(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
यही वैशाख ५ गते तुलसीपुरको होटल वेस्टर्न प्यालेसमा ‘रैथाने कृषि वन उद्यम बजार प्रवर्द्धन कार्यशाला गोष्ठी’ हुँदै थियो। त्यसमा सहभागी हुन आएकी थिइन् दंगीशरण गाउँपालिका–१, रहरपुर गाउँकी ३१ वर्षीया संगीता चौधरी।
उनी ‘हाम्रो राजाकोट सहकारी संस्था’ मा सचिव रहेकी छन्। यो सहकारीमा महिलाहरूको एउटा समूह छ, जसले स्थानीय साधनबाट विभिन्न सामग्री बुनेर बेच्छ। त्यो समूहमा संगीता पनि छिन्।
त्यो समूहले बनाएका हस्तनिर्मित सामग्री काठमाडौंको एक संस्थाले किन्ने गरेको छ।
आज मैले उनै संगीतासँग भलाकुसारी गरेको छु।
तपाईंहरू कस्ता सामग्री बनाउनुहुन्छ?
चकटी, पेन होल्डर, हटकेस, ढकिया र यस्तै अरू पनि बनाउँछौं। गाउँका दिदीबहिनी मिलेर काम गर्छौं।
यस्तो काम कहिले सुरू गर्नुभएको हो?
धेरै भएको छैन, आउने जेठमा एक वर्ष हुन्छ। हामीले २५ दिनको तालिम लिएर सामान बनाउन थालेका हौं।
‘हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था’ मार्फत तालिम लिएका थियौं। तालिम ‘ग्रीन फाउन्डेसन नेपाल’ ले दिएको थियो।
तपाईंको समूहमा कति जना हुनुहुन्छ?
हाम्रो समूहको नाम ‘कनरिया महिला ढकिया उद्यमी समूह’ हो। यसमा १३ जना छौं। दुई जना बुन्दैनन्, ११ जना मिलेर हातैले बुन्छौं र बेच्छौं।
कहाँ लगेर बेच्नुहुन्छ?
हाम्रै ठाउँको राजाकोट सहकारीले समन्वय गर्छ। काठमाडौंको ‘सिकी संस्था’ ले किन्ने गरेको छ।
एक वर्षमा कति पैसाको सामान बेच्नुभयो?
अहिलेसम्म झन्डै ३५ हजार (रुपैयाँ) को बेच्यौं। हामी घरगृहस्थीको काम सकेर फुर्सदको समयमा सामान बनाउने काम गर्छौं। घरमा बुनेका सामान समूहमा जम्मा गर्छौं र त्यहीँबाट बेच्छौं।
तपाईंको समूहले बनाएका सामानको मूल्य कति छ?
पेन होल्डर तीन सयमा र पूजादानी ६ सयमा बेच्छौं। चटकीको मूल्य साइजअनुसार हुन्छ। सानो छ भने २५० मा बेच्छौं। यी सामान काँस र खरबाट बनाउँछौं।
काम गर्दैछौं तर जति सकिन्थ्यो त्यति गर्न सकेका छैनौं। ढकियामा हात बसेको छैन।
सोचेजसरी सामान बनाउन किन सकिएन जस्तो लाग्छ?
दिदीबहिनीले खेतीको काम छाड्न पाउँदैनन्। घरमा खेतीको काम गरे पो अन्नपात फल्छ र खान पाइन्छ भन्ने कुरा हुन्छ।
सामान बनाउने काँस बर्दियाबाट ल्याउनुपर्छ। दाङमा बबई नदी आसपासको बगरमा पाइने काँस कमसल छ, बुन्दाबुन्दै भाँचिने र चुँडिने खालको छ।
बर्दिया पुगेर काँस किनेर ल्याउन हामी महिलालाई सजिलो छैन। घरको काम छोडेर काँस, खर, बाबियो खोज्न जाँदा परिवारका मानिस रिसाउने डर हुन्छ।
दिदीबहिनीको समूह बनाएर काम सुरू गरेपछि के फाइदा भएको छ?
आर्थिक फाइदा धेरै नभए पनि गाउँघरका दिदीबहिनी भेला भएर आपसमा छलफल गर्छौं, सल्लाह गर्छौं।
मिलेर काम गर्दा रमाइलो हुन्छ। सुखदुःखका कुरा हुने नै भयो। हाम्रो सीप राम्रो हुँदै गएको छ। आत्मबल पनि बढेको छ।
स्थानीयस्तरमा त्यतिकै खेर जाने चिजवस्तुबाट पनि कलात्मक सामग्री बनाएर पैसा कमाउन सकिने रहेछ भन्ने ज्ञान दिदीबहिनीलाई भएको छ। चुरा र टिकुली किन्न श्रीमानको आशा गरिरहनु पर्दैन।
मैले छोराछोरीलाई खाजा खर्च दिन र कापीकलम किन्न सकेकी छु। श्रीमानको कमाइ जोगिएको छ।
तपाईंका श्रीमान् के काम गर्नुहुन्छ?
मेरा श्रीमान् ३६ वर्षका हुनुभयो। उहाँ दुबई (युएईको सहर) मा हुनुहुन्छ, दुई वर्ष भयो। यही वैशाखमा घर आउनुहुन्छ। कमाइ धेरै छैन भन्नुहुन्छ।
यहाँ त्यसै बस्नुभन्दा विदेश जान्छु भनेर हिँड्नुभयो। उहाँको पढाइ धेरै छैन। पढाइ नभएको मान्छेले जहाँ गए पनि राम्रो काम पाउन मुस्किल हुने रहेछ भन्ने कुरा गर्नुहुन्छ।
तपाईंको बिहे कसरी भयो?
मागी बिहे भएको हो। केटा हात माग्न आएपछि मेरा दाजु केटाको घर हेर्न रहरपुर जानुभयो। दुबै पक्षमा कुरा मिलेपछि केटा पक्षका चारपाँच जना आए। त्यही बेला आफ्नो परम्पराअनुसार टीकाटालो गरेर पठाइदिए।
तपाईंको माइतीघर कहाँ हो?
मेरो माइतीघर तुलसीपुर उपमहानगरपालिकाको फूलबारी हो। म गाउँकै एउटा बोर्डिङ स्कूलमा पढाउँथे। बुबाको काल (मृत्यृ) भइसकेको थियो। माग्न आएपछि दाजुले दिनुभयो। मैले दाजुको निर्णय मानेर बिहे गरें।
बिहेअघि केटालाई देखेको थिइनँ। सुरूमा त नचिनेको मान्छेसँग कसरी जिन्दगी बिताउने होला भन्ने डर लागेको थियो तर आफ्नै हो भन्ने भएपछि माया लाग्दो रहेछ। पढाइ मेरोभन्दा कम भए पनि उहाँ (श्रीमान्) असल हुनुहुन्छ।
तपाईंले कति पढ्नुभएको छ?
मैले आइए (१२ कक्षा सरह) पास गरेकी छु। तुलसीपुरको राप्ती बबई क्याम्पसमा पढेकी हुँ। बिएमा ब्याक (कुनै विषय अनुत्तीर्ण) थियो। बिहे भएपछि पढाउन छोडे र ब्याक पेपर दिन (परीक्षा दिन) पनि गइनँ।
बिहे भएपछि परीक्षा दिन जान लाज लाग्दो रहेछ। मलाई परीक्षा दिन जाऊ भनेर सम्झाउने पनि कोही भएन।
हाम्रो समुदायमा बुहारी बाहिर जानु हुन्न भन्ने धारणा छ। महिला त बिहेपछि गृहस्थी जीवनमा चुर्लुम्मै डुबिने रहेछ। बिहे भनेको बन्धन रहेछ।
बिहेपछि जीवनको उद्देश्य पूरा भयो, अब किन पढ्नुपर्यो भन्ने समाजको धारणा हुँदो रहेछ। त्यही कारणले मैले परीक्षा दिने र थप पढ्ने हिम्मत गर्न सकिनँ।
ब्याक पेपर नदिएर गल्ती गरे भन्ने लाग्छ कि?
लाग्छ नि, दुई वटा ब्याक पेपर (अनुत्तीर्ण विषय) थिए। त्यो परीक्षा दिएकी भए मैले बिए पास गरेकी हुन्थे। समाजमा मान बढ्थ्यो। बिहेपछि पढ्न छोडेर गल्ती गरे भन्ने लाग्छ।
घरमा कोको हुनुहुन्छ?
मेरा ससुरा र सासूआमा हुनुहुन्छ। ससुरा ७२ वर्षका हुनुभयो, सासूआमा ७० वर्षकी। हाम्रो ९ वर्षको छोरो छ प्रिन्स।
जेठाजु छुट्टिएर बसेको ६ वर्ष भयो। जेठाजुका छोरो मलेसिया छ, छोरी १२ कक्षामा पढ्दै छिन्।
तपाईंको जग्गाजमिन कति छ?
एक बिघाजति छ। त्यसमा १२ कठ्ठा खेत र अरू बारी छ। त्यसमा फलेको अन्नले मजाले खान पुग्छ। अलिअलि बेच्छौं पनि। धान, मकै, तोरी, मसुरो फल्छ।
खेतबारीमा हामी आफै काम गर्छौं। खेतीपाती गर्ने हुँदा अरू काममा ध्यान दिन पाइँदैन। हामीले सिकेको सीपअनुसार सामान बनाउन नसक्नुको कारण यो पनि हो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज राम्रो छ। दुःखबिराम पर्दा एक अर्कालाई सहयोग गर्ने चलन छ। थारू समुदायमा एकले अर्कालाई आलोपालो काम सघाउन चलन राम्रो छ। पहिलेजस्तो बेगारी जाने चलन घट्दै गएको छ।
समाजमा सबै राम्रा मान्छे हुन्छन् भन्ने पनि छैन। कुरा काट्नेहरू पनि छन्। अरूले थोरै राम्रो गरेको, राम्रो कपडा लाएको, मिठो खाएको देख्दा कुरा काट्नेहरू मलाई मन पर्दैन।
थारू समुदायको कस्तो चालचलन मन पर्दैनन्?
हुन त धेरैले विगतदेखि चल्दै आएको परम्परा भन्छन्। परम्परा मान्नु राम्रो हो तर देउतालाई जाँडरक्सी नभई पूजा हुँदैन। जाँडरक्सी नखानेले पनि दसैं र अरू चाडमा चाख्नै पर्छ। नखानेले पनि देउताका नाममा जाँडरक्सी बनाउनुपर्छ।
परम्परा धान्ने नाममा जाडरक्सी बनाउनै पर्छ भन्ने कुरा मलाई अनौठो लाग्छ।
तपाईंका चाहना के छन्?
छोरालाई राम्ररी पढाउने चाहना छ। अहिले गाउँकै बोर्डिङ (निजी स्कुल) मा पढ्दै छ।
मैले बिए पास गर्न नसके पनि छोरालाई उसले पढ्न सकेसम्म पढाउँछु। आफ्ना अपूरा सपना सन्तानले पूरा गरिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ।
यति बेला तपाईंसँग धेरै होइन, ठिक्क पैसा भए के गर्नुहुन्थ्यो?
जग्गाजमिन पुग्ने गरी छँदै छ। थप किन्ने चाहना छैन। बजारमा घर बनाएर बस्नु पनि छैन। महँगा सामान किन्ने चाहना पनि छैन।
रहरपुर गाउँमै चार कोठाको पक्की घर बनाएका छौं। दुई वर्ष भयो, फिनिसिङ भइसकेको छैन। दश लाख जति खर्च भइसकेको छ।
पैसा भए यही घर फिनिसिङ गरेर चिटिक्क पार्ने थिएँ। आनन्दले काम गर्दै जीवन बिताउने थिएँ। खेतीपाती गर्ने कृषकको कर्म पनि यो देशका लागि ठूलो छ।
तपाईंको रहरपुर गाउँमा कस्ता समस्या छन्?
काम गर्नेका लागि बाह्रै मास सिँचाइको प्रबन्ध छ। हाम्रो नजिकमा छिमेकीको ट्युबवेल पनि छ। बिजुलीको पैसा तिरेर त्यसबाट पानी तान्न मिल्छ।
हाम्रो गाउँमा अझै व्यावसायिक खेती छैन। घरको खपतको लागि मात्रै अन्नबाली र तरकारी लगाउने चलन छ। व्यावसायिक रूपमा तरकारी खेती गर्न सके हुन्थ्यो।
यहाँ वर्षामा बबई नदीको बाढी पस्छ। वर्षा सुरू भएपछि बाढीले डुबाउने हो कि भन्ने डर लाग्छ।
यति बेला राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
वर्षामा बाढीबाट गाउँ जोगाउन तटबन्ध गरिदिए हुन्थ्यो। बाटोघाटो राम्रो बनाइदिए हुन्थ्यो। तुहीसोतामा बल्ल पुल बन्दै छ। त्यसले सताउनुसम्म सतायो।
त्यो पुल बनाउन भनेर धेरै नेताले शिलान्यास गरे, जसको सरकार आउँछ उसैले शिलान्यास गर्ने। पुल बल्ल बन्दै छ। यो असारसम्म तयार हुन्छ होला।
गोलटाकुरी स्वास्थ्य चौकी जान एक घण्टा हिँड्नुपर्छ। नजिकमा राम्रो अस्पताल भइदिए हुन्थ्यो भन्ने लाग्छ। हाम्रा लागि तुलसीपुर बजार पनि टाढा छ।
गाउँका युवाहरू रोजागरीका लागि विदेशमा छन्। ठूला उद्योग खोलेर रोजगारीको अवसर मिलाइदिए हुन्थ्यो भन्ने लाग्छ।
स्थानीय गरिब किसानका लागि ट्युबवेल राखिदिने, मोटर (पानी तान्ने) किनेर दिने काम राज्यले गर्नुपर्छ।
रातमा तपाईंको निद्रा कस्तो छ?
श्रीमानले विदेशमा दुःख पाए कि भनेर कल्पेको रात केहीबेर छटपटी हुन्छ नत्र मजाको निद्रा लाग्छ।
म श्रम गर्ने मान्छे। काम विषेशले बजार आउनु पर्दाबाहेक म सधैं पैदल हिँड्छु। आफै सबै काम गर्छु। स्वास्थ्यमा कुनै समस्या छैन।
तपाईंलाई एउटा स्कुटर किन्न पाए हुन्थ्यो भन्ने लाग्दैन?
लाग्दैन, चलाउन जाने पो किन्नु! म साइकल चलाउन पनि जान्दिनँ। घरमा साइकल थिएन। साइकल चलाउने प्रयास पनि कहिल्यै गरिनँ।
तपाईंलाई सबैभन्दा बढी मन पर्ने परिकार के हो?
मलाई आफ्नै खेतबारीमा उत्पादन भएको अन्न र सागपात मन पर्छ। दालभात, तरकारी भए पुग्छ।
आफ्नै समुदायको परिकार सानैदेखि खाएर होला ती पनि खुबै मन पर्छ। सुँगरको मासु, माछा र घोँगी मिठो लाग्छ।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
नाइँ, भोट दिइनँ। भोटर कार्ड नै बनेको छैन। अब बनाउनु पर्ला। त्यति बेला सन्चो नभएर म भोटर कार्ड बनाउन जान सकिनँ। पहिला धेरै चासो भएन। घरगृहस्थीमा फसेपछि सधैं व्यस्त भइँदो रहेछ।
आउने चुनावमा भोटर कार्ड बनाउनुभयो भने कसलाई भोट दिनुहुन्छ?
म त पार्टी हेर्दिनँ। जनताको कुरा सुन्ने र काम गर्न सक्ने उम्मेदवार हेरेर भोट दिन्छु।
हाम्रो देशको को नेता मन पर्छ?
अहिले मलाई सबैभन्दा बढी मनपर्ने काठमाडौंका मेयर बालेन शाह हुन्। उनले भ्रष्टाचार गरेको भनेर सुन्नमा आएको छैन। देशलाई त्यस्तै इमानदार नेता चाहिएको हो।
आफू र आफ्नाका लागि भन्दा पनि देश र समाजका लागि योगदान गर्न सक्ने नेता चाहिएको छ। भाषण मात्रै गर्ने नेता मलाई मन पर्दैन।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्