पहिलो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सेवा विभागले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको बिदा तथा काज रद्द गरेको छ । विभागले ७५ वटै जिल्लाका स्वास्थ्य निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई बिदा नदिन र काजमा कतै नपठाउन मातहतका क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको हो । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले बिहीबार पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै निर्वाचन अवधिभर मातहतका जिल्लाका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई अत्यावश्यक र भैपरि आउने बिदाबाहेक अन्य प्रयोजनका लागि बिदामा बस्न या अन्यत्र काजमा नखटाउन निर्देशन दिएका हुन् ।
प्रदेश–३, ४ र ६ मा पर्ने सबै अञ्चल, जिल्ला, क्षेत्रीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई आवश्यक पर्ने औषधि तथा उपकरणको सम्पूर्ण व्यवस्था मिलाई उच्च सतर्कता साथ पालो मिलाएर चौबिसै घण्टा तयारी अवस्थामा बस्न विभागले निर्देशन दिएको हो ।
निर्वाचन अवधिभर कुनै चिकित्सक, स्वास्थ्यकर्मी या स्वास्थ्य सेवाका कर्मचारीले आकस्मिक र भैपरिबाहेक विनाकुनै उपयुक्त कारण बिदा लिए या काजमा बसेमा विभागीय कारबाही गर्ने डा. पन्तले बताए । खटाएको ठाउँमा इमानदार भई कार्य गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विभागले पुरस्कृत गर्ने पनि उनले बताए ।
मतदानका लागि लाइन बसेका मतदाता या अन्य कर्मचारी बिरामी परेमा या सम्भावित घटनामा कोही घाइते भएमा उनीहरूको तत्काल प्राथमिक र थप उपचारका लागि नजिकको अस्पताल पठाउन स्वास्थ्यकर्मीहरूलाई आवश्यक उपकरण र औषधिका साथमा उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न सम्बन्धित क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत निर्देशन दिइएको निमित्त महानिर्देशक डा. पन्तले बताए ।
करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई सफल पार्नु स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको पनि दायित्व भएकाले विभागले निर्वाचन अवधिभर सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारीहरूलाई खटाएर जिम्मेवारी निभाउन लागेको निमित्त महानिर्देशक डा.पन्त बताउँछन् ।
मतदानको दिन निर्वाचन हुने प्रदेशका विकट र दुर्गमका केही मतदान केन्द्रनजिक ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निगरानीमा जिल्ला स्वास्थ्य/जनस्वास्थ्य प्रमुखको सहभागितामा घुम्ती स्वास्थ्य टोलीको व्यवस्था गरिने विभागले जनाएको छ ।