तीन दिनको खाँदबारी बसाइ मेरो लागि तीन वर्ष झै भयो। अर्जेन्ट काम देखाएर म वैशाख ४ गते बिहान गाडी चड्न बस स्टेशन पुगेँ।
चैनपुर हुँदै जाने गाडी केही समय अघि नै छुटिसकेकोले मेरो लागि अबको विकल्प लेगुवा हुँदै हिले निस्कने बोलेरो जिप मात्र थियो। टिकट लिएँ, झोला राखेँ, गाडी बिहान ९ बजे ओरालो लाग्यो।
मिनालाई कल लगाएँ। 'हेल्लो' उतबाट अवाज आयो 'अँ भन, रामजी, कहिल्यै नसम्झिने तिमी कताबाट सम्झीयौ?'
मैले सविस्तार कहानी वर्णन गरेँ र भनेँ 'मिना, मलाई धेरै गाह्रो भैसक्यो। अब उनको ठेगाना देऊ, म भेट्न जान्छु।'
उनले भनिन् 'तिमी पागल त भएको छैनौ, पन्ध्र दिनमा यति धेरै गहिराइमा पुग्नु यो कस्तो प्रेम? बाल हठ नदेखाऊ, परिपक्व होऊ। बच्चाले भर्खरै बजारबाट ल्याइदिएको खेलौना केही क्षण हराउँदा रुन्छ, झगडा गर्छ नि, त्यस्तै कुरा नगर।
एकोहोरो प्रेमले प्रायः लाभ हैन, हानी नै गर्छ। केही दिन पर्ख, मेरो पनि फोन लागि रहेको छैन। बरु सम्पर्क भएसी हामी तीनै जना बसेर कुरा गरौँला है, अहिले धेरै नसोच। म बिजी छु, पछि कुरा गरौलाँ।' उसले फोन काटी।
धुलाम्मे अनि खाल्डाखुल्डीको त्यो बाटोले त्यती हल्लाएको थिएन होला, जति मिनाको कुराले मेरो दिमाग हल्लायो। र मैले मनमनै भनेँ 'हो मिना, म पागलै भैसकेँ। तिमी पन्ध्र दिनमा प्रेमको गहिराइ नाप्न खोज्छौ, तर यदि कोहीसँग प्रेम हुनुछ, वा कल्पना गरेको पात्र जब वास्तविकतामा अघि उभिन्छ भने पन्ध्र दिन हैन पन्ध्र मिनेटमा पनि हराउन काफी हुँदो रहेछ जुन प्रेमको गहिराइ कुनै यन्त्र/उपकरणले नाप्न सक्दैन।
तिमी कुन गहिराइको कुरा गर्छौ? प्रेमले आखिर प्रेम नै त खोज्ने हो, मलाई उनको कुन पृष्ठभूमि चाहिएको थियो र पन्ध्र महिना लाग्न? बच्चा म हैन, तिमी रहेछौ मिना।
तिमीले खेलौनाको उदाहरण दियौ तर उनी खेलौना होइन, मेरो माया खेलौना जस्तो भयो वा बनाइयो, निर्जीव बन्यो वा सोचियो, अनि लुकाउँदै मलाई जबरजस्ती त्यो बच्चा झैँ रुवाइँदै छ, के म त्यति बुझ्दिनँ र?
सभाखोला कटेर करिब पन्ध्र मिनेट अगाडि बढेसी साट्टारे भन्ने ठाँउ आयो। पानी परेपछि मकै रोप्नको लागि ठुला-ठुला टहरामा थुप्रा थुप्रा लाइन मिलाएर थुपारिएका मलका थुप्राहरु बाटोको दायाँ बायाँ टहरैभरि देखिन्थे। माथि तिर उराठ लाग्दो पाखो। भूगोलको कारणले सिँचाइको कुनै सम्भावना थिएन वा के भएर हो सबै सुख्खा देखिन्थ्यो।
लामो समयसम्म पानी नपरेको कारण किसानहरु पारि भोजपुरको डाँडा तिर आकाश धुम्मिँदा आज त पानी पर्ला र मकै छरौला भनि व्यग्र प्रतिक्षामा जस्तो देखिन्थ्यो। पानीको स्रोतको नाममा आकाशको पानी अनि खहरेबाट आउने भेल जम्मा गर्ने बाहेक खेतिपातीको लागि कुनै सम्भावना थिएन क्यार।
हो, सोचेँ यति दुखका साथ त किसानहरुले वर्षभरि खाने अन्न उव्जनीको लागि यतिका महिना पानीको प्रतिक्षामा काटिरहेका छन् भने तिमीलाई त मैले जिन्दगीभरिको जीवनसाथीको रुपमा पाउने प्रतिक्षामा बसेको हुँ। चार दिन हराउँदा किन म विचलित महशुस गरिरहेको छु?
आखिर म पनि त तिनै किसान जस्तै त भएको छु, कहिले तिमी बोल्छौ, भेट्छौ र फेरि तिमीमा हराउँला, मायाको विजारोपण तिम्रो त्यो मनमा पनि गराउँला, गोडौँला, हराभरा बनाउँला अनि आनन्दले बसौँला। के ममा धैर्यता भन्ने चिज सक्किएको हो?
तर शिलु, तिम्रो प्रेम पनि आकाशकै पानी जस्तो भयो अनि कहिले पर्ला र मकै छरौला भनि छट्पटाएर बस्ने किसान जस्तो म भएँ। अस्ति दुई/चार दिन वर्षातको महशुस गरेथेँ, अब वर्षात हुने हो होइन, वा खडेरी परेरै टर्ने हो टुंगो छैन।
तिमी पनि यहाँको खहरे झैँ भयौ, केही क्षण भएभरको मायाको बाढी लिएर आयौ, अनि अहिले बाढीसँगै रमाउँदै झरेको गेगर र ढुंगाको विस्कुन मेरो मुटुभरि छाडेर बेपत्ता भयौ। तिमी पनि मेरो घर छेउबाट बाह्रै महिना बग्ने खोला किन हुन सकिनौ? कि तिम्रो मनको भूगोल र मेरो मनको भूगोल जोड्ने भूगोल पनि यही ठाँउ जस्तै अफ्ठ्यारोमा छ?
एघार बज्न लागेछ, गाडी आएर धनकुटाको दमार भन्ने ठाँउमा एउटा होटल अगाडि रोकियो। खाना खानको लागि ३० मिनेटको समय छुट्याइएको थियो, सबै यात्रुहरु भित्र छिरे म हिले पुगेर मात्र खाना खाने सोचि एकछिन होटलको हो-हल्लाबाट शान्त हुन करिब २०० मिटर मात्र टाढा रहेको अरुण नदीको किनार तिर लागेँ।
शान्त भई एक सुरमा बगिरहेको अरुण नदी उसलाई कसैको परवाह छैन। यात्रा बंगालको खाडीसम्मको छ तर खहरेलाई झैँ न कुनै हतारमा देखिन्छ, न तालको पानी झैँ उसलाई कुनै ढिला सुस्ती गरेर विस्तारै विस्तारै बाहिर बग्ने रहर छ।
आखिर उसलाई पनि त त्यो सागरमा छिटो छिटो पुगेर आराम गर्न मन होला वा गाँउ-वस्ती फाँटहरुको दृष्यावलोकन गर्दै अझ ढिला पुग्दा पनि हुन्थ्यो होला। तर किन यो कुनैबेला हतारले छिटो छिटो बग्दैन, वा कुनै बेला आराम गरेर रोकिदैन?
किनकि उसलाई थाहा छ, धैर्यता र निरन्तरताले मात्र सही ढंगले उपयुक्त समयमा गन्तव्यमा पुग्न सकिन्छ, नत्र खहरे र नदीमा के फरक हुन्थ्यो र! शान्त भई बगिरहेको नदीको एउटा छाल, नजिकै आयो र मेरा खुट्टा चिसो बनाएर पुनः नदी तिरै फर्कियो।
लाग्यो यसले मलाई व्यंग्य गरिरहेको छ। आखिर खहरे त म भैरहेको रहेछु। जे हुने हो भैहाल्छ भने, म मात्र हडबडाएर, अत्तालिएर खहरे झैँ बौलाएर पनि हुने के हो र? भन्छन् जन्म, विवाह, सम्पत्ति र मृत्यु भगवानले पहिल्यै निश्चित गरेका हुन्छन्।
जसरी अरुणलाई आफ्नो गन्तव्य थाहै नभए पनि ऊ आफ्नो एक सुर छाड्दैन किनकि उसको चाहानाले मात्र पनि गन्तव्य परिवर्तन गर्न सक्दैन र गरे पनि अन्तिम विन्दु समुन्द्र नै हो। म अलिक समझदार जस्तो देखिए।
फर्किएँ, गाडी चढेँ लेगुवाघाट आइपुगियो। वारिपट्टि धनकुटा पारिपट्टि भोजपुर। डाँडामा एउटा निकै पुरानो तुइन देखियो जुन अहिले सञ्चालनमा रहेनछ, र नजिकै दक्षिण पट्टिबाट लामो झोलुंगे पुल जहाँ मान्छेहरुको ओहोर दोहोर राम्रैसँग देख्न सकिन्थ्यो।
यी दुई भूगोललाई जोड्न सुरुमा तुइन बनाइएको रहेछ। फेरि पुल बनाइएछ। भूगोल जोड्न त यति धेरै खर्च गरेर तुइन हालिन्छ, पुल बनाइन्छ र असम्भव जस्तै लाग्ने त्यो वारि र पारिको भेटलाई सम्भव बनाइन्छ भने प्रेम हुनलाई पनि त प्रस्ताव किन चाहिँदैन?
प्रस्तावले त्यही पुल जस्तै काम गर्दैन र? हो, पक्का चाहिन्छ तर प्रस्ताव बिनाको प्रेम पनि हुन्छ। तर एकोहोरो हुने रहेछ क्यार, अनुत्पादक, अस्वस्थ अनि आत्मघाती।
मनमा अनेकन कुराहरुको द्वन्दले मनमा गहिरिएर रहेको बसेको छाप एक्कासी फिक्का हुँदै जान थाल्यो, र ती विरोधाभाषपूर्ण रुपले मनमा गढेर रहेका प्रश्नहरुको जवाफ एकाएक दिन थाल्यो।
प्रस्ताव सम्झौता हैन, सहजता हो, एकअर्कालाई बुझाउने माध्यम हो। यसलाई नकरात्मक रुपमा लिनु हुन्न रहेछ। अब मैले भन्नै पर्छ, प्रस्ताव राख्नै पर्छ। हिम्मत जुटाएँ तर फेरि कसलाई भन्ने? कसरी भन्ने? भन्नलाई त आखिर शिलु मसँग छैन न सम्पर्कमा छ।
छटपटहाट सुरु भयो। उनलाई भेट्ने हुटहुटी झनै जागेर आयो। साँच्चै भनूँ शिलु, तिमीसँग भेट हुने आशमा हिँडेको म मिनासँगको फोनदेखि यहाँसम्मको करिब दुई घण्टा लामो यात्रा मलाई हजारौँ माइलको भन्दा लामो लागिरहेका छ।
अझ भनौँ श्वास चलिरहेको छ, धड्कनको चाल पनि महशुस गरिहेको छु तर किन कुनै शववाहनमा राखिएको मुर्दा जस्तो भएर म गाडीको सिटमा पसारिरहेको छु। अनि तिमी यतिका दिनसम्म बेखबर भई बस्न कसरी सकिरहेको छौ? आखिर तिम्रो र मेरो आत्मा सञ्चालन गर्ने परमात्मा एउटै हैनन् र?
मोबाइल झिकेँ र हेरेँ। एनसेलमा नेटवर्क देखायो। अरुण नदीको किनारै किनारको बाटो धेरै गहिराइमा भएर होला सभाखोला कटेदेखि नै नेटवर्क दिइरहेका थिएन। अब त अत्ति भयो सोचेँ। डाटा अन गरेँ, फेसबुकमा उनको प्रफाइल खोलेँ।
पाँच दिन अघिको एक्टिभ देखायो। मेसेज बक्समा टच गरेँ, मेसेन्जर खुल्यो। हिम्मत जुटाएँ र मेसेज लेखेँ।
'शिलु तिमीलाई पहिलो दिन क्याम्पस गेटमा देख्दादेखि धनकुटाका हरेक क्षणमा खुसीले पुलकित भएको म तिमीबाट छुटेको दिनदेखि आजसम्म आइपुग्दा जीवन र मरणको दोसाँधमा भेन्टिलेटरमा राखिएको अर्धचेत मानिस झैँ तिम्रो दुई शब्द बोलीको लागि लम्पसार छु। थाहा छैन तिमीले मलाई के सोच्छौ, तर म तिमीलाई धेरै माया गर्छु शिलु।
मैले सपना देखेको छु, तिमी सारथी भई मेरो जिन्दगीको रथ हाक्ने छौ। तिमीमा पनि मप्रति प्रेम छ, र त नजिक थियौ तर आजसम्म बेखबर भएर बसेको देख्दा मनमा किन अनेकन शंकापूर्ण प्रश्नहरुले मन घेरिन्छ?
किन म आफ्नो मनलाई बुझाउन सक्दिनँ कि तिमी पनि मलाई माया गर्छौ भनेर? तिमी बिनाको हरेक क्षण मलाई मरुभूमिमा घस्रेभन्दा बढी पीडा भइरहेको छ, शिलु। आशा, छ, यो मेसेज देख्नसाथ तिमीले मेसेजको रिप्लाई गर्ने छौ, र मेरो प्रेमप्रस्ताव स्वीकार गर्ने छौ।
अनि हामी यो संसार पुनः प्रेमिल बनाउने छौँ, मुना र मदन, रोमियो र जुलियटले जस्तै। उही तिम्रो, रामजी।'
पाख्रिबास पुग्नेबेला टिङटिङ एसएमएस नेपाल टेलिकमको नम्बरमा आयो। मोबाइल निकालेँ हेरेँ, शिलुको नम्बरबाट। एनटिसीमा पनि नेटवर्क आएछ।
हत्तपत्त लक अन गरेँ, मेसेज खोलेँ।
'रामजी, कता हो? के छ खबर? यहाँ गाउँमा म आएकै दिनबाट हावाहुरीले नेटवर्क बिग्रेको छ। म पर्सी स्कुलको कामले क्षेशिनि आउँदै छु। अलि माथि डाँडामा आएपछि मात्र नेटवर्क आँउछ। आज यता आएको बेला बोलौँ भनेर गरेका फोन लागेन।
मलाई कल गर्नुस् त एसएमएस पाउन साथ, कुरा गर्नु छ। छिटो ल, दश मिनेट जति फेसबुकमा न्युज हेरेर फर्किहाल्ने हो।'
फेसबुक?अनि मैले फेसबुक मेसेजमा राखेको प्रेम प्रस्ताव? हत्तपत्त फोन डायल गरेँ। पुनः सम्पर्क हुन सकेन। सायद यो एसएमएस केही समय अघिकै होला र अब ऊ फर्किसकी होला। त्यसैले फोन लागेन सोचेँ।
डाटा अन गरेँ, मेसेन्जर खोलेँ।
'शिला एक्टीभ टेन मिनेट अगो' अनि तल मेसेज सिन तर नो रिप्लाई।
मनमा अब भूकम्प गयो। प्रेमको धरहरा गर्ल्यामगुर्लुम्म ढले झैँ भयो। दिमाग शून्य, भ्याकुम जस्तो। हावा भरेर उडाइएको बेलुन जस्तो। अब के गर्ने के नगर्ने।
मलाई थाहा छैन शिलु, तिमीले के सोच्यौ? मेरो मेसेजले तिम्रो मनमा कृष्णभिर खस्यो होला तर जुन दिनदेखि तिमी र म सल्लेरीबाट छुट्टियौँ अनि बेलुकाबाट सम्पर्क विहीन भयौ, त्यही दिनदेखि थुनिएको मेरो मायाको त्रिशुली उकुसमुकुस भै फुटेको हो।
आखिर कति दिन थुनिएर बस्न सकिने सकिने रहेछ र शिलु, एकदिन त तिमीलाई भन्नै पर्ने थियो र भनेँ। के मैले अपराध गरेँ? हैन शिलु, यो कुनै तिमीप्रतिको क्षणिक आकर्षणको अभिव्यक्ति हैन, तिमीप्रतिको प्रेम हो, तर यो सबै के भयो?
तिमी किन मौन छौ? तिम्रो एक शब्द सुन्नकै लागि आजसम्म छटपटहाटमा बसेको म, फेरि मेरो प्रस्तावपछि झन् किन मौन छौ? तिमीले जवाफ लेख्न सकिनौ कि लेख्ने इच्छा गरिनौ? तिम्रो यो मौनता मेरो लागि झन् घातक बन्दै छ।
गाडी हिले बस स्टेशनमा रोकियो, उनलाई भेट्न हिँडेको म अब गन्तव्यहीन भएँ।
'मैले भन्ने कुरा भनिसकेँ शिलु, आएर भन्ने पनि यही नै हो, तिमीले सुनिसक्यौ अब म आउनु र नआउनुको के अर्थ छ र! प्रेम नै गर्दिन थियौ भने पनि एउटा मेसेज त छोडेर जान सक्थ्यौ, मेसेज नगर्नुको अर्थ अब मैले के बुझ्ने, तिमीलाई प्रेम गर्छु भन्न मैले कति हिम्मत जुटाएर प्रेम प्रस्ताव राखेको हुँ।
तिमीलाई के थाहा शिलु! लेखेकी रहेछौ, पर्सी आँउदै छौ धनकुटा। मैले तिम्रो भावना माथि प्रहार गरेँ होला, तिमी मेरो कुराले आक्रोशित भयौ होला, अब म कसरी तिम्रो सामु उभिएर प्रेमको भिख मागौ?
रिसले रात्ता रात्ता भएका तिम्रा ती आँखा हेरेर फेरि मैले मेरो प्रेमको बिस्कुन तिम्रो अघि फिजाउने हिम्मत कहाँबाट जुटाऊ? अस्ति 'प्रेम हुन प्रस्ताव नै आवश्यक हो र?' भनेर प्रश्न गर्दा नि रित्तो म, आज 'प्रेम हुन प्रस्तावै चाहिन्छ' भन्दै प्रस्ताव राख्दा झनै रित्तो भएँ।
अब भन शिलु, तिमीलाई मसँग प्रेम हुन के चाहिन्छ? मलाई त तिमी मेरो सामु भए वा तिम्रो याद मात्र भए पनि पुग्छ।
यो पनिः
प्रेम हुनलाई प्रस्ताव नै राख्न जरुरी छ र?