सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने भएको छ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा यसबारे छलफल भएको थियो।
सत्ता गठबन्धन बैठकले विधेयक अघि बढाउन सहमति दिएको छ।
बैठकमा कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयकमा संशोधन गरिएका विषयबारे जानकारी गराएका थिए।
बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्ने बताए।
संक्रमण न्यायसम्बन्धी संशोधित विधेयक मन्त्रिपरिषदबाट पारित गरेपछि संसदमा पेश गर्ने तयारी छ।
गठबन्धनको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले म्याद सकिन लागेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप गर्ने विषयमा पनि कुराकानी भएको जानकारी दिइन्।
सत्ता गठबन्धन बैठकपछि मन्त्रिपरिषद बैठक पनि बसेको छ।