रौतहटको राजपुर नगरपालिका वडा नम्बर ९ मा रहेको एक क्वारेन्टिनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।
बैरियाको एक क्वारेन्टिनका व्यक्तिहरू बुधबार दुई जना स्वास्थ्यकर्मीमाथि जाइलागेका हुन्।
क्वारेन्टिनमा रहेकाहरूले आक्रमण गरी अहेव खर्सिद आलम र रामनरेश साहलाई घाइते बनाएको राजपुर नगरपालिकाका मेयर सकिल अख्तरले सेतोपाटीलाई बताए।
‘क्वारेन्टिन सुरक्षामा प्रहरी, सशस्त्र, सेना छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गरी टाउको फुटाउँदासमेत हेरेर बसिरहे। एक राउण्ड हवाइ फायरिङ गरेर नियन्त्रणमा लिन खोजेको भए सुरक्षा निकायको के जान्थ्यो?,’ मेयर अख्तरले भने।
क्वारेन्टिनमा रहेकाहरूको पिसिआर परीक्षणमा नेगेटिभ आएको तर केही पोजेटिभ आएकाहरूसँग केही दिन बसेकोले घर जानुअघि आरडिटी गर्न खोज्दा विवाद भएको थियो।
‘अहेव खर्सिद आलमको टाउको फुटाइदिए। स्थानीय स्वास्थ्य संस्था लगेर टाँका लगाइयो,’ उनले भने, ‘अर्का स्वास्थ्यकर्मीको हातमा चोट छ।’
मेयरका अनुसार उक्त क्वारेन्टिनमा रहेका दुई सय ९ जनाको केही दिनअघि पिसिआर परीक्षण गरिएकोमा ६४ जनामा कोरोना देखिएको थियो।
‘पिसिआरमा पोजेटिभ देखिएकाहरूसँगै बसेका केही व्यक्तिको आरडिटी परीक्षण गरिँदै थियो त्यही बेला आक्रमण गरेका हुन्,’ उनले भने,‘स्वास्थ्यकर्मीमाथि आक्रमण, क्वारेन्टिन भत्काउनेजस्ता गतिविधि हुँदा सुरक्षा निकाय मौन बस्यो।’
क्वारेन्टिनमा बसेकाहरूले आरडिटी परीक्षणविनै घर जान पाउनुपर्ने माग राखेका थिए। तर स्वास्थ्यकर्मीले आरडिटी गर्नुपर्ने बताएपछि उनीहरू जाइलागेका हुन्।
‘स्वास्थ्यकर्मीका मोटरसाइकल तोडफोड भएको छ,’ उनले भने, ‘हामीलाई सुरक्षा निकाय र सिडिओले आवश्यक सहयोग गरेनन्।’
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले यस्तै अवस्था रहे स्वास्थ्यकर्मीहरू काममा नजाने अवस्था समेत आउन सक्ने बताए।
‘पटक/पटक विवाद हुन्छ हामी हाम्रो ज्यानको प्रवाह नगरी उनीहरूको स्वास्थ्य सुरक्षामा दिनरात खटिँदै आएका छौं र त्यसमाथि हामीमाथि नै आक्रमण यस्तो रह्यो भने कुनै स्वास्थ्यकर्मी काममा जान मान्छन् त ?,’ उनले प्रश्न गरे।