फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोले संसदका दुवै सदनको संयुक्त सत्रलाई सम्बोधन गर्दै सांसदको संख्या एक तिहाइले घटाउने लगायतका ठूला परिवर्तनहरु गर्ने प्रस्ताव गरेका छन्।
आफूले लिन चाहेका थुप्रै नयाँ कदमको खाका प्रस्तुत गरेका माक्रोले भेर्साइ दरबारमा भएको संसदका दुवै सदनको संयुक्त सत्रमा संसदको आकार सानो भएमा संसदले प्रभावकारी रुपमा काम गर्न पाउने भन्दै सांसदको संख्या एक तिहाइले घटाउने प्रस्ताव गरेका छन्।
मन्त्रिमण्डलको पनि आकार घटाएर १० जना मात्रै सदस्य राख्ने र अदालतहरू पनि छरितो बनाउने योजना रहेको उनले बताएका छन्।
कुनै पनि कानुन लागू गरिएको दुई वर्षमा त्यसको पुनर्मूल्याङ्कन गरिने उनको प्रस्ताव छ।
ती सुधारहरु एक वर्षभित्रमा लागू नगरिएमा जनमतसंग्रह मार्फत त्यसका लागि अनुमति लिने प्रयास गर्ने उनले बताएका छन्।
फ्रान्सका सांसदहरु फ्रान्सप्रतिको प्रेमले जोडिएको भन्दै उनले जनताले दिएको आदेशमा आधारित भएर बोलेको बताएका छन्।
माक्रोंले आफ्ना प्राथमिकताहरुबारे जानकारी दिएका छन् जसको विस्तृत विवरण प्रधानमन्त्री एदोआ फिलिपले मंगलबार दिनेछन्।
संवाददाताहरुका अनुसार राष्ट्रपति माक्रों त्यो पदलाई शाल ड गौलको समयको जस्तो गरिमामय बनाउन चाहन्छन्।
तर उनका विपक्षीहरुले उनलाई तानाशाही व्यवहार गरेको आरोप लगाएका छन् र उग्र वामपन्थीहरुले उनको सत्र बहिष्कार गरेका छन्।