श्रेष एैयरको बिस्फोटक ९६ रनका कारण दिल्ली डेयरडेभिल्सले रोमाञ्चक खेलमा २ विकेटले गुजरात लायन्सलाई पराजित गर्दै प्लेअफमा आफ्नो आशा जिवित राखेको छ।
रवीन्द्र जडेजाले मार्लोन सामुअल्स (१) र कोरी एन्डर्सन (६) लाई १० र ११ ओभरभित्र सिधा थ्रोबाट आउट गरेपछि संकटमा देखिएको दिल्लीलाई एक्लै एैयरले उकासे। तर, उनी पनि १९ ओभरको दोस्रो बलमा बासिल थम्पीको बलमा बोल्ड भएपछि खेल गुजरातको पक्षमा ढल्किएको थियो। तर, अमित मिश्राले २ बलमा लगातार २ चौका प्रहार गर्दै ४ बलमा आवश्यक ७ रनलाई उनले २ बल बाँकी रहँदै पुरा गरे। दिल्लीले १९ दशमलव४ ओभरमा ८ विकेट गुमाउदै १ सय ९७ रन बनायो। गुजरातले जितका लागि १ सय ९६ रनको लक्ष्य राखेको थियो।
दिल्लीका दुई उदयमान ब्याट्सम्यान सञ्जु सामसन (१०) र ऋषभ पन्त (४) मा आउट भइसकेको अवस्थामा एैयरले ५७ बलमा २ छक्का र १५ चौकाको सहयोगले ९६ रन बनाए। उनीे सतकबाट ४ रनले चुके।
उनले पुछारमा ६ ओभरमा ७२ रन आवश्यक रहेको अवस्थामा पाट कुमिन्ससँग मिलेर २० बलमा अर्धसतकीय साझेदारी गरेका थिए। यी दुवैले ६१ रनको साझेदारी गरे। कुमिन्सले १३ बलमा २४ रन बनाए। उनी आउट भएपछि पनि दिल्लीलाई १० बलमा १४ रन आवश्यक थियो। अन्तिम ओभरमा ६ बलमा ९ रन आवश्यक रहेको अवस्थामा एैयर २ रन लिएर आउट भए। एैयरले दोस्रो विकेटका लागि करुण नायरसँग मिलेर ५७ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए। नायरले १५ बलमा ३० रन बनाए।
यो जितसँगै दिल्लीले १२ खेलमा १० अंक बटुलेको छ।
यसअघि दशौं आइपिएलको प्लेअफको आशालाई जिवित राख्न दिल्ली डेयरडेभिल्सले १ सय ९६ रन बनाउने चुनौती पाएको थियो।
५६ रनमा ३ महत्वपूर्ण विकेट गुमाएको गुजरातले पनि दीनेश कार्तिक र आरोन फिन्चको चौथो विकेटका लागि भएको ९२ रनको साझेदारीका कारण गाह्रो लाग्ने योगफल तयार पारेको थियो।
फिन्चले बिस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ४ छक्का र ६ चौकाको सहयोगले ६९ रन बनाए। यसअघि कार्तिकले १ छक्का र ४ चौकाको सहयोगले २८ बलमा ४० रन बनाएका थिए। कप्तान सुरेश रैना आज छिट्टै आउट भए। उनले ६ रन मात्र बनाए। इशान किशनले २५ बलमा १ छक्कका र ५ चौकाको सहयोगले ३४ रन बनाएका थिए। गुजरातले पछिल्लो ५ ओभरमा ४७ रन जोडेको थियो। रवीन्द्र जडेजा (१३) र जेम्स फल्कनर (१४) अविजित रहे। गुजरातले ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो।
म्यान अफ दि म्याच एैयर घोषित भए।