खाना पकाउँदै थिएँ,अलिकति साइडमा राखेको सिसाको बट्टा खोल्न खोजें।
फ्वात्त चिप्लियो हातबाट, भित्र घिउले भरिएको, निलो बिर्कोले ढाकिएको त्यो सिसाको बट्टा...अनि फुट्यो प्वाट्ट ...
वरिपरि छरियो एकछिन असरल्ल परेका सिसाका टुक्राहरू, सानाठूला..
ती टुक्राले एकछिन त्यस ठाउँ वरिपरि हिँडाई, डुलाई, अघि बढाई, सब अवरूद्ध गराइदियो।
एकछिनपछि ती टुक्राहरू सफा गरिए, त्यो ठाउँलाई फेरि हिँड्न मिल्ने बनाइयो।
प्वाट्ट फुटेर आफ्नो आयु सक्काएको त्यो सिसाको बट्टालाई बडो आरामपूर्वक मिल्काइयो, छेउको डस्टबिनमा।
त्यसपछि सबै आ-आफ्ना काममा लागे, सिसाभित्रको घिउ खेर गएकोमा एकछिन दुःख मनाउ पनि गरियो। तर केही मिनेटमै त्यो सिसाको अस्तित्व कहिल्यै त्यो भान्सामै थिएन भनेझैं सबैकुरा अगाडि बढ्दै गयो।
तर,
एउटा कुनामा आफ्नो मित्र, आफ्नो सहयात्री, आफ्नो जोडीसँग अलग भएर सुनसान, नफुटेर पनि फुटेसरी, नबिग्रे पनि बिग्रिएसरी, अस्तित्व भैकन पनि अन्स्तित्वहीन सरी ... टुलुटुलु हेरिरहेछ त्यो बट्टाको त्यो निलो बिर्को।
तर यसमा अचम्म मान्नुपर्ने खासै केही देख्दिनँ म।
बिर्को र बट्टाका आ-आफ्नै प्रकृति थिए, बट्टा सिसाको थियो, यसै पनि ऊ कुनै पनि बेला प्वाट्ट फुट्न सक्ने, अति नाजुक आयु लिएर बनाइएको। अनि प्लास्टिक त्यति चाँडै नफुट्ने, नटुट्ने अनि नबिग्रिने, धेरै समय टिकिरहने, चलिरहने।
आफ्नो आयुको प्रकृति अनि अन्त्य फरक हुने जान्दा जान्दै पनि जहिलेसम्म सकिन्छ सँगै हिँडौ है, भनेर एक अर्काका सहयात्री बनेका यी बट्टा र बिर्कोको साहस साँच्चै नै एक बलियो दोस्ती, एक मीठो माया अनि एक अनुकरणीय बन्धन त पक्कै हो।
कहिलेकाहीँ म सोच्छु, कि तिमी त्यो बिर्को हौ मेरो लागि, अनि म सिसाको बट्टा।
त्यो सिसाझैं म पनि अलि धेरै भल्नरेबल छु तिमीभन्दा, अलि बढी टुट्ने, फुट्ने अनि असरल्ल छरिने र कसैले अलिकति मिस्ह्यान्डल गरिदियो भने सम्हालिनँ नसक्ने छु।
अनि तिमी, तिमी मभित्र रहेको राम्रा भावना अनि असल व्यहोरालाई बाहिरको नराम्रोपनबाट बचाइरहन्छौ। जसरी त्यो बिर्कोले सिसाको बट्टा रहुन्जेल ऊभित्रको घिउलाई बचाइरह्यो।
तिमी जान्दछौ, कि मेरो आयु सायद तिम्रो जति छैन भन्ने त्यो सिसाको बट्टासरी, जान्दछौ कि म पछि तिमी पनि सुनसान हुनेछौ, त्यो बिर्को सरी।
थाहा छ तिमीलाई, कि यो दुनिया मसँग बिदा भएको मेरो नम्रपन, मेरो आज्ञाकारिता अनि मेरो निपूर्णताको तारिफ गर्नेछ केही क्षण, जसरी त्यो बट्टा भित्रको घिउ खेर गएकोमा दु:ख मनाउ गरिएको थियो केही क्षण।
बुझ्दछौ तिमी, कि केही मेरा वरिपरिका मान्छेको आवत, जावत अनि अघि बढाई रोकिनेछ मेरो मृत्युपछि, जसरी त्यो सिसा फुट्दा हिँडाई, डुलाई अवरूद्ध भएको थियो एकैछिन।
तर फेरि, ती सिसाका टुक्रा हटाइनासाथ जसरी सबैको जनजीवन सामान्य भयो अनि त्यो सिसाको बट्टाको अस्तित्व कसैको मगजमा रहेन, त्यसरी नै मेरो अस्तित्व पनि सायद एउटा इतिहास बन्नेछ सबैका लागि...
तर,
सुनसान, जीवन भएर पनि जीवनहीन सरी, अस्तित्व भएर पनि अस्तित्वहीन सरी, सद्दे नबिग्रिएको भए पनि बिग्रिएको भत्किएको सरी ....तिमी रहिरहनेछौ... त्यो निलो बिर्को सरी ...
तिमी, मेरो सहयात्री, मेरो दोस्त अनि मेरो जोडी...
बस्, त्यो निलो बिर्को सरी ...
तर थाहा छ.?
मभित्रको घिउ अलिकति तिमीमा टाँस्सिएको हुनेछ, अनि तिमीमा म, मेरो बास रहिरहनेछ।
सदा, सर्वदा ..
मानिसहरू सायद हाम्रो मित्रता, हाम्रो प्रेम अनि अलग अन्त्य जान्दा जान्दै पनि जति सकिन्छ सँगै हिँड्ने हाम्रो साहसमाथि फेरि पनि गर्व गर्नेछन्, बिल्कुल त्यो सिसाको बट्टा अनि निलो बिर्को सरी।
सदा सर्वदा ...सदा सर्वदा ...