गत वर्ष व्यावसायीक रुपमा सफल फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ को सुटिङ बिहिबारदेखि सुरु भएको छ। भक्तपुरको सूर्यविनायक मन्दिरमा चर्चित हास्यअभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले मुहुर्त गरेसँगै फिल्म ४० दिनका लागि छायांकनमा ओर्लिएको छ।
फिल्मको छायांकन राजधानी वरपर र चित्लाङमा हुने फिल्मका कार्यकारी निर्माता विकास राज आचार्यले बताए।
फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वर्षा राउत, निश्चल बस्नेत, किरण केसी, स्वरुपपुरुष ढकाल, स्वस्तीमा खड्कालगायतले अभिनय गर्दैछन्।
विकासराज आचार्य र सामीप्यराज तिमल्सिनाको कथामा दीपकराज गिरीले पटकथा तयार पारेका हुन्। संवाद भने गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीले संयुक्त रुपमा लेखेका हुन्।
दीपक–दीपासहित फिल्ममा विकास आचार्य केदार घिमिरे, जितु नेपाल, निशान बजगाईं र सुमन भान्जाले लगानी गर्दैछन्। दीपाश्री निरौलाले फिल्म निर्देशन गर्न लागेकी हुन्।
किरण कँडेलको संगीत रहने ‘छक्का पञ्जा २’ लाई दीर्घ गुरुङले खिच्दैछन् भने रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गर्दैछन्।
असोज ११ गते रिलिज मिति तोकिएको ‘छक्का पञ्जा २’ को टिजर भने छायांकन सकिनुअघि नै रिलिज गर्न लागिएको छ। शुक्रबार रिलिज हुने प्रतीक्षित फिल्म ‘बाहुबली २’ को रिलिजको मौका छोपेर टिजर रिलिज गर्न लागिएको बताइएको छ।