जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक खेती शुरू गरिएको छ ।
जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए । उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन् । ‘जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरू गरेको हुँ,’ उनले भने । नर्सरीमा ५०० बिरुवा उमारेका जोशीले प्रतिबिरुवा ३ सय रुपैयाँका दरले विक्री गर्न थालेका छन् । उनले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गरेका हुन् । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ ।
श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय छन् । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् ।
‘बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,’ अजयमेरुकी राजेश्वरी भट्टले भने ।
श्रीखण्डबाट हस्तकलाका वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ ।रासस