ज्यामिरेका ७० वर्षीय जगबहादुर घर्तीलाई मत खसाल्न कसरी जाने भन्ने सुर्ता छ। नयाँगाउँ उच्च मावि मतदान केन्द्रमा पुग्न घर्तीलाई कम्तीमा तीन घन्टा हिँड्नुपर्छ। तीन घन्टाको पैदल र १० मिनेटको बस यात्रापछि बल्ल मतदान केन्द्र पुगिन्छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा पर्ने ज्यामिरे चुरे पहाडको खोंचमा छ। खान नपुगेपछि पाल्पाको कोलडाँडाबाट ०४० सालतिर बसाइँ सरेर आएको ज्यामिरे बस्तीको जनसंख्या ५० पुगेको छ। मतदाता १८ जना छन्। झन्डै दुई महिना चुनावी प्रचारमा जुटेका प्रायः दल ज्यामिरेका मतदातासँग भोट माग्न पनि पुगेनन्। ०५७ सालपछि पहिलोपटक तीन दिनअघि मात्रै कांग्रेस र एमालेका वडा सदस्य मात्रै भोट माग्न पुगे।
‘मेयर, उपमेयर त आएनन्', ज्यामिरेका समर गाहाले भने, ‘वडा सदस्यका उम्मेदवार आएका थिए। हामीले बस्ती सारिदेऊ भोट दिन्छौं भन्यौ।' मिरेवासीले एक महिनाअघि बुटवल उपमहानगरपालिकामा बस्ती सारीपाऊँ भनेर निवेदन दिएका छन्। ज्यामिरेवासी भोट हाल्ने दुःखबाट मात्रै होइन अनेकौं कष्टबाट जेलिएका छन्। उपमहानगरका बासिन्दाले अहिलेसम्म बिजुली बत्ती देखेका छैनन्। न विद्यालय, न स्वास्थ्यचौकी, न त मोटर गुड्ने सडक नै।
पूर्वपश्चिम राजमार्गको तामनगरदेखि तीन घन्टा उकालो जंगलको बाटो हिँडेपछि ज्यामिरे पुगिन्छ। त्यहाँका ९ घरपरिवारले खेती किसानी र दाउरा बेचेर गुजारा चलाउने गरेका छन्।
गाउँमा विद्यालय छैन। बालबालिका घना जंगलको बाटो हुँदै तामनगर झर्छन्। कापी किताब राख्न तामनगरमै एउटा कोठा भाडामा लिएका छन्। किताब कोठामै थन्क्याएर विद्यार्थी गाउँ उक्लिन्छन्। ‘विद्यालय पनि बर्खा लागेपछि जान सकिँदैन, केटाकेटी पठायो, खोलाले बगायो कि भन्ने सुर्ता हुन्छ', गाहाले भन्नुभयो। पछिल्लो समय जंगलमा ज्यामिरेवासी लुटिन थालेपछि उनीहरू बस्ती सार्ने निर्णयमा पुगेका हुन्।
खानेपानीको मुहान सुक्यो। खेतीले वर्षभरि खान पुग्दैन। छोरी चेलीहरू जंगलको बाटो हिँड्नै नसक्ने भए। पहिले बस्ती सार्न नमान्नेहरू पनि अहिले सार्ने निर्णयमा एकमत भएका छन्। चुनावमा उम्मेदवारसँग पनि बस्ती सारिदेऊ भन्दैछन् ज्यामिरेवासी। ७० वर्षीय घर्ती भन्छन्, ‘गाउँमा बस्दा सधैं सुर्ता भइरह्यो। कहिल्यै शान्ति मिलेन। बाटोछेउको जुनसुकै स्थानमा सारे पनि जान तयार छौं।'
उपमहानगरपालिकाबाट केही सुविधा नपाए पनि जग्गाको कर भने ज्यामिरेवासीलाई छुट छैन। ‘चार कट्ठाको एक हजार तिर्नुपर्छ', गाहाले गुनासो गरे, ‘पैसा लिएपछि कि विकास दिनुपर्छ, कि बस्ती सार्दिनु पर्छ नि।' खरले छाएका छानामा कतिपयले सोलार राखेका छन्। गाउँमै एउटा कुटानीपिसानीको मिल छ। त्यो पनि चल्दैन। नुन, तेल, अन्नपात किन्न बुटवल झर्नुपर्छ। आपतकालीन औषधि उपचार गर्नुपरे पनि तीन घन्टाको जंगल यात्रा गर्न बाध्य छन् ज्यामिरेवासी।
राति बिरामी भए बिहान पर्खिनुपर्ने बाध्यता रहेको धनिसरा गाहाले बताए। ‘जंगलको बाटो राति हिँड्न सक्ने कुरा भएन', उनले भने। मतदानमा पनि उनीहरू पुग्ने कुनै ग्यारेन्टी छैन। पानी परेन भने मात्रै उनीहरू मतदानस्थल पुग्नेछन्। बाटोमा दुईवटा खोल्सा तर्नुपर्छ। पानी परेपछि उर्ली हाल्ने खोल्साले धेरै पटक ज्यामिरेवासीलाई अलपत्र बनाएको छ।
चुनावपछि बस्ती सर्छ कि भन्ने विश्वास उनीहरूमा छ। ‘कसले जित्छ थाहा छैन, जित्नेलाई भोट हालेर बस्ती सार्दिनुपरो भन्ने थियौं', गाहाले भने। ज्यामिरेमा कांग्रेस, एमाले, माओवादी केन्द्र समर्थित मतदाता रहेको उनले बताए।