जिल्लामा परम्परागत रुपमा हाते मेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने प्रयास थालिएको छ । ढाका कपडा व्यावसायिक रुपमै बुनिरहेका महिला उद्यमीलाई अन्तरराष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवर्द्धन गर्न शुरु गरिएको हो ।
यहाँका महिलाले गाउँघरमै बसेर हाते मेसिनबाट हातैले बुनेर तयार गरिएको ढाकाको कपडा देशविदेशमा ‘तेह्रथुमे ढाका’ को नामले चर्चित छ। हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टा राखिएका कारण तेह्रथुमे ढाका एक हस्तकलाको रुपमा लोकप्रिय छ । जिल्लाका गाउँ/गाउँमासमेत महिलाले घरायसी कामसँगै न्यून लगानीमा हाते मेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी गर्ने गरेका छन् ।
समय, सीप र मिहेनतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाको मूल्य निर्धारण र बजार व्यवस्थापनमा उनीहरुको आफ्नै पहुँच स्थापना हुनसकेको छैन । जिल्लामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले महिला उद्यमीको सीपलाई आधुनिक र व्यवस्थित बनाएर उनीहरुको आयस्तरमा वृद्धि गर्न ढाका कपडाको व्यावसायिकरण र बजार प्रवर्द्धन गर्न थालिएको हो । गरिबी निवारण कोष कार्यक्रमअन्तरगत जापान सामाजिक विकास कोषको सहयोगमा सञ्चालित सीप, विकास तथा व्यावसायिकता कार्यक्रमले ‘तेह्रथुमे ढाका’ को बजारीकरणमा सहयोग गर्दै आएको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक नरेन्द्रप्रसाद कटुवालले बताए ।
शुरुवातमा उद्यमीलाई सदरमुकाम म्याङलुङमा ढाका कपडाको नयाँ र आकर्षक डिजाइन, मूल्य निर्धारण र बजारीकरण सम्बन्धी तालीम सञ्चालन गर्दैआएको कटुवालको भनाइ छ । ‘तेह्रथुमे ढाका नेपालमा भन्दा विदेशमा लोकप्रिय छ,’ उनले भने । तालीमपछि महिलाका लागि साझा सुविधा केन्द्र स्थापना गर्ने तयारी छ । म्याङलुङ, जलजले, सिम्ले, सोल्मा र ओयाक्जुङका महिलालाई ढाका कपडाको डिजाइन सम्बन्धी तालीम प्रदान गरिएको छ । रासस