(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तुलसीपुर–सुर्खेत सडक अन्तर्गत डाँडाचिस भन्ने ठाउँको सडक किनारमा पिपलको एउटा रूखनजिकै जस्तापाताले छाएको एउटा छाप्रो भेटियो। त्यो छाप्रोमा बस्दा रहेछन् ६८ वर्षीय देवीराम भण्डारी र उनकी श्रीमती सुन्तली। उनीहरूको घर भन्नु त्यही छाप्रो रहेछ।
हालैको एक दिन देवीराम त्यही छाप्रोमा भेटिए। उनीहरू त्यहाँ बस्न थालेको तीन वर्ष भएछ। उनै देवीरामसँग मैले उनको जीवनका सुखदुःखबारे संवाद गरेको छु।
यो घरमा कोको बस्नुहुन्छ?
हामी बुढाबुढी (श्रीमान्–श्रीमती) मात्रै बस्छौं। तीन वर्ष भयो यो घरमा बुढाबुढी मात्र बसेको। यो ऐलानी जग्गा हो, घरबास मात्रै छ। मैले २०५४ सालतिरै ६ हजार रुपैयाँमा किनेको, अहिले त त्यतिमा कहाँ पाउनु! लाखौं पर्छ।
यहाँ आउनुअघि कहाँ बस्नुहुन्थ्यो?
नन्द्रा गाउँमा, यहाँबाट नजिकै हो। आधा घण्टा लाग्छ। त्यो गाउँमा हाम्रो सात कट्ठा पूर्जावाल जग्गा छ, ऐलानी जग्गा एक बिघाभन्दा अलिकति बढी छ। मेहनत गर्दा त्यही जग्गाको कमाइले खान लाउन पुग्छ।
हाम्रा दुई छोरा, दुई बुहारी, तीन जना नाति र तीन जना नातिनी छन्। गाउँमा उनीहरू नै बस्छन्।
तपाईंहरू छोरा बुहारीसँग नबसेर किन यहाँ आउनुभएको?
छोरा बुहारीसँग मन मिलेन, चित्त फाट्यो। छोरा बुहारीको मनचित्त दुखाएर किन बसिरहनु भनेर हामी बुढाबुढी यता आएका हौं।
दुबै छोरा अटो (तीन चक्के अटोरिक्सा) चलाउँछन्, यही बाटोमा हिँड्छन् तर हाम्रामा पस्दैनन्। जेठो (छोरो) त मसँग बोल्दै बोल्दैन। कान्छा-कान्छी (छोराबुहारी) अस्ति म बिरामी हुँदा भेट्न आएका थिए।
तपाईंलाई के बिमार भएको थियो?
गएको फागुनमा मलाई एकाएक प्यारालाइसिस (पक्षाघात) ले हान्यो। यही डाँडाचिसका बाहुनका छोराले उपचार गराउन तुलसीपुर लैजानुभयो। त्यहाँ बिसेक नभएपछि घोराही पुर्याउनुभयो। अहिले अलिक बिसेक भएको छ, झन्डै ६० हजार (रुपैयाँ) खर्च भयो।
घर आएपछि कान्छाकान्छी भेट्न आएका थिए। अलिकपछि बुढी पनि बिरामी भई। उसलाई खुट्टा सुनिन्ने समस्या छ। बुढीको उपचार गर्न एक लाख खर्च लाग्यो। मेरो सबै पैसा स्वाहा भयो। अब उपचार गर्नु पर्दा पैसा छैन।
राति निद्रा कस्तो छ?
आफ्ना सन्तानको कुराले चिन्ता लाग्दो रहेछ। गहिरो सोच पर्दा पटक्कै निद्रा लाग्दैन। कान्छो (छोरो) त पहिले नै छुट्टिएर बसेको थियो। उसको पक्की घर छ। जेठाको घर बैकले (परम्परागत रूपमा ढुंगामाटाले बनेको) छ।
जेठो हामीसँग बस्थ्यो। सबै राम्रै थियो। नातिनातिना हामीले नै हुर्कायौं। तिनै नातिनातिना हुर्केपछि हामीसँग झगडा गर्न थाले, हाम्रो चित्त फाट्यो अनि हामी निस्केर हिँड्यौं।
मैले यतिको सम्पत्ति जोडे, पहिला कत्ति पनि थिएन। आफूले कमाएको सम्पत्ति र आफैले बनाएको घरमा बस्न पाइएन। सम्झँदा नमज्जा लाग्दो रहेछ।
छोराहरूले सँगै बसौं भनेर बोलाउँदैनन्?
जेठो त बोल्दै बोल्दैन। कान्छो कहिलेकाहीँ आउँछ। पहिला हामी जेठासँग बसेका हौं। उसको घरगृहस्थी राम्रो बनाइदिएका हौं। अहिले हामी कान्छासँग बस्न जाँदा दाजुभाइका बीचमा मनमुटाव होला, नराम्रो होला भन्ने लाग्छ। कान्छाकान्छीले पनि पहिला जेठासँग बसे अनि दुःख पाएपछि हामीसँग आए भन्ने सोच्लान्, हेलाहोचो गर्लान्। फेरि हाम्रो चित्त दुख्ला। अब हामी छोराबुहारीकहाँ शरण पर्न नजाने। जसरी भए पनि हामी बुढाबुढी एक्लै बस्ने सल्लाह गरेका छौं। आफू जेजस्तो अवस्थामा रहे पनि सन्तानको भलो होओस् भन्ने लाग्दो रहेछ।
तपाईंहरूले खाने अन्नपात कहाँबाट आउँछ?
गाउँकै एक जनाको २५ कट्ठा बारी ठेक्कामा लिएको छु, वर्षको २५ हजार रुपैयाँ तिर्नुपर्छ। सिजनअनुसार मकै र तोरी फल्छ। ट्याक्टरले जोताउँछु। ज्यालमा काम गर्ने मान्छे लगाउँछु। पोहर पाँच क्विन्टल मकै र चार क्विन्टल तोरी फलेको थियो। आफूलाई खान पुग्ने राखेर अरू बेचिदिन्छु। हामी बाख्रापाठा पनि पाल्छौं। अहिले पनि पाँच वटा छन्। एउटा बोको कुल देवता पुज्न किनेको हो। यही जेठ अन्तिममा कुलपूजा छ।
बाख्रापाठा, मकै र तोरी बेचेर एक लाख ६० हजार जति जम्मा भएको थियो। त्यो सबै पैसा म र बुढी बिरामी हुँदा स्वाहा भयो। अब पैसा छैन। खानेपानी छिमेकीको धाराबाट ल्याउँछौं। हामीलाई कुनै पनि छरछिमेकीले पिर पारेका छैनन्। कसैले केही नराम्रो भनेका छैनन्। छिमेकीहरू असल छन्।
बाख्राको घाँस कहाँबाट ल्याउनुहुन्छ?
त्यहीँ बारीबाट ल्याउँछौं। सकीनसकी कहिले बुढीले ल्याउँछे, कहिले म ल्याउँछु। बाख्रापाठा पालेपछि भोकै राख्नु भएन, घाँस र दानापानी दिनै पर्छ। यी खसीबाख्रा पनि हाम्रा साथीजस्तै छन्। गाउँमा गाईवस्तु पनि पाल्थ्यौं। छोराहरूले भैंसी, गोरु, बाख्रा पालेका छन्।
तपाईंले छोराहरूलाई अंशबण्डा गरिदिनुभयो?
कानुनीरूपमा त भइसकेको छैन तर उनीहरूले जग्गा आपसमा भागबण्डा गरेर कमाएका छन्। गाउँमा मैले पनि तीन कट्ठाको माछापोखरी आफ्नो भागमा राखेको छु। गएको वर्ष १३ सय भुरा हालेको थिएँ तर बिरामी भएपछि जानै सकिनँ। माछा बेच्नै पाइएन। त्यसभन्दा पहिलाको वर्ष त बेचेको थिएँ।
तपाईं बिरामी, तपाईंकी श्रीमती पनि बिरामी, अझै खेतीको काम गर्न सक्नुहुन्छ त?
सकिहाल्छु नि, किन नसक्नु! आवश्यक पर्दा मान्छे लगाउँछु। मैले आफै जोत्ने होइन। ट्याक्टरले जोत्ने हो, भाडामा पाइन्छ। प्यारालाइसिसले हानेपछि मन अलिकति कमजोर भएको छ तर गर्न सक्दिनँ भन्ने लागेको छैन। कथमकदाचित बुढीभन्दा पहिला मै मरेछु भने पनि उसको नाममा नन्द्रा गाउँमा चार कट्ठा जग्गा छ। त्यो जग्गा दिँदा पाल्ने मान्छे पाइएला नि!
खाना पकाउन ग्यास बाल्नुहुन्छ कि दाउरा?
ग्यास कहाँ पाउनु! दाउरा बाल्छौं। यही पिपलको रूखका र पछाडितिरका रूखका हाँगाबिँगा, मकैका नल यस्तैले खाना पकाउँछौं। जीवन चलेकै छ।
तपाईं लेखपढ गर्न जान्नुहुन्छ?
जान्दिनँ, बुढी पनि अक्षर चिन्दिनँ। हामी कहिल्यै स्कूल जान पाएनौं। साँवा अक्षरसम्म पनि चिन्दैनौं। पैसा पनि रङ हेरेर मात्र चिन्छौं। यस्तो कुरा त व्यवहारले पनि सिकाउँदो रहेछ।
तपाईंहरूको बिहे कसरी भएको थियो?
मैले भगाएर बिहे गरेको हो। बुढीको माइतीघर सल्यानको मोख्लामा थियो तर ऊ दाङको टरिगाउँमा बस्थी। त्यहाँ पनि घर थियो। इष्टमित्रको सहयोगले हाम्रो भेट भएको थियो। दुबैको मनचित्त मिलेपछि हामी भाग्यौं। सामान्य बिहे भयो।
अहिले तपाईंसँग केही पैसा भए के गर्नुहुन्थ्यो होला?
पैसा भए त दुबै जनाको उपचार गर्न हुन्थ्यो नि! अझै पैसा बच्ने भए एउटा सानो भए पनि पसल गर्ने थियौं। जीवन गुजार्ने उपाय हुन्थ्यो, बाँच्ने आधार बन्थ्यो।
जीवन के रहेछ जस्तो लाग्छ?
मलाई त जीवन मेला भर्न आएको चोला हो जस्तै लाग्न थालेको छ। मेला भर्ने अनि एक दिन सुटुक्क जाने। भावीले जस्तो लेख्या छ त्यस्तै हुन्छ भन्ने लाग्छ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज सहयोगी छ। मलाई कसैले नराम्रो गरेको छैन। मैले पनि कसैलाई नराम्रो गरेको छैन। हामीलाई गाउँघरमा सबैले राम्रो गर्छन्। गाउँतिर पस्दा तरकारी दिन्छन्। केही अप्ठेरो पर्यो भने हामीलाई भन्नू है भन्छन्। हालखबर सोधिखोजी गर्छन्। यति भएपछि के चाहियो र!
अब के गर्न पाए हुन्थ्यो भन्ने लागेको छ?
मान्छेले सोचेको कहिले पुग्छ र! मर्दा सँगै लैजाने केही पनि होइन। बाँचुन्जेल सन्तोषमनले एकमाना खाना पाए पुग्छ। यो आँटोढिँडोको शरीर हो। बाँच्दासम्म खानलाउन नछुटोस्, त्यति भए पुग्छ।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
तुलसीपुर पुग्ने राम्रो बाटो छँदै छ। अस्पताल पनि छ तर रिफर सेन्टर जस्तो मात्रै छ। यहाँका डाक्टरले घोराही जानू, नेपालगन्ज जानू भन्छन्। वडामा मजस्ता दमका बिरामीलाई दम बढ्दा सुँघ्ने औषधि पनि पाइँदैन। यस्तो औषधि वडामै पाए हुन्थ्यो।
हामी जस्तालाई त सरकारले घरमै ओखतीमुलो गर्नुपर्ने हो नि! मानिस बिरामी हुँदा नजिकमा उपचार पाइयोस्। यति पनि छैन, अरू विकासको कुरा के गर्नु!
तपाईंलाई कस्तो खानेकुरा मन पर्छ?
मलाई त दालभात, तरकारी भए पुग्छ। हामी बेलुका सधैं रोटी खान्छौं, बुढी पकाउँछे। हामी बुढाबुढी खुसी छौं। मिलेर बसेका छौं। सन्तानका कुरा हुँदा कहिलेकाहीँ बुढी रोइदिन्छे, त्यति बेला सम्झाउन गाह्रो पर्छ। आमाबाबुको मन छोराछोरीमा, छोराछोरीको मन के जातिमा भन्छन् नि! यस्तै भएको त होला।
जीवनमा सबैभन्दा ठूलो कुनै गल्ती गरेजस्तो लाग्छ?
केही गल्ती गरेजस्तो लाग्दैन। मैले कसैसँग कहिल्यै हानमार गरिनँ। मलाई ९ वर्षको उमेरमा देउता चढेका थिए। त्यसपछि झारफुक पनि गर्थें। मैले होटलको खाना कहिल्यै खाइनँ। टाढा जाँदा पनि रोटी र सब्जी मात्रै खान्थें। चाउचाउ त अहिलेसम्म मुखमा हालेको छैन।
बाँसको चोया काढेर डोकोडालो बुन्थें। प्यारालाइसिस भएपछि हात लाग्न छाड्यो, अहिले बुन्न सक्दिनँ। मैले धेरै दुःख गरेर सम्पत्ति जोडेको थिएँ।
तपाईं धेरै खुसी कहिले हुनुभयो?
आहा! गज्जब कुरा सोध्नुभयो। बिहे गर्दा खुसी भएको थिएँ तर श्रीमती कसरी पाल्ने होला भन्ने चिन्ता थियो। अलिक पछि छोराछोरी हुर्काउने चिन्ता भयो। छोराछोरीले दुःख नपाऊन् भनेर उनीहरूका लागि सम्पत्ति जोडिदिने चाहना भयो। जग्गाजमिन किन्दा र मनपरेका वस्तुचौपाया किन्दा पनि मन रमाउँथ्यो। हाम्रो घरमा त काम गर्ने मान्छे पनि राखेका हुन्थ्यौं। म खुसी नै थिएँ तर आफैले बनाएको घर छाडेर हिँड्नु परेपछि झल्याँस्स भएको छु।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले त सबै चुनावमा भोट दिएको छु। अहिलेसम्म कांग्रेसलाई मात्रै दिएको छु।
अब हुने चुनावमा कसलाई दिनुहुन्छ?
म त फेरि पनि कांग्रेसलाई नै दिन्छु, बाँचुन्जेल कांग्रेसलाई दिन्छु। म नेता होइन। राजनीति पनि गर्दिनँ। कसैसँग केही माग्ने पनि होइन। मान्छे जोसुकै उठोस्, मलाई मतलब हुँदैन। म इमानदार कांग्रेस हुँ, भोट कांग्रेसलाई नै दिन्छु।
तपाईंलाई मन पर्ने नेता को हो?
मलाई मन पर्ने त राजा नै हुन्। राजा वीरेन्द्र भद्र थिए। आजकाल नेताहरूको गतिविधि हेर्दा देश र जनताका लागि त राजा चाहिने रहेछ जस्तो लाग्दैछ तर राजा भनेर मात्र हुँदैन, राजा पनि सच्चिएर आउनुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्