इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न तटस्थ मुलुकको अदालतमा फैसला गर्ने सहमति भएको हो । आपूर्तिमन्त्री दीपक बोहराका अनुसार यसअघि भारतको अदालतले गर्ने सहमति भएको थियो ।
तेस्रो मुलुकको अदालतबाट हुने बहस निष्पक्ष हुने मन्त्रालयको ठहर छ । ‘भारतमा ट्यांकर दुर्घटना हुँदा भारतीय कानुन लाग्छ, त्यस्तै नेपालको हकमा पनि नेपालकै कानुन लाग्छ । तर, दुर्घटना हुँदा भारतको अदालतमा छलफल हुने नियम थियो । यसमा थप विवादको सम्भावना थियो,’ मन्त्री बोहराले भने, ‘भारतीय पेट्रोलियम मन्त्रीसँगको छलफलमा अबदेखि तटस्थ मुलुकको अदालतमा बहस हुने सहमति भएको छ । इन्धन ढुवानीको क्रममा विवाद भए सिंगापुर अदालतले हेर्नेछ ।’
निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले नियम र आइओसीबीच हालसम्म विवाद नभए पनि इन्धन समवेदनशील पदार्थ भएकाले सहमति आवश्यक रहेको बताए । आइओसीले इन्धन नदिएको अवस्थामा सिंगापुर अदालत उत्तम रहेको उनले बताए ।