मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेको आइपिओ मंगलबार बाँडफाँट भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटको कार्यालयमा मंगलबार बिहान ९ बजे आइपिओ बाँडफाँट भएको हो। आवेदकमध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका छन्।
कम्पनीका अनुसार आइपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए। त्यसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो। सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्रथा गरी आइपिओ बाँडफाँट भएको सिद्धार्थ क्यापिटलले जनाएको छ।
कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आइपिओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
आइपिओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट, मैलुङ खोलाको वेभसाइट, सिडिएससीको आईपीओ हेर्ने वेभसाइट, मेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ।
आइपिओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रसोधनको कार्य गरिरहेको छ। डेटा प्रसोधनको काम सकिएपछि दिउँसो मात्र आइपिओ बाँडफाँटको नतिजा हेर्न सकिने बताइएको छ ।