जसको मन नेपालमा छ
एरिक भालीलाई थिन्ले लोन्डुपले भनेका थिए, 'हाम्रो संस्कृति हिउँजस्तै हो। तिमीले हाम्रो संस्कृतिलाई सूर्यको तापमा हिउँ पग्लिएजसरी पग्लिनुभन्दा अगाडि नै सँगाल्नुपर्छ।'
यो सन् १९९० को सुरूतिरको कुरा हो।
त्यति बेला उनी एरिक भालीले निर्देशन गरेको 'क्याराभान' का प्रमुख पात्र बनिसकेका थिएनन्। न एरिकले कुनै फिल्म नै बनाएका थिए।
एरिक फोटो खिच्थे र केही किताब निकालेका थिए। थिन्ले भने डोल्पाका मुखिया थिए।
अहिले थिन्ले र एरिकलाई संसारले चिन्छ, फिल्म 'क्याराभान' बाट; जसलाई 'द हिमालय' पनि भनिन्छ।
यो वर्ष एरिक फेरि नेपाल आए — डोल्पाभन्दा फरक ठाउँ र संस्कृतिबारे अध्ययन-अनुसन्धान गर्न र फोटो खिच्न।
त्यही मौकामा उनले यहाँको संस्कृति 'सूर्यको तापमा हिउँजसरी' कति पग्लियो र कति बचेको छ भनेर हामीलाई सुनाए। आफ्ना नयाँ कामहरूबारे पनि भने।
एरिकसँग कुराकानीभन्दा पहिले उनलाई संसारभर चिनाएको 'क्याराभान' र थिन्ले लोन्डुपबारे चर्चा गरौं।
फ्रान्समा जन्मिएका एरिक सानैदेखि संसार घुम्न चाहन्थे। यात्रामा भेटिएका मानिसकै शैलीमा जीवन बाँच्न चाहन्थे।
यही सपना साँचेर सन् सत्तरी दशकको सुरूआततिर उनी कतै पैदल यात्रा गर्दै त कतै अरूका गाडी रोकेर 'हिच-हाइकिङ' गर्दै संसारका विभिन्न ठाउँको भ्रमणमा निस्किए।
उनी लेबनान गए। सिरिया गए। अफगानिस्तान गए र त्यहाँबाट पाकिस्तान, भारत हुँदै नेपाल आए।
नेपाल आइपुग्दा झमक्क रात परेको थियो। साथमा एउटा रूकस्याक (झोला), केही जोर लुगा, टर्चलाइट, स्लिपिङ ब्याग, एउटा क्यामरा र केही पैसा मात्र थियो। यात्रा क्रममा लोथ थाकेको ज्यान र सामानहरू उनले काठमाडौंको झोछेँमा रहेको एउटा होटलमा थन्क्याए र रात काटे।
अर्को दिन बिहानै उनी काठमाडौं दरबार स्क्वायर घुम्न गए। त्यो उनका लागि विशेष दिन थियो। किनभने, उनी १८ बाट १९ वर्ष लाग्दै थिए।
जन्मदिनको उत्साह बोकेर एकाबिहानै होटलबाट निस्केका एरिक काष्ठमण्डप, मखन हुँदै असनतिर लम्किए।
सबेरै तरकारी बेच्न आएका ज्यापूहरूसँग एरिकको जम्काभेट भयो। उनीहरूले परम्परागत नेवार पहिरन लगाएका थिए। आफ्नो परम्परागत पहिरन र परम्परागत पेसा धानेर बसिरहेका रैथानेहरूलाई देखेर उनी दंग परे।
काठमाडौंमा त्यति बेला घरभन्दा धेरै मन्दिर थिए। यहाँका कलाकौशलयुक्त मन्दिरले पनि उनलाई आश्चर्यमा पारे। उनले ती दृश्य विश्वासै गर्न सकेनन्।
'ओ माई गड! यस्तो देश पनि यही गोलार्द्धमा छ!' उनी चकित भए।
नेपालमा देखिएका नयाँ नयाँ चिजले उनी झन् झन् रोमाञ्चित हुँदै गए।
अनि यहाँ बस्दाबस्दै उनी यो देशको प्रेममा परे।
'म एक जना अमेरिकी महिला (उनकी पहिलो श्रीमती) र तपाईंको देशसँग एकैपटक प्रेममा परेको थिएँ,' उनले हामीसँगको कुराकानीमा भने, 'म जम्मा एक महिनाका लागि नेपाल आएको थिएँ, तर यहाँ ३० वर्ष बसेँ।'
नेपाल बसाइ लम्बिँदै जाँदा एरिकले नेपाली भाषा सिके। सन् १९८१ मा त उनले नेपालबारे 'छाङ्बु' नामको किताब नै प्रकाशन गरिसकेका थिए।
फ्रान्समा रहँदा एरिक सिकर्मी काम गर्थे। विभिन्न किसिमका फर्निचर बनाउने कामबाट थोरबहुत पैसा जम्मा गरेपछि उनलाई संसार भ्रमणमा निस्किने हिम्मत जुटेको थियो।
उनको भ्रमणको अन्तिम बिन्दु नेपाल थियो। नेपालबाट फर्किएर फ्रान्स पुगेपछि उनले आफ्ना साथीहरूलाई यात्रा क्रममा खिचेका फोटा देखाए। संयोगवश, उनको भेट एक जना किताब प्रकाशकसँग भयो। तिनै प्रकाशकले उनलाई नेपालमा खिचेका फोटाको किताब छाप्ने प्रस्ताव राखे। त्यसपछि त उनी नेपाल आइरहे, फोटो खिचिरहे र व्यावसायिक फोटोग्राफर नै बने।
डोल्पामा गएर फिल्म 'क्याराभान' बनाउनुअघि एरिकले डोल्पाबारे फोटोग्राफीसम्बन्धी दुइटा किताब प्रकाशन गरेका थिए। नेपाललाई फोटोमार्फत् संसारमा चिनाउने काम गरेकाले एरिकले यहाँका मानिस र सरकारसमेतको मन जिते। तत्कालीन राजा वीरेन्द्र शाहसँग त उनको बारम्बार भेट हुन्थ्यो।
एकपटक राजा वीरेन्द्र फ्रान्स भ्रमणमा गएका थिए। नेपालका लागि फ्रान्सेली राजदूत पनि साथै थिए। राजदूतले नेपाललाई संसारभर चिनाउन एरिकले एकदम राम्रो काम गरेको भनेर खुलेर प्रशंसा गरे। त्यसरी राजाको अघि राजदूतले प्रशंसा गरेपछि एरिकलाई आफ्नो कुरा राख्न सहज भयो।
उनले भने, 'सरकार! तपाईंलाई थाहा छ, मैले नेपालको कानुन मिचेर यी किताब निकालेको हुँ। डोल्पा जान मैले प्रवेशाज्ञा नै पाइनँ। म त सुटुक्क लुकेर गएको हुँ।'
एरिकले त्यसो भनेपछि वीरेन्द्र मुसुक्क हाँसे। राजा नरिसाएको देखेर एरिकको हिम्मत अझै बढ्यो।
'म कुनै जासुस होइन र गलत सोचाइले नेपालमा काम गरिरहेको पनि छैन,' उनले भने, 'मेरो कामको मूल्यांकन गरेर मलाई डोल्पातिर आउजाउ गर्ने सहज वातावरण बनाइ दिनुभए हुन्थ्यो।'
राजाले यसबारे विचार गर्ने बताए।
एरिक भने लुक्दै-छिप्दै डोल्पा र नेपालका विभिन्न ठाउँ धाइरहे।
'म एकदम बदमास मान्छे हुँ,' उनले मुस्कुराउँदै हामीसँग भने, 'यदि मैले त्यो काम त्यसरी नगरेको भए सायद कसैले गर्दैन थियो। मलाई थाहा छैन, मैले गरेको काम महत्त्वपूर्ण हो कि होइन। तर थिन्लेजस्ता मान्छेका लागि त्यो एकदमै महत्त्वपूर्ण थियो।'

नेपाल आउजाउ बाक्लो भइसकेकाले एरिकले काठमाडौंको विशालनगरमा बीस वर्षका लागि घर भाडामा लिएका थिए। त्यो घर एरिकको मात्र थिएन, उनले यात्रा क्रममा भेटेका, काम गरेका र निकट भएका डोल्पाली, रानाथारू, गुरूङ लगायतको पनि घर थियो। कुनै कामविशेषले काठमाडौं आउँदा उनीहरू एरिककै घरमा बस्थे।
एक दिन थिन्ले क्षयरोगको उपचार गराउन काठमाडौं आए।
हवाईजहाजबाट ओर्लिनेबित्तिकै थिन्लेकी छोरीले रूँदै एरिकलाई सम्पर्क गरिन् र भनिन्, 'मेरो बुबा मर्दै छ। तपाईं छिटो एयरपोर्ट आउनुहोस्!'
एरिक हतारहतार विमानस्थल पुगे र मरणासन्न अवस्थाका थिन्लेलाई पाटन अस्पताल लगे।
क्षयरोगले गलाएको थिन्लेको फोक्सोमा पानी जमेको थियो। उनी राम्ररी सास फेर्न सक्ने अवस्थामा थिएनन्।
डाक्टरले फोक्सोबाट साढे एक लिटर तरल पदार्थ निकालेपछि बल्ल उनी बोल्न सक्ने भए।
उपचारपछि थिन्ले एरिककै घरमा आराम गर्दै थिए। त्यसबीच एरिक र उनको मित्रता अझ गाढा बन्दै गयो।
एकदिन एरिकले थिन्लेलाई जापानी निर्देशक अकिरा कुरोसावाको फिल्म 'सेभन समुराई' देखाए।
फिल्म हेरेपछि थिन्लेले एरिकलाई भने, 'तिमीले हाम्राबारे दुइटा किताब निकालेका छौ। तर हाम्राबारे एउटा पनि फिल्म बनाएका छैनौ। तिमीले हाम्राबारे फिल्म बनाउनुपर्छ!'
फिल्म बनाउने प्रस्ताव दिएका थिन्लेलाई एरिकले उल्टै प्रस्ताव राखे, 'त्यसो हो भने कथा लेख्न मलाई सहयोग गर। मेरो फिल्मको पात्र पनि तिमी नै बन।'
उनीहरूको सहमति भयो।
कथा लेख्ने क्रममा एरिक क्याराभानकै पात्रहरू थिन्ले, नोर्बु र लाब्राङलाई कथाको 'स्क्रिप्ट' देखाउँथे। उनीहरूले नमिलेका भाग सच्च्याउन मद्दत गर्थे।
लेखन क्रममा उनले दुई जना फ्रान्सेली लेखकसँग पनि सल्लाह लिए उनले लेखेको स्क्रिप्ट डोल्पाको स्थानीय भाषामा अनुवाद गर्ने मान्छे पनि खटाए।
'फिल्मको कथावस्तु, रहनसहन, संस्कृति सबै उनीहरूको वास्तविक जीवनमा आधारित थियो। त्यसैले म सबभन्दा बढी उनीहरूकै भर परेको थिएँ,' एरिकले भने, 'कथा लेख्न मलाई करिब तीन वर्ष लाग्यो भने फिल्म बनाउँदा हामीले लगातार नौ महिना छायांकन गरेका थियौं। यो फिल्म एकदम जोखिम लिएर बनाइएको थियो।'
फिल्मका केही दृश्य छायांकनका लागि एरिकले एकपटक थिन्ले र केही पात्रलाई फ्रान्समा समेत निमन्त्रणा दिएका थिए। आफ्नो ठाउँबाट मुस्किलले काठमाडौंसम्म पुगेका डोल्पालीहरू फ्रान्सको सभ्यता र भवनहरू देखेर तीनछक परे।
एरिकले उनीहरूलाई एउटा चर्चमा लगेका थिए। थिन्ले त्यहाँका ठुल्ठूला स्तम्भ देखेर अचम्म परे।
तिनलाई स्पर्श गर्दै उनले भने, 'कस्तो खत्रा! तिम्रो देशका पुर्खाहरू कति चतुर!'
पहिलोपटक डोल्पा पुग्दा एरिकलाई पनि त्यस्तै अनुभूति भएको थियो। उनी त्यो ठाउँ, त्यहाँका मानिस र संस्कृति देखेर थिन्लेझैं चकित खाएका थिए।
एरिकका अनुसार डोल्पा एकदम विकट ठाउँ थियो। न त्यहाँ सडक पुगेको थियो, न बिजुली। लाग्थ्यो, त्यहाँका मानिस तीन हजार वर्षअघिको समयमा छन्। उनीहरू ढुंगा र फलाम घोटेर आगो बाल्थे। भेडाको ऊनबाट बनेका लुगा लगाउँथे। उनीहरूको घर ढुंगा र माटोले बनेको थियो। सबथोक प्रकृतिमैत्री थिए। मान्छेसँग पैसा थिएन। त्यहाँ याकहरू थिए, जसलाई बेचेर मानिसहरू तिब्बतबाट नुन ल्याउँथे र अन्नसँग साट्थे। डोल्पाको जीवन एकदम कष्टकर थियो र त्यहाँका मानिस एकदम सरल जीवन बाँचेका थिए।
उनलाई मनपर्ने पनि यस्तै साहसिक यात्रा थियो। नभए सुविधासम्पन्न देशबाट नेपाल आई विकट ठाउँमा पदयात्रा गर्दै हिँड्नुपर्ने उनको आवश्यकता र बाध्यता थिएन। उनले आफ्नो कथावस्तु र फोटोग्राफीका लागि खोजेको ठाउँ भने त्यस्तै थियो।
डोल्पालीहरूको जीवन समेटेर उनले बनाएको फिल्म क्याराभान अस्कर (एकेडेमी अवार्ड्स) मा मनोनीत भयो।
'क्याराभान' फिल्मका कलाकारहरूसँग एरिक भाली।
त्यसपछि एरिकले अर्को चर्चित फिल्म बनाए, 'हनी हन्टर'।
यीसँगै उनले रानाथारू समुदायबारे पनि काम गरेका छन्।
एरिकको कामलाई सुरूआतदेखि नियालेका र उनीसँग संगत गरेका पत्रकार एवं लेखक हुन् नारायण वाग्ले। वाग्लेका अनुसार एरिक त्यस्ता कथावाचक हुन् जसका पात्रहरू दिगो हुन्छन्, 'ओभरनाइट' खालका क्षणभंगुर हुँदैनन्।
'एरिकलाई कुनै फिल्म बनाउनुछ भने वर्षौं त्यो ठाउँ र त्यहाँका मानिसको संगत गर्छन्। त्यसपछि बल्ल त्यहाँको अद्वितीय संस्कृति, समुदाय र पात्र सुहाउँदो अन्तर्दृष्टि विकास गर्छन्। त्यसले जब उनीहरूको कथा बाहिर आउँछ, त्यो गहिरो र गहन हुन्छ,' उनले भने।
वाग्लेले हामीलाई एरिकले लेख्ने किताबबारे वर्णन गर्दै भने, 'विदेशीले लेख्ने किताबहरू क्युरो पसलमा राख्नेजस्तो आइरहेको समयमा उनले हरेक कथालाई कम्तीमा आठ/दस वर्ष समय दिएर वजनदार किताब निकालेका छन्।'
वाग्लेको भाषामा भन्दा एरिक 'मास्टर स्टोरी टेलर' हुन्।
एरिक भने खास श्रेय लिन चाहँदैनन्।
उनले भने, 'म कुनै मास्टर स्टोरी टेलर होइन। मैले त के गरेको हो र? यहाँका मानिसको जीवन बाँचेको र केही फोटो खिचेको हुँ। केही किताब र फिल्म बनाएको हुँ। मैले नयाँ काम नै गरेको होइन। यहीँ भएको संस्कृति देखाएको मात्र हो।'
वाग्लेमार्फत् एरिकको विशेषता थाहा पाइसकेपछि हामीले एरिकलाई थप सोध्यौं, 'तपाईं आफ्ना पात्रसँग कसरी सम्बन्ध विकास गर्नुहुन्छ?'
उनले यसरी प्रस्ट्याए —
डोल्पामा हुँदा एरिक उनीहरूकै चिया पिउँथे। छ्याङ खाएर मात्थे। उनीहरू जसरी नै बस्थे। उनीहरूसँग घुम्थे, प्रश्नहरू सोध्थे। कुराकानी गर्थे र साथी बन्थे। अनि उनीहरू पनि एरिकलाई आफ्नो फोटो खिच्न दिन्थे। उनी एउटा कथाबाट अर्को कथामा त्यसरी नै पुग्थे र तिनलाई चाहिँदो समय दिन्थे।
उनी तिनलाई कथाभन्दा आफ्नो साहसिक जीवनप्रतिको प्रेमकथा भन्न रूचाउँछन्।
'एउटा प्रेमकथा थिन्ले, एउटा बहादुर, एउटा गुरूङ, एउटा रानाथारू। मेरो सिंगो जीवन नै उनीहरूको प्रेममा समर्पित भयो,' उनले भने।
यसपालि नेपाल आउँदा एरिकले नेपालको छठ पर्व हेर्ने अवसर पाए। जीवनमा कहिल्यै छठ पूजा नदेखेका एरिक यति उत्साहित भए, फोटो खिच्न छठका बर्तालूहरूसँग पोखरीभित्रै पसे।
उनले एक जना बूढीआमालाई पोखरीभित्र जान मिल्छ भनेर सोधेका थिए। आमाले मिल्छ भनेपछि उनी ज्याकेट र पाइन्ट खोलेर बर्तालूहरूसँगै पोखरीमा गएका रहेछन्।
फोटो खिच्ने आफ्नो तरिकाबारे बताउँदै उनले भने, 'सुरूमा अलिकति लाज लाग्यो र उनीहरूलाई लजाउँदै नमस्ते भनेँ। मेरो खुट्टा पोखरीको माटोमा पूरै गाडिएको थियो। छठको रात म उनीहरूसँगै पोखरीको किनारमा पराल ओच्छ्याएर बसेँ र कुराकानी गरेँ। आफूले खिचेका फोटा देखाएँ। अनि त उनीहरू मसँग खुलिहाले नि!'
उनले अगाडि भने, 'मैले खिचेका फोटा उनीहरूलाई धुलाएर दिन्छु। त्यसले गर्दा अर्को वर्ष काम गर्न एकदम सजिलो हुन्छ। यदि फोटो खिच्ने मान्छेसँग राम्रो सम्बन्ध छैन भने राम्रो फोटो खिच्नै सकिँदैन।'
लामो समय एउटै पात्र र ठाउँसँग संगत गर्ने एरिकले अर्को वर्ष पनि छठको समय नेपाल आउने सोच बनाएका छन्। उनीहरूको विषयमा फोटोमै काम गर्ने योजना छ। यसपालि छठमा आफूले फोटो खिच्ने शैली केही परिवर्तन गरेको पनि उनले बताए।
पेसागत रूपमा 'नेसनल ज्योग्राफी' का लागि फोटो खिचिरहेका एरिकले भने, 'उनीहरूले अलि वर्णनात्मक फोटो खोज्छन् तर मलाई त्यस्तो फोटो खासै चित्त बुझ्दैन। अहिले म अलि 'एट्मोसफेरिक' फोटा खिचिरहेको छु। ती गतिशील, अमूर्त र जीवन्त छन्। म अहिले आफ्नो सिर्जनशील बाटोमा हिँडिरहेको छु। नेसनल ज्योग्राफीलाई त्यस्तो खालको फोटो मनपर्छ कि पर्दैन, मलाई थाहा छैन। तर यो फोटो प्रदर्शनी गर्न ठीक हुन्छ होला।'
एरिकलाई आफ्ना फिल्मभन्दा फोटोका कामहरू चित्त बुझ्छ।
भन्छन्, 'जब म आफ्नो काम हेर्छु, मलाई म त्यस्तो खत्रा फोटोग्राफर र निर्देशक हुँ भन्ने लाग्दैन। म आफ्ना फिल्महरू आफैं हेर्न सक्दिनँ, कति धेरै गल्ती देख्छु। फिल्मभन्दा मलाई मेरो फोटोग्राफी अलि बढी राम्रो लाग्छ।'
वर्णनात्मक फोटो खिच्न मन नपराउने एरिकलाई आफू कुन ठाउँ गएको हो भनेर भन्न पनि मन लाग्दैन।
हामीले उनलाई सोधेका थियौं, 'छठको फोटो कुन ठाउँमा खिच्नुभएको हो?'
मुसुक्क हाँस्दै विदेशी लवजमा तर नेपालीमा उनले भने, 'त्यो त म तपाईंलाई भन्दिनँ!'
एरिक त्यस्ता मानिस हुन् जसलाई कसैले नगरेको काम गर्न मनपर्छ। कोही नपुगेको ठाउँ पुग्न मनपर्छ। कसैले नगरेको विषयमा किताब र फिल्म बनाउन मनपर्छ।
तर उनी आफू कुन ठाउँ गएको भनेर कसैलाई भन्न मन पराउँदैनन्।
'डोल्पाबारे मानिसले तस्बिर र त्यहाँको ल्यान्डस्केप हेरेरै बुझ्छन्। तर मैले हनी हन्टर कहाँ भेटेको थिएँ भनेर कसैलाई भनिनँ। रानाथारूको विषयमा पनि कसैलाई भनिनँ। विभिन्न किताबहरू लेखेको छु तर कहाँ गएर लेखेको भनेर बताएको छैन,' ठाउँ नखुलाउनुको कारण उनले सुनाए, 'मलाई त्यो ठाउँमा हजारौं पर्यटक ल्याएर त्यहाँको संस्कृति मास्नु छैन। पर्यटकहरू आउँदा त्यहाँ पैसा त आउँछ तर त्यसले त्यहाँको संस्कृति ध्वस्त पार्छ।'
आफूले फोटोग्राफ्री सुरू गर्दाताका भेटेका मानिसलाई एरिक संसारका अन्तिम-अन्तिम मानिसका रूपमा वर्णन गर्छन् जो प्रकृतिसँग नजिक थिए। अहिलेका मानिसले प्रकृति ध्वस्त पार्दै गएको देख्दा उनी निराश छन्।
'अहिले डोल्पा जानुभयो भने पहिलेभन्दा धेरै फरक पाउनुहुन्छ। त्यहाँ अहिले मोटरबाइक जान्छ र सबैतिर प्लास्टिक भेटिन्छ। त्यहाँका मानिस प्रकृति विनाश गरिरहेका छन्। मैले डोल्पाको यार्सागुम्बाबारे थुप्रै लेख र फिल्म बनाएको छु। नब्बे दशकको सुरूआततिर त्यहाँ एक जनाले नै आठ सयवटा यार्सागुम्बा टिपेका थिए। अहिले त धेरै टिपेर सखाप भइसक्यो,' उनले भने, 'यार्सागुम्बाले डोल्पाका मानिसको जीवनमा समृद्धि ल्याएको थियो। तर उनीहरूले त्यसलाई जोगाउनै सकेनन्। मानिसहरू लालची नभई बुद्धिमान भएका भए दिगो तरिकाले सोच्थे होलान्।'
एरिक चार वर्षअघि आफ्ना केही स्थानीय साथी भेट्न डोल्पा गएका थिए। बाटोभर पहिरो र अविरल वर्षाले दुःख दियो। गर्मी याममा यसअघि उनले कहिल्यै यस्तो मुसलधारे वर्षा देखेका थिएनन्। बरू कहिलेकाहीँ हिउँ परेको थियो। अहिले जलवायु परिवर्तनको असर डोल्पामा पनि देखिन थालेको उनी बताउँछन्।
उनी त्यति बेला आफ्ना छोरासँग डोल्पा हिँडेका थिए। वर्षाले हैरान बनाएकाले पुग्न सकेनन्। उनका छोरा घरिघरि डोल्पा लग्न भनिरहन्छन्। तर एरिकलाई फेरि डोल्पा जाऊँजस्तो लागेको छैन।
कारण खुलाउँदै उनले भने, 'मैले ऊ बेला फेला पारेजस्तो चाखलाग्दो डोल्पा अहिले छैन।'
अनि थिन्लेलाई फेरि सम्झिए र थपे, 'थिन्लेले मलाई आफ्नो संस्कृति सूर्यको तापले हिउँजसरी पग्लिनुभन्दा अगाडि नै सँगाल्नुपर्छ भनेका थिए। र, यो कुरामा उनी सही थिए। डोल्पाको संस्कृति अहिले हिउँजसरी पग्लिइसक्यो।'
उनले यो कुरालाई अलि जोड दिँदै हामीलाई भने, 'तपाईंको संस्कृति अहिले बिलाइसक्यो!'
सन् २००० तिर, रानाथारूको विषयमा काम गर्दा एरिक पहिलोपटक तराई क्षेत्र गएका थिए। त्यहाँको संस्कृति, कला र कलात्मक घरहरू देखेर उनी आकर्षित भए। अहिले ती पनि सब मासिएको उनी बताउँछन्।
'जंगल फँडानी गरेर ठूला बाटा बनिसके। मान्छे छन् तर उनीहरूको वेशभूषा र जीवनशैली पहिलेजस्तो छैन। उनीहरू कंक्रिट घरमा बस्छन्। काम गर्न सहर जान्छन्। गएको १५–२० वर्षमा सब खत्तम भइसक्यो,' उनले भने, 'झन् डोल्पाभन्दा तराईमा आधुनिकीकरण भित्रिन एकदम सजिलो छ। डोल्पामा त अलिअलि बाँकी छ। तराईमा एक निमेषमै सब खत्तम भइसक्यो।'
उनले अगाडि भने, 'अहिले म पहिले गएका ठाउँहरू गएको भए, क्याराभान, हनी हन्टर, रानाथारू, राजीहरूबारे काम गर्न सक्दिन थिएँ होला। फेरि त्यस्तै किताब, फोटो र फिल्म बनाउन सक्दिन थिएँ होला। थिन्लेले भनेझैं म ती ठाउँको संस्कृति बिलाउनु अगावै पुगेँ।'
एरिक पहिलोपटक नेपाल आउँदा काठमाडौं आएका थिए। र, नेवाः समुदायलाई देखेका थिए। यो समुदायमाथि उनले खासै काम भने गरेनन्। नेपालको यत्ति सम्पन्न र बृहत् समुदायमाथि काम नगरेकामा थकथकी लाग्ने उनी बताउँछन्।
नेवाः संस्कृतिबारे आफूले काम गरेको भए के गर्थेँ होला भनेर उनले केही समयअघि सोचेका थिए।
सायद उनी ६ महिना पाटन, ६ महिना काठमाडौं र ६ महिना भक्तपुर बस्थे! त्यहाँका मानिससँग घुलमिल हुन्थे र उनीहरूको भाषा सिक्थे!
तर उनी यी सबलाई एकदम सामान्य कुरा मान्छन्। किनकि, जब एरिक कुनै ठाउँसँग प्रेममा पर्छन्, उनी त्यहाँ समय बिताउन रूचाउँछन्।
काठमाडौं र यहाँको संस्कृतिमा पनि धेरै परिवर्तन आएको उनले देखेका छन्।
-1705318524.jpg)
उनले देख्दा काठमाडौंमा कार थिएनन्, केही साइकल थिए। न्यूरोडबाट स्वयम्भूतिर जाँदा पूरै धानबाली हुन्थ्यो। रूखका मोटा हाँगाहरूका पुल थिए। फाँटहरू धेरै थिए, घरहरू त्यति थिएनन्। नेवार संस्कृति देख्न पाइरहन्थ्यो, पर्वहरू हरेक समय भइरहन्थे।
'एकदमै राम्रो र मौलिक थियो। अहिले धेरै परिवर्तन भइसकेको छ,' उनले भने।
एरिकले नेवार संस्कृतिमा अब काम गर्ने कि नगर्ने भनेर सोचेका छैनन्। पहिला गएका ठाउँहरू पनि उनलाई घरीघरी गइरहन अब रूचि छैन। अहिले उनी छठका लागि तराईसँगै नेपालको 'अन्तिम भू-भाग' को पदयात्रामा छन्। उनी त्यो भू-भाग कुन हो भनेर अन्य ठाउँझैं बताउनेवाला छैनन्!
उनले यत्ति भने, 'म छठसँगै हिमालमा भएका महिलाहरूको कथामा काम गर्दैछु र त्यो क्याराभानझैं काल्पनिक कथाको सहायतामा भनिनेछ। त्यसको स्क्रिप्ट अहिले लेखिरहेको छु।'
आफू गएका ठाउँहरू नबताउने भएकैले साथीहरूले एरिकलाई 'हिडन भ्याली' अर्थात् 'गोप्य उपत्यका' भनेर उपनाम दिएका छन्।
उनी आफ्नो कुरामा स्पष्ट छन् — कसैलाई कुनै ठाउँबारे जान्नु छ भने उनीहरूले मैले जस्तै यात्रा गर्नुपर्छ। नेपाल आउनुपर्छ, यहाँको संस्कृति ग्रहण गर्नुपर्छ। नेपाली भाषा सिक्नुपर्छ र मुख्य बाटोभन्दा भित्री बाटो हुँदै हिँड्नुपर्छ। वास्तविक एड्भेञ्चर त्यो हो। जब मणिलाल, थिन्ले, बहादुर वा रानाथारूहरूलाई भेटिन्छ र उनीहरूको जीवनबारे जानिन्छ, तब त्यो एकदम सुन्दर र साहसिक यात्रा हुनेछ!
उनले भने, 'मलाई आज यता बस्ने, भोलि यता बस्ने, यता सुत्ने भन्ने खालको यात्रा पटक्कै मनपर्दैन।'
तर नेपालमा साहसिक यात्राका लागि ठाउँहरू एकदम कम भइरहेको एरिकले महसुस गर्न थालेका छन्। अहिले उनी जुन ठाउँमा काम गरिरहेका छन्, त्यो उनका निम्ति चाखलाग्दो छ। तर क्याराभान र हनी हन्टर जत्तिको छैन!
'म एउटा साहसिक यात्राबाट अर्को, एउटा फिल्मबाट अर्को, एउटा किताबबाट अर्कोमा गएको मान्छे हुँ। अहिले मैले राम्रो कथा भेटेको छु र लेख्दै पनि छु। तर त्यति धेरै साहसिक छैन,' उनले निराश हुँदै भने, 'मलाई थाहा छैन, यो जस्तो साहसिक ठाउँ नेपालमा अब कति बाँकी छ!'
एरिकलाई आफ्नो जीवन पनि हिजोआज त्यति रोमाञ्चक लाग्दैन। पट्यारलाग्दो मान्न थालेका छन्। सायद ७० वर्ष उमेरका भएर पनि होला! युद्ध, जलवायु परिवर्तन लगायत संसारमा भइरहेका घटनाले दिमागमा एकदम असर पारिरहेको उनी बताउँछन्।
'म अहिले संसारप्रति त्यति आशावादी छैन। यति निराशावादी पहिले कहिल्यै भएको थिइनँ,' उनले भने।
उमेर बढ्दै जाँदा धेरै कुरा सिक्न र बुझ्न बाँकी भएको अनुभव पनि उनले गरेका छन्।
'मान्छे जब जवान हुन्छ, उसलाई सबै कुरा थाहा छ जस्तो लाग्छ। जब ऊ बूढो हुन्छ, उसलाई केही थाहा छैन र केही बुझेकै छैन भन्ने महसुस हुन्छ। यो एकदम हास्यास्पद कुरा हो,' उनले भने।
उमेर बढेसँगै र समय परिवर्तन भएसँगै अचेलका मानिसहरू देख्दा पनि एरिकलाई दिक्क लाग्न थालेको छ। संसार पूरै फरक भइसकेको उनी बताउँछन्।
'मानिसको भगवान भनेकै पैसा भइसक्यो। सबै जना एकै खालका लुगा लगाउँछन्। एउटै फिल्म हेर्छन्। एउटै गीत सुन्छन्। त्यो देखेर मलाई साँच्चै झ्याउ लागेको छ। त्यो किसिमको जीवन मलाई मनै पर्दैन,' उनले भने, 'आजकालका मानिस आइफोन र कम्प्युटर बोक्छन्। मसँग पनि छ तर मलाई चलाउन आउँदैन। मैले कम्प्युटर चलाउनसमेत सहायक राख्नुपरेको छ। यस्तो कुरामा मलाई चासो नै छैन।'
सामाजिक सञ्जाल र आधुनिक उपकरणहरू देखेर पनि उनलाई झर्को लाग्छ।
केही समयअघि एरिकलाई उनका २० वर्षीय छोराले सोधेका रहेछन्, 'तपाईं वास्तविक संसार र भर्चुअल संसारबारे के सोच्नुहुन्छ?'
एरिकका छोरा उनीसँगै पदयात्रामा नेपाल आइरहेका हुन्छन्। उनले पनि नेपाली भाषा बोल्न जानेका छन्।
एरिकलाई भर्चुअल संसार मनपर्ने कुरै थिएन। उनको संसार त वास्तविक संसार हो। उनको संसार रूख वा चट्टानबाट लड्नु, माहुरीले टोक्नु, याकले हान्नु, हिउँमा सुत्नु, वास्तविक मान्छेलाई भेट्नु र उनीहरूको जीवन बाँच्नु हो। उनका निम्ति वास्तविक संसारभन्दा अर्को राम्रो संसार नै छैन।
त्यसैले छोरालाई भर्चुअल संसार बेकारको हो भनिदिए।
'हामीलाई लाग्छ, सामाजिक सञ्जाल र उपकरणले हाम्रो समाजलाई नजिक बनाउन मद्दत गर्छ। तर यसले हामी मानिसलाई एकदमै एक्लो बनाइरहेको छ,' उनले भने, 'मैले छोरालाई तिमी वास्तविक जीवन बाँच, वास्तविक चुनौतीहरू सामना गर, वास्तविक मान्छेहरू भेट र उनीहरूको जीवन पनि बाँच भनिदिएँ।'
यो सुझाव एरिकले आफ्ना छोरा मात्र नभई सबैलाई दिएका हुन्। जीवनका सबभन्दा सुन्दर र चाखलाग्दा भनेका अज्ञात कुराहरू हुन्, त्यसको खोजीमा लाग्न उनी सुझाउँछन्।
राम्रा फिल्म कसरी बनाउने भन्ने विषयमा भने एरिक तीनवटा 'रेसिपी' सुझाउँछन् — राम्रो कथा, राम्रो कथा र राम्रो कथा।
उनी फिल्ममा भएका दृश्य, अभिनय, संगीत सबै कुराले आकर्षित हुन्छन्। सबभन्दा बढी त्यसभित्रको कथाले आकर्षित गर्छ। अहिले मानिसलाई फिल्म बनाउन महँगो क्यामरा नै चाहिन्छ भन्ने छैन। साधारण मोबाइलबाट पनि फिल्म बनाइरहेका छन्।
'जेबाट फिल्म बनाउनुस् तर तपाईंले ती तीन रेसिपी बिर्सिनु हुँदैन,' उनी भन्छन्।
कहिलेकाहीँ एरिकलाई मानिसहरूले 'तपाईंजस्तो कसरी बन्ने' भन्ने 'रेसिपी' पनि सोध्छन्।
त्यसको जबाफ उनी दिन्छन् — तपाईं मैले हिँडेको बाटोमा हिँडेर मजस्तो बन्नै सक्नु हुन्न। तपाईंले त म हिँडेको बाटोभन्दा अलग पथ आफैं बनाउनुपर्छ। धेरै मानिसहरू मेरो किताब हेर्छन् र डोल्पा जान्छन्। उनीहरू हनी हन्टरको किताब पढ्छन् र त्यतै जान खोज्छन्। उनीहरू मलाई कता जाने भनेर सोध्छन्। म उनीहरूलाई आफ्नो बाटो आफैं बनाउन भन्छु। त्यो सबभन्दा चाखलाग्दो कुरा हो।'
आफूजस्तो अर्को एरिक आफूले खासै नभेटेको उनले बताए।
'म जस्तो जंगली, सक्कली र डर नलाग्ने मान्छे मैले धेरै भेटेको छैन। नेपालमा पनि खासै छैनन्,' उनले भने।
एरिकले देख्दा देख्दैका थुप्रै कुराहरू हिउँझैं बिलाइसके। उनले भेटेका थुप्रै पात्र पनि थिन्ले जसरी बिलाइसके। तर अझै केही पात्र र ठाउँ छन् जस कारण एरिक पटकपटक नेपाल आइरहेका छन्। अझसम्म खोजी नभएका ठाउँ भेट्नेमा उनी आशावादी छन्।
उनलाई नेपालको संस्कृति एकदम अविश्वसनीय लाग्छ। एउटै देशमा उच्च भू-भाग र समथर फाँट छ। रानाथारू, राजी, नेवार, डोल्पो, तामाङ, राई, लिम्बू लगायत समुदाय छ। त्यसमाथि उनीहरूको आफ्नै भाषा, रहनसहन, वेशभूषा, संस्कृति छ।
'संसारमा यस्ता देश कति नै छन् र,' अर्को वर्ष पनि नेपाल आउने निधो गरेका एरिकले भने, 'मलाई यो देश र यहाँको संस्कृतिप्रति अथाह प्रेम छ। नेपालमा अझै साहसिक ठाउँहरू बाँकी छन्। त्यसैले म नेपाल आइरहनेछु। यहाँको संस्कृति हिउँजसरी बिलाउनुअगावै सँगाल्न चाहन्छु।'
...
यो पनि पढ्नुहोस्: