भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो ।
गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आम हडतालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आम हडतालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प भएका हुन् ।
भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेको सीमावर्ती बजारमा हडतालका कारण पूर्णरूपमा प्रभाव परेको छ । भारतीय हड्तालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजस्व सङ्कलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताए।
भारतीय सवारीसाधन नेपालतर्फ गुड्न दैनिक २५ वटा सवारीसाधनले अस्थायी पैठारीका लागि राजस्व काट्ने गरेपनि आम हडताल भएपछि ठप्प भएको छ । हडतालयता दैनिक १५० भन्दा बढी भारतीय सवारीसाधनमार्फत पशुपतिनगर व्यपारिक केन्द्रमा आउने पर्यटक र उपभोक्ता बजार आएका छैनन् । दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् ।
सीमा क्षेत्रमा उत्पादन भएको तरकारी भारतीय बजार दार्जिलिङमा जाने गरेपनि अहिले बन्द भएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको हो । नेपालको तरकारी दैनिकरूपमा भारततर्फ निकासी हुने गरेपनि एक सातादेखि निकासी ठप्प हुँदा किसान समस्यामा परेको भन्सार प्रमुख पोखरेल बताउँछन्।
सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । सीमा क्षेत्रका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जमुना, जोगमाई क्षेत्रका किसान बढी मारमा परेका छन् । रासस