कविता
रूघाखोकी जस्तै बेथाले
हावा कावा पार्यो चुत्थाले
हेर्दाहेर्दै मान्छे रोगी भो
संसारैको लौ है सातो गो ।
‘कोरोना’ रे महामारी यो !
ज्यानैमारा धुन्धूकारी यो !
सल्क्यो सारा बस्ती बस्तीमा
मान्छेलाई पार्यो सास्तीमा ।
हाछ्यूँ गर्दा बेथा सर्ने रे !
खोक्दा खोक्दै मान्छे मर्ने रे !
आच्छु आच्छु पारिहाल्यो नि
आधा लाखै मारिहाल्यो नि ।
फोक्सो खाने कस्तो कीरा हो !
सासै थुन्ने कस्तो पारा हो !
हातै धोई मार्ने नाथेलाई
मास्क पन्जाबाटै छेक्ने हो ।
किस्सा भन्थे बूढापाकाले
देखे हाम्रा आफ्नै आँखाले
केले सन्चो बन्ने होला खै
बूटी कैले बन्ने होला है !
‘बन्दाबन्दी’ ज्यूँने बाटो भो
यौटा कोठा खेल्ने पाटो भो
पृथ्वी घुम्नै छोडे जस्तै भो
हिँड्ने बाटो मोडे जस्तै भो ।
जस्तै ठूला मै हूँ भन्नेको
टाठा बाठा जान्ने सुन्नेको
सेखी झार्यो यौटै झड्काले
औकातै देखायो मज्जाले ।
ए मान्छे हो रोई बस्ने हो ?
मूसा जस्तै दूलो पस्ने हो ?
जुट्नै पर्ने बेला आयो है
खट्नै पर्ने बेला आयो है ।
भोका नांगा दुखी साराको
सेवा गर्ने हाम्रो कामै हो
आशा राखौं हट्ला कोरोना
मान्छे हैन, हार्ला कोरोना ।