सत्तारूढ दल नेकपा माओवादी केन्द्रले संशोधन नगरि एमसिसी अगाडि नबढाउन आग्रह गरेको छ।
आजको प्रतिनिधि सभाको बैठक सुरू भए लगत्तै बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कार्यसूचीमा एमसिसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।
‘एमसिसीसम्बन्धी कार्यसूचीका विषयमा हाम्रो धारणा प्रष्ट छ। एमसिसीमा राष्ट्रहित प्रतिकूलका प्रावधान रहेका छन्। त्यसलाई संशोधन नगरिएको स्थितिमा सम्झौताबारे प्रक्रिया अगाडि बढाउन हुँदैन भन्ने हाम्रो धारणा छ’, गुरुङले भने।
गुरूङले आर्थिक अनुदानको विषय संसदबाट अनुमोदन हुने परम्परा नरहेको भन्दै एमसीसीबारे राष्ट्रिय सहमति नजुटेसम्म संसदमा टेबल हुन नहुने दाबी गरे। सभामुखको रूलिङ पालना गरेपनि एमसिसी टेबल हुने कार्यसूचीमा असहमति रहेको उनले बताए।