नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्।
अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताए।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी गरे।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागिपरेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए।
‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं। चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं। असोजमा गर्ने हो भने सामना गर्न तयार छौं,’ उनले भने।
स्थानीय तहको पहिले वा संघीय चुनाव पहिले, जुन भए पनि सामना गर्न तयार रहेको उनले बताए।
‘चुनावबाट हामी आत्तिएका छैनौं। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं,’ उनले भने।
शनिबार बिहान बालुवाटारमा भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता जनाएको नेपालले बताए।
‘स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नुभएको छ। गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु। र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनिसकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन,’ नेपालले भने।
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबी गरे।
अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे। ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ। संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ। अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिनाभित्र गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ,’ उनले भने।
अध्यक्ष नेपालले कांग्रेस नेताहरूरु गठबन्धनमा आवद्ध दलहरूको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए।