प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्।
विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका छन्।
‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।’
उनले प्रदेश सभा बैठकमा आफ्नो सरकारले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूची थियो।
उनले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन्। राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय जाने पनि मुख्यमन्त्री आचार्यले बताए।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्। राईलाई मुख्यमन्त्री बनाउन सांसदको हस्ताक्षर लिइएको छ।
आचार्य नेकपा एमाले संसदीय दलका नेतासमेत हुन्। उनी मुख्यमन्त्री बनेलगत्तै अल्पमतमा परेका थिए।
प्रदेश सभाको बैठक कात्तिक २३ गतेसम्मका लागि सभामुखले स्थगित गरेका छन्।