गणडकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने मधेस प्रदेश भ्रमणका लागि शनिबार जनकपुर आइपुगेका छन्।
जनकपुर–पोखरा हवाई सेवा सञ्चालन गरेको बुद्ध एयरको पहिलो उडानबाट मुख्यमन्त्री पोखरेलसँगै १८ सदस्य टोली जनकपुर आइपुगेको हो।
तत्काल हप्तामा तीन दिन र पछि यात्रुको चाप हेरेर थप उडान गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए। अहिले सोमबार, बिहीबार र शनिबार बुद्ध एयरले जनकपुरधाम-पोखरा उडान भर्ने छ।
जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मुख्यमन्त्री पोखरेलसहितको टोलीलाई स्वागत गरेका थिए।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले आजको दिन ऐतिहासिक भएको बताए।
‘पोखरबाट जनकपुरधाम आउँदा जुन मेरो अनुभूति भयो त्यसलाई शब्दमा बयान गर्न सक्दिनँ,’ उनले भने, ‘पर्यटन गण्डकी प्रदेशको मुख्य आधार हो। मधेस प्रदेशको पनि अन्य क्षेत्र होला तर धार्मिक पर्यटकीय क्षेत्रहरू रहेको छ। हामी चाहन्छौं यसलाई बढाएर अन्तर्राष्ट्रियस्तरमा जोड्न सकियो भने पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ।’
मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री महतोले हवाई कनेक्टिभिटी भएको दिन ऐतिहासिक रहेको बताए।
मधेस प्रदेशको सम्भावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा मुख्यमन्त्री पोखरेललाई घुमाउने उनले बताए। मुख्यमन्त्री पोखरेलको भ्रमणले गणडकी प्रदेश र मधेस प्रदेशको आत्मीय सम्बन्ध बढाउने उनले बताए।
जनकपुर-जयनगर रेलको अवलोकनपछि मुख्यमन्त्री पोखरेल धार्मिकस्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम छ।
साँझ ५ बजे सीताशरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजना गरिएको छ। आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन्। बिहान १० बजे बर्दिबासमा उनको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ।
स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोली भ्रमणको लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने छन्।
त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुर फर्किने छन्। मुख्यमन्त्री पोखरेलले सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि भ्रमण सम्पन्न हुने छ।