(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
७३ वर्षीया मेनुका ज्ञवालीलाई मैले बुटवल होराइजन चोकमा भेटेकी थिएँ। सडक पेटीमा शीतल तापेर बसिरहेकी मेनुकासँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
आमा नमस्ते, सन्चै हुनुहुन्छ?
सन्चै छु नानी।
तपाईंको घर कहाँ हो?
मेरो घर त गुल्मी थोर्गा हो। अहिले बुटवल–११ होराइजन चोकमा कान्छो छोरासँग बस्छु।
बुटवलमा बस्नुभएको कति वर्ष भयो?
घर त गुल्मीको थोर्गा हो। अहिले कान्छो छोरासँग बुटवल होराइजन चोकमा बस्छु।
बुटवलमा बस्न थाल्नुभएको कति वर्ष भयो?
गएको मंसिरमा ५ वर्ष पुगेछ बुटवल बस्न थालेको। छोराहरूले पहिलेदेखि नै ल्याउन खोजेका थिए। आफ्नो घर नबनाएसम्म पहाडका घर गोठ त्यत्तिकै छोडेर अर्काको घरमा भाडामा बस्न जान्नँ भनेर सात आठ वर्ष थोर्गामै एक्लै बसेँ। पछि छोराले घर बनाएपछि आएकी हुँ।
घरमा को को हुनुहुन्छ?
मेरा त दुई छोरा, दुई छोरी हुन्। दुई जना नै छोरा बुटवलमा छन्। आफ्नै व्यवसाय चलाएर बसेका छन्। छोरीहरूको पनि विवाह भएर आफ्नै घरमा छन्। बुहारी नाति सबै छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
अहिलेसम्म त सुख नै दिएका छन्। भोलि के हुन्छ भन्ने कसले जान्यो र!
तपाईंलाई के गर्न मन लाग्छ?
अब त केही काम गर्न सक्न छोडियो। आफूजस्तै दौँतरी भेटिए गफ गर्ने त्यस्तै त हो।
आफूजस्तै दौँतरी भेट्दा के गफ गर्नुहुन्छ?
आफ्ना पालाका गफ गर्ने नि! अरूका कुरा काटेर दिन बिताउन भएन। हाम्रो पालोमा यस्तो गर्थ्यौं ,अहिले यस्ता जमाना आए भन्ने गर्छौं। जसरी भए पनि समय सजिलै बितोस् भनेर हो त्यस्ता गफ गर्ने पनि।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
भोक मेट्न जे भए पनि हुन्छ मलाई त। यस्तो मिठो हुन्छ, यस्तो मिठो हुन्न भन्ने केही पनि छैन।
तपाईंलाई पैसा भए यस्तो गर्थें भन्ने के छ?
मलाई जे चाहिए पनि छोराछोरीले पुर्याइदिएका छन्। छोरीहरूले पनि के चाहिन्छ भनेर सोधिरहन्छन्। चाहिएको कुरा ल्याइदिन्छन्। मलाई अब पैसा किन चाहियो र! भोक लागेको बेला पाकेको खानेकुरा खान पाए र शरीर ढाक्ने एकसरो लुगा भए मलाई अब केही चाहिँदैन। त्यो सबै छोराछोरीले पुर्याइदिएका छन्।
तपाईंको स्वास्थ्य कस्तो छ, केही औषधि खानुहुन्छ?
अरूको समस्या त केही छैन। पेटमा ग्यास्ट्रिक छ। १७/१८ वर्ष भयो साँझ बिहानै ग्यास्ट्रिक औषधि खान थालेको। कहिलेकाहीँ औषधि खाएर पनि पेट दुख्छ। धेरै पुरानो भएपछि ग्यास्ट्रिकले ज्यादै सताउने रहेछ। त्यसैमाथि एक वर्ष पहिले यहीँ बाटोमा हिँड्दै थिएँ मोटरसाइकलले हानेर घाइते बनायो। त्यति बेला शरीरमा बाहिर देखिने कुनै चोटपटक नलागे पनि बुढो शरीर बजारिएर होला धेरै समय उठ्न सकिनँ। सात आठ घण्टा त बेहोस नै भएछु। त्यसपछि शरीरमा धेरै कमजोर भएजस्तो लाग्छ।
तपाईंलाई रातिमा कत्तिको निद्रा लाग्छ?
निद्रा पनि कहिले लाग्छ, कहिले लाग्दैन। कहिलेकाहीँ खानपिनमा तलमाथि पर्यो भने रातभरी निद्रा लाग्दैन।
निद्रा नलाग्दा के गर्नुहुन्छ?
उठेर बस्छु। यताउता गर्छु। छोराबुहारी निदाएका हुन्छन्। उनीहरूलाई कति दु:ख दिनु भन्ने लाग्छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
खोइ मेरो जीवनमा खुसी हुने दिन त कहिल्यै आएनन्। म ३१ वर्षकी हुँदा श्रीमान (रघुनाथ ज्ञवाली) बित्नुभएको हो। ३१ वर्षमा अहिलेका छोरीहरूको बल्ल विवाह हुन्छ। म त्यो उमेरमा बिधुवा भएकी थिएँ। श्रीमान बितेपछि सबै खुसी सकिने रहेछन्। लगाउने, खाने मेरो आफ्नै उमेर थियो। त्यस्तो उमेरमा श्रीमान बितेपछि चार जना छोराछोरीको सबै जिम्मेवारी मेरो काँधमा आयो। उनीहरूलाई हुर्काउने, पढाउने, विवाह दान गरिदिने सबै गर्दा म आफू खुसी हुने समय नै पाइनँ।
तपाईं सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
धेरै दु:खी पनि श्रीमान बित्दा नै भएँ। श्रीमान बित्दा ठूली छोरी ५ कक्षामा पढ्थिन्। ठूलो छोरा सात वर्षका थिए। साना छोराछोरी त सानै भइहाले। अलिअलि दु:ख ढाक्ने काम माइत बुवाले गर्नुभयो। श्रीमान बितेको तीन वर्षपछि बुवा पनि बित्नु भयो। दाजुहरूले पनि हेरविचार त गर्नुहुन्थ्यो तर पनि, ठूलो छोराले कमाउने नहुँदासम्म दु:ख भयो। अहिले छोराछोरीले त्यति बेलाको दु:ख बिर्साइदिएका छन्।
श्रीमान के भएर बित्नुभएको हो?
श्रीमान २०४१ सालमा बित्नुभएको हो। एक सय सालमा जन्मिएको हुँ भन्नुहुन्थ्यो बित्ने बेला ४१ वर्षकै हुनुहुन्थ्यो। गाउँघरमा समाजसेवा गर्नुहुन्थ्यो। त्यति बेला गाउँमै मालेको राजनीति पनि गर्ने बेलाबेला तम्घास गई रहनुहुन्थ्यो। अलि अलि दमको रोग थियो। एक दिन बिहान उठेर म पधेँरामा पानी लिन गएँ। श्रीमानले आज मलाई छिटो नउठाउनू है भन्नुभएको थियो। पधेँरो टाढा थियो। म बिहान ५ बजेतिर पानी लिन गएँ। घर आउँदा ६ बजेको थियो होला। पानी लिएर आएपछि पनि गाईबस्तुलाई कुडोपानी दिने, भैंसी दुहुने सबै काम सकेँ। अब त चिया खान उठाउनुपर्यो भनेर आँटीमा जाँदा उहाँ त बिस्तारामा छटपटाई रहनु भएको थियो। बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन। छोराछोरी उठेर चिच्याएपछि छरछिमेकी जुटेर बाहिर तुलसीको मठमा ल्याए। सबैले पानी खुवाउने गरे। केही बेरमै बित्नुभयो।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
पहाडको टोल समाज धेरै राम्रो थियो छोडेर आइयो। कहिलेकाहीँ गएको बेलामा बुटवल किन जानुहुन्छ यतै बस्नुस् भन्छन्। यहाँको टोल समाज कस्तो छ अझै बुझ्न पाइएको छैन। म धेरै बाहिर फेर हिँडेकी पनि छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
राजनीति त मैले धेरै बुझेकी छैन। ठिकै चलेको त होला भन्ने लाग्छ।
चुनावमा भोट हाल्नुहुन्छ कि नाइँ?
गएको चुनावमा म बुटवलमै थिएँ। भोट लिस्ट पहाडमा थियो। भोट हाल्न गइनँ। त्योभन्दा पहिलेका चुनावमा पहाडमै धेरै पटक भोट हालेँ।
भोट कसलाई हाल्नुहुन्थ्यो?
श्रीमानले त्यति बेलाको मालेको राजनीति गर्नुहुन्थ्यो मैले एमालेलाई नै भोट हालेँ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
श्रीमानले मालेलाई कहिल्यै नछोड्नु भन्नुभएको थियो। अहिलेसम्म त्यसैलाई भोट दिँदै आएँ। अब छोडेर कहाँ जाने हो र त्यसैलाई दिन्छु।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त गरेकै छ नि। संसारलाई गरेकै छ। बुवा आमालाई आफ्ना छोराछोरीलाई मात्र गर्न कति गाह्रो छ। सरकारले सबै जनतालाई हेरेको छ। यति गरिरहेको सरकारलाई रेख लगाउने हो भने राम्रो हुँदैन।
अझै राम्रो गर्नलाई के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
अझै राम्रो गर्नलाई पार्टी पार्टी मिले हुन्थ्यो। पार्टीहरू एक आपसमा नलडेर मिलेर देशको विकासमा लागे हुन्थ्यो। देशको विकास गर्नलाई त सबै मिल्न पर्छ नि।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्