नेकपा(एकीकृत समाजवादी)संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्।
पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।
त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा (एकीकृत समाजवादी) का नेता बिरोध खतिवडाले जानकारी दिए।
संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको उनले बताए।
बैठकले पार्टीको तर्फबाट मन्त्रि छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए। ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधव कुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरिएको छ,’ उनले भने।
बैठकले भारतमा उपचाररत नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकारलाई बाढी पहिरोले निम्त्याएका समस्या समाधानका निम्ति ध्यानाकर्षण पनि गराएको नेता खतिवडाले बताउ।
जनताले अनुभुति हुनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको पनि उनको भनाई छ ।
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।
बुधरबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो। शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो।
यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद छन्।