प्यारी स्मारिका,
हाम्रो अर्को भेट बानेश्वर चोकमै हुनेछ।
तिम्रो आगमनको भव्य तयारी हुनेछ। तिमी आउनुभन्दा एक महिना अघिदेखि नै जाडोमा सुकेका आरूका हाँगाहरूले सेता फूल फूलाउन थाल्ने छन्। तिमी आउने हप्ता ठूला-ठूला डोजरहरू आएर बानेश्वर सडकलाई टिलिक्क र सम्म पारेर जानेछन्। तिमी आउने दिनको अघिल्लो रात बादलले बानेश्वरलाई सलक्क पखालेर गएको हुनेछ। न्यानो घाम र खुला आकाशमा बानेश्वर बढारिएर, पुछिपाछी, टिलिक्क टल्किने छ।
तिमी आउने खबर सबभन्दा अन्तिममा पाउने म हुनेछु। म आफ्नै सुरमा बानेश्वरको फुटपाथ बजारमा हिँड्दै हुनेछु जब एक हुल दिदीहरूले मलाई 'मौका नगुमाऊ है भाइ!' भन्दै हातमा पर्चाहरू थमाउनेछन्।
'मलाई न विदेश जानुछ, न जागिर चाहिएको छ' सोच्दै म ती पर्चाहरू कच्याककुचुक पारेर फाल्नै लागेका बेलामा झल्याँस्स एउटा पर्चामा तिम्रो नाम देख्नेछु। स्मारिका, सबै पर्चाहरू तिम्रो आगमनको साँझको मेलाको निमन्त्रणा हुनेछन्। पूरै सहर तिम्रो स्वागतमा लागेको हुनेछ, तर म भर्खर थाहा पाउँदै हुनेछु।
मलाई अलि-अलि चित्त दुख्नेछ, सायद।
सबैले कसरी भुल्न सकेका कि तिम्रो आगमनमा सबभन्दा धेरै खुसी हुने त म हुँ। एभरेस्ट होटल पछाडिको गल्लीमा किम्बुको बोटमा मैले खोपेको तिम्रो र मेरो नाम देखेनन् कि क्या हो कसैले? कि सबैले बिर्सिए, तिमी र मैले ट्राफिक रोकेर जेब्रा क्रसिङमा सित्तैमा दिएका प्रस्तुतिहरू? बानेश्वरको जामको धुनमा बीच सडक तिमीले र मैले जस्तो कसले नाच्न सक्छ र?
बानेश्वरका होर्डिङ बोर्डहरू हेर्दै थाहा पाउनु पर्ने हो सबैले, त्यहाँ पोतिने रङहरू बानेश्वरले हामीमै कुची चोब्दै पोतेको हो। त्यहाँ देखिने गुलाबी रङ, मेरो र तिम्रो कुम भीडमा अनायसै ठोक्किँदा तिम्रो गालामा लागेको लाली हो। त्यहाँको रातो, त्यसपछि तिमीले सुटुक्क मेरो हात समातेपछि मेरो अनुहारमा लागेको लाज हो। त्यहाँको गाढा कालो, तिमीले फेरि हात छोडेर बिदा मागेपछि बानेश्वरमा लागेको बादल हो।
तिम्रो स्वागतमा लाग्ने सबैले मलाई भुलेकामा मेरो एकैछिनलाई अलि-अलि चित्त दुख्नेछ। तर त्यसपछि म फेरि खुसी भइहाल्नेछु। किनकी तिमीलाई अघि भर्खरै काठमाडौंबाट धेरै पर पुर्याउने गाडीसम्म छाड्नेबित्तिकै मैले याद गरिसकेको थिएँ, तिमी फेरि बानेश्वरमा आउने गाडी चढेर फर्केपछि चोकमा ओर्लनेबित्तिकै तिमीले खोज्ने पहिलो साथी त मै हुनेछु। तिमी जहाँ गए पनि बानेश्वर तिम्रो घर हो।
अनि म तिम्रो घरको साथी।
थाहा छ? मलाई तिम्रो घरको साथी हुन असाध्यै मन पर्छ। तिमी कहाँ-कहाँ पुगिरहन्छ्यौ, अनि कस-कसलाई भेटिरहन्छ्यौ। अनि जब तिमीलाई उनीहरूले 'तिमी कहाँबाट आयौ' भनेर सोध्छन्, तिमी बानेश्वरका बारेमा भन्छ्यौ। तिमी भीडहरूका बारेमा भन्छ्यौ। तिमी म:म ठेलाहरूका बारेमा भन्छ्यौ। अनि तिमी मेरो बारेमा भन्छ्यौ।
तिमीले आफ्नो घरको ठान्ने कुराहरूमा आफूलाई पाउँदा मलाई अर्कै रमाइलो लाग्छ।
फेरि जब-जब तिमी फर्कन्छ्यौ, तिमी मलाई तिम्रो बदलिँदो जीवनका बारेमा भन्छ्यौ। तिमीले सुँघेका अनौठा फूलहरूका बारेमा भन्छ्यौ। तिमीले देखेका अनौठा जनावरका बारेमा भन्छ्यौ। अनि तिमीले भेटेका अनौठा मान्छेहरूका बारेमा भन्छ्यौ।
तिम्रो आँखाबाट संसार देख्न पाउँदा, मलाई कस्तो अर्कै रमाइलो लाग्छ।
तर मलाई कहिलेकाहीँ तिम्रो घरको साथी हुन गाह्रो पनि लाग्छ। किनकी तिमी जब जब मलाई भेट्छ्यौ, तिमी मलाई घरका बारेमा सोध्छ्यौ। बानेश्वर कत्तिको बदलियो, थाहा पाउन खोज्छ्यौ। मसँग उत्तर भने सधैं उस्तै हुन्छ।
तिमी गएपछि फेरि तातो घाम चर्किन्छ, बादल मडारिन्छ, बर्खाले चुट्छ, अनि सिरेटोले हान्छ। फेरि लक्ष्यहीन आन्दोलनहरू हुन्छन्, फेरि अपराधीहरू छुट्छन्। बानेश्वर तिमी हुन्जेल मात्र स्वस्थ देखिन्छ, नत्र थला परिरहन्छ। म तिमी हुन्जेल मात्र साँच्चै जिउँछु, नत्र हरेक बिहानी ओछ्यानबाट मेरो अस्थिपञ्जर मात्रै उठेर ठडिन्छ। अनि बाँकी शरीरलाई जसोतसो त्यहीँ झुन्डयाएर म यताउता भौंतारिरहन्छु।
खैर, तिमी आउने खबर पाउनेबित्तिकै म पनि तयारीमा लागिहाल्नेछु।
हामी मिलेर बानेश्वरलाई छक्क्याऔंला। तिमीले भनेजस्तै म बानेश्वरलाई अनेक गफ सुनाएर पिपलबोटमुनि अलमल्याएर राख्नेछु। तिमी पछाडिबाट बिस्तारै आएर उसको आँखा छोपिदिनू।
तर बानेश्वरले तिमीलाई चिन्ला कि नचिन्ला? पहिला त तिम्रो हातले उसको आँखा छोपेर शीतल गराउँदा तिमीलाई शारदा भन्ठान्ला। फेरि केहीबेर तिम्रो न्यानो हात छामेर, 'तिमी ग्रिश्मा त हैनौ नि?' भनेर सोध्ला।
तिमीले ठुस्किएर हात हटाउली। बानेश्वरले फर्केर तिमीलाई हेर्ला। अनि एकैछिन अकमक्क पर्ला।
नपरोस् पनि किन, तिम्रो बासना झरीले पखालेर, स्याँठले उप्काएर, गल्लीहरूबाट उडिसकेको हुन्छ होला। बानेश्वरका सिसिटिभीहरूले पनि एउटा भीडपछि अर्को भिड नियाल्दा नियाल्दा तिम्रो अनुहार भुलिसकेका हुन्छन् होला।
मैले पनि त तिमी नहुन्जेल तिमीलाई भुलिसकेको जस्तै गर्छु। कहिले जागिर, कहिले जिम्मेवारी भन्दै म पनि त अल्मलिरहेको हुन्छु। अनि यस्तै गरी कसैले तिमी आउने खबर सुनाइदिँदा कुनै पट्यारलाग्दो सपनाबाट बिउँझेजस्तै गरी झल्ल्याँस्स ब्युँझन्छु।
फेरि जागिरलाई आँखा छोपेर १० गन्न लगाउँछु। ढोकाबाहिर निस्केर कुचोमा चढेर उडेर बानेश्वर आइपुग्छु। जिम्मेवारीहरूको फोन काटिदिन्छु, 'म अहिले बोल्न सक्दिनँ। पछि फोन गर्नेछु' भनेर सन्देश पठाइदिन्छु।
अनि तिमीलाई पिपलबोटमुनि कुरेर बस्छु, बानेश्वरसँगै।
बानेश्वर पनि एक्कैछिन अलमलिएर फेरि झल्याँस्स हुनेछ।
'स्मारिका!' तिम्रा रङहरू देखेर बानेश्वरले सम्झिनेछ, अनि तिमीलाई एकचोटि कसेर अँगालोमा बाँध्नेछ। तिमीलाई अँगाल्नेबित्तिकै बानेश्वरको शरीरमा तिम्रा रङहरू लाग्नेछन्। बानेश्वरमा एकैछिन पानी पर्नेछ अनि पानी रोकिएपछि हाम्रो पिपलबोट पछाडिको आकाशमा दुइटा साना इन्द्रधनुष देखिनेछन्। आकाशमुनि सडकमा सबैतिर रङ पोखिएको हुनेछ। अलि अलि तिम्रो रङ, अलि अलि मेरो रङ। पिपलबोट अगाडिको क्षितिजमा सुनौला बादल देखा पर्नेछन्।
ठ्याक्कै त्यही बेला फेरि त्यही गुलाबी बिलाउने मिठाइ लिएर त्यही सानो भाइ हाम्रो छेवैमा आइपुग्नेछ। उसले हामीलाई बिर्सेको हुने छैन। अनि बिर्सेको हुने छैन उसले हाम्रो बाटो नै नछाडेपछि हामीले अर्को पालि आउँदा दुइटा किनौंला भनेर गरेको बाचा।
हामी एक अर्कालाई हेर्नेछौं, फिस्स हाँस्नेछौं। अनि उसँग भएजतिको सबै बिलाउने मिठाइ किनिदिनेछौं। त्यसपछि हामी मैले जागिरलाई झुक्क्याएर ल्याएको कुचोमा चढेर उड्नेछौं र बानेश्वरको आकाशभरि गुलाबी कपासे बादलहरू टाँसिदिनेछौं।
प्यारी स्मारिका,
तिमी यो गाह्रो समयहरूमा धेरै नआत्तिनु है। बस सम्झिराख्नू, हाम्रो अर्को भेट, बानेश्वर चोकमै हुनेछ।