प्रशिक्षणमा आएका आफ्ना पार्टीका स्थानीय जनप्रतिनिधिलाई माओवादी केन्द्रले बुधबार साँझ रात्रिभोज दिने भएको छ।
कमलपोखरीस्थित कुमारी हलमा भइरहेको प्रशिक्षणका क्रममा साँझ कुपण्डोलस्थित हिमालयन होटलमा रात्रिभोज हुने जानकारी दिइएको एक जनप्रतिनिधिले जानकारी दिए।
गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ।
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबार र बिहीबार उनीहरूलाई प्रशिक्षण दिन लागिएको हो।
प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।
स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम छ।
पार्टीका शीर्ष नेता, सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासक लगायतले सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ।
अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन्।