नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको मितिबारे जानकारी दिएको हो।
खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेलअधिकारी वा संस्थाका आठ विधामा दिइने अवार्डलाई हंसराज हुलास चन्द एन्ड कम्पनीले मुख्य प्रायोजन गर्दै आएको छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्षको स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले बताए।
यो वर्ष पहिलो पटक चार विधाका विजेताले पल्सरको मोटरसाइकल प्राप्त गर्ने बताइएको छ । यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चले बतायो । अन्य ४ विधाका विजेताले अवार्ड, ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
अवार्ड कार्यक्रम सफल पार्न मञ्चका अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरु समेत गठन गरिएको मञ्चले जनाएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताएको छ ।
२०६० सालदेखि आयोजना भएको स्पोर्टस अवार्डको यो १४ औं संस्करण हो । विनाशकारी भूकम्पकका कारण २०७२ मा भने मञ्चले अवार्ड आयोजना गरेन ।
अघिल्लो वर्ष उत्कृष्ट पुरुष खेलाडी फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडी जुडोकी फुपुल्हामु खत्री, उत्कृष्ट युवा खेलाडी फुटबलका अञ्जन विष्ट, वर्षका प्रशिक्षक फुटबलका बालगोपाल महर्जन, पिपल्स च्वाइस अवार्ड विजेता टेबलटेनिसकी नविता श्रेष्ठ, पारा एथलिट तेक्वान्दोकी सीता भण्डारी र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलका श्रीराम रन्जितकार, स्पेशल अवार्ड स्व. ललितकृष्ण श्रेष्ठ (मरणोपरान्त) ले पाएका थिए । टिम अफ दी इयरको उपाधि नेपाल फुटबल टिमलाई प्रदान गरिएको थियो ।
घोषणा कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष अजय फुयालले यस अवार्डलाई सम्माननीय राष्ट्रपति आफैंले राष्ट्रिय अवार्डको मान्यता दिएको बताए। ‘हाम्रो कार्यक्रमलाई खेलका पदाधिकारीदेखि खेलाडीसम्मले पछ्याएको त सर्वविदितै छ। यसबाहेक समर्थकहरुमाझ पनि हाम्रो कार्यक्रम निरन्तर रुपमा लोकप्रिय हुँदै गइरहेको छ।’
हंसराज एण्ड हुलासचन्दका प्रबन्ध निर्देशक तथा नेपाल उधोग वाणिज्य महासँघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अवार्डका लागि नगद र जिन्सी गरेर १८ लाख ९० हजार रुपैंया बराबरको प्रायोजन रहेको बताए। हंसराजले प्रायोजनमा मञ्चलाई ४ वटा मोटरसाइकल प्रदान गर्नेछ।