मेरी बच्चपनकी दोस्त 'जादु' उर्फ जानकीकुमारी बयक, खुब टाठी थिइ ऊ। वक्तृत्वकलामा सधै प्रथम। बाल क्लबमा पनि ठूलै नाम थियो उस्को। बुवा सोही स्कुलको हेडमास्टर भएर पनि होला, हतपत्त ऊसँग केटाहरु बोलीहाल्ने आँट गर्दैन थिए।
म भने उस्को निकै करिब थिएँ। घर जाने आउने बाटो पनि एउटै थियो हाम्रो। म प्राय: उस्को सबै कुरामा सहमति जनाइहाल्ने भएर पनि होला, ऊ सबै कुराहरु मसँग खुलेर गर्ने गर्थी।
ऊ भन्ने गर्थी- 'छोरी मान्छेहरुको हक हितको लागि लड्ने आइएनजिओमा जागिर गर्ने ठूलो रहर छ।' आँटिली थिइ ऊ। किताबमा भन्दा उस्को ध्यान बढी समाचार र पत्रपत्रिकातिर थियो। परीक्षामा चिट चोर्ने काममा पनि निकै माहिर थिइ ऊ।
आफ्नो कुरामा मात्रै जिद्धी गर्ने उस्को बानीले गर्दा, कयौँ पटक बुवाको हातबाट पिटाइ पनि खाइसकेकी थिइ। र, त्योभन्दा धेरै पटक स्कुलबाट पुरस्कार पनि पाइसकेकी थिइ। जे-जसरी भए पनि, स्कुलमा सबैको लागि ड्रिम गर्ल नै थिइ ऊ।
समय यसरी बित्यो कि, जसरी गिट्टी कुट्दा-कुट्दै मजदूरहरुको जिन्दगी बिति जान्छ। जसरी पार्सपोर्टको लाइनमा बस्दाबस्दै दिन ढल्कि जान्छ। जसरी माइत गएकी श्रीमतीको पर्खाइमा रात बिति जान्छ। अझ भनौँ, मेलम्चीको पानी कुर्दाकुर्दै नेपालीहरुको जिन्दगानी बिति जान्छ।
एसएलसी पनि सकियो र रिजल्ट पनि आयो। म काठमाडौँ जान पर्ने भयो। यो मेरो लागि खुसीको कुरो थियो। म यही खुसीको खबर बोकेर 'जादु'को घरतिर लागेँ। ऊ घर पछाडिको किम्बुको रुखमुनि एक्लै झोक्राएर बसिरहेकी थिइ। मलाई देखेर केही नभए जस्तो गरेर उठी र भनी 'बधाइ छ!'
मैले पनि सोही बधाइ उस्लाई नै फर्काइ दिएँ। उस्ले अरुले सोचे जस्तो प्रतिशत नल्याए पनि राम्रै मार्क ल्याएर गाउँमा एक मात्रै केटी पास भएको रेकर्ड बनाएकी थिइ। धेरै दिनदेखि ऊसँग बोलचाल भएको थिएन। आज 'म काठमाडौँ जाँदै छु' भन्न मात्रै आएको थिएँ र भनेँ पनि।
उस्ले खुसी भएको नक्कल गरेर फेरि भनी 'लौ बधाइ छ!' उस्को चेहेरामा त्यो चमक थिएन आज जो पहिले हुने गर्थ्यो। उस्को बोलीमा त्यो मिठास थिएन आज जो पहिले हुने गर्थ्यो। उस्को आँखामा त्यो सपना थिएन आज जो पहिले हुने गर्थ्यो।
क्रान्तिकारी कुरा गर्ने जादु आज खडेरीको साग जस्तो मुर्झाएकी थिइ। समयको गति पक्रिन नसक्दा, जिन्दगी बहुत पछाडि छुटि जाँदो रहेछ। 'जादु'ले गल्ति गरी या सही, त्यो त मेरो बशको कुरा हुँदै होइन। तर, जे भए पनि आज मलाई अमिलो महसुस भइरहेको थियो।
प्रेम गर्नु गल्ती हो जस्तो त मलाई पनि लाग्दैन थियो। तर, त्यो बेलामा प्रेम गर्ने आँट मसँग मात्रै होइन, प्राय: स्कुलमा कसैसँग पनि थिएन। तर, जादुले त्यो आँट गरी। भने त, जादु हामीभन्दा आँटिली थिइ।
'केशे' अर्थात केशव नेपाली। ऊ हाम्रै स्कुलको एउटा जेहेनदार विद्यार्थी थियो। हामीभन्दा एक क्लास अगाडि। पढाइमा पनि निकै तेज थियो ऊ। बाल क्लबमा पनि जादु जतिकै चर्चित थियो। स्कुलको प्राय: एक्स्ट्रा एक्टिभिटिजमा ऊ र जादु नै बढी नोटिसमा पर्ने गर्थे।
सुरु-सुरुमा जादु मसँग उस्को कुरा खासै गर्दैन थिइ। मैले उस्को बारेमा बोल्न खोज्दा पनि ऊ कुरा मोडि हाल्थि। तर, किन-किन, मलाई भने केहीं पनि ठिक लागिरहेको थिएन।
तलाउमा खसेको ढुंगा जति तल पुगे पनि तरंग त देखिदोँ रहेछ। जादु र केशे प्रेमको गहिरो तलाउमा डुबिसकेका थिए। यो कुरा म लगायत धेरैलाई थाहा भइसकेको थियो। तर, उनीहरु भने सकेसम्म कुराहरु लुकाउन खोज्थे।
गाउँमा टेक्नोलोजीको बढ्दो प्रभाव थियो। भर्खर भर्खर आएको टेलिफोन सेवा होस् या गीत संगीत र फिल्मी संसार नै किन नहोस्, जादुको लागि यी सबै कुराहरु सहज नै थिए। उस्ले यी कुराहरुको भरपूर उपयोग गर्ने अवसर पनि पाएकी नै थिइ।
यिनै कारणहरुले गर्दा पनि उस्को ज्ञानको क्षितिज हामीहरुको भन्दा निकै नै फराकिलो थियो। केशवसँगको प्रेम सम्बन्धलाई पनि उस्ले सहज रुपमा नै लिन थालिसकेकी थिइ। स्कुलको सानो प्राङ्गणबाट सुरु भएको यो प्रेम कहानी, विस्तारै गाउँका साना-साना बस्तीहरुमा पनि फैलिदैँ थियो।
'मास्टरकी छोरी बिग्री' यो वाक्य प्रायः सबैको मुखमै झुण्डिएको हुन्थ्यो। एसएलसी नजिकिदैँ थियो। जादु र केशेको प्रेम गहिरिदैँ थियो। यति सानो गाउँमा, प्रेम जस्तो शक्तिशाली कुरा कति दिन लुकेर बस्न सक्थ्यो र? एक दिन त यो दिन आउनु नै थियो र आयो पनि, जादु र केशवको सम्बन्धको बारेमा मास्टर साबले पनि थाहा पाएछन्।
त्यसपछि त के? जादुको जिन्दगीमा आँधी, हुरी र पहिरो एकैचोटि गयो। बाबुको रिसको पहाड यति अग्लिसकेको थियो कि, जादु आफ्नै मर्जिले धारासम्म पनि जान नसक्ने भैसकेकी थिइ। स्कुल त अब परको कुरा, यो गाउँको लागि मात्रै होइन, वरपरका गाउँको लागि पनि अनौठो र महासंकटको समय थियो।
जादुले अझ त्यो दलितको घरमा गएर के गरी खान्छेस् भन्ने प्रश्नको पेचिलो उत्तर दिएकी थिइ। उसले भनेकी थिइ रे 'लुगा सिलाउँछु, लुगा सिलाउने तालिम सेन्टर खोल्छु, सबैलाई रोजगारी दिन्छु।'
यो वाक्यले गाउँलाई यति थर्कमान बनाइ दिएको थियो कि मान्छेहरु छोरी मान्छेहरुलाई स्कुल नै पठाउँनु हुँदैन भन्न थालिसकेका थिए। मलाई अहिले यो वाक्य यति क्रान्तिकारी लाग्छ कि क्रान्तिकारीहरुका सबै किताबहरु जलाइ दिन मन लाग्छ। जादु यति सब हुँदा पनि आफ्नो निर्णयबाट टसमस नभएको देखेर उस्को बाबुले स्कुल नै छुटाइदिने निर्णय गरे, तैपनि केही लागेन।
केशव भने कहाँ छ? कस्तो अवस्थामा छ? कसैलाई अत्तोपत्तो थिएन। गाउँमा खुलेआम 'केशव जहाँ भेटिन्छ, त्यही मर्छ' भन्दै केटाहरुको ग्याङ दौडिने गर्थ्यो। कसैले भन्थे 'मरिसक्यो' कसैले भन्थे 'इन्डिया पसेको छ' तर, वास्तविक केशव कहाँ छ? कसैलाई पत्तो थिएन।
साँच्चै समाजले लखेटेको मान्छे कुन संसारमा हुन्छ होला है? तर, जादु भन्ने गर्थी 'उस्लाई केही भएको छैन, ऊ आउँछ एकदिन!' मलाई जादुको यही अठोट र दृढतासँग डर लाग्ने गर्थ्यो तर, आजभोलि गर्व लाग्ने गर्छ। कति आँटिली थिइ ऊ। उस्ले अवसर पाएको भए त के-के पो गर्थी होला?
यो सहरमा त अधिकांस केटी मान्छेहरुको दिमागमा 'कस्ले डिपेन्डन्टमा अस्ट्रेलिया लगि देला भन्ने मात्रै चिन्ता भेटिन्छ।' तर, ऊ? ऊ साँच्चै आँधी तुफान नै थिइ। यदि, यो समाजले पत्याउन मात्रै सकेको भए, सायद ऊ वर्षौंदेखि नेपाली समाजले खोजिरहेको एउटा नायक बन्न सक्थी।
करोडौं महिला दिदी बहिनीहरुको प्रेरणाको स्रोत बन्न सक्थी। हरेक दिन बोल्न नसकेर, चुपचाप अन्याय सहिरहेका दिदी बहिनीहरुको आवाज बन्न सक्थी। क्रान्ति बन्न सक्थी, निर्वाण बन्न सक्थी। नाइटिङ्गेल बन्न सक्थी, मदर टेरेसा बन्न सक्थी। क्लिल्टन बन्न सक्थी!
तर, उस्लाई त समाजले बेश्या बनाई दियो। कु-संस्कारी बनाइदियो। धर्म विरोधी बनाइदियो। असामाजिक बनाइदियो। कलंकको दाग लगाइ दियो... जिन्दगीभरि नमेटिने दाग।
जो कोही काल्पनिक दुनियाँको बादशाह हुने रहेछ। वास्तविक दुनियाँको बादशाह त अरु नै कोही हुने रहेछ। जो हामीभन्दा धेरै पहिलादेखि खुन पसिना बगाइरहेको छ, हो त्यही। सायद, हाम्रो/मेरो पनि समय आउँला। मन हिडाएर बस् पर्खिन सक्नु पर्छ।
म सहरमा, म भित्रको सहर खोज्दै छु। गल्लीहरुमा म भित्रका फराकिला सोचाइहरुलाई आयतन दिन नसकेर निसासिएको छु। वर्षौं भइसक्यो, म एकदिनको पर्खाइमा छु। कहाँ हो जानु पर्ने? त्यो त त्यहाँ पुगेपछि नै थाहा होला। तर, म जहाँ पुगिरहेको छु, त्यो त पक्कै पनि मैले पुग्न चाहेको ठाउँ हुँदै होइन। तर, आज भने बुढानिलकण्ठ पो पुगेको छु। अघिदेखि एक्लै छु, पछि को आउँछ? त्यो त पछि नै थाहा होला।
एउटा सानो चिया पसलको कर्नरमा बसेर चिया पर्खिरहेको छु। फेसबुकमा खै के-के चलाइ मात्रै रहेको छु। यतिकैमा, फेसकुकमा नयाँ नोटिफिकेसन देखा पर्छ 'जानकी कुमारी बयक सेन्ट यू फ्रेन्ड रिक्वयस्ट।'
आगो लागेको जंगलमा पानी परे जस्तो, एउटा अनौठो किसिमको भावनाले म पुरिएँ। खै कता-कता छोएर गयो, यो मसिनो खुसीको तरंगले। मेरो त्यो बालसखा अझै भनौं, म सँगसँगै हुर्किएको एउटा फूल। आज मलाई खोज्दै-खोज्दै आइपुगेको छ। म भने आफैसँग भाग्दै-भाग्दै गईरहेको छु। हत्त न पत प्रोफाइल खोलेँ।
प्रोफाइलको टपमै देखियो, 'म्यारिड टु केशव नेपाली, अनर अफ 'केजेएन टेलरिङ सेन्टर'।
मैले यति बेला कस्तो रियाक्ट गर्नु पर्ने थियो? त्यो त मलाई पनि थाहा छैन। तर, कता-कता मनको कुनामा सुकुन महसुस गरेँ। साँच्चै तैँले भने जस्तै भएछ है? साँच्चै फर्किए छ है तेरो दु:ख सु:खको सारथी? तेरो कमजोरी, तेरो हौसला सबै-सबै फर्किएछ।
साँच्चै भनेको जादु 'तँ साँच्चै जादु नै होस्।' त्यही समाज, त्यही परिवेश जहाँ मेलै मेरो प्रेमको इजहारसम्म गर्न सकिनँ, तैले त्यही समाज र परिवेशसँग लडेर यति ठूलो क्रान्ति गरिस्? आइ एम् योर बिग फ्यान जादु। भने त, तैले जुन आँट गरिस् नि त्यो सबै सबैको बसको कुरा हुँदै होइन।
तैले यो समाजलाई चुनौती मात्रै होइन, एउटा नयाँ बाटो नै निर्माण गरेकी छेस् जादु। सुकुनको बाटो, प्रेमको बाटो, विद्रोहको बाटो, चेतनाको बाटो, उन्मुक्तिको बाटो, अझै भनौँ? स्वर्ग जाने बाटो।