(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
इच्छाकामना–३ कमेरे गाउँका ४६ वर्षीय ठाकुर अधिकारी बिहान बाख्राको खोर सफा गर्दै थिए। खोरमा एक दर्जनजति बाख्रा रहेछन्। उनी हामीसँग काम गर्दै कुरा गर्न थाले।
मैले सोधें:
कति भयो बाख्रा पाल्न थाल्नुभएको?
म जन्मिएको नै यही ठाउँमा हो। किसान परिवार भएकाले गाई, भैंसी, बाख्रा सधैं हुन्छन्। १५–१६ वर्षदेखि मैले व्यावसायिक दृष्टिले पनि सोचेर बाख्रा पालिरहेको छु।
त्यसअघि के गर्नुहुन्थ्यो?
म सानैदेखि भारततिर बसेँ। पढाइ राम्रो थिएन। १२–१३ वर्षको छँदा ५ कक्षा पास भएको थिएँ। त्यतिबेला एक जना साथीले भारत लिएर गयो। बम्बईमा एक व्यक्तिको घरमा खाना पकाउने काम लगाइदियो। ३ वर्ष जति त्यो घरमा खाना पकाएर बसें। तलब महिनाको १५–१६ सय आइसी हुन्थ्यो। त्यसपछि पुनामा होटल र अस्पतालमा सेक्युरिटी गार्डको काम गर्न थालें। करिब १० वर्ष गार्डको काम गरें। केही समय पुनाको सडक छेउमा खाने कुरा बनाएर बेचें। अनि घर फर्किएर बिहे गरेको हो। बिहेपछि पनि एक वर्षजति भारतै गएर बसें। त्यसपछि त्यता बस्न मन लागेन। घर फर्किएर किसानी गर्न थालें।
भारतमा कमाइ राम्रै भयो होला नि पछि त?
कमाइ त खाइलाई टुप्पी हल्लाई नै थियो। खासै कमाउन सकिएन। बरू घरमै बसेर केही गर्न सकिन्छ कि भनेर फर्किएको हुँ।
बाख्रा पाल्नेबाहेक के गर्नुहुन्छ?
म र श्रीमती तरकारी लगाउँछौं। करिब तीन बिघा जमिनमा सिमी, काँक्रो, बन्दा, काउली, साग लगाउँछु। कुरिनटार, फिस्लिङका तरकारी बजारमा बिक्री हुन्छन्। होटलहरूसँग सम्पर्क बनाएको छु। चाहिँदा माग्छन्। लिएर जान्छु। कहिलेकाहीँ उनीहरू नै लिन आउँछन्।
खेतीबाट राम्रै भइरहेको छ?
हाम्रो गाउँको सबभन्दा ठूलो समस्या सिँचाइ बनेको छ। सिँचाइको सुविधा भएको भए तरकारी असाध्यै राम्रो हुन्थ्यो। पानीको अभावले सोचेजस्तो राम्रो भएको छैन। तै पनि ठीकै छ।
घर खर्च यसैबाट चलिरहेको छ?
हो, तरकारी, बाख्रा, घिउ, मह बेचेर भएको कमाइले घर खर्च चलेको छ। यही पैसाले मैले छोरा, छोरीलाई पढाएको छु। छोरोले यसपालि एसइई दियो। छोरी ७ कक्षामा पुगेकी छन्। कहिलेकाहीँ विद्यालयको शुल्क तिर्न नसकेर धौधौ त पर्छ। तर चलाइरहेकै छौं।
गाउँमा बाहेक अरू ठाउँमा सम्पत्ति जोड्नुभएको छ कि छैन?
भरतपुर महानगरपालिकाको रामनगरमा छ एक टुक्रा जमिन। बैंकबाट ऋण निकालेर किनेको हो। व्याज किस्ता बुझाइरहेको छु।
गाउँ रित्तिरहेको छ। युवाहरू त भेटिनै गाह्रो छ। तपाईंलाई कस्तो लाग्छ यो देख्दा?
जमिन बाँझो देख्दा मन रून्छ, रमाइलो छैन। पहिले एउटा सुर्को पनि नछुटी खेती हुन्थ्यो। हराभरा थियो गाउँ। अचेल त मान्छे देख्न पनि गाह्रो छ। युवा त देखिनै छाडे। लौन बाटो राम्रो बनाइदिनुपर्यो भन्यो नेताहरूलाई भने खोइ बस्ती, खोइ मान्छे भन्छन्। कुरो ठीकै पनि हो। पहिलेजस्तो सबै मान्छे भएको भए धेरै रमाइलो हुन्थ्यो गाउँ। अहिले त म एक्लो छु भन्दा पनि हुन्छ यहाँ। चेपाङ समुदायको बीचमा हामी थोरै भएका छौं। त्यसमा पनि बोल्ने त म एक्लो छु।
भनेपछि जिन्दगी राम्रै चलेको छ होइन?
गुजारा चलिरहेको छ। यसलाई म राम्रै छ भन्छु।
तपाईंलाई सबभन्दा धेरै के गर्न मन लाग्छ? के गर्दा मजा आउँछ?
सबै कुरा भए त आनन्द हुन्थ्यो। तर अहिले त दुःख गर्न परिरहेको छ। बसीबसी खान पाए त आनन्द हुन्थ्यो होला। मजा आउँथ्यो होला नि।
काम वा मनोरञ्जन? गीत गाउन, सिनेमा हेर्न?
गीत, नाचमा म त्यति चासो दिन्नँ। बरू समाचारहरू हेर्छु, सुन्छु। फिल्म अचेल हेरेको छैन। भारत बस्दा हेरेको थिएँ हलमै गएर। मैले ‘कहना प्यार हे’ हेरेको थिएँ हृतिक रोशनको फिल्म। मोबाइलमा कहिलेकाहीँ झल्याकझुलुक हेरिन्छ।
के खान मन पर्छ?
खानेकुरा त घरायसी नै मन पर्छ। दूध, मही खान्छु। बाहिर जाँदा खानेकुरा मनै पर्दैन।
पारिवारिक मेलमिलाप कस्तो छ?
मिलेर बसेका छौं। झगडा हुँदैन। कहिलेकाहीँ सामान्य झगडा त जसको पनि भइहाल्छ।
छोराछोरीबाट कत्तिको आशा गर्नुभएको छ?
म आफूले पढ्न सकिनँ। छोराछोरीलाई धेरै पढाउने धोको छ। हाम्रो सम्पत्ति भनेकै यिनै छोराछोरी हुन्। हामीले त दुःख पाइयो, यिनीहरूले दुःख नपाऊन् भनेर लागेका छौं।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य राम्रै छ। बेलाबेलामा परीक्षण गरिराख्छु। बिमार केही छैन।
राति मजाले निद्रा पर्छ?
मजाले निद्रा लाग्छ। कुनै समस्या छैन।
धेरै पैसाको हैन, ठिक्क पैसाको तपाईंलाई के किन्न मन छ?
पैसा भए कुखुरा पाल्थें। बाँझो खेत बारेर लोकल कुखुरा पाल्थें। व्यवस्थित खोर बनाएर बाख्रा बढाउँथें। भैंसी थप्थें।
खाने कुरा, लाउने कुरा?
खाने कुरामा खासै रूचि छैन। कपडाको रूचि पहिले थियो। पछि पैसा नै नभएर होला रूचि पनि हराउँदै गयो। पहिले म क्यासेट नै बोकेर हिँड्थें। बजारबाट रिल किनेर ल्याउँथे। बजाउँथेँ। मोबाइलको जमाना थिएन। अचेल त यस्ता कुरामा रूचि छैन।
तपाईंलाई सम्झना छ, अन्तिम पटक तपाईं कहिले धेरै खुसी हुनु भएको थियो? के भएर खुसी हुनु भएको थियो?
बिहे भयो। बच्चा भए अनि खुसी भएँ म। पहिले त दुःखै दुःख थियो। पहिलो पटक बच्चा जन्मिँदा धेरै खुसी भएको थिएँ। दोस्रो सन्तानको रूपमा छोरी जन्मँदा झनै खुसी भएको थिएँ।
तपाईंलाई अन्तिम पटक सारै चित्त दुखेको कहिले हो, के कुराले हो?
दुःख त जिन्दगीमा धेरै भोगियो। तर कसैसँग चित्त दुखाएको छैन। आफ्नो जीवनदेखि गुनासो नै छैन।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको, वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
नानी, बाबुले राम्ररी पढिदिए हुन्थ्यो। अरूले यसका छोराछोरी बिग्रिए भनेको सुन्न नपरे हुन्थ्यो भन्ने लाग्छ। यति राम्रो गरेछ भन्ने सुन्न पाए हुन्थ्यो।
हाम्रो समाज वा तपाईंको टोल छिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ, के मन पर्दैन?
टोल, समाजमा अचेल मान्छे नै छैनन्। भएका मान्छेका बीचमा पनि पहिलेजस्तो आत्मीयता छैन।
राजनीतिप्रति कत्तिको चासो लाग्छ?
राजनीतिमा रूचि त छ। चुनावमा लागेरै हिँडेको हो। बैठकहरूमा बोलाउँछन्, जान्छु। केन्द्रको राजनीतिमा पनि चासो राख्छु। समाचारहरूमा देखे, सुनेको आधारमा।
कस्तो लाग्छ?
नेताहरूको कुरा कहिल्यै मिल्दैन। एकले अर्काको कुरा सुन्दैन। हाम्रो जस्तो गरिब देश विकास गर्न त नेताहरूको कुरा मिल्नुपर्छ नि। समस्या धेरै छ। समस्या बढिरहेका बेलामा राजावादीको चहलपहल बढिरहेको छ। रवि लामिछानेको पार्टीको चहलपहल पनि बढेको छ।
सरकारले के के काम गरोस्, गरिदियोस् जस्तो लाग्छ?
सरकारले लाउन, खान त दिँदैन। तर गाउँमा राम्रो विकास गरिदिए हुन्थ्यो भन्ने लाग्छ। पानी, बत्ती, सडकको सुविधा होस्। सबैतिर समान खाले सुविधा होस्। यही त हो सरकारले गर्नुपर्ने।
देशको नेतामा तपाईंलाई को, को मन पर्छ?
नेताहरू सबै उस्तै छन्। यसले चाहिँ राम्रो गर्छ होला भनेर आशा गर्ने नेता कोही देख्दिनँ म त अचेल।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता, अनि कुन पार्टी?
मैले थाहा पाएदेखि एमालेलाई भोट हालिरहेको छु। धेरैले फकाए पार्टी फेर्न, पैसा दिन्छु पनि भने। तर मन मानेन। म दुःख गरेर खाने मान्छे हो। पैसामा बिक्दिनँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
अब पनि उही हो। जो उठे पनि सूर्य छाप हो म त।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्