नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी)ले लाभांश घोषणा गरेको छ।
कम्पनीको संचालक समितिको बैठकले २०७६/७७ को वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
हालै संचालनमा आएको पुनर्बीमा कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो। हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता १७ सय रुपैयाँको आसपासमा छ।
यो कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत। बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ।
जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ।