्भवती भइन् भने पनि उनको बच्चालाई असर पर्न सक्छ।
'मुटुरोग भएका गर्भवती प्रसूति गृहमा आएका छन् भने हामी उनीहरूलाई मुटुको डाक्टर पनि उपलब्ध हुने अस्पतालमा रेफर गरेर पठाउने गर्छौं,' उनले भने।

पाँचौं गल्ती
गर्भवती भएपछि निरन्तर परीक्षण गर्न नआउनु पाँचौं गल्ती हो। खासगरी पहिलो सन्तान जन्माइसकेका महिलाले यो गल्ती धेरै गर्ने डा. अधिकारी बताउँछन्।
यसबारे प्रसूति गृहकै एउटा घटना उनले सुनाए —
एक महिनाअघिको कुरा हो। एक महिलालाई रक्तश्राव भएर इमरजेन्सीमा ल्याइएको थियो। उनलाई डाक्टरले दिएको सुत्केरी हुने मिति पनि कटिसकेको थियो। अचानक रक्तश्राव भएपछि परिवारका सदस्यले मध्यरातमै प्रसूति गृह पुर्याएका थिए।
अस्पताल पुग्नेबित्तिकै उनको शल्यक्रिया गरियो। साल सबै तल टाँसिएर पिसाबको थैलीसम्म पुगेको रहेछ। त्यसैले पाठेघर निकालेर मात्र उनको ज्यान जोगिने अवस्था देखिएन; पिसाब थैलीसमेत काट्नुपर्ने भयो। डाक्टरहरूले पिसाब थैली काटेर पछि जोडे।
त्यति बेला आमालाई १६ पोका रगत दिनुपरेको डा. अधिकारी सम्झन्छन्।
'हामीले ती महिलालाई बल्लतल्ल बचाएका थियौं,' उनले भने, 'यस्तो अवस्थामा कहिलेकाहीँ महिलाहरूको ज्यानै जाने खतरा हुन्छ।'
यस्ता घटनामा बिरामीको अवस्था कति गम्भीर छ भन्ने बाहिरबाट थाहा हुँदैन। थोरै थोरै रगत बगिरहेको छ भने पनि भित्र जटिल स्थिति आइसकेको हुन सक्छ। पहिलो सन्तान अपरेसन गरेर जन्माएका र पाठेघरको ट्युमर निकालिएका महिलामा दोस्रोपटक गर्भवती हुँदा यस्तो समस्या देखिन सक्छ। निरन्तर स्वास्थ्य परीक्षण गराइरहे जोखिम कम हुने उनको भनाइ छ।
'भिडिओ एक्सरे गरेर एकचोटि बच्चा हेरिसकेपछि धेरै महिला फलोअपमा आउँदैनन्। यसले जोखिम बढ्छ। समस्या भनेको जसलाई जुनसुकै बेला आउनसक्छ,' उनले भने, 'वर्षमा १० देखि २० वटा केस यस्ता हुन्छन्, जसमा आमाको ज्यान बचाउन हामीलाई धौधौ हुन्छ।'
'कतिपय अवस्थामा गर्भवतीलाई पहिले दिइएको औषधि परिवर्तन गर्नुपर्ने हुनसक्छ। त्यस्ता महिला एकैचोटि छ-सात महिनापछि परीक्षण गराउन आए समयमै औषधि फेर्न सकिँदैन। फेरे पनि केही फाइदा हुँदैन,' उनले भने।
छैठौं गल्ती
सुगर र प्रेसरका बिरामीले ती रोग नियन्त्रणमा आएपछि मात्र गर्भवती हुनुपर्छ। तर धेरै महिलाले सुगर र प्रेसरलाई सामान्य ठान्छन् र नियन्त्रण नगरी गर्भवती हुन्छन्। यो गर्भवतीबाट हुने छैठौं गल्ती हो।
डा. अधिकारीका अनुसार गर्भवतीको सुगर नियन्त्रण नहुँदा बच्चाको वृद्धि-विकासमा असर गर्छ। यसले बच्चाको फोक्सोमा असर पार्ने, सास फेर्न गाह्रो हुने, संक्रमण हुने, मुटुमा प्वाल पर्ने, मुटुले राम्ररी काम नगर्ने लगायत समस्या देखिन सक्छन्।
'कतिपय अवस्थामा बच्चा जन्मिँदा जन्मिँदै आइसियू लैजानुपर्ने हुनसक्छ। बच्चाको तौल ठिक भए पनि अब्जरभेसनमा राख्नुपर्ने हुनसक्छ,' उनले भने, 'त्यस्ता बच्चा ठूलो हुँदै जाँदा उसमा पनि सुगरको समस्या देखिन सक्छ।'
प्रेसरको बिरामीले त थप सचेत हुनुपर्छ। प्रेसर छ भनेर थाहा नहुने र सामान्य बढ्दा पनि हल्का रूपमा लिने गरियो भने आमा र बच्चा दुवैको निम्ति जोखिमपूर्ण हुन्छ। त्यस्तो अवस्थामा बच्चाको वृद्धि-विकास नहुँदै सुत्केरी गराउनुपर्ने हुनसक्छ। यसरी जन्मिएका बच्चाको बाँच्ने सम्भावना तुलनात्मक रूपमा कम हुने र आमाको पनि मिर्गौला फेल हुने सम्भावना बढ्ने उनी बताउँछन्।
'कोही महिला प्रेसरको बिरामी छ र बच्चा बसिसकेको छ भने पनि डाक्टरको सल्लाहमा औषधि परिवर्तन गर्नुपर्छ,' उनले भने, 'कतिपय महिलालाई गर्भवती अवस्थामै सुगर देखिन सक्छ। त्यस्तो बेला पनि डाक्टरले सुझाएको औषधि मात्र खाने गर्नुपर्छ।'
उनका अनुसार यी रोगका औषधिलाई ए, बी, सी, डी, ई र एक्स मा वर्गीकरण गरिएका छन्। आइरन, क्याल्सियम, फोलिक एसिड 'ए' समूहमा पर्छन्, जुन गर्भवतीका लागि सुरक्षित मानिन्छन्। एन्टिबायोटिकहरू 'बी' र 'सी' समूहमा पर्छन्। 'ए' समूह बाहेकका औषधि गर्भवतीका लागि असुरक्षित हुन्छन्।
'गर्भवतीको रोग पनि नबिग्रिने र बच्चालाई पनि असर नगर्ने सुरक्षित औषधिहरू हुन्छन्। त्यस्ता औषधि सन्तान जन्मिसकेपछि फेरि परिवर्तन गर्न मिल्छ,' उनले भने।

सातौं गल्ती
अचेल गर्भवती भएपछि केही काम गर्न हुँदैन, पोषिलो खानेकुरा खाने र आराम मात्र गर्नुपर्छ भन्ने बुझाइ छ। गाउँघरमा भन्दा सहरमा यस्तो चलन धेरै छ। यो गर्भवतीबाट हुने सातौं गल्ती हो।
गर्भावस्थामा पोषिलो खानेकुरा त खानुपर्छ, तर धेरै खाँदा तौल बढ्न सक्छ। गर्भवती अवस्थामा तौल बढ्दा के असर पर्छ त?
डा. अधिकारीका अनुसार नौ महिना अवधिमा गर्भवतीको तौल बढीमा १५ किलोसम्म बढ्दा असर गर्दैन। त्योभन्दा बढी भयो भने महिला र बच्चा दुवैलाई हानि गर्छ। आमाको खुट्टामा रगत जम्ने र पछि अपरेसन गर्दा घाउ पाक्नेदेखि सुगर र प्रेसर बढ्ने समस्या आउन सक्छ। सुगर र प्रेसरले बच्चाको वृद्धि-विकासमा असर गर्छ। त्यसैले गर्भवतीको तौल १२ देखि १५ किलोभन्दा बढ्न नहुने उनी बताउँछन्।
गर्भ बसेको तीन महिनामा त खानपानमा निकै विचार पुर्याउनुपर्छ। त्यही भएर नै त्यस अवधिमा खान मन नलाग्ने र वाकवाक लाग्ने लक्षण देखिने गरेको उनको भनाइ छ।
'त्यो बेला भोक लाग्यो भनेर जे पनि खाँदा भ्रूणलाई असर गर्न सक्छ। त्यसैले प्रकृतिले नै वाकवाक लाग्ने लक्षण देखाउँछ,' उनले भने, 'गर्भवतीले फास्टिङ गर्न भने हुँदैन। लामो समय भोकै बस्दा ग्लुकोज कम भएर मिर्गौलामा असर गर्न सक्छ। सामान्य डाइटिङ ठिक छ, तर फास्टिङ गर्न हुँदैन। बच्चालाई लगातार ग्लुकोज चाहिन्छ। बच्चालाई खानेकुरा पुगेन भने मृत्युसम्म हुन सक्छ।'
गर्भवतीले कामै गर्न हुँदैन भन्ने धारणा पनि छ। यही धारणाका कारण गर्भवती भएको थाहा पाएपछि काम गर्न नदिने, जागिर छुटाउने र घरमै आराम गराएर राख्ने गरिन्छ। त्यसो गर्न नहुने डा. अधिकारी बताउँछन्।
'सामान्य कामलाई निरन्तरता दिइरहनुपर्छ। उकालो-ओरालो हिँड्ने, घरको काम गर्ने, खाना बनाउने, साइक्लिङ गर्ने लगायतका सबै काम गर्न मिल्छ र गर्नुपर्छ,' उनले भने, 'यसबाहेक गर्भवतीहरूले सामान्य कसरत पनि गर्नुपर्छ। दौडिँदा बेस्सरी दौडिन चाहिँ भएन। बन्जी जम्प, स्काई डाइभिङजस्ता साहसिक कसरत पनि गर्न हुँदैन।'
बेस्कन दौडिँदा वा साहसिक कसरत गर्दा बच्चालाई प्रतिकूल असर पर्न सक्छ। बन्जी जम्प र स्काई डाइभिङ गर्दा आमाको रक्तचाप घटेर बेहोस हुने अवस्था आउन सक्छ। यसले गर्भमा रहेको बच्चालाई असर गर्छ।
आठौं गल्ती
आठौं गल्ती गर्भवतीको उमेर हो।
डा. अधिकारीका अनुसार २० वर्षभन्दा बढी र ३० वर्षभन्दा कम उमेर पहिलो सन्तान जन्माउन सबभन्दा राम्रो हो। उमेर नाघिसकेपछि गर्भवती हुँदा आमा र बच्चा दुवैलाई असर गर्न सक्छ।
'३५-४० वर्षमा गर्भवती हुँदा पाठेघरमा ट्युमर पलाउने, बच्चा खेर जाने लगायत समस्या आउन सक्छन्। बच्चा जन्मिए पनि कम तौलको जन्मिने, वृद्धि- विकास नहुने लगायत समस्या देखिन सक्छन्,' उनले भने, 'असामान्य बच्चा जन्मिने खतरा पनि उत्तिकै हुन्छ। उमेरबाहेक वंशाणुगत कारणले पनि असामान्य बच्चा जन्मिन सक्छन्।'
'१८ वर्षभन्दा कम उमेरका महिलामा आफ्नै अंग पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। उनीहरू बच्चा जन्माउन मानसिक रूपमा तयार हुँदैनन्। बच्चालाई मनोवैज्ञानिक साथ दिन सक्ने अवस्थामा हुँदैनन्,' उनले अगाडि भने, 'उनीहरूलाई के गर्ने, के नगर्ने थाहा हुँदैन। के खाने, के नखाने पनि थाहा हुँदैन। जन्मिसकेपछि बच्चाको बेवास्ता गर्ने, आमाले आइरन चक्की नखाइदिने, खानेकुरा जे पनि खाइदिने गर्न सक्छन्। यसले आमा र बच्चा दुवैलाई हानि गर्छ।'
नवौं गल्ती
गर्भवती अवस्थामा मानसिक स्वास्थ्य निकै महत्त्वपूर्ण र संवेदनशील हुन्छ। यो बेला महिलाहरूलाई झर्को लाग्ने, रिस उठ्ने हुन सक्छ। स-साना कुरामा चित्त दुखाउन सक्छन्। यस्तो अवस्थामा घरपरिवारको भूमिका महत्त्वपूर्ण हुने डा. अधिकारी बताउँछन्।
'हामीकहाँ अझै पनि गर्भावस्थालाई सामान्यीकरण गर्ने चलन छ,' उनले भने, 'गर्भवतीलाई आफूसँग तुलना गर्ने, एउटा बच्चा जन्माउन पनि गाह्रो भनेर खिसिट्युरी गर्ने, काम गरेन भनेर गाली गर्ने लगायत विभिन्न किसिमका मानसिक तनाव दिने प्रवृत्ति अझै भेटिन्छन्। यो नवौं गल्ती हो।'
यस्ता प्रवृत्तिलाई उनी गर्भवतीमाथिको मानसिक यातना मान्छन्। यसले गर्भवतीको तनाव बढ्ने, खान मन नलाग्ने, निद्रा नलाग्ने र आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या ल्याउने उनको भनाइ छ।
'त्यसैले सबभन्दा पहिला घरको वातावरण सुमधुर बनाउनुपर्छ। श्रीमान-श्रीमतीको सम्बन्ध र घरका अन्य सदस्यले गर्ने व्यवहार र बोल्ने भाषा सभ्य हुनुपर्छ,' उनले भने।