विश्व चर्चित अर्जेन्टिनी प्लेमेकर डिएगो म्याराडोना पुनः प्रशिक्षकको भूमिकामा देखा पर्ने भएका छन्। उनलाई युनाइटेड अरब इमिरेट्स (युएई) को दोस्रो श्रेणी क्लब अल फुजाइराहले प्रशिक्षक नियुक्त गरेको छ।
५६ वर्षीय म्याराडोनालाई सन् २०१२ मा दुबईको अल–वासल क्लबले प्रशिक्षक पदबाट बर्खास्त गरेदेखि उनी फुटबलको व्यवस्थापनबाट बाहिर थिए। क्लबले ट्विटरमार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्ने क्रममा भनेको छ, ‘आधिकारीक रुपमा म्याराडोना फुजाइराहको प्रशिक्षक बनेका छन्।’
म्याराडोनाले पनि आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, ‘म सबैलाई यो जानकारी दिन चाहन्छु, म अल–फुजाइराह स्पार्टिङ क्लब, जुन युएईको दोस्रो डिभिजन क्लब हो, त्यसको प्रशिक्षक नियुक्त भएको छु।’
एनले क्लबको टिसर्ट पहिरेर फोटोसमेत खिचेका छन्। क्लबको टिसर्टको पछाडि उनको चर्चित १० नम्बरसहित नाम पनि अंकित गरिएको छ। म्याराडोनाको एकल प्रदर्शनमा अर्जेन्टिना सन् १९८६ को विश्व कप जित्न सफल भएको थियो। उनले ४ वर्ष पछि पुनः अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए। उनले इटालीको सिरिया क्लब नेपोलीलाई दुई पल्ट लिग उपाधि जिताएका थिए। उनी बार्सिलोना, सेभिया र बोका जुनियर्स क्लबबाट पनि देखा परे। उनी र ब्राजिलका विख्यात स्ट्राइकर पेलेबीच उत्कृष्टताको होड अहिले पनि जारी छ।
खेल जीवनमा म्याराडोना थुप्रै पल्ट विवादमा परेका थिए। उनलाई कोकिन प्रयोग गरेको आरोपमा १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनीमाथि १९९४ को विश्व कपमा शक्तिवद्र्धक लागु औषध प्रयोग गरेको आरोप लागेको थियो। १९८६ को विश्व कपमा इङ्ल्यान्डविरुद्ध उनले हातले गरेको गोल अहिले पनि ‘ह्याण्ड अफ गड’ को रुपमा चर्चित छ।