अफगानिस्तानका दुई स्पिनर रासिद खान र मोहम्मद नाबी एकदिवसीय क्रिकेटको दशौं उत्कृष्ट बलरको सूचीमा पर्न सफल भएका छन्। दुबईमा हालै सार्वजनिक एकदिवसीय बलर र ब्याट्सम्यानको सूचीमा रसिद सातौ नम्बरमा पर्न सफल भएका हुन्। यस्तै, नाबी दशौं स्थानमा छन्।
हाल क्यारेबियाली भ्रमणमा रहेको अफगानिस्तानका लागि यी दुवै बलरले उत्कृष्ट बलिङ गरिरहेका छन्। अझ, रसिदले पहिलो एकदिवसीयमा ७ विकेट झारेर अफगानिस्तानलाई ऐतिहासिक विजय दिलाएका थिए।
आइसिसीले सार्वजनिक गरेको सूचीमा अस्ट्रेलियाका जस हेजलउड ४ स्थान खुटकिलो चढ्दै नम्बर एक एकदिवसीय बलर बन्न पुगेका छन्। गत महिना यो सूचीमा दक्षिण अफ्रिकाका २२ वर्षीय कागिसो रबादा थिए। उनी यसपालि तीन स्थान तल झर्दै चौथो नम्बरमा पुगेका छन्। दोस्रोमा अफ्रिकी स्पिनर इमरान ताहिरले आफ्नो स्थान सुरक्षित राखेका छन्। तेस्रो स्थानमा अस्ट्रेलियाक मिचेल स्टार्कले पनि आफ्नो ठाउँ यथावत राखेका छन्। वेष्ट इन्डिजका सुनिल नारिन एक स्थान तल झरेका छन्। उनी पाँचौ स्थानमा छन।
छैटौं स्थानमा न्युजिल्यान्डक ट्रेन्ट बोल्टले पनि आफ्नो स्थान यथावत राखेका छन्। अफगानिस्तानका रसिद खानले १८ स्थान सुधार गर्दै सातौंमा परेका हुन्। इङ्ल्यान्डका क्रिस ओक्स एक स्थान तल झर्दै आठौंमा पुगेका छन्। इङ्ल्यान्डकै लियाम प्लुनकेटले पनि ७ स्थान सुरक्षित गर्दै आफूलाई नवौं स्थानमा समावेश गराएका छन्। अफगानी नाबी पनि दुई स्थान तल झरेका हुन्। तर, उनी शीर्ष १० स्थानमा आफ्नो नाम सुरक्षित राख्न सफल भएका हुनु।