सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्बन्धी सम्झौता टेबल गरेका छन्।
आइतबार दिउँसो सुरू भएको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सरकारले एमसिसी टेबल गरेको हो।
मन्त्री कार्कीले एमसिसी टेबल गर्न लाग्दा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)कै सांसद झलनाथ खनालले पनि नाराबाजी गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद भीम रावलले पनि आफू बसेको ठाउँमै उभिएर एमसिसीविरूद्ध नाराबाजी गरेका थिए। अरू एमाले सांसदहरू रोष्ट्रममै गएर नाराबाजी गरिरहँदा रावल आफू बसेको सिटबाट उठेका हुन्। एमालेले विभिन्न माग राख्दै लामो समयदेखि संसद अवरोध गरिरहेको छ।
एमसिसी टेबल हुनुअघि विभिन्न दलका सांसदहरूले बोलेका थिए। माओवादी केन्द्रका देव गुरूङ, एमालेका रावल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एमसिसीको विरोधमा आफ्ना कुरा राखेका थिए।
एमाले सांसद रावलले यो देश कानुनी शासनबाट चल्छ कि विदेशीको धाकधम्कीबाट भन्दै प्रश्न गरेका थिए।
‘यो देश कानुनी शासनबाट चल्छ कि एउटा कुनै विदेशीको धाक धम्कीको अगाडि लम्पसार परेर? ,’ उनले भने, ‘नेपाली जनताको आवाजलाई कुल्चिएर जनताको आवाज नसुन्ने, विदेशीहरूसँग डराउनुपर्ने, त्रसित हुनुपर्ने तर्क दिए। कतिपय देशहरूमा यस्तै संसदका निर्णयहरूबाट देशका सिमानाहरू मेटिएका छन्। हामी ती इतिहासबाट पाठ नसिकेर नेपाली जनताको आवाजलाई कुल्चेर जसरी आज यो विषयलाई पेश गरिँदैछ। यो संसदको अपमान हो।’
आजै बिहान बसेको गठबन्धनको बैठकले एमसिसीलाई संसदमा टेबल गर्ने निर्णय गरेको थियो। तर नेकपा माओवादीले यसमा राष्ट्रिय सहमति नभएको भन्दै असहमति जनाएको छ।