जंगलभित्रको कथा: अध्याय ४
मारू सरर हो मारू सरर
ती दुःख सम्झती क्याप्नङ धरर ...
बाटो मुनिको मकैबारीबाट गीत गुञ्जिँदै थियो।
कान्लाको घाँस काट्दै उनले गाएको गीत मैले पहिले पनि धेरैपटक सुनेको थिएँ। चेपाङ भाषाको यो गीतको अर्थ हुन्छ —
हावा सरर हो हावा सरर
ती दुःख सम्झेर आँसु धरर ...
यो गीतले चेपाङ समुदायको दुःख, पीडा र समस्या बोलेको छ। विकट पहाडमा बस्ने यो समुदाय मेलापात र जंगल जाँदा भाका मिलाएर यही गीत गाउँछन्।
मैले राप्ती नगरपालिका-१०, वाकन्दीमा भेटेका श्रीमान प्रजा यही समुदायका प्रतिनिधि पात्र हुन्।
'आहा कति मिठो स्वर तपाईंको!'
मेरो तारिफ सुनेर मख्ख परेका उनी मकैबारीबाट उपल्लो गराको आलीमा चढे। खल्तीबाट सुर्तीको प्याकेट झिके। आलीमा टुसुक्क बसे। र, हातले सुर्ती माड्दै मतिर हेरेर भने, 'म त पहिल्यैदेखि गाउने मान्छे हो नि सर, तर के गर्नु ...'
बोल्दा बोल्दै टक्क अडिएपछि मैले सोधेँ, 'अनि के भो त?'
'भयो सर छाड्दिनू। कुरा गर्यो, कुरैको दुःख,' उनले भने, 'अब त्यो कुरा गरेर के फाइदा!'
'कुरा नगरेर पनि फाइदा त के छ र!'
मेरो जबाफ सुनेर उनी मुसुक्क हाँसे, अनि भने, 'अघिको गीत छ नि सर, त्यो मेरै कथा हो भने पनि हुन्छ।'
यति भनेर उनी एकछिन चुप्प लागे र हातमा माडिरहेको सुर्ती क्वाप्प मुखमा हाल्दै भने, 'जिन्दगीमा सोच्दै नसोचेको दुःख पाएको मान्छे हुँ म। अहिले सम्झिँदा पनि आँखाबाट आँसु झरिहाल्छ।'
सुर्ती ओठले च्याप्दै उनी एक्कासि भावुक भए र बिस्तारै आफूले भोगेका दुःख सुनाउन थाले —
राप्ती नगरपालिकाको वाकन्दीमा जन्मिएका श्रीमान प्रजा ५० वर्ष नाघिसके। विपन्न परिवारमा जन्मिएका उनले स्कुल जान पाएनन्। आमाबुबासँग खेतबारीको काममै अल्झिए। फुर्सतमा साथीभाइसँग खेल्थे, गाउँ चहार्थे। गाउँमा हुने मेला र जात्रामा गीत गाउँथे। साथीहरू उनको गीतको तारिफ गर्थे। उनी पुलकित हुँदै टन्न रक्सी पिउँथे र झन् मच्ची मच्ची गाउन थाल्थे।
दिनभरि मिस्त्री काम गर्नु, साँझ रक्सी पिउनु र मध्यरात गीत गाउँदै घर पुग्नु उनको दैनिकी थियो।
पछि पल्लो गाउँकी मनमायासँग उनले विवाह गरे। एक छोरा र दुई छोरी जन्मिए। रक्सीको लत भने बढ्दै गयो। यस्तरी बढ्यो, उनी रक्सी नपिई बोल्नधरि नसक्ने भए। आज कसले रक्सी खुवाउँछ भनेर हरेक दिन खोजी हिँड्न थाले।
एक साँझ दुई जना परिचित व्यक्तिसँग उनको भेट भयो। ती दुई परिचितले उनलाई नजिकैको भट्टीमा लगे। पेटभरि खाजा खुवाए, मनभरि रक्सी पिलाए।
त्यो रातभर रक्सी पिएर मातेका श्रीमानले भट्टीको टेबल ठटाउँदै उही गीत गाएका थिए —
मारू सरर हो मारू सरर
ती दुःख सम्झती क्याप्नङ धरर ...
उनीहरूले छुट्टिने बेला श्रीमानलाई भने, 'तँ हामीले भनेको मान्, तँलाई खाजा र रक्सीको कहिल्यै दु:ख हुने छैन।'
यस्तो सुनेर श्रीमानको खुसीको सीमा रहेन। उनलाई भगवानै भेटेजस्तो भयो। बस्नलाई घर छँदै थियो; खाजा र रक्सीको पनि बन्दोबस्त भएपछि उनी मखलेल थिए।
त्यसपछि त ती दुई जनासँग दिनहुँजसो श्रीमानको भेट हुन थाल्यो। उनले दिनहुँजसो सित्तैमा खाजा र रक्सी खान पाइरहे। कहिलेकाहीँ त नगद पनि पाउँथे।
यो क्रम बढ्दै बिस्तारै उनीहरू रक्सीको बोतल बोकेर श्रीमानको घरै जान थाले। रातभरि रक्सी पिएर श्रीमानकै घर बस्न थाले।
श्रीमती मनमाया बेला बेला सम्झाउँथिन्, 'यी मान्छेको संगत नगर है, तिमीलाई बिगार्छन्। कुन दिन खाल्डामा जाक्छन्, अनि झसंग हुनुपर्ला!'
श्रीमान उनको कुरा नसुनेझैं गर्थे।
उनलाई न श्रीमतीको पीर थियो, न हुर्कँदो छोराछोरीको चिन्ता।
एकदिन ती दुई जनामध्ये एकले श्रीमानलाई पूर्वतिर घुम्न जाने प्रस्ताव राखे। सित्तैमा खान पाइरहेका श्रीमान सित्तैमा घुम्न पाउने प्रस्तावले खुसी खुसी तयार भए। त्यति बेलासम्म ती दुईमध्ये एक जना गाउँतिर देखिन छाडेका थिए। सायद उनले पहिले नै पूर्वको बाटो समातिसकेका थिए।
श्रीमानको त्यो यात्रा धरानसम्म पुग्यो। फर्कँदा उनीहरू बीच बाटोबाटै छुट्टिए। श्रीमान एक्लै घर आइपुगे।
फर्केको केही दिनपछिको कुरा हो। एक रात श्रीमान रक्सीले लठ्ठ मातिएर ओछ्यानमा पल्टेका मात्र के थिए, बुट बजारिएको धमधम आवाजले उनको आँगन गुञ्जियो। एकसाथ थुप्रै मान्छे बोलेको कल्याङमल्याङ सुनियो।
केही बेरमै कसैले ढोका ढकढकाउँदै सोध्यो, 'घरभित्र को हुनुहुन्छ? बाहिर निस्कनू त।'
निद्रा खल्बलिएको रिसमा 'को हो' भनेर कराउँदै श्रीमानले काठले बारेको घरको चरबाट बाहिर हेरे।
अँध्यारो रातमा कोही देखिएन।
उनी ढोका खोलेर बाहिर निस्के।
दैलो बाहिर टेकेका मात्र के थिए, एक जनाले च्याप्प उनको हात समात्यो। दुई-चार जना हुरहुरिएर भित्र पसे।
ती सबैले एकै स्वरमा सोधे, 'तेरा साथीहरू कता छन्? खोई राजकुमार? खोई काजीमान?'
उनीहरूले न राजकुमार भेटे, न काजीमान। दुवै जना फेला नपरेपछि श्रीमानलाई नै पाता फर्काएर आफूसँगै लगे।
त्यो रात चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोली कुख्यात गैंडा शिकारी राजकुमार प्रजा र काजीमान प्रजालाई खोज्दै श्रीमानको घर आइपुगेको थियो। उनीहरूले आफ्नो सुराकीमार्फत् राजकुमार र काजीमान श्रीमानको घरमा लुक्ने गरेका छन् भन्ने सूचना पाएका थिए।
टोलीले श्रीमानलाई पक्राउ गरेर चितवन निकुञ्जको हेडक्वार्टर कसरा लग्यो र केरकार सुरू गर्यो।
श्रीमानले आफ्नो बयानमा भने, 'मलाई राजकुमार र काजीमान गैंडा तस्कर हुन् भन्ने थाहा थिएन। सहयोगी थिए, त्यही भएर संगत गरेँ।'
'गैंडा किन मार्छन् र गैंडाको अंग केका लागि काम लाग्छ भन्ने पनि मलाई थाहा छैन,' उनले अगाडि भने, 'मलाई रक्सी चाहिएको थियो। खुवाउने साथी भेट्टाएको थिएँ। बेला बेला पैसा पनि दिन्थे। म त्यतिमै रमाएको थिएँ।'
उनले मसँगको कुराकानीमा पनि यही दाबी दोहोर्याए। तर लाख बिन्ती गर्दा पनि निकुञ्ज र सेनाको टोलीले उनको कुरा मान्दै मानेन।
उनीमाथि चोरी शिकारीको मुद्दा चल्यो। अदालतले १५ वर्ष जेल पठायो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा एकसिंगे गैंडाको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ।
श्रीमान प्रजा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
श्रीमानले आफ्नो जेल जीवन भरतपुर कारागारमा बिताए। जेलमै रहँदा एकचोटि उनले राजकुमार र काजीमानलाई देखेका थिए। उनीहरूलाई पनि बन्दीका रूपमा त्यही जेल ल्याइएको थियो।
'राजकुमार र काजीमानलाई देख्नासाथ मेरो रगत उम्लियो,' श्रीमानले भने, 'म ती दुवैको घाँटी ङ्याक्न चाहन्थेँ, तर उनीहरू भएको ठाउँसम्म पुग्नै सकिनँ। प्रत्यक्ष भेट पनि कहिल्यै भएन। उनीहरूलाई केही दिनमै जेल सारेर अन्तै लगिएछ।'
बरू भरतपुर जेलमै चिनजानका आधा दर्जनभन्दा बढी मान्छे भेटेको उनी बताउँछन्। ती सबै गैंडा तस्करीकै अभियोगमा सजाय काटिरहेका थिए।
'यता हेरे पनि आफ्नै गाउँले, उता हेरे पनि आफ्नै गाउँले,' उनले भने, 'म त छक्कै परेँ!'
पन्ध्र वर्ष जेल सजाय तोकिएका श्रीमान प्रजा १३ वर्ष सजाय काटेपछि असल चालचलनका कारण केही महिनाअघि मात्र रिहा भएका हुन्। उनी जेलमै छँदा १९ वर्षे छोरा मुटुको समस्याले बिते। जेठी छोरीले १२ कक्षा पास गरिसकिन्। कान्छी ११ कक्षा पढ्दै छिन्। मनमायाले समिटार माध्यमिक विद्यालयमा पियनको जागिर खाएर परिवार धानेकी थिइन्।
जेलबाट छुटेपछि श्रीमान गाईपालनमा लागेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तु तस्करीमा सजाय भोगेका व्यक्तिको जीवनस्तर सुधार्न गाई वितरण गरेको थियो। दैनिक चार लिटर दूध बेचेर परिवारको गुजारा चलाइरहेको श्रीमान बताउँछन्।
'जेल बसेर रक्सी पिउने बानी हट्यो,' उनले भने, 'अहिले दूध पिउन थालेको छु।'
श्रीमानको जीवन त सुध्रियो, तर जुन राजकुमार र काजीमानका कारण उनी जेल परे, ती दुवै अहिले पनि जेलमै छन्।
मैले केही दिनअघि वीरगन्ज कारागार गएर कुख्यात गैंडा शिकारी राजकुमार प्रजासँग झन्डै पौने घन्टा कुराकानी गरेँ। उनले चितवन जंगलमा गैंडा शिकारको रेकर्ड बनाएका थिए।
त्यति बेला चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करको आतंक थियो। माओवादी सशस्त्र युद्धका कारण निकुञ्जका सैनिक पोस्टहरू घटाइएका थिए। कमजोर सुरक्षाको फाइदा उठाउँदै वन्यजन्तु तस्करहरूको सञ्जाल सल्बलायो। गैंडाको खाग महँगोमा बिक्ने भएकाले तस्करहरूले वर्षदिनमै ३५ वटाभन्दा बढी गैंडा मारेका थिए। तीमध्ये सबभन्दा बढी गैंडा मार्ने राजकुमार प्रजा थिए।
राजकुमारलाई २०७१ फागुनमा पक्राउ गरिएको थियो। त्यति बेला प्रशासनको नियन्त्रणमा सञ्चारकर्मीहरूसामु उपस्थित गराइएका राजकुमारले गर्वसाथ भनेका थिए, 'मैले जिन्दगीमा २० वटा गैंडा मारेँ। त्यसबाहेक थप पाँचवटा गैंडा मेरो गोली लागेर घाइते भए। अरूले मारेका दुईवटा गैंडाको खाग पनि मैले बेचेको छु।'
उनले अगाडि भने, 'गैंडा मारेर ४०-४५ लाख रूपैयाँ कमाएँ होला, तर मैले पैसा बचाउन सकिनँ।'
मैले त्यही पत्रकार सम्मेलनमा राजकुमारलाई पहिलोपटक देखेको थिएँ। आफूले मारेका गैंडाको गन्ती र कमाएको हिसाब सुनाउँदै गर्दा उनमा डर र पश्चातापको कुनै छनक देखिँदैन थियो।
त्यस दिन निलो रंगको ज्याकेट लगाएका राजकुमारले लामो कपाल पालेका थिए। केही दिनअघि वीरगन्ज कारागारमा भेट्दा उनको कपाल फौजीहरूको जस्तो पातलो थियो। दारीजुँगा टुसाउँदै थिए। चिसो मौसम भएकाले बाक्लो ऊनी चेकसर्ट र पाइन्ट लगाएका थिए।
हामी दुईबीच फलामे बारको सीमा थियो। तर राजकुमारले कुराकानीमा कुनै सीमा राखेनन्।
मैले उनलाई भेट्नासाथ भनेँ, 'चितवन जंगलको गब्बर सिंहलाई नौ वर्षपछि देख्न पाइयो है!'
उनले केही जबाफ दिएनन्, मुस्कुराए मात्र।
मलाई लाग्यो, उनले मेरो आसय बुझेनन्। त्यसैले सिधै भनेँ, 'तपाईंलाई मान्छेहरू चितवन जंगलको गब्बर सिंह भन्छन् नि!'
त्यसपछि चाहिँ उनी खुलेर हाँसे, अनि भने, 'पछाडि त के के भन्छन् के के, तर मेरै अगाडि उभिएर यस्तो भन्ने चाहिँ तपाईं पहिलो हो।'
राजकुमार प्रजालाई बहुचर्चित हिन्दी फिल्म 'शोले' का खलपात्र डाँकु गब्बर सिंहसँग दाँज्ने गरिन्थ्यो। जसरी गब्बरले रामगढ भन्ने गाउँमा आतंक मच्चाएका थिए, त्यसरी नै चितवन जंगलमा कुनै समय राजकुमारको आतंक थियो। जसरी गब्बरको कहरबाट रामगढका बासिन्दा त्राही त्राही थिए, त्यसरी नै राजकुमारको निशानामा परेको गैंडा उम्किएर बाँच्न असम्भव मानिन्थ्यो।
उनको परिवार चितवनको शक्तिखोरबाट कालीखोला बसाइ सरेको थियो, जुन अहिले राप्ती नगरपालिकामा पर्छ। राजकुमार परिवारका सबभन्दा कान्छा सदस्य थिए।
त्यो बेला चितवन जंगलमा गैंडा शिकारीहरूको बिगबिगी बढ्न थालेको थियो। कोही गैंडा मार्थे, कोही मार्नेलाई सघाउँथे। कोही भने खाग ओसारपोसारको काम गर्थे। उनकै परिवारका अरू सदस्य पनि यीमध्ये कुनै न कुनै काममा सामेल थिए।
राजकुमार भने पूर्वी चितवनको पर्सामा पढ्न बसेका थिए। पढ्दै गरेका राजकुमारलाई उनकै भिनाजु रामचन्द्र प्रजाले पहिलोपटक गैंडा तस्करहरूको सञ्जालमा छिराए। गैंडालाई खाल्डोमा फसाएर मार्न र खाग निकाल्नमा रामचन्द्र माहिर मानिन्थे।
सुरू सुरूमा राजकुमार भिनाजुको पछि लाग्दै शिकारीहरूको समूहमा हिँडे मात्र; आफैं गोली चलाएर गैंडा ढालेनन्।
जब उनले गैंडा शिकारमा धेरै आम्दानी देखे, तब उनी पनि गोली दाग्न कस्सिए।
२०६० सालमा पहिलोपटक उनले गैंडा मार्ने 'सुपारी' पाए। र, सुपारीसँगै पाए — बन्दुक।
उनले भिनाजुको साथ लागेर हिँड्दा नै बन्दुक चलाउने र निशाना लगाउने तालिम लिइसकेका थिए। जसै सुपारी र बन्दुक हात पर्यो, उनी पाँच-सात जना सहयोगीका साथ उत्साहित हुँदै जंगल पसे।
गैंडा आउजाउ गर्ने ठाउँ कुन हो भन्ने उनलाई राम्ररी थाहा थियो। त्यसैमध्ये एक ठाउँ रूखको छेल परेर उनी गैंडाको प्रतीक्षा गर्न थाले।
लामो समयको प्रतीक्षापछि झाडीबाट गैंडा हिँडेजस्तो सर्याकसुरूक आवाज सुनियो।
राजकुमारले बन्दुक सोझ्याए र आवाज आएको दिशातिर निशाना साँधे। तर त्यो गैंडा हिँडेको आवाज थिएन। गस्तीमा खटिएका निकुञ्ज कर्मचारीहरूको आवाज थियो।
राजकुमार लगायत उनका शिकारी साथीहरूले जसै निकुञ्ज कर्मचारीलाई देखे, उनीहरू त्यहाँबाट कुलेलाम ठोके।
निकै बेर भागेपछि एक ठाउँ भुइँमा थुचुक्क बसे। चकमन्न जंगलमा उनीहरूको स्वाँस्वाँ आवाज मात्र सुनिँदै थियो।
राजकुमारले दायाँबायाँ हेरे। आँखाले भ्याएसम्म नजर दौडाए।
निकुञ्ज कर्मचारीहरूलाई दूर दूरसम्म कहीँ नदेखेपछि बल्ल उनी ढुक्क भए।
त्यही बेला नजिकै झाडी फिरफिर हल्लिरहेको देखियो। कोही हिँडेजस्तो आवाज पनि सुनियो।
उनीहरू सबै सतर्क भए। गस्ती टोली फेरि आइपुगेको शंकाले भाग्नै आँट्दा झाडीबाट तिखो सिंग भएको गैंडाको मुन्टो देखियो।
शिकारीहरूको झुन्डबाट अन्जान गैंडा सरासर उनीहरू भएतिरै लम्किरहेको थियो।
'अजिंगरको आहारा दैवले पुर्याउँछ भन्छन् नि, त्यस्तै भयो मलाई,' राजकुमारले आफ्नो पहिलो गैंडा शिकारबारे विस्तार लगाउँदै भने, 'म गस्ती टोलीबाट बच्न भागेको थिएँ, भाग्दै भाग्दै गैंडा भएकै ठाउँमा पुगेँ।'
त्यसपछि त के चाहियो!
राजकुमारले गैंडाको टाउकैमा ताकेर गोली हाने। तर त्यति बेलासम्म उनी शिकारमा अभ्यस्त भइसकेका थिएनन्। त्यसैले गोलीले गैंडालाई छोयो मात्र, पुक्लुक्क ढाल्न सकेन।
घाइते गैंडा कराउँदै बेतोड दौडिन थाल्यो।
राजकुमारले दोस्रोपटक गोली हाने।
दोस्रो गोलीले गैंडा रन्थनियो र केही सेकेन्ड ढलपल गर्दै भुइँमा ढल्यो।
सँगै गएका साथीहरूले बञ्चरो बोकेका थिए। उनीहरूले त्यही बञ्चरोले मरेको गैंडाको खाग काटे। झोलामा हाले। र, कुलेलाम ठोके।
गस्तीमा हिँडेको टोली बन्दुकको आवाज सुनेर खोज्दै खोज्दै घटनास्थल आइपुग्यो। उनीहरू पुग्दा त्यहाँ खागविहीन मृत गैंडा मात्र थियो।
त्यस दिन चितवन जंगलमा नयाँ गैंडा शिकारीको जन्म भयो, जसले केही महिनाभित्रै थप १९ वटा गैंडा मारे।
आफ्नो त्यो पहिलो शिकारबाट ४० हजार रूपैयाँ हात परेको राजकुमार बताउँछन्।
'मैले जिन्दगीमा पहिलोपटक त्यति धेरै पैसा एकैचोटि देखेको थिएँ,' राजकुमारले भने, 'गैंडा मारेर ४० हजार रूपैयाँ बुझ्दा मेरो आँखाबाट खुसीका आँसु झरेका थिए।'
'म आफ्नो कामलाई लिएर दुइटा कुरामा स्पष्ट थिएँ — गैंडा मार्यो भने पैसा आउँछ र समातियो भने जेल जानुपर्छ,' उनले अगाडि भने, 'तर कयौंपटक गैंडा मार्दा पनि मलाई कसैले समाउन सकेन। पछि त मलाई लत लागेझैं भयो। गैंडा नमारी बस्दा के नभए, के नभए जस्तो पो हुन थाल्यो!'
'जब मैले चलाएको गोली लागेर गैंडा रन्थनिँदै ढल्थ्यो, मलाई बडो आनन्दको अनुभूति हुन्थ्यो। म कुदेर मरेको गैंडाअगाडि पुग्थेँ। बञ्चरो छ्वामछ्वाम हानेर खाग काट्थेँ र केही मिनेटमै टाप कस्थेँ,' यसो भन्दै गर्दा राजकुमारको स्वरमा नौ वर्षअघिको गर्व झल्किन्थ्यो।
उनी आफ्नो काम यति सफाइसाथ गर्थे, पक्राउ परेपछि निकुञ्जका कर्मचारी र सेनाले सोधेछन्, 'बन्दुक पड्केको पाँच मिनेटमै पुग्दा पनि तँ खाग काटेर भागिसकेको हुन्थिस्। त्यो कसरी सम्भव भयो?'
राजकुमारले फिस्स हाँस्दै जबाफ दिएछन्, 'त्यो तरिका सिकाउन त फेरि बन्दुक लिएर जंगल जानुपर्छ।'
निकुञ्ज कर्मचारीका अनुसार उनी ठाउँ फेर्दै गैंडा शिकार गर्थे। शिकारको निम्ति बन्दुक र बारूदसमेत आफैं बनाउँथे। उनको निशाना अचुक थियो। उनी गैंडा बस्ने हरेक गौंडा चिन्थे। चितवन जंगलका रूख, ढिस्का, भीर, खोला, ताल सबैको मेसो पाएका थिए। जिम्मेवारी पाएको केही समयमै काम तमाम गर्न पोख्त भइसकेका थिए।
यसरी काममा पोख्त हुँदै गएपछि उनको पारिश्रमिक बढ्दै गयो। पहिलो शिकार ४० हजारमा गरेका राजकुमारले पछि पछि एउटा गैंडा मारेको एक लाख रूपैयाँभन्दा बढी लिन थाले। खाग ओसारपसार र बिक्रीबाट हुने कमाइ अलग्गै थियो।
हेर्दा हेर्दै उनी पुराना शिकारीलाई माथ गर्दै चितवनको मात्र होइन, देशकै कुख्यात गैंडा शिकारीका रूपमा चिनिए।
राजकुमार प्रजा
चितवन निकुञ्जमा करिब एक दशक सक्रिय रूपले गैंडा शिकार गरेका राजकुमारको कयौंपटक निकुञ्ज कर्मचारी र सेनाको गस्ती टोलीसँग जम्काभेट भयो। उनी हरेकपटक प्रशासनलाई चक्मा दिएर भाग्न सफल भए।
एकपटक निकुञ्जको अमृते पोस्टनजिकै गैंडा मारेर खाग झोलामा हाल्दै गर्दा गस्ती टोली टुप्लुक्क आइपुगेछ। राजकुमारको समूहसँग उनीहरूको मुठभेड भयो। त्यो बेला उनी बाल बाल बाँचे।
मैले जंगलमा राजकुमारको रजाइँबारे निकुञ्जका पूर्ववार्डेन कमलजंग कुँवरसँग पनि कुराकानी गरेको थिएँ। उनी राजकुमारलाई समात्न पटक पटक उनको घरै पुगेका थिए।
'सुराकीको सूचनाका आधारमा म धेरैपटक उनको घर पुगेँ। तर हरेकपटक हामी पुग्दा उनी भागिसकेका हुन्थे,' उनले भने, 'एकचोटि त हाम्रो आँखै अगाडि भागे। हामीले गोली चलायौं। तर लागेन।'
गस्ती टोली पुग्नुअगावै घरबाट भाग्न सफल हुनुका पछाडि राजकुमारको चलाखी नै मुख्य कारण थियो। उनको गाउँ कालीखोला डाँडाको सिरानमा छ। निकुञ्जको टोली माथि उक्लिएको थाहा पाउनेबित्तिकै डाँडाको तल्लो भेगका मान्छे दौडादौड उनलाई सूचना दिन जान्थे। यसको निम्ति राजकुमारले तल्लो भेगमा आफ्ना मान्छे नै खटाएका थिए।
यो 'चोर-पुलिसको खेल' मा कुँवरले एकपटक राजकुमारलाई पक्राउ गरिसकेका थिए। पछि प्रमाण पुर्याउन नसक्दा उनी छुटे।
२०६४ सालमा पनि उनलाई घेराबन्दीमा पारिएको थियो। तर भाग्न सफल भए।
चितवन निकुञ्जका पूर्ववार्डेन अणनाथ बराल आफ्ना केही कर्मचारी र सेनाको टोलीसहित मेघौलीका गैंडा तस्करहरू सन्त कुमाल र रने कुमाललाई पक्राउ गर्न गएका थिए। उनीहरू ज्वाइँ-जेठान हुन्। असोजको महिना थियो। खेतमा धान पाक्न थालेको थियो। जुनेली रातको ११ बजेतिर सुरक्षा टोली कुमाल बस्ती पुग्यो। बस्तीमा स-साना उस्ताउस्तै झुप्राहरू थिए। सन्त र रने बसेको घर कुन हो भनेर पत्ता लगाउन टोलीलाई निकै समय लाग्यो।
उनीहरूले शंकाका आधारमा एउटा घर घेरा हाले। भित्र पसेर हेर्दा चार-पाँच जना केटाहरू रहेछन्। सन्त भित्री वस्त्र मात्रै लगाएर भुइँमा घुरिरहेका थिए। सन्तकी श्रीमती खाटमा सुतेकी थिइन्। उनीहरूले टन्न रक्सी खाएका थिए। कोठामा बारूद, गैंडा मार्न प्रयोग हुने बन्दोबस्तीका सामग्री प्रशस्त थिए।
निकुञ्जका कर्मचारी र सेनाका जवानले कोठाभित्र भएका सबैलाई पक्राउ गरे। तर तीमध्ये एक जना सुरक्षा अधिकारीहरूलाई धकेलेर भाग्न सफल भए। पछि थाहा भयो, ती राजकुमार प्रजा रहेछन्।
'हामी रने नभए पनि सन्त चाहिँ फेला पर्यो भनेर दंग परेका थियौं। कोठाभित्र भागाभाग मच्चिँदा एक जना मलाई धकेलेर भाग्यो। त्यति बेलासम्म मैले ऊ को हो चिनेको थिइनँ। सँगै गएका साथीहरूले लौ यो त राजकुमार पो रहेछ भनेपछि पो मेसो पाएँ,' बरालले त्यो घटना सम्झिँदै भने, 'राजकुमार धानबारीभित्र बेपत्ता भाग्यो। कता पस्यो कता! भेट्टाउनै सकिएन।'
'हामीसँगै गएका सैनिकहरू बन्दुक बोकेर उभिएका थिए। मैले सेनाका जमदारलाई गोली हान्नुस् भनेँ। तर सेनाले गोली चलाउने आँट गरेन। उनीहरूले न मान्छे समाते, न गोली हाने। बन्दुक बोकेर ठिंग उभिइरहे,' उनले अगाडि भने, 'हातमै आइसकेको राजकुमार उम्कियो। बर्बादै भयो!'
त्यो रात सुरक्षा टोलीले सन्त कुमाल लगायतलाई पक्राउ गरेर फर्किँदै गर्दा नजिकै एक व्यक्ति हिँडिरहेको देखियो। निकुञ्जका कर्मचारीले उनलाई परैबाट चिने।
उनी रने थिए।
'ऊ कुन ठाउँमा गैंडा मार्न उपयुक्त हुन्छ भनेर रेकी गर्न निस्केको रहेछ,' बरालले भने, 'राजकुमारसहितको टोली लिएर बिहानै गैंडा मार्ने योजना रहेछ।'
उनका अनुसार त्यतिखेर चितवन जंगलमा गैंडा मार्न राजकुमारलाई टक्कर दिनेमा बमबहादुर प्रजा, काजीमान, वीरमान र पाइमाराङ काइँला थिए। तीमध्ये सबभन्दा चलाख राजकुमार नै मानिन्थे।
चितवन निकुञ्जले २०६० चैत १२ गते राजकुमारविरूद्ध पहिलोपटक मुद्दा दर्ता गरेको थियो। उनीविरूद्ध २० वटा गैंडा मारेको अभियोग थियो। पाँचवटा गैंडालाई गोली हानेर घाइते बनाएको र दुईवटा खाग छुट्टै बिक्री गरेको अभियोग पनि थियो।
तर उनलाई नियन्त्रणमा लिन एक दशकभन्दा बढी समय लाग्यो।
निकुञ्ज र प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका राजकुमार पोखरा, धरान, काठमाडौंमा लुकेर बसेका थिए। उनले विदेश जान भनेर पासपोर्ट पनि बनाएका थिए। घरमा प्रशासनका मान्छेले खानतलासी गर्लान् भनेर उनले आफ्नो नागरिकता र पासपोर्ट शक्तिखोरस्थित आफन्तको घरमा राख्न लगाएका थिए। ती आफन्तले गोठमाथि परालभित्र लुकाएर राखेका रहेछन्। गोठ आगलागी हुँदा राजकुमारको नागरिकता र पासपोर्ट जलेर नष्ट भएछ।
पासपोर्ट नै जलेपछि उनी तत्काल विदेश भाग्न पाएनन्।
त्यही बेला एक जना आफन्तले नाम र ठेगाना परिवर्तन गरेर नयाँ नागरिकता र नयाँ पासपोर्ट निकाल्ने उपाय सुझाए।
त्यसपछि राजकुमार गोरखास्थित भिनाजुको घर पुगे। उनले २०६७ जेठ १० गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट भक्तराज गिरीको नाममा नयाँ नागरिकता निकाले। त्यही महिना २० गते काठमाडौं पुगेर परराष्ट्र मन्त्रालयबाट पासपोर्ट पनि निकाले।
यसरी प्रहरी-प्रशासनलाई चक्मा दिँदै चितवन जंगलका 'गब्बर सिंह' राजकुमार प्रजा २०६७ असोज २६ गते मलेसिया उडे।
'नक्कली नाम धारण गरेर नेपाल छाड्दा मलाई अब मेरो दु:खको दिन सकियो भन्ने लागेको थियो,' उनले मसँगको कुराकानीमा भने, 'तर दु:ख त्यसपछि पनि सकिएन।'
मलेसिया पुगेर राजकुमारले पाउरोटी बनाउने कम्पनीमा जागिर खाए।
त्यसैबीच गैंडा तस्करीमा संलग्न उनका आफन्तहरू बुद्धिबहादुर प्रजा र काजीमान प्रजालाई निकुञ्ज प्रशासनले पक्राउ गर्यो। उनीहरूकै बयानका आधारमा राजकुमार नाम बदलेर मलेसियामा लुकेर बसेको खुल्यो।
'मलेसियामा रहेर पनि म नेपालका खबरहरू बुझिरहन्थेँ। म मलेसियामा लुकेर बसेको कुरा नेपालमा थाहा भइसक्यो भन्ने मलाई जानकारी थियो,' उनले भने, 'मैले गैंडा मारेको विषयमा नेपालमा भइरहेको चर्चा सुनेर दंग पर्थेँ।'
२०७१ माघ १६ को रात — राजकुमार रातिको ड्युटी सकेर आफ्नो कोठा आइपुगेका थिए र खाना पकाउने तयारी गर्दै थिए।
त्यही बेला ढोकाको घन्टी बज्यो।
उनले को आएको रहेछ भनेर क्यामरामा हेर्दा आफ्नै कम्पनीको मालिकलाई देखे।
'तलब आउने बेला भएको थियो। कुनै कारणले मालिक आफैं तलब दिन आए कि क्या हो भनेर खुसी हुँदै ढोका खोलेँ,' उनले भने, 'ढोका खोलेको मात्र थिएँ, एक हुल मलेसियन प्रहरी आएर मलाई च्याप्प समातिहाले। मलेसियन प्रहरीले किन समाते भन्ने मैले मेसो पाइहालेँ।'
'समात्न त समाते, अब यहीँ राख्छ कि नेपाल लैजान्छ भन्ने मात्रै मलाई जान्न बाँकी थियो,' उनले भने।
राजकुमार मलेसिया पुगेको चार वर्षपछि वाङतिङ सहरबाट पक्राउ परेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोलले उनीविरूद्ध 'रेड कर्नर नोटिस' जारी गरेको थियो। वन्यजन्तु अपराधमा संलग्न नेपाली नागरिकलाई समाउन यस्तो नोटिस जारी गरिएको उनी पहिलो हुन्।
उनलाई नौ दिन मलेसियामै राखियो। त्यसपछि जहाज चढाएर काठमाडौं ल्याइयो र दसौं दिनमा चितवन निकुञ्जको हेडक्वार्टर कसरा पुर्याइयो।
राजकुमारविरूद्ध वन्यजन्तु शिकार र तस्करीसँग सम्बन्धित १९ वटा मुद्दा विचाराधीन थिए। चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको इजलासले २०७३ असार १४ गते उनलाई १५ वर्ष कैदको फैसला सुनायो।
'थुनामा केरकार गर्दा २७ वटा गैंडा मारेको हो भनेर सोधेका थिए। त्यति धेरै त मारिनँ जस्तो लाग्छ। तर उनीहरूले २७ वटा मारेको भन् भनेपछि मैले हो भनिदिएँ,' राजकुमारले भने, 'एउटा मात्रै मारेको भने पनि, २७ वटा मारेको भने पनि आखिर जेल त बस्न परिहाल्यो। जेलमै बस्नुपर्ने भएपछि धेरै तनाव किन सहनू! जे सोधे पनि हो भनिदिएँ।'
'एउटा कुरा चाहिँ पक्का हो, मैले जति गैंडा मारेको स्वीकार गर्ने दोस्रो व्यक्तिका बारेमा आजसम्म सुनेको छैन,' राजकुमार जेलको फलामे बार च्याप्प समातेर मुसुक्क हाँसे।
त्यति बेलाको आफ्नो कमाइलाई अहिलेको पैसासँग दाँज्दा करोडौं हुने उनी सगर्व बताउँछन्।
'जति कमाए पनि जोगाउन चाहिँ सकिनँ,' उनले भने, 'दोहोरी, डिस्को र डान्सबारमै सबै पैसा सकेँ। परिवारलाई पनि थोरै मात्र दिएँ।'
उनले अगाडि भने, 'मेरो परिवारको अहिले पनि बिजोग छ। छोराछोरीले पढ्न पाएनन्। श्रीमतीले दुःख गरेकी छन्। दाइहरूले पनि मेरै कारण धेरै दुःख पाए। अरू आफन्तले पनि दु:ख पाए।'
राजकुमारका माइला दाइ बलबहादुर प्रजा गैंडा तस्करीको मुद्दामा कैद बसेको १२ वर्ष भयो। जेठा दाइ दलबहादुर वैदेशिक रोजगारका लागि साउदी अरब गएका थिए, बिदामा घर आउँदा पक्राउ परे। उनलाई १० वर्ष कैद माग गरेर मुद्दा चलाइएको थियो। पुनरावेदन अदालत हेटौंडाले ७ वर्षमा सफाइ दियो। उनी जेलबाट छुटेको ६ वर्ष भइसकेको छ। राजकुमारका साइँला दाइ रामकुमार पनि १० वर्ष कैद बसेर निस्किएका थिए।
दाजुहरू मात्र होइन, राजकुमारकी श्रीमती लीलाकुमारी र छोरालाई पनि हिरासतमा राखिएको थियो। उनका जेठान, सालो लगायत ससुराली खलकदेखि मावलीसम्मका धेरै जना जेल परेका थिए।
'नातागोता सबै परे, तस्करको नुनपानी चाख्नेदेखि केही नपाउनेसम्म सबै सँगै बसियो,' राजकुमारले भने।
अहिले जेलमा बसेर फर्केर हेर्दा राजकुमारलाई आफूले मारेका गैंडाहरू सम्झेर पश्चाताप त लाग्छ, तर सँगसँगै यो पनि भन्छन्, 'मैले जे गरेँ, गरिबीका कारण गरेँ। हामीले जंगललाई चिनेका थियौं। जंगली जनावर कुन बाटो हिँड्छन्, कसरी हिँड्छन् हामीलाई राम्ररी थाहा थियो। हाम्रो त्यही ज्ञान कमाउने बाटो बन्यो। हामीलाई गैंडा मार्न लगाइयो, त्यसबापत् हजारौं-लाखौं रूपैयाँ दिइयो, हामीले खुरूखुरू त्यो काम गर्यौं।'
'जोसँग जे सीप छ, उसले त्यही गर्छ। हामीसँग गैंडा मार्ने सीप थियो,' उनले अगाडि भने, 'हामी शिकारी हौं, तर यो धन्दाको मूल व्यक्ति हामी होइनौं। माथि कुनै धनीमानी र समाजको नजरमा स्वच्छ छवि भएको व्यक्तिलाई गैंडाको खाग चाहिन्छ। उनीहरू जंगलको शोभा बढाउने एकसिंगे गैंडाको खाग आफ्नो बैठकमा सजाउन चाहन्छन्। त्यही माग पूरा गर्न हामीजस्ता शिकारीलाई काममा खटाइन्छ। उनीहरूले खागको माग नै नगरेका भए हामीले शिकार किन गर्थ्यौं!'
उनले यो पनि भने, 'समाजको नजरमा, कानुनको नजरमा हामी शिकारी हौं, हत्यारा हौं, तस्कर हौं; तर खास शिकारी, खास हत्यारा र खास तस्कर ती सफेदपोसहरू हुन्, जो गुमनाम ठाउँमा बसेर गैंडाको खाग माग गर्छन्।'
राजकुमारलाई एउटा कुरामा भने साह्रै थकथकी लाग्छ — गैंडा शिकारबाट कमाएको पैसा आफ्नो मोजमस्तीमै उडाएकोमा!
'त्यत्रो पैसा कमाएँ, तर आफ्नो परिवारको लागि केही गर्न सकिनँ,' उनले भने, 'गैंडाको आँसु बगाएर भए पनि आफ्नो परिवारको अनुहारमा हाँसो ल्याउन सकेको भए सन्तुष्ट नै हुन्थेँ होला। तर मैले त्यो पनि गर्न सकिनँ, यसमा साह्रै मनखत हुन्छ।'
उनी वीरगन्ज जेलको चिसो छिँडीमा बसेर हरेक दिन आफ्नो परिवार सम्झिन्छन्। बूढी आमाको अनुहार सम्झिन्छन्। आफ्ना कारणले दु:ख पाएका आफन्तका अनुहार झल्झल्ती आँखाअगाडि आउने उनी बताउँछन्।
'मेरो जिन्दगी त यसै पनि अँध्यारो भयो। ४० वर्ष कटेँ, अझै ६ वर्षको सजाय बाँकी छ। जरिवाना तिर्न सकिनँ भने केही वर्ष थपिन्छ,' उनले भने, 'छोराछोरीको भविष्य सम्झेर चाहिँ साह्रै नमज्जा लाग्छ।'
'गरिबीले यो दलदलमा फसेँ। यही दलदलमा पूरा जीवन सकिने भयो,' उनले भने।
आफूजस्तै गैंडा शिकार गरेर सजाय काटेकाहरू जेलबाट फर्किएपछि गाउँमै कृषि, व्यवसाय र विभिन्न उद्यम गरिरहेको पनि उनलाई जानकारी रहेछ। गाउँमा कसले के गरिरहेको छ भनेर प्रत्येकको नाम लिँदै, औंला भाँच्दै सुनाए उनले।
उनको गन्ती सकिएपछि मैले सोधेँ, 'तपाईं चाहिँ सजाय काटेपछि के गर्ने?'
मेरो प्रश्न भुइँमा झर्न नपाउँदै उनले जबाफ दिए, 'मलाई यहाँ भेट्न आउनेहरू जो पनि यही प्रश्न सोध्छन्। म के भनुँ, मैले जानेकै के छ र! अनि फेरि छुट्ने भर पनि के छ र! बूढो भएपछि गाउँ गएर गाई दोहेर घाँस काट्ने? मैले यस्तो काम पहिले कहिल्यै गरिनँ। अब बुढेसकालमा कसरी गर्न सक्छु?'
उनी यतिमै रोकिएनन्।
'के गर्छु भनूँ म! चाहना त छ नि, मैले जानेकै काम गर्ने! मैले गैंडा मार्न जानेको छु। यसको मतलब फेरि गैंडा मार्न चाहन्छु भन्न खोजेको होइन। मेरो आसय के भने, मलाई यो विषयमा धेरै थाहा छ। गैंडा शिकारी कस्ता हुन्छन्, उनीहरू कसरी गैंडा मार्छन् भन्ने मलाई जति कसलाई थाहा होला र! म मेरो अनुभवलाई गैंडा संरक्षणमा लगाउन सक्छु।'
'जेलबाट छुटेपछि निकुञ्जलाई गैंडा जोगाउन सघाउन सक्छु,' उनले भने, 'कुख्यात शिकारीबाट प्रख्यात संरक्षक हुन्छु कि, के थाहा!'
चितवन जंगलमा अहिले पनि गैंडा शिकारीहरू सक्रिय रहेको उनको भनाइ छ।
केही समयअघि चितवन निकुञ्जमा सैनिक पोस्टबाट केही मिटर पर खाल्डो खनेर गैंडा मारिएको खबर उनले सुनेका रहेछन्; भने, 'म त चकित खाएँ। जति बेला हामी जंगलमा सक्रिय थियौं, सुरक्षाकर्मीहरू असाध्यै कम थिए। तैपनि हामीलाई एउटा गैंडा मार्न हप्तौं जंगलमा लुकेर बस्नुपर्थ्यो। एक ठाउँबाट अर्को ठाउँ भागाभाग गरिरहनुपर्थ्यो। अहिले त मचान नै बनाएर बसेका रे! खाना पनि त्यहीँ पकाएर खाएका रे! अनि खाल्डोमा गैंडा परेपछि खाग काटेर आनन्दले घर पुगेका रे! त्यति धेरै सुरक्षाकर्मी रहने ठाउँमा यस्तो गर्न कसरी सम्भव हुन्छ? त्यो पनि सैनिक पोस्टनिरै!'
उनी यति भनेर चुप्प लागे। फलामे बार समातेर टाढा कतै हेरिरहे।
केही सेकेन्डको मौनपछि उनले भने, 'मैले मनमा लागेका धेरै कुरा तपाईंलाई सुनाएँ। तर मेरो कुरो कसैले सुन्दैन भन्ने राम्ररी थाहा छ। राम्रै मान्छेले भनेको त यहाँ कसैले सुन्दैन, म त झन् गैंडा मारेर जेलमा बसेको मान्छे। चितवन जंगलको गब्बर सिंह। मेरो कुरा कसले सुन्ने!'
यति भनेर उनी थोरै हाँसो र थोरै चिन्ताका साथ मबाट बिदा भए।
मैले केही बेर उनी फर्केको हेरिरहेँ। आउँदा जति फुर्ती र आत्मविश्वासका साथ आएका थिए, फर्कँदा उनको ज्यान उति गलेको देखिन्थ्यो।
सायद पौने घन्टाको कुराकानीले राजकुमारको मनमा लुकेर बसेको पश्चातापले उफान मच्चाउन पो थालेछ कि!
राजकुमारसँगै गैंडा शिकारमा संलग्न उनका भिनाजु पर्ने काजीमान अहिले भरतपुर कारगारमा छन्। उनीजस्तै गैंडा मुद्दा लागेका एक महिलासहित ४२ जनाले भरतपुरमा सजाय भोगिरहेका छन्। त्यसबाहेक यही मुद्दाका २५ जना थुनुवा पनि छन्।
भरतपुर कारागारका अनुसार आजभन्दा दस वर्षअघिसम्म १६० जना गैंडा मुद्दाका कैदी थिए। तीमध्ये धेरै जना सजाय काटेर विभिन्न व्यवसायमा संलग्न छन्; श्रीमान प्रजाजस्तै।
समिटार, कालीखोला, सैपाम, बाँसघारी लगायत क्षेत्रमा मात्र गैंडा मुद्दामा सजाय काटेका ४८ जना व्यावसायिक गाईपालन गरिरहेका छन्। त्यसबाहेक बाख्रापालन र अरू व्यवसाय गर्नेहरू पनि थुप्रै छन्।
कुनै बेला तस्करै तस्करको गाउँ भनेर चिनिने यहाँको चेपाङ बस्तीले पछिल्लो समय आफ्नो परिचय बदलेको छ। गरिबीको दुष्चक्रका कारण वन्यजन्तु शिकारमा लागेका उनीहरूले पशुपालनलाई जीविकाको सहारा बनाएका छन्।
'हामीले आफ्नो गाउँमाथि लागेको दाग मेट्नुछ,' श्रीमान प्रजाले भने, 'अचेल त हाम्रो समुदायका कतिपय युवा वन्यजन्तु संरक्षणमा पनि लागेका छन्। निकुञ्ज कर्मचारीसँग मिलेर वनको पहरेदारी गर्छन्।'
हुन पनि जंगल राम्ररी चिनेका र जंगली जनावरको जीवनशैलीसँग अभ्यस्त यी चेपाङहरूले भन्दा राम्रो जंगलको पहरेदारी अरू कसले गर्न सक्ला!
'मौका पाए भने हाम्रा युवाहरूले एउटा पनि तस्करलाई जंगलमा भन्किन दिने छैनन्,' श्रीमानले भने।
यति भनेर उनले फेरि आफ्नो खल्तीबाट सुर्तीको प्याकेट झिके। र, हातले सुर्ती माड्दै मतिर हेरेर उही गीत गाए —
मारू सरर हो मारू सरर
ती दुःख सम्झती क्याप्नङ धरर ...
***
यी पनि पढ्नुहोस्: